सामग्रीमा जानुहोस्

मकवानपुर जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मकवानपुर जिल्ला
प्रदेशको नक्सामा जिल्लाको अवस्थितिको अवस्थिति
प्रदेशको नक्सामा जिल्लाको अवस्थिति
राष्ट्र नेपाल
प्रदेशबागमती प्रदेश
प्रशासनिक सदरमुकामहेटौँडा
क्षेत्रफल
  जम्मा२,४२६ किमी (९३७ वर्ग माइल)
जनसङ्ख्या
 (वि.सं २०७८)[]
  जम्मा४६६०७३
  घनत्व१९०/किमी (५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
प्रमुख भाषा(हरू)नेपाली
वेबसाइटwww.ddcmakwanpur.gov.np

मकवानपुर जिल्ला नेपालको बागमती प्रदेशमा पर्ने एक जिल्ला हो।[] यो जिल्लाले पूर्वमा रहेको झापादेखि पश्चिममा रहेको कञ्चनपुरलाई राजधानी काठमाडौँसँग जोड्ने गर्दछ। यो जिल्लाको उत्तरतर्फ रहेको करिब ६६ किलोमिटर लामो महाभारत शृङ्खला र दक्षिणतर्फ करिब ९२ किलोमिटर लामो चुरे पर्वतद्वारा घेरिएको छ।[] राजधानी प्रवेशको मुख्य मार्गको रूपमा परिचित यो जिल्ला राजधानी काठमाडौँ र ऐतिहासिक जिल्ला ललितपुरसँग सीमावद्ध भएर रहेको छ। त्रिभुवन राजपथमहेन्द्र राजमार्गको निर्माणले यस जिल्लाबाट देशको पूर्व तथा पश्चिम आवागमनलाई अत्यन्त सहज तुल्याएको छ। यस जिल्लाको सदरमुकाम हेटौँडाबाट फाखेल-हुमाने भन्ज्याङ-फर्पिङ हुँदै छोटो समयमै काठमाडौँ पुग्ने वैकल्पिक मार्गको पनि निर्माण भएको छ।[] यो जिल्ला देशकै तेस्रो ठूलो औद्योगिक जिल्ला मध्येमा पर्दछ। यहाँ थुप्रै प्राकृतिक मनोरम स्थलहरू रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जपर्सा वन्यजन्तु आरक्षणले पनि यस जिल्लाको केही भूभाग ओगटेको छ। सेन वंशीय राजाहरूको दरबार मकवानपुर गढी[], सामारिक दृष्टिले महत्त्वपूर्ण स्थान चिसापानी गढी[], पर्यटकीय स्थल शहीद स्मारक, लाली गुराँस र सुनगाभाका प्राकृतिक सङ्ग्रहालयहरूले यस जिल्लाको सौर्न्दय अझ बढाएको छ। यस जिल्लामा नेपालकै एकमात्र मानव निर्मित ताल इन्द्र सरोवर वा कुलेखानीको नामले चिनिन्छ। यस तालको पानीबाट कुलेखानी प्रथम कुलेखानी द्वितीयकुलेखानी तृतीयमा विद्युत उत्पादन गरिन्छ।[]

जिल्लाको नामाकरण

[सम्पादन गर्नुहोस्]

यस जिल्लाको नामाकरण सेनवंशीय प्रतापि राजा मुकुन्द सेनको नाम अप्रभंश हुँदै माकन्दपुरवाट अन्तमा मकवानपुर भएको जनश्रुति यहाँ प्रचलित छ।[]

प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]

जिल्लामा एक उपमहानगरपालिका, एक नगरपालिका र ८ गाउँपालिकाहरू गरि १० वटा स्थानीय तहहरू रहेका छन्।[]

मकवानपुर जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तहहरू समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग

किमी)

जनघनत्व (वर्ग

किमी)

हेटौँडा उपमहानगरपालिका पदमपोखरी, चुरियामाई, हटिया, हर्नामाडीवसामाडी १९ हेटौँडा १,९३,५७६ २६१.५९ ७४०
थाहा नगरपालिका पालुङ, बज्रबाराही, दामन, आग्रा, चित्लाङटिस्टुङ १२ दामन ३८,८७० १९१.१२ २००
राक्सिराङ गाउँपालिका राक्सिराङ, काँकडा, सरिखेतखैराङ चैनपुर २५,९९६ २२६.०७ ११०
मनहरी गाउँपालिका मनहरीहाँडिखोला रजैया ४७,३५३ १९९.५२ २४०
मकवानपुरगढी गाउँपालिका मकवानपुर गढी, आमभञ्ज्याङ, सुकौराबुढीचौर मकवानपुर गढी २४,४६१ १४८.७२ १६०
भीमफेदी गाउँपालिका भैँसे, निवुवाटार, भीमफेदी, कोगटे, इपापञ्चकन्यानामटार (१,३,४) भीमफेदी २१,५१६ २४५.२७ ८८
बागमती गाउँपालिका राईगाउँ, फापरबारीबेतिनी झुरझरे ३०,४२५ ३११.७९ ९८
बकैया गाउँपालिका धियाल, छतिवन, शिखरपुर, मन्थलीठिङ्गन १२ हात्तिसुँढे ४०,९०७ ३९३.७५ १००
कैलाश गाउँपालिका डाँडाखर्क, कालिकाटार, गोगने, भार्ता पुण्यदेवीनामटार (२,५-९) १० कालिकाटार २१,८५६ २०४.४८ ११०
१० इन्द्रसरोवर गाउँपालिका मार्खु, कुलेखानी, सिस्नेरीफाखेल १० कुलेखानी १३,५३४ ९७.३४ १४०
मकवानपुर जिल्लाका पूर्व गाविसहरूको नक्सा

ऐतिहासिक पक्ष

[सम्पादन गर्नुहोस्]

यस जिल्लाको सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक पक्षको व्यवस्थित ढङ्गबाट ऐतिहासिक अध्ययन भएको पाइन्न। किंवदन्ती र फाटफुट निस्केका लेखहरू अध्ययन गर्ने हो भने महाभारतकालदेखि नै यो जिल्ला विभिन्न प्रसङ्गमा आउने गरेको छ।[१०] बनवासको क्रममा पाँच पाण्डवहरू यस जिल्लामा आइपुगेका र भीमसेनले हिडिम्बा राक्षस मारेको र उनैको नामबाट हेटौँडा नामकरण भएको भन्ने जनश्रुति प्रचलित छ। हिडिम्बा राक्षसकी बहिनी भूटनीसँग भीमसेनको विवाह भई घटोत्कच छोरा जन्मेको र उनै भूटनीको नामबाट हेटौँडाको प्रसिद्ध मन्दिर भूटनदेवी स्थापना गरिएको पनि जनश्रुति छ।

यस जिल्लामा आदिवासी जनजातिको रूपमा रहेका देवास राई जातिका मानिसहरू दक्षिण पूर्वी बागमती नदी किनारको आसपास दुई तीन हजार वर्ष अघिदेखि नै बसोबास गर्ने गरेको[११] र साविक फापरवारी गाविसको वडा नं. १ मा झुरझुरेमा उनीहरूको राजधानी रहेको बताइन्छ।[१२] त्यसै गरि साविक बेतिनि गाविसमा तामाङ जातिहरूको घिसिङ राजाको दरबार थियो भन्ने मान्यता र हाल यस जिल्लामा ५० प्रतिशतको हाराहारीमा रहेको तामाङ जातिहरूको बाहुल्यले त्यसको प्रमाण दिइरहेको छ।

आज भन्दा २३ सय वर्ष पहिले नेपालको भ्रमणमा आउँदा चित्लाङमा सम्राट अशोककी पुत्री चारुमतीले स्थापना गरेको चैत्य[१३],लिच्छवि कालीन राजा नरेन्द्रदेवलाई राजा प्रमाणित गर्ने एक मात्र शिलालेख[१४], पृथ्वीनारायण शाहको ससुराली अर्थात् मकुन्ददेवको दरवार रहेको मकवानपुर गढी र सामरिक हिसाबले महत्त्वपूर्ण भएर काली तोप रहेको र उपत्यकाबाट बाहिर जाँदा जाँच गर्ने र राहदानी दिने तथा राणकालीन भन्सार चौकी चिसापानी गढीले यस जिल्लाको ऐतिहासिक महत्त्व दर्शाउँछ।[१५]

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

मकवानपुर जिल्ला पूर्व पश्चिम लम्बिएर रहेको छ। पूर्व साघुरो हुँदै पश्चिम तर्फ बेलुन फुलेझै फुकेको आकारमा छ।

राजनीतिक विभाजन

[सम्पादन गर्नुहोस्]

मकवानपुर जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्र अर्न्तर्गत वागमती प्रदेशमा पर्दछ। यस जिल्लाको सदरमुकाम हेटौँडा उपमहानगरपालिका हो। २०४३ सालमा हेटौँडालाई सदरमुकाम बनाइएको हो। यस पूर्व भीमफेदी यस जिल्लाको सदरमुकाम थियो। देश संघियतामा गैइसकेपछी अहिले मकवानपुर जिल्ला वागमती प्रदेशमा रहेको छ र प्रदेशस्तरका कार्यालयहरू यहा स्थानान्तरण हुने क्रम बढ्दो छ। प्रशासकीय दृष्टिले यस जिल्लालाई २ संघिय र ४ प्रदेश निर्वाचन क्षेत्र, १ उपमहानगर, १ नगरपालिका र ८ गाउपलिकामा विभाजन गरिएको छ।

गाउपालिका र नगरपालिका

[सम्पादन गर्नुहोस्]

वागमती गाउपालिका, बकैया गाउपालिका, मकवानपुरगढी गाउपालिका, भिमफेदी गाउपालिका, ईन्द्रसरोवर गाउपालिका, कैलाश गाउपालिका, राक्सिराङ गाउपालिका, मनहरी गाउपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका रहेको छ .

जनसांख्यिक स्थिति

[सम्पादन गर्नुहोस्]

मकवानपुर जिल्लाको जनसंख्या २०६८ जनगणना भन्दा वार्षिक ०.९९ ले बृद्धि भएको छ । २०७८ को जनगणना अनुसार मकवानपुर जिल्लाको जनसंख्या ४ लाख ६६ हजार ७३ रहेकोछ । जम्मा जनसंख्या मध्ये पुरुषको जनसंख्या २ लाख ३३ हजार ८ सय १६ (५०.१७ प्रतिशत) र महिलाको जनसंख्या २ लाख ३२ हजार २ सय ५७ (४९.८३ प्रतिशत) रहेको छ । जिल्लामा सबैभन्दा बढि जनसंख्या हेटौडा उपमहानगरपालिकामा १ लाख ९३ हजार ५ सय ७३ रहेको छ भने दोस्रोमा मनहरी गाउँपालिकामा ४७ हजार ३ सय ५३ रहेको छ । सबैभन्दा कम जनसंख्या भिमफेदी गाँउपालिका २१ हजार ५ सय १६ रहेको छ । मकवानपुरको वार्षिक जनसंख्या बृद्धिदर पालिकातहमा सबैभदा बढि हेटौंडा उपमहानगरपालिकाको २.२७ रहेको छ, त्यसैगरि दोस्रोमा मनहरी गाँउपालिकाको २.०१ प्रतिशत रहेको छ । सबैभन्दा कम बृद्धिदर ०.०२ (ऋणात्मक) रहेको छ ।

जनघनत्व अनुशार मकवानपुर जिल्लामा हेटौंडा उपमहानगरपालिकाको ७ सय ४० प्रतिकिमी रहेको छ, त्यसैगरि दोस्रमा मनहरी गाउँपालिकाको २ सय ३७ प्रतिकिमि रहेको छ । सबैभन्दा कम जनघनत्व भिमफेदी गाउँपालिकाको ८७.७२ रहेको छ ।

प्राकृतिक स्वरूप

[सम्पादन गर्नुहोस्]

यो जिल्ला मध्य पहाडी जिल्ला हो। यहा“को ७५५ भू-भाग पहाडले ढाकेको छ। शिशिर याममा हिउं पर्ने २५८४ मिटरको उच्च भू-भाग -दामन गाविसको सिमभन्ज्याङ्ग हो भने दक्षिणतर्फ समुद्री सतहको १६६ मिटर सम्मको होचो भू-भाग-राईगाउँ गाविसको हात्तीढुङ्गा रहेको छ। मकवानपुर जिल्ला विभिन्न जात जाति तथा सांस्कृतिक विविधताको साथै हिउपर्ने पहाडी क्षेत्रदेखि समथर मैदानसम्म भएको यस जिल्ला जैविक विविधताको दृष्टिले पनि अन्यन्तै धनी रहेको छ। यसलाई सुनगाभाको प्राकृतिक म्यूजियमको रूपमा पनि चिन्न सकिन्छ। छोटो दूरी तथा सानो भूभागमा पनि ठूलो वातावरणीय विविधताको शृङ्खला रहेको भैसेदेखि सिमभन्ज्याङ्ग सम्मको उचाइमा ९० जाति (जेनेरा)को सुनगाभा (अर्किड) मध्ये ६२ जाति यस जिल्लामा पाइन्छ।

जिल्लाको धरातलीय विविधता संगसंगै यहांको हावापानीमा पनि निकै विविधता पाइन्छ। यहाँ मुख्यतया ३ किसिमको हावापानी पाइन्छ जसमा दक्षिणतर्फचुरे शृङ्खलाको आसपास उष्ण, त्यसपछि क्रमशः उत्तरतर्फसमशीतोष्ण र शीतोष्ण किसिमको हावापानी पाइन्छ। यस जिल्लामा वाषिर्क सरदर २५३५ मिलि लिटर वर्षा हुन्छ। यो अङ्क नेपालको चेहरापुञ्जी भनेर चिनिने कास्की जिल्लाको पोखरा पछिको अङ्क हो। जाडो महिनाको पुस माघमा न्यूनतम १६.६ डि.से. तापक्रम पाइन्छ भने गर्मीयामको बैशाख जेठमा अधिकतम ३०.३ डि.से. तापक्रम पाइन्छ।

नदी नाला/ताल

[सम्पादन गर्नुहोस्]

यस जिल्लालाई जलाधारको रूपमा चार जलाधार क्षेत्र र १२५ उप-जलाधार क्षेत्रमा विभाजन गर्न सकिन्छ। चार जलाधार क्षेत्रमा बाग्मती, बकैया, राप्ती र त्रिशुली हुन्। यस जिल्लाको ३.२७ प्रतिशत भूभाग नदी, खोला तथा तालले ढाकेको छ। जिल्लाको पूर्वी सीमा नदीको रूपमा रहेको बागमती नदी, पूर्व मध्यभागबाट शुरु भै दक्षिणतर्फबग्ने बकैया नदी, जिल्लाको मध्यभागबाट बग्ने राप्ती, पश्चिमी भेगबाट बग्ने मनहरी र पश्चिमी सीमानदी लोथर यस जिल्लाका प्रमुख नदीहरू हुन्। यस जिल्लामा विद्युत् उत्पादन गर्नको लागि निर्माण गरिएको मानव निर्मित इन्द्रसरोवर प्रमुख रूपमा रहेको छ। यो कुलेखानी र मार्खु गाउ विकास समितिको ७ कि.मि. क्षेत्रफलमा फैलिएर रहेको छ। स्थायी पानीको स्रोतको अभाव रहेको यी नदीहरूमा वर्षातको समयमा बाढीको रूपमा प्रशस्त मात्रामा पानी बगेता पनि हिउंदमा ज्यादै कम पानी बग्ने गर्दछ।

यस जिल्लाको कूल क्षेत्रफल २,४४,४५७ हेक्टर मध्ये कृषियोग्य जमिन ६१४८९ हे. -२५.१५%), झांडी, घांसे मैदान ४९६८ हे. -२.०३%), खोलानाला तथा बगर १६७१० हे. -६.८३%), वन क्षेत्र १४४५५८ हे. -५९.१४५), औद्योगिक क्षेत्र १६०७ हे. (०.६६%), निकुञ्ज क्षेत्र १५१२५ हे. (६.१९%) छ। जिल्लाको ७५ प्रतिशत भूभाग पहाडी र २५ प्रतिशत भूभाग समथर रहेको छ।

मुख्य पर्वत शृङ्खला

[सम्पादन गर्नुहोस्]

चन्द्रागिरी :फाखेल गाविसदेखि टिष्टुङ्ग गाविससम्म महाभारत : बेतिनी गाविसदेखि खैराङ्ग गाविससम्म चुरे : राईगाउँ गाविसदेखि मनहरी गाविससम्म

मकवानपुर जिल्ला औद्योगिक जिल्लाको नामले चिनिएता पनि यहाँका मानिसहरूको मुख्य पेशा कृषि नै हो। यहाँको कूल जनसङ्ख्या मध्ये ८२.७% कृषिमा र १७.३५ गैर कृषिमा संलग्न छन्। आर्थिक रूपले सक्रिय जनसङ्ख्याको ५३.६% कृषिमा र ४६.९४% जनसङ्ख्या गैर कृषि पेशामा संलग्न छन्।

मकवानपुर जिल्लामा ८० जातजातीहरुको बसोवास रहेको छ । ४६.७७ प्रतिशत तामाड. जातजातीको बाहुल्यता रहेको मकवानपुरमा त्यसपछि क्रमश ब्राम्हण, क्षेत्री, नेवार, चेपाड., मगर, विश्वकर्मा र राई १३.८७ प्रतिशत, १०.६१ प्रतिशत, ५.५१ प्रतिशत, ५.०७ प्रतिशत, ४.४८ प्रतिशत, २.९३ प्रतिशत र २.४५ रहेका छन । जिल्लामा ५० भन्दा कम संख्यामा २० जातजाती रहेका छन् । सबैभन्दा कम ख्वात्वे १२ जना, मुसहर १४, जिरेल १४ रहेका छन् ।      लोपोन्मुख अवस्थामा पुगेका वनकरिया जातिको पनि बसोबास छ।

मकवानपुर जिल्लामा हिन्दु,बौद्ध, क्रिश्चीयन, इस्लाम लगायतका धर्मावालम्बीहरु रहेका छन् । जिल्लामा ४८.७३ प्रतिशत हिन्दु, ४३.९० बौद्ध र क्रिश्चीयनहरु ६.१२ प्रतिशत रहेका छन भने सबैभन्दा कम जैन धर्मावलम्बी ८ जना रहेका छन् ।

धार्मिक र पर्यटकीय स्थल

[सम्पादन गर्नुहोस्]

मकवानपुर जिल्लाको धार्मिक मठ मन्दिरहरू उल्लेख्य रूपमा छन्। हेटौँडा उपमहानगरपालिका क्षेत्र भित्र भूटनदेवी, भुवनेश्वर महादेव, पुण्य क्षेत्र रहेका छन् भने मकवानपुरगढी गाविसमा मनकामना मन्दिर र वंशगोपालको मन्दिर रहेको छ। चुरियामाई गाविसमा चुरियामाईको र भैंसे गाविसमा त्रिखण्डी महादेवको मन्दिर प्रसिद्ध छन्। त्यसैगरी दामन गाविसमा ऋषेश्वर र इन्द्रायणी माईको मन्दिर छ भने बज्रबाराही गाविसमा बज्रबाराही, नामटार गाविसमा स्यार्सेकालिका, चित्लाङ्ग गाविसमा शिवालय,हेटौँडा -९, चौधघरेमा शीर्षक लिंङ्करहेको कुष्माण्ड सरोबर त्रिवेणीधाम (मुक्तीनाथ पछिको १०८ धारा रहेको नेपालकै एक प्रसिद्ध धार्मिक एंव पर्यटकिय स्थल) साथै चिसापानी गडि मा बटुक भैरव को प्रसिद्ध मन्दिर छ। यसका अलावा तामाङ बाहुल्य क्षेत्रमा गुम्बा बौद्ध घ्याङ आदि प्रख्यात मठ मन्दिर तथा देवालयहरू छन्।

प्रमुख पर्यटकीय स्थल अन्तर्गत निम्न स्थलहरू पर्दछन।

  • चित्लाङ
  • मकवानपुरगढी
  • भैरवडाडाँ
  • इन्द्रसरोवर ( कुलेखानी )
  • चिसापानी गढी
  • गुम्बाडाँडाँ
  • सप्तकन्या गुफा
  • सिसा महल
  • चुरियामाईको सुरुङ
  • सीमभञ्ज्यादेखि देउरालीसम्मको सुनगाभा पदयात्रा
  • सातधारा,
  • अशोककालीन चैत्य
  • दामन
  • पालुङ
  • बज्रवाराही
  • मार्खु

प्रमुख बजार केन्द्रहरू

[सम्पादन गर्नुहोस्]

समाज र जनसङ्ख्याको विकासको क्रमसंगै ग्रामीण क्षेत्रहरूमा ग्रामीण जनताको आवश्यकताका वस्तु तथा सेवाहरू र स्थानीय स्तरमा उत्पादन भएका वस्तु तथा सेवाहरू खरीद विक्री गर्ने उद्देश्यले विभिन्न ग्रामीण क्षेत्रहरूमा बजार केन्द्रहरू स्थापना र विकास हुंदै गएको पाइन्छ। यसरी स्थापना र विकास भएका बजारहरू हेटौँडा, भीमफेदी, मनहरी, लोथर, छतिवन, फापरवारी, राईगाउँ, चौघडा, पालुङ्ग (ओखरेबजार), हुन्। त्यसैगरी भैंसे, दामन (शिखरकोट), हटिया (चिसापानी), बसामाडी (बस्तीपुर), बज्रबाराही (सरस्वती बजार), मार्खु, कुलेखानी, नामटार, हर्नामाडी आदि पनि क्रमशः बजारउन्मुख छन।

यस जिल्लालाई मध्यमाञ्चल विकास क्षेत्रको सदरमुकामको रूपमा विकास गर्ने कार्य संगसंगै क्षेत्रीय अस्पताल निर्माण गर्ने नीतिगत निर्णय भैसकेको छ। हाल यस जिल्लामा ५० शैयाको एक जिल्ला अस्पताल, मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिश्ठान, प्राथमिक स्वास्थ्य केन्द्र ४, स्वास्थ्य चौकी १ र उपस्वास्थ्य चौकी ३१ रहेको छ। आयुर्वेदिक औषधालय दुइवटा छन्। यस जिल्लामा शिशु मृत्युदर प्रति हजार ६४ जना र बालमृत्युदर ९१ जना रहेको पाइन्छ। कुल प्रजनन् दर प्रति महिला ५.१ छ भने परिवार नियोजनको सेवा लिने व्यक्ति ३९% मात्र रहेको छ।

मकवानपुर जिल्लाको समग्र साक्षरता ७७.८२ प्रतिशत रहेको छ । पालिकाहरुमा सबैभन्दा बढि हेटौडा उपमहानगरपालिकामा ८३.९५ प्रतिशत रहेको छ भने मकवानपुरगाढि गाँउपालिका ७७.६७ प्रतिशत, मनहरी गाउँपालिका ७७.७५ प्रतिशत रहेको छ । पालिकाहरु मध्ये सबैभन्दा कम साक्षरता कैलाश गाउँपालिका ६७.८४ प्रतिशत रहेको छ ।

कृषि तथा पशु

[सम्पादन गर्नुहोस्]

कृषि पेशामा ८२.७% जनता संलग्न रहेको यस जिल्लामा २५.१५% भूभाग कृषि क्षेत्रले मात्र ढाकेको छ। कृषि भूमिको ३७.२८%मा वर्षरि र मौसमी सिंचाई सुविधा पुगेको छ। भूबनोटको आधारमा यस जिल्लालाई मध्य पहाड र भित्री मधेशको रूपमा वर्गीकरण गर्न सकिन्छ। महाभारत पर्वत शृङ्खलाको उत्तरी भेगमा पर्ने उच्च भूभागदेखि वेशी फा“टसम्मको चिसो भागमा खासगरी बेमौसमी तरकारी, आलु, हिउंदे फलफूल, सुन्तला जातका फलफूलका लागि उपयुक्त हावापानी छ भने तल्लो पहाडी भेगमा अगौटे तरकारी, आलु तथा खाद्यान्न उत्पादनको लागि उपयुक्त मानिन्छ। त्यसैगरी चुरर्ेपर्वत र महाभारत पर्वत शृङ्खला बीचको एक चौथाइ समथर भूभागमा न्यानो हावापानी भएको कारण अगौटे तरकारी, आलु तथा खाद्यान्न उत्पादनको दृष्टिले उपयुक्त ठानिन्छ। यस जिल्लामा उन्नत जातका गाई, भैंसी र बाख्रा पालन व्यवसाय क्रमिक रूपले बढ्दै गएको पाइन्छ भने वंगुर, भेडा र कुखुरा पालन कार्य भने क्रमशः घटेको देखिन्छ। पशुजन्य उत्पादनमध्ये दुध वाषिर्क १३४१.३ मे.टन, मासु २९५.१ मे. टन र अण्डा ४१०७५९.१ गोटाले बढ्दो छ भने माछा उत्पादनमा खासै बढोत्तरी देखिन्न। पशुजन्य उत्पादन र जनसङ्ख्याको तुलना गर्दा एक वर्षा एकजनाको भागमा दुध १२३.९७ लिटर, मासु १९.०९ किलो, अण्टा १४.२६ गोटा र माछा ७७.६८ ग्राम पर्न आउ“छ। जिल्ला कृषि विकास कार्यालयले जिल्लाका ६ वटा सेवा केन्द्र र ७ वटा उपसेवा केन्द्र मार्फ सेवा पुर्‍याएको छ भने जिल्ला पशुसेवा कार्यालयले ६ वटा सेवाकेन्द्र र १० वटा उपसेवा केन्द्र मार्फ सेवा पुर्‍याइरहेका छन्।

राष्ट्रिय राजमार्ग

[सम्पादन गर्नुहोस्]

त्रिभुवन राजपथ -चुरे-सोप्याङ खण्ड) ११० कि.मि. महेन्द्र राजमार्ग -चुरे-लोथर खण्ड) ४७ कि.मि. जिल्ला सडक अवस्थाक) हेटौँडा-भीमफेदी २३ कि.मि. ख) हटिया-राईगाउँ ६५ कि.मि. ग) कुन्छाल-कुलेखानी १८ कि.मि. घ) भीमफेदी-कुलेखानी-फाखेल-काठमाडौँं ५३ कि.मि. ङ) चुनिया-नामटार २० कि.मि. -८ कि.मि. मोटर चल्ने) च) दामन-डांडावास १० कि.मि. छ) सामरी-आमभन्ज्याङ्ग ६ कि.मि. ज) कान्तिराजपथ -हेटौँडा-ठिंगन) ४२ कि.मि. -३० कि.मि. मोटर चल्ने) झ) पशुपतिनगर-मकरी भुन्द्रुङ्ग टा“डी-सान्नानीटार १८ कि.मि. -१० कि.मि. मोटर चल्ने) ञ) कुलेखानी-सिस्नेरी-छैमले ३० कि.मि. ट) चुच्चेखोला-फुर्केचौर १३ कि.मि. ठ) पिप्ले-कुर्ले १२ कि.मि. (६ कि.मि. मोटर चल्ने) ड) टौखेल-चित्लाङ्ग-चन्द्रागिरी १५ कि.मि. ढ) घट्टेदोभान-चखेल-देउराली-मातातिर्थ १० कि.मि.(५ कि.मि. मोटर चल्ने)

कालोपत्रे सडक ५६.६२ किमि -राजमार्ग सहित) ग्राभेल सडक ४८.४५ किमि कच्ची सडक ७० किमि गोरेटो बाटो २९ किमि कंक्रिट सडक १२.५५ किमि सडक पुगेको नपा/गाविस सङ्ख्या - ३४ वटा सडक नपुगेको गाविस सङ्ख्या - १० वटा

हेटौँडा - टेकु - ४२ कि.मि. -हाल बन्द)

विद्युत् उत्पादन

[सम्पादन गर्नुहोस्]

कुलेखानी प्रथम ६०,००० कि.वा. कुलेखानी दोस्रो ३२,००० कि.वा. कुलेखानी तेस्रो १५,००० कि.वा. -निर्माणाधिन) पूर्ण विद्युतीकरण भएको गाविस/नपा सङ्ख्या ३४.१० प्रतिशत, १५ गाविस) आंशिक विद्युतीकरण भएको गाविस सङ्ख्या ३४.१० प्रतिशत, १५ गाविस) विद्युतीकरण हुन बा“की गाविस सङ्ख्या ३१.८० प्रतिशत, १४ गाविस)

सञ्चार को हिसाब ले यहाँ खासै परिवर्तन देखिन्न। टेलीफोन सुबिधा नगरक्षेत्रमा मात्र सीमित हुनाले ग्रामिण तथा शहरोन्मुख क्षेत्रमा ईन्टरनेट सुबिधा छैन। तर हाल तार रहित ईन्टरनेट र मोबाइल फोन सुबिधा जिल्लाका सबैजसो क्षेत्रमा उपलब्ध छ साथै रेडियो हरेक जसो स्थान मा सुन्न सकिन्छ र टेलिभिजन पनि स्याटेलाइट प्रविधि मार्फत हरेक स्थानमा हेर्न सकिन्छ।

प्रविधिको विकाससँगै पछिल्लो समयमा मकवानपुरमा अनलाईन सञ्चार माध्यमको विकास द्रुत रूपमा अगाडि बढेको छ । मकवानपुरको पहिलो अनलाइन ग्रेटरहेटौँडा डटकम हो । जसका सम्पादक रामकुमार एलन थिए । त्यस्तै मकवानपुरको दोस्रो अनलाईन हेटौँडा न्यूज डटकम हो, जसका प्रकाशक तथा सम्पादक देवराज पन्त हुन् ।यहाँ तुखबर डटकम, हेटौँडाखबर डटकम, खबरब्रेक डटकम, अनमोल खबर डटकम, नवयुग डटकम,मध्यस्तथता डटकम, जनपत्र डटकम, मुर्चुङ्गा टिभी डटकम, सबै समाचार डटकम, हेटौँडा सन्देश डटकम, विशेष पोष्ट डटकम, ताम्सालिङ खबर डटकम, राप्ती खबर डटकम लगायतका अनलाइन सञ्चालनमा छन् [१६]

यस जिल्लामा उपत्यका बाहिरकै पहिलो ब्यबसायिक रेडियो मनकामना एफएम खुलेको भए पनि खुलेको छ वर्ष पछि २०६२ सालमा बन्द भयो .हाल ,पलुंग एफएम, हेटौँडा एफएम ,प्रतिध्वनि एफएम,थाहा एफएम,मकवानपुर एफएम,शक्ति एफएम,निकाश एफएम,आकाश गङ्गा एफएम, रेडियो सरोबर, रेडियो अनमोल ९० मेगाहर्ज र रेडियो सन्देश १०६.९ मेगाहर्ज छन् ।

पत्रपत्रिका

[सम्पादन गर्नुहोस्]

मकवानपुरमा कुनै समयमा कुराकानी साप्ताहिक तथा प्रयास साप्ताहिक शुरुमा चर्चित भएका थिए । त्यस्तै,  ‘साम’ साप्ताहिकले ठूलो चर्चा पाएको थियो । हाल हेटौँडा सन्देश दैनिक, साझाकुरा दैनिक, प्रदेश दैनिक, थाहा सन्देश दैनिक, समृद्ध समाज दैनिक र नयाँपन दैनिक प्रकाशनमा छ । यसअघि सञ्चालनमा आएको नारायणी दैनिक तथा हेटौँडा टुडे दैनिक अहिले बन्द भएको छ। २०८२ असोज २६ गतेबाट पश्चिम मकवानपुरलाई केन्द्रित गरेर बागीभूगोल साप्ताहिक प्रकाशन आरम्भ भएको छ । यसको संस्थापक रामकुमार एलन हुन् । सम्पादक सान्नानी श्रेष्ठ छिन् । पत्रिका रंगीन कलवरमा प्रकाशन भइरहेको छ ।

मकवानपुरका प्रथम पत्रकार न्हुच्छेमान श्रेष्ठ हुन् । प्रताप विष्ट, कृष्णराम परियार, कौशल पाण्डे, नवराज शर्मा पुराना पत्रकार हुन् । न्हुच्छेमान श्रेष्ठ र कौशल पाण्डे दिवंगत भइसकेका छन् । राममणि दाहाल, महेन्द्र श्रेष्ठ, रामकुमार एलन पछिल्लो पुस्ताका नेतृत्वदायी भूमिका निर्वाह गर्ने पत्रकार हुन् । त्यस्तै भानुभक्त आचार्य, रामशरण पुडाशैनी, जीवन शर्मा, शिवकुमार काशी, होम कार्की, गिरिजा अधिकारी, देवराज पन्त, राजन दाहाल क्रियाशील पत्रकार हुन् । रिपेश ऋद्धि दाहाल, सबिन न्यौपाने, प्रकाश दाहाल, नरेन्द्र सापकोटा, राजेश थापा गरिब, सुनिल खड्का, कृष्ण सारु ,सरिता दाहाल, रविन्द्र गौतम,बालकृष्ण दाहाल, चन्द्र घलान, जीवराज बख्रेल, धर्मेन्द्र दाहाल, सुरेश श्रेष्ठ, श्रीजना नेपाल, अनिश चौलागाईं, अमृत चिमरिया, उज्ज्वल अधिकारी, बलराम पुडासैनी, रुपा गुरुङ, जी न्यौपाने, सरोज पौडेल, सुनिता बिष्ट, सन्देश थिङ, भुवन घलान, सशान्त तामाङ, जमुना तामाङ, अञ्जना न्यासुर, पत्रकारितामा सक्रिय छन्।

मोबाइल हेनपा र २२ गाविस -प्रिपेड ९५००, पोस्टपेड ६५०) सिडिएमए ३७ गाविस/नपा -प्रिपेड ९८६, पोस्टपेड १०७६) टेलिफोन सुविधा उपलब्ध गाविस/नपा सङ्ख्या ४० टेलिफोन सुविधा उपलब्ध नभएको गाविस सङ्ख्या ४ -ठिंगन, बेतिनी, मंथलि, इपा)

जिल्ला हुलाक १ वटा इलाका हुलाक ११ वटा अतिरिक्त हुलाक ३४ वटा काउण्टर हुलाक १ वटा

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. General Bureau of Statistics, Kathmandu, Nepal, Nov. 2012
  2. "जिल्ला परिचय", जिप्रका मकवानपुर (नेपालीमा), अन्तिम पहुँच २०२१-११-२९ अभिलेखिकरण २०२१-११-२९ वेब्याक मेसिन
  3. "मकवानपुर जिल्ला – एक परिचय", हेटौँडा अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२१-११-२९ अभिलेखिकरण २०२१-११-२९ वेब्याक मेसिन
  4. "हेटौँडा उपमहानगरपालिका – एक परिचय", हेटौँडा अनलाइन (नेपालीमा), २०१९-०५-१४, अन्तिम पहुँच २०२१-११-२९[स्थायी मृत कडी]
  5. "चिसापानी गढी", मकवानपुर टुरिज्म (नेपालीमा), अन्तिम पहुँच २०२१-११-२९ अभिलेखिकरण २०२१-११-२९ वेब्याक मेसिन
  6. "मकवानपुर गढी घुमेर हेर्दा..", कायाकैरान दैनिक (नेपालीमा), २०१९-०५-१४, अन्तिम पहुँच २०२१-११-२९
  7. "कुलेखानीका तीनै आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन", सञ्चार कर्मी (नेपालीमा), अन्तिम पहुँच २०२१-११-२९
  8. "मकवानपुरका सेन राजाहरूको दुईसय नौ वर्षकाे इतिहास खाेजी भएन", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२१-११-२९
  9. "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२
  10. "तरकारी जोन प्रोफाइल तथा आधारभूत तथ्याङ्क विवरण", परियोजना कार्यान्वयन इकाई, तरकारी जोन (pdf) (नेपालीमा), पृ: १३-२०, अन्तिम पहुँच २०२१-११-२९
  11. "मासिँदै बागमती सभ्यता", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-११-२९
  12. "मकवानपुरमा पर्यटन विकासका सम्भावना र चुनौती", प्रस्तर खबर (नेपालीमा), २०१७-०३-३०, अन्तिम पहुँच २०२१-११-२९
  13. "चारुमती स्तुप", साप्ताहिक (नेपालीमा), अन्तिम पहुँच २०२१-११-२९
  14. "मकवानपुर : उत्कृष्ट पर्यटकीय गन्तव्य", हिमालय टाइम्स (नेपालीमा), अन्तिम पहुँच २०२१-११-२९ अभिलेखिकरण २०२१-११-२९ वेब्याक मेसिन
  15. "साउन १७ देखि काठमाडौँँ केन्द्रीत आन्दोलन तयारी हेटौँडामा", साझा सवाल (नेपालीमा), अन्तिम पहुँच २०२१-११-२९ अभिलेखिकरण २०२१-११-२९ वेब्याक मेसिन
  16. https://english.tukhabar.com/

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]