गण्डकी प्रदेश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गण्डकी प्रदेश
गण्डकी प्रदेशका जिल्लाहरूको अवस्थिति
गण्डकी प्रदेशका जिल्लाहरू
गण्डकी प्रदेश is located in गण्डकी प्रदेश
गण्डकी प्रदेश
गण्डकी प्रदेश
गण्डकी प्रदेश is located in नेपाल
गण्डकी प्रदेश
गण्डकी प्रदेश
निर्देशाङ्क: २८°१२′३४″उ॰ ८३°५९′२९″पू॰ / २८.२०९४४°N ८३.९९१३९°E / 28.20944; 83.99139निर्देशाङ्कहरू: २८°१२′३४″उ॰ ८३°५९′२९″पू॰ / २८.२०९४४°N ८३.९९१३९°E / 28.20944; 83.99139
राष्ट्र नेपाल
साक्षरतावृद्धि ७३% उच्च
स्थापना२०७२ असोज
राजधानीपोखरा
सरकार
 • मुख्यमन्त्रीकृष्णचन्द्र नेपाली पोखरेल
क्षेत्रफल
 • जम्मा२१,५०४ किमी (८३०३ वर्ग माइल)
उच्चतम उचाई
८,०९१ मिटर (२६५४५ फिट)
 • क्रमअन्नपूर्ण हिमाल विश्वको दशौँ अग्लो
जनसङ्ख्या
 • जम्मा२,४१३,९०७
 • घनत्व११०/किमी (२९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
भूसङ्केतNP-FO
वेबसाइटgandaki.gov.np

गण्डकी प्रदेश नेपालको संविधान २०७२ लागू भएपछि वि.सं. २०७२ असोज ३ गते राज्य पुनर्संरचना गरी बनेका ७ प्रदेशहरू मध्ये एक प्रदेश हो। कुल ११ जिल्लाहरू रहेको यस प्रदेशको प्रादेशिक राजधानी पोखरा कायम भएको छ।[१]

गण्डकी प्रदेशको इतिहास[सम्पादन गर्नुहोस्]

नेपालको शासनव्यवस्था सुदृढीकरणका लागि संविधान सभाबाट बि.सं. २०७२ साल आश्विन ३ गते नेपालको संविधान जारी भयो। यसै संविधान बमोजिम नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य कायम हुन पुग्यो। उक्त नेपालको संविधान बमोजिम नेपाललाई ७ (सात) प्रदेशहरूमा विभाजन गरियो। यी मध्ये साविकका धौलागिरी अञ्चलका ४ जिल्ला, गण्डकी अञ्चलका ६ जिल्ला र लुम्बिनी अञ्चलको नवलपुरको भू-भाग समेटी कुल ११ जिल्लाको प्रदेश नं. ४ कायम भयो। भौगोलिक रूपमा यस प्रदेशले हिमाल, पहाडतराई गरी तीन वटै धरातलीय स्वरूपलाई समेटेको छ। त्यस्तै हावापानीको दृष्‍टिकोणले हेर्दा पनि यस प्रदेशमा नेपालमा पाइने सबै प्रकारको हावापानी विद्यमान रहेको छ।

अवस्थिति[सम्पादन गर्नुहोस्]

भौगोलिक अवस्थितिलाई हेर्दा यो प्रदेश २७°२०' उत्तरी अक्षांश देखि २९°२०' उत्तरी अक्षांश र ८२° ५२' पूर्वी देशान्तर देखि ८५° १२' पूर्वी देशान्तरका बीच रहेको छ। यस प्रदेशको सबैभन्दा अग्लो भू-भागको रूपमा धौलागिरी हिमाल र होचो भू-भागको रूपमा नवलपुरको त्रिवेणीसुस्ता रहेको छ।

क्षेत्रफल[सम्पादन गर्नुहोस्]

नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. मध्ये प्रदेश नं. ४ ले २१,७३३ वर्ग कि.मि. अर्थात् १४.६६% क्षेत्रफल ओगटेको छ। यसमा प्रदेशको कुल क्षेत्रफलमा हिमाली भू-भाग ५,८१९ वर्ग कि.मि. (२६.८%), पहाडी भू-भाग १४,६०४ वर्ग कि.मि. (६७.२%) र तराई भू-भाग १,३१० वर्ग कि.मि. (६%) पर्दछ। यस प्रदेशमा पहाडी भु-भाग बढी रहेको छ। यो प्रदेश नेपाल राज्यको करीब मध्य भागमा पर्दछ। नेपालकै सबैभन्दा ठूलो महानगरपालिकाको रूपमा रहेको पोखरा समेत यस प्रदेशमा रहेको छ।

सिमाना[सम्पादन गर्नुहोस्]

यस प्रदेशको सिमाना पूर्वमा बाग्मती प्रदेशका रसुवा, धादिङ्गचितवन जिल्ला, पश्‍चिममा लुम्बिनी प्रदेशका पूर्वी रुकुम, रोल्पा, प्यूठान, गुल्मी, पाल्पा र नवलपरासी (सुस्ता बर्दघाट पश्‍चिम) र कर्णाली प्रदेशका डोल्पा जिल्ला पर्दछन्। त्यस्तै उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा लुम्बिनी प्रदेशको पाल्पा जिल्ला र भारतको विहार राज्य रहेका छन्।

प्रशासनिक विभाजन[सम्पादन गर्नुहोस्]

नेपालको संविधान अनुसार नेपालको शासकीय स्वरुप सङ्घीय संरचनामा नेपाललाई ७५३ स्थानीय तह, ७ प्रदेश र सङ्घीय सरकारको रूपमा विभाजन गरिएको छ। यो विभाजन मध्ये यस गण्डकी प्रदेश अन्तर्गत तत्कालीन धौलागिरी अञ्चलका ४ जिल्ला म्याग्दी, मुस्ताङ्ग, पर्वतबागलुङ्ग, गण्डकी अञ्चलका गोरखा, लमजुङ्ग, मनाङ्ग, स्याङ्गजा, कास्कीतनहुँ एवं लुम्बिनी अञ्चलको नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वको भू-भाग नवलपुर गरी जम्मा ११ जिल्ला रहेका छन्। १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका गरी जम्मा ८५ स्थानीय तह रहेका छन्। त्यस्तै यस प्रदेशबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १८ निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्य निर्वाचनका लागि ३६ निर्वाचन क्षेत्र रहेका छन्। प्रदेश सभामा समानुपातिक सहित कूल ६० सदस्य रहन सक्ने संवैधानिक प्रावधान छ।

जनसांख्यिकीय विवरण[सम्पादन गर्नुहोस्]

२०६८ सालको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या २,६४,९४,५०४ मध्ये यस प्रदेशको जनसङ्ख्या २४,०३,०१६ रहेको छ जुन कुल जनसङ्ख्याको ९.०६ प्रतिशत हुन आउँछ। यस मध्ये पुरुषको जनसङ्ख्या ९,४८,०२९ र महिलाको जनसङ्ख्या ११,४४,१२४ रहेको छ भने लैङ्गिक अनुपात करिब ८९ जना पुरुष प्रति १०० महिलामा रहेको छ यसको राष्‍ट्रिय अनुपात ९४.१६ रहेको छ। जनसङ्ख्याको वार्षिक वृद्धिदर -०.३३ प्रतिशतको हाराहारीमा रहेको छ राष्‍ट्रिय तथ्याङ्कमा यो दर १.३५ प्रतिशत रहेको छ। यसबाट के देखिन्छ भने यस प्रदेशको जनसङ्ख्या वृद्धि घट्दो अनुपातमा रहेको छ। प्रदेशको जनसङ्ख्याको औसत आयु ७० वर्ष रहेको छ राष्‍ट्रिय तहमा भने यो तथ्याङ्क ६५ वर्ष रहेको छ। कुल घरपरिवार संख्या ५,७६,५०१ रहेको छ। यस प्रदेशको कुल जनघनत्व ११० जना प्रति वर्ग किलोमिटर रहेको छ। यसमा नगरपालिकामा बसोबास गर्ने जनसङ्ख्या १४,५२,१८६ (६०.५%) र गाउँपालिकामा बसोबास गर्ने जनसङ्ख्या ९,४३,६५२ (३९.४%) रहेको छ। त्यस्तै यस प्रदेशको कुल जनसङ्ख्याको ५०.१ प्रतिशत जनसङ्ख्या आर्थिक रूपमा सक्रिय रहेको छ। यसबाट आधा जनसङ्ख्या आश्रित जनसङ्ख्याको रूपमा रहेको प्रष्‍ट हुन्छ।

भौगोलिक प्रदेशगत आधारमा गण्डकी प्रदेशको जनसङ्ख्या हिमाली प्रदेशको जनसङ्ख्या १९,९९० (०.८%), पहाडी प्रदेशको जनसङ्ख्या २०,७२,१६२ (८६.५%) र तराई प्रदेशको जनसङ्ख्या ३,१०,८६४ (१२.७%) रहेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नाम ‘गण्डकी’, राजधानी ‘पोखरा’", २१ जेठ २०७५, अन्तिम पहुँच २३ जेठ २०७५ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]