बाजुरा जिल्ला
बाजुरा जिल्ला | |
|---|---|
बाजुरा जिल्ला | |
| निर्देशाङ्क: २९°२६′४९″उ ८१°२९′१२″पू / 29.44694°N 81.48667°E | |
| देश | |
| प्रदेश | सुदूरपश्चिम प्रदेश |
| सदरमुकाम | मार्तडी |
| सरकार | |
| • प्रकार | जिल्ला समन्वय समिति |
| • अङ्ग | जिल्ला समन्वय समिति, बाजुरा |
| क्षेत्रफल | |
| • जम्मा | २,१८८ किमी२ (८४५ वर्ग माइल) |
| उन्नतांश | ६,४०० मिटर (२१००० फिट) |
| जनसङ्ख्या | |
| • जम्मा | १३८५२३ |
| • घनत्व | ६३/किमी२ (१६०/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
| भाषाहरू | नेपाली[बजुरेल भाषा ] |
| वेबसाइट | आधिकारिक वेबसाइट |
बाजुरा जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एक हिमाली जिल्ला हो।[२] यस जिल्लाको सिमाना बझाङ जिल्ला, हुम्ला जिल्ला, मुगु जिल्ला, कालीकोट जिल्ला र अछाम जिल्लासँग जोडिएको छ।[२] यस जिल्लाको क्षेत्रफल २१८८ वर्ग कि.मि. छ।[२] यो जिल्ला प्रशासनिक हिसाबले पहिला २७ गाविस, ९ इलाका, १ निर्वाचन क्षेत्रमा विभक्त थियो।[२] नयाँ विभाजनअनुसार ९ वटा स्थानीय तहमध्ये ४ वटा नगरपालिका र ५ वटा गाउँपालिका छन्।
जिल्लाको नामाकरण
[सम्पादन गर्नुहोस्]जिल्लाको नाम कसरी बाजुरा रहन गयो भन्ने सम्बन्धमा कुनै लिखित प्रमाण भेट्न सकिएको छैन तापिन पुराना कहावतहरू अनुसार पहिले यो जिल्लाको आफ्नै स्वतन्त्र अस्थित्व नभई यो क्षेत्र त्यस बेलाको सिंजा हालको जुम्ला जिल्ला पर्दथ्यो। त्यसकारण केन्द्रीय शासन जुम्लाबाट सञ्चालन गरिए तापनि शासकका प्रतिनिधिहरू हालको बाजुरा जिल्लामा पनि सहायक दरबार बनाएर बस्ने गर्दथे। उक्त सहायक दरबारलाई "कोट" भनिन्थ्यो। तत्कालिन सिजांदरबारका राजाको आदेश अनुसार यस बाजुरा दरबारबाट वाज चराको नाम समातेर पक्रेर त्यहा पठाउनु पर्दथ्यो। वाजलाई पासोमा हालेर समातिन्थ्यो। भालेबाजंलाई शाही वाज र पोथि वाजलाई झुर्रा वाज भनिन्थ्यो। एक पटक राजाको आफ्नो दरबारमा वाज पठाई दिने आदेश अनुसार पासो थाप्दा उक्त पासोमा शाही वाज न परि झुर्रा वाज पर्न गएछ। शाहीवाज पासोमा पार्न नसकि झुर्रावाज मात्र परेको खबर सहित झुर्रावाज राजाको दरबारमा पठाएछन। राजाले शाहिवाजको चाहना गरेको तर झुर्रावाज प्राप्त भएकोले यस ठाउँको नाम त्यहि पोथीवाजको नाम "भुर्रावाज" लाई उल्टोबाट बाझुर्राकोट राखेछन। त्यहि बाझुर्राकोट पछि अपभ्रंश हुँदै बाजुरीकोट भयो र त्यसै बाजुरीकोटको नामबाट बाजुरा रहेको किंवदन्ति पाइन्छ। अर्को भनाई अनुसार यो ठांउमा "बाजुगार्ड" भन्ने नदिको नामबाट बाजुरा जिल्ला नाम रहन गएको हो भन्ने भनाई पनि पाइन्छ।
भूगोल
[सम्पादन गर्नुहोस्]यो जिल्ला २८ डि १८“उत्तरी देखि २९डि ५” उत्तरी अक्षांश र ८०डि ९ “ पूर्व देखि ८१डि ५” पूर्व देशान्तरसम्म फैलिएको छ।[२] यो जिल्लाको सिमानामा पूर्वमा मुगु र कालिकोट, पश्चिममा बझाङ, उत्तरमा हुम्ला, दक्षिणमा अछाम र कालिकोट जिल्ला पर्दछन्।[२] यो जिल्लाको क्षेत्रफल २१८८ वर्ग किलोमिटर वा २१८८०० हेक्टर रहेको छ।[२] भौगोलिक रूपमा यो जिल्ला हिमाली क्षेत्रमा १३.५%, उच्च पहाडि क्षेत्र –८४.७% मध्य पहाडि क्षेत्र १.७% रहेको छ।[२] यो जिल्ला समुद्री सतहबाट न्युनतम ७२६ मी.(ईकडि गार्ड) देखि अधिकतम ७०३६ मि.(हंशिरेलेख)उचाइ सम्म फैलिएको छ।[२] यो जिल्लाको प्रमुख नदिहरू कर्णाली नदि, बुढिगङ्गा, मालागाड, बार्जुगाड, कोदिगाड, दानसाग, कवाडि, ईकडिगार्ड आदि हुन् भने प्रमुख तालहरू खप्तड ताल, छेडेदह, बुढिनन्दा देवीको पवित्र स्थलमा रहेका ७ वटा ताल आदि हुन्।[२] धरातलीय स्वरूपको आधारमा यो जिल्लाको हावापानी निर्भर गर्दछ। यो जिल्लामा अर्ध उष्ण, समशितोष्ण, शितोष्ण र ठण्डा शितोष्ण गरी चार प्रकारका हावापानी रहेका छन्।[२] यो जिल्लाको औसत तापक्रम गृष्म ऋतुमा १८ डिग्री – ३२ डिग्री र हिउँदमा ० डी — ५ डिग्री तथा औसत वर्षा अधिकतम ८० इन्चदेखि न्यूनतम २५ इन्चसम्म हुन्छ।[२] यस जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रमा बुढीनन्दा देवी, बडिमालिका, नाटेश्वरी, खप्तड, छेडेदह आदि तथा व्यापारिक महत्त्वका क्षेत्रमा मार्तडी बजार, कोल्टी बजार, शेरा बजार, डाब बजार, कुल्देवमाडौँ बजार आदि रहेका छन्।[२]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]वि सं २०५८ को जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या १,०८,७८१ थियो[२] भने विसं २०६८ मा १,३४,९१२ पुग्यो। विसं २०६८ मा महिला ६९,१०६ र पुरुष ६५,८०६ थियो। यस जिल्लाको जनसङ्ख्या नेपालको जनसङ्ख्याको ०.५० प्रतिशत छ। यीमध्ये ५ वर्ष मुनिको जनसङ्ख्या १८,९३५ थियो भने ७५ वर्ष र सोभन्दा माथिको जनसङ्ख्या जम्मा १७०७ थियो। यो जिल्लामा घर परिवार सङ्ख्या २४९०८ थियो भने औसत परिवार सदस्य सङ्ख्या ५.५ थियो। यो जिल्लाको जनघनत्व ६१.७ र जनसङ्ख्या वृद्धिदर २.१५ थियो। यस जिल्लाको लैङ्गिक अनुपात ९५.२ छ।[३]
प्रशासनिक विभाजन
[सम्पादन गर्नुहोस्]जिल्लामा ९ स्थानीय तहहरू छन्, जसमध्ये ४ सहरी नगरपालिका र ५ गाउँपालिका छन्।[३]
| क्रम | स्थानीय तह | समावेश गाविसहरू | केन्द्र | वडा सङ्ख्या | जनसङ्ख्या | क्षेत्रफल (वर्ग किमी) | जनघनत्व (वर्ग किमी) |
|---|---|---|---|---|---|---|---|
| १ | बडीमालिका नगरपालिका | मार्तडी, जुगाडा (१-५, ८-९) र बुढीगङ्गा | मार्तडी | ९ | १८,४१४ | २७६ | ६७ |
| २ | त्रिवेणी नगरपालिका | छतारा, तोलीदेवल र कैलाशमाण्डौ | तोलीदेवल | ९ | १७,७९८ | १७०.३२ | १०० |
| ३ | बुढीगङ्गा नगरपालिका | कुल्देवमान्डौ, बाह्रबिस र ब्रह्मतोला | कुल्देवमान्डौ | १० | २०,१८५ | ५९.०२ | ३४० |
| ४ | बुढीनन्दा नगरपालिका | कोल्टी, कोटिला, पाण्डुसेन, बाँधु (८,९), जगन्नाथ (९) | कोल्टी | १० | २०,०७२ | २३२.४८ | ८६ |
| ५ | गौमुल गाउँपालिका | जुगाडा (६-७), दहकोट र मानाकोट | घटमुना | ६ | ८,९१३ | ३१४.६६ | २८ |
| ६ | जगन्नाथ गाउँपालिका | जगन्नाथ (१-८) र गोत्री | जगन्नाथ | ६ | १०,१५८ | १७१.७२ | ५९ |
| ७ | स्वामीकार्तिक खापर गाउँपालिका | साप्पाटा, जुकोट र वाई | वाई | ५ | १२,५७६ | ११०.५५ | ११० |
| ८ | खप्तड छेडेदह गाउँपालिका | काँडा, जयबागेश्वरी, गुदुखाती, डोगडी र आटिचौर | डोगडी | ७ | १९,३०७ | १३५.०८ | १४० |
| ९ | हिमाली गाउँपालिका | बिच्छया, रुगिन र बाँधु (१-७) | बाँधु | ७ | १०,३०९ | ८३०.३३ | १२ |

सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०७८", केन्द्रीय तथाङ्क विभाग, माघ २०७८, अन्तिम पहुँच १७ चैत २०७९। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०२-०६ मिति
- ↑ २.०० २.०१ २.०२ २.०३ २.०४ २.०५ २.०६ २.०७ २.०८ २.०९ २.१० २.११ २.१२ २.१३ जिल्ला विकास समिति बाजुरा
- ↑ ३.० ३.१ "स्थानिय तह अनुसार बाजुरा जिल्लाको वस्तुगत विवरण", तथ्याङ्क कायाालय, बाजुरा, अन्तिम पहुँच १८ चैत २०७९। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०३-०३ मिति