सोलुखुम्बु जिल्ला
सोलुखुम्बु जिल्ला |
---|
अन्तर्गत एक शृङ्खलाको भाग |
नेपालको प्रशासनिक विभाजन |
---|
![]() |
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
नेपाल पोर्टल देश अनुसार प्रशासनिक विभाजन |
सोलुखुम्बु जिल्ला (शेर्पा भाषा: ཤར་ཁུམ་བུ་རྫོང་།, Wylie: shar khum bu dzong ), नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलको उत्तरी भागमा अवस्थित हिमाली जिल्ला हो। विश्व सम्पदा सूचीमा सुचिकृत नेपालको पहिचान (शेर्पा भाषा: ཇོ་མོ་གླང་མ།, Wylie: jo mo glang ma ) सगरमाथा हिमाल यसै जिल्लामा पर्दछ। पूर्वाञ्चलमा सडक सुविधासँग आवद्ध भएको मात्र जिल्ला भएतापनि यहाँका मनोरम हिमशिखर र उच्च पर्वतीय क्षेत्र विश्व मानचित्रमा नै प्रसिद्ध रहेको छन। यस जिल्लालाई पर्यटकहरूको सांग्रिला भनेर पनि चिनिन्छ। विश्वका साहसी तथा प्राकृतिक तथा सांस्कृतिक विषयमा चाख राख्नेहरूको लागि यस जिल्लाले सधै आकर्षित गरिरहेको पाइन्छ। यस जिल्ला पूर्वाञ्चलका जिल्लाहरूमा सबभन्दा कम जनघनत्व भएको जिल्लामा पर्दछ। यो जिल्लामा ३१ वटा गाउँ विकास समितिहरू छन र १ नगरपालिका छ।
जिल्लाको नामाकरण
[सम्पादन गर्नुहोस्]- जब नेपाल उपत्यकाबाट किंरातहरु पराजित भए त्यसपछि तिनीहरु पुर्वतिर लागे । त्यसबखतमा पुर्वका तीन गुफामा बसी सिकार खेली आफ्नो जिवीकोपार्जन गर्न थाले । किंरात राई “थुलुङ्ग” भाषा अनुसार "सुले” भन्नाले तीन र “खोम बु” भन्नाले गुफा छ भनेको हो, जुन "सुले खोम बु” भन्ने वाक्य पछि अपभ्रंश भई सोलुखुम्बु हुन गएको हो ।
- किराँती भाषामा पश्चिम तर्फबाट आई माँझ किराँतमा बस्नेलाई खुम्बुङवा भनिन्थ्यो र तिब्बती भाषाको शर शब्द थपिदा शरखुम्बु भएको र सो शब्द अपभ्रश भएर सोलुखुम्बु बनेको विश्वास गरिन्छ।
- सोलुखुम्बु जिल्लाको सदरमुकाम क्षेत्रमा बग्ने सोलु नदी र उत्तरस्थित खुम्बुला हिमालको काखमा खुम्बु उपत्यका रहेको र सो शब्दबाट नै सोलुखुम्बु नामकरण भएको किम्बदन्ती पनि पाइन्छ।
- तिब्बती र शेर्पा भाषामा (ཤར་ཁུམ་བུ།) शर-खुम-बु भन्नाले पूर्व तर्फको पवित्र भूमि जनाउँछ र यही शब्द अपभ्रंश भएर सोलुखुम्बु भएको मानिन्छ।
भौगोलिक अवस्था
[सम्पादन गर्नुहोस्]![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/d/dd/Solu_Salyan.jpg/220px-Solu_Salyan.jpg)
- अक्षांश:- २७ डिग्री २०' ३९' देखि २८ डिग्री ६' २४' उत्तर
- देशान्तर:- ८६ डिग्री ०' २१' देखि ८७ डिग्री ०' १' पूर्व
- सिमाना:- पूर्व-सङ्खुवासभा र भोजपुर जिल्ला,पश्चिम-दोलखा र रामेछाप जिल्ला, उत्तर-चीनको तिब्बत, दक्षिण-ओखलढुङ्गा र खोटाङ जिल्ला
- क्षेत्रफल:- ३,३९,७७६ हेक्टर
- औसत लम्बाइ:-
- औसत चौडाइ:-
- भौगोलिक विभाजन:- हिमाली क्षेत्र
- सबभन्दा अग्लो स्थान:- ८८४८ मिटर सगरमाथा हिमाल
- सबभन्दा होचो स्थान:- ६०० मिटर तुइनटार
- सदरमुकाम:- दुधकुण्ड
विश्वको सबैभन्दा अग्लो भूभाग ८,८४८ मिटर उचाई देखि ६०० मिटर उचाईको तुइनटार भूभाग यसै जिल्लामा पर्दछ। विभिन्न उच्च पर्वतीय हिमाली श्रृखला डाँडापाखा खोंच, वेशी, खोल्सा, ताल तलैया विभिन्न किसिमका जडीबुटी खानी कस्तुरी दुर्लभ वन्यजन्तु र सांस्कृतीक सम्पदाको धनी जिल्ला हो। यस जिल्लाको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने पूर्वमा भोजपुर र संखुवासभा पश्चिममा दोलखा र रामेछाप दक्षिणमा ओखलढुंगा र खोटाङ जिल्लाहरू पर्दछन। यस जिल्लाको कूल क्षेत्रफल ३३९७७६ हेक्टर रहेको छ। यस मध्ये १९२५११ हेक्टर उच्च हिमाली क्षेत्र र १४४४६४ हेक्टर उच्च पहाडी क्षेत्रले ओगटेको छ।
प्रशासनिक विभाजन
[सम्पादन गर्नुहोस्]![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/b/bb/NepalSolukhumbuDistrictmap.png/350px-NepalSolukhumbuDistrictmap.png)
सोलुखुम्बुको नयाँ प्रशासनिक विभाजन (नगरपालिका तथा गाउँपालिकाहरू)
[सम्पादन गर्नुहोस्]सोलुदुधकुण्ड नगरपालिका, दुधकोशी गाउँपालिका, खुम्बु पासाङल्हामु गाउँपालिका, दुधकौशिका गाउँपालिका, नेचासल्यान गाउँपालिका, माहाकुलुङ गाउँपालिका, लिखु पिके गाउँपालिका र सोताङ गाउँपालिका गरी ८ स्थानीय संरचना रहेको छ ।[२]
सोलुखुम्बुको पुरानो प्रशासनिक विभाजन (नगरपालिका तथा गाविसहरू)
[सम्पादन गर्नुहोस्]दूधकुण्ड नगरपालिका, नेले, कांगेल, सोताङ, देउसा, जुबु, सल्यान, तिङ्गला, गोराखानी, चौलाखर्क, चौरीखर्क, खुम्जुङ, टाक्सिन्दु, गार्मा, नेचाबेतघारी, नेचाबतासे
भौगोलिक विभाजन
[सम्पादन गर्नुहोस्]डाँडाकाँडा, भिरपाखा, खोल्सा-खोल्सी, वन-जङ्गल, टार, बेसी आदि विविधतायुक्त धरातलीय स्वरूप भएको यस जिल्लालाई मुख्य रूपमा तीन भागमा विभाजन गर्न सकिन्छ।
हिमाली क्षेत्र
[सम्पादन गर्नुहोस्]यस प्रदेशमा महालङ्गुर र अन्य हिमश्रृङ्खलाहरू पर्दछन। विश्वको सर्वोच्च चुचुरा सगरमाथा हिमाल यसै प्रदेशमा पर्दछ। यस जिल्लाको प्रमुख गौरवको रूपमा रहेको यो क्षेत्र पर्वतारोहण र दृष्यावलोकनका लागि विश्व प्रसिद्ध छ। उच्च हिमाली क्षेत्र यस प्रदेशमा महालंगुर र अन्य हिमश्रृंखलाहरू पर्दछन् । विश्वको सर्वोच्च चुचुरा (शेर्पाभाषा: ཇོ་མོ་གླང་མ།, Wylie: jo mo glang ma ) सगरमाथा यसै क्षेत्रमा पर्दछ । महालंगुर श्रृंखलाको शिखर सगरमाथा (८८४८ मि.) शिरमा रहेको छ । अन्य प्रमुख हिमशिखरहरूमा ལྷོ་རྩེ། ल्होचे (८५१६ मि.), चोयु (८२०१ मि.), ग्याचुङगाङ (७९५२ मि.), ནུབ་རྩེ། नुबचे (७८५५ मि.), चामलाङमा (७२७६ मि.), पुमोरी (७१६१ मि.), आमाडव्लम (६८१२ मि.), थाम्सेर्कु (६६२३ मि.), नुम्बुर (६९५७ मि.), ल्होचेशर (८४०० मि.), पासाङ्गल्हामू (७३५१ मि.) पर्दछन् । यस जिल्लाको प्रमुख गौरवको रूपमा रहेको यो क्षेत्र पर्वतारोहण र दृष्यावलोकनका लागि विश्व प्रसिद्ध छ ।
उच्च पर्वतीय क्षेत्र
[सम्पादन गर्नुहोस्]खुम्बु तथा वरीपरीका उच्च उपत्याकाहरू यसै प्रदेशमा पर्दछन्। फापर उवा आलु आदिको खेती हुने शेर्पा जातिको मुख्य वसोवास रहेको यस क्षेत्रमा पर्ने प्रमुख स्थानहरू पर्यटन व्यबसायको लागि अति उर्वर मानिन्छ। मेरापिक, पिकेडाँडा, कालापत्थर, मौले खर्क, दुधपोखरी, लामचुरा, धर्मपिक, रात्नाङ्गे डाँडा आदि स्थानहरू यस क्षेत्रमा पर्ने महत्त्वपूर्ण स्थान मानिन्छ।
मध्य पहाडी क्षेत्र
[सम्पादन गर्नुहोस्]जिल्लाको अधिकांश आवादी भएको यो क्षेत्र हावापानी दृष्टिकोणले अत्यन्त राम्रो छ। यस भागमा मकैं कोदो तोरी आलु तथा फलफूलमा उच्च स्थानमा स्याउ र दक्षिणी क्षेत्रमा सुन्तला खेती गरिन्छ। यस जिल्लाका दुधकोशी लिखु सोलु आदि प्रमुख नदी तथा खोलाहरूको किनारामा धान खेती हुन्छ।
हावापानी
[सम्पादन गर्नुहोस्]हावापानीको वर्गीकरण अनुसार यस जिल्लाको हावापानीलाई २ भागमा विभाजन गरिएको छ। न्यूनतम ९०० मिटरदेखि अग्लिन शुरु भै विश्वको सर्वोच्च शिखर सगरमाथा ८,८४८ मिटर सम्मको उचाईमा फैलिएको यस जिल्लाको आधाभन्दा वढी ५७ प्रतिशत भूभाग उच्च हिमाली क्षेत्रमा पर्ने हुँदा मुख्यतया यस जिल्लाको हावापानी चिसो रहेको छ। यस जिल्लाको दक्षिणी भूभागमा अवस्थित मध्य पहाडी क्षेत्रमा समशितोष्ण हावापानी पाइन्छ। यस जिल्लाको वार्षिक औसत वर्षा सरदर १६६१.१ मिलिमिटर रहेको छ भने वार्षिक अधिकतम तापक्रम सरदर ११.५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम सरदर १.८ डिग्री सेल्सियस रहेको छ।
जल सम्पदा
[सम्पादन गर्नुहोस्]यस जिल्लामा रहेका प्रमुख नदीनालाहरू दुधकोशी नदी, इङ्खुखोला, सोलुखोला, बेनीखोला, हँगाखोला, चिम्दिङ्गखोला, सिसाखोला, साथै नुब्चे, ल्होचे र खुम्बु हिमनदी प्रमुख छन। त्यस्तै यस जिल्लाका मुख्य ताल कुण्डहरूमा दुधकुण्ड, दुधपोखरी, जालिमपोखरी, पाँचपोखरी र साल्पापोखरी आदि पर्दछन।
व्यापारिक महत्त्वका स्थानहरू
[सम्पादन गर्नुहोस्]![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/b/b1/Nepali_airport_Solu.jpg/200px-Nepali_airport_Solu.jpg)
सदरमुकाम सल्लेरी बजार यस जिल्लाको दक्षिण भागमा पर्ने मुख्य वजार हो। यस स्थानमा दैनिक उपभोग्य वस्तुका साथै विदेशी सामान र मुलत गलैचाको समेत व्यापार हुने गर्दछ। जिल्लाको अर्को प्रमुख वजारका रूपमा सगरमाथाको प्रवेश द्वारको रूपमा रहेको नाम्चे बजार पर्दछ। पर्यटकीय बजारको रूपमा रहेको यस बजारमा सुविधा सम्पन्न होटलहरू रहेका छन्। यहाँ मुख्य रूपमा उत्तरी सिमा क्षेत्र तिब्बतबाट समेत व्यापार गरिन्छ। यस बाहेक यस जिल्लाका अन्य साना बजारहरूमा नेचाबेतघारी गाविसमा पर्ने नेचा बिहिबारे बजार, नेले बजार, सोताङ्ग बजार, टाप्टिङ्ग गाविस खाम्दिङ् हाट, भाकाञ्जेको किन्जा बजार, बासाको सोमबारे हाट, सल्यान गाविसको बुधबारेहाट, चौंरीखर्कको लुक्ला बजार, बुङ्ग गाविसको बुङ्ग बजार पनि व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ।
प्रमुख धार्मिक क्षेत्र
[सम्पादन गर्नुहोस्]यस जिल्लामा हिन्दू तथा बौद्धमार्गीहरूले मान्दै आएका धार्मिक स्थलहरू प्रशस्त संख्यामा रहेका छन्। हिन्दू धर्मावलम्बीहरूले मानिआएका प्रमुख देवीदेवताका स्थलहरू देहाय बमोजिम रहेका छन्।
- श्री वालेश्वर महादेव मन्दिर
- ज्वालामाइदेवीको मन्दिर
- पाचकन्यास्थान
- कालिका देवी स्थान
- दुधकुण्डेश्वर महादेव
- ठकुमाल देवीस्थान,कांगेल सोलुखुम्बु
- सिद्धनाथ मन्दिर, भेडीश्वोर वागेश्वरी स्थान
- जाल्पा देवीस्थान, शिवालय वज्रगुम्बा मन्दिर
- सिंहकाली देवी स्थान
- गुप्तकालीका देवीको मन्दिर
- कालिकादेवी, जालपादेवी, सिंहदेवी मन्दिर (नेचा बेतघारी)
- सल्यान स्थित महादेब मन्दिर कोटिहोम
प्रचार प्रसारको अभावमा ओझेलमा परेको एउटा धार्मिक स्थल हो दुधकुण्ड । नेपालमा दुधकुण्ड जस्ता थुप्रै धार्मिकस्थलहरु छन् जसले राम्रो प्रचार पाएका छन् र स्वदेशी तथा विदेशी पर्यटकहरूको ओइरो लाग्ने गर्छ । सोलुखुम्बु जिल्लाको टाक्सिन्दु गा.वि.स. मा अवस्थित यो पवित्र धार्मिक स्थल पर्यटनको दृष्टिले एउटा सुन्दर गन्तव्य बन्न सक्छ । चार हजार ६ सय मिटरको उचाइमा रहेको दुधकुण्डमा हरेक भाद्र जनै पूर्णिमामा भव्य मेला लाग्ने गर्छ । केही दर्शनार्थीहरु आफ्नो समयानुकुल।एक दिन अगावै अर्थात चतुर्दशीकै दिन दर्शन गरेर फर्कने गर्छन् । यहाँ सोलुखुम्बु लगायत अन्य।छिमेकी जिल्लाका श्रद्धालु भक्तजनहको भीड लाग्छ । नुम्बुर हिमालको काखमा रहेकाले यसको सौन्दर्य अझ बढेको छ ।
उच्च ठाउँको कठ्याङ्ग्रिदो जाडोको पनि कुनै पर्वाह नगरी तीर्थालुहरु दर्शनका लागि यहाँ आउछन् । युवा युवतीदेखि बृद्धबृद्धासम्म दर्शन गर्न यहाँ आउछन् । मनले चिताएको काम पूरा हुने, सन्तान प्राप्ति हुने, धनलाभ हुने जस्ता धार्मिक विश्वास रहेको छ । दुधकुण्ड यस्तो। ठाउँ हो जहाँ हामीले स्वणीम आनन्दको अनुभूति गर्न सक्छौं । सारा दुख, दर्द, पीर–व्यथा आदि भुल्न सकिन्छ । यहाँ सुरक्षाका बारेमा ढुक्क भएर जान सकिन्छ । लेक लागेर बिरामी भए पनि रेडक्रसले निशुल्क रूपमा स्वास्थ्य शिविर सञ्चालन गरेको हुन्छ । त्यस्तै कुनै पनि अप्रिय घटना घट्न नदिनका लागि सेना र प्रहरी खटाइएका हुन्छन ् । खाना र बस्नका लागि अस्थायी होटलहरु खोलिएका छन् ।नेपालमा हजारौंको सङ्ख्यामा विदेशी पर्यटकहरु आउछन् । जसमध्यको केही अंश मात्र यहाँ भ्रमण गर्न गएमा दुधकुण्डको प्रचार त हुने नै भयो यसका अलवा यस क्षेत्रका बासिन्दाको जीवनस्तरमा सुधार आउन जान्छ । अहिले नगण्य रूपमा विदेशी पर्यटकहरु दुधकुण्ड जाने गरेका देखिन्छन् । यसलाई ट्रेकिङ रुटको रुप दिन अझै सकिएको छैन । हिमालको दृष्यमा रमाउन चाहने पर्यटकका लागि अन्नपूर्ण आधार शिविर पुग्नै पर्दैन । किनकि दुधकुण्डबाटै हिमालको रमणीय दृष्य मज्जाले अवलोकन गर्न सकिन्छ । थोरै खर्चमा हिमालमको मनमोहक दृष्यको मज्जा लिन जो कोही पनि एक पटक जानै पर्ने ठाउँ हो दुधकुण्ड ।एक पटक गएपछि पटक पटक जाऊँ जाऊँ लाग्ने बनाउछ । दुधकुण्डमा पानीको रङ दुध जस्तै भएकाले यसलाई दुधकुण्ड भनिएको भनाइ छ । यसको उत्पति कहिले भएको हो यसका बारेमा कसैले पनि भन्न सकेको छैन । नेपाल रेडक्रस सोसाइटी उपशाखा टाक्सिन्दुमा सल्लाहकार छोङबा शेर्पाका अनुसार पृथ्वीको उत्पतिसँसँगै यसको उत्पति।भएको हुन सक्छ । यस कुण्डमा कति घनमिटर पानी अटेको छ भनेर पनि अलिलेसम्म मापन गरिएको पाइदैन । जे भए पनि त्योसँग पर्यटकले कुनै सवाल राख्दैनन् । यसको अपार सौन्दर्यमा रम्नमै यहाँ पुग्ने मानिस व्यस्त हुने छन् । परापूर्व कालदेखि दुधकुण्ड मेला जाने गरिएको छ । तीनदेखि पाँच दिनसम्म समय छुट्याएर यहाँ दर्शन गर्ने उद्देश्य लिएर मानिसहरु यस पवित्र भूमिमा आउने गर्छन् । वास्तवमा ती तीर्थयात्रीहरु पर्यटक नै रहेछन् । हामीले थाहै नपाई आन्तरिक पर्यटनलाई माथि उठाइरहेका रहेछौ्रं ।
दुधकुण्डलाई प्रचार प्रसारमा ल्याउनु पर्ने आवश्यकतालाई पछिल्लो समयमा आएर धेरैले चासो दिन थालेको पाइएको छ । विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीहरु त्यहाँ देखिए । नेपाल टेलिभिजन, खुलासा टेलिभिजन, एभिन्युज, सोलु अनलाइन,सोलुखुम्बु अनलाइन जस्ता सञ्चार माध्यमका सञ्चारकर्मीहरूको उपस्थिति थियो ।।उसरी पर्दामा नआएका अथवा कम आएका महत्त्वपूर्ण स्थलहरूलाई संसारभरि चिनाउने उत्तरदायित्व सञ्चार माध्यमहरूले लिन जरुरी छ । आमसञ्चारको विकास र विस्तारले संसारलाई एउटा ग्वबल भिलेजको रूपमा परिणत भइसकेको छ । यसर्थ विभिन्न महत्त्वपूर्ण धार्मिक स्थलहरूको प्रबद्र्धन।गर्न सजिलो भएको छ । पर्यटनमा लागि पदयात्रा सुरु भई सके पनि यो सुरुवात मात्र भएको हो । यसलाई व्यवस्थित रुट बनाउन अझै धेरै व्यवस्थापनको खाँचो छ । स्थायी होटल तथा लजहरु खोल्न आवश्यक छ। र होटल तथा लजहरु खोल्न सम्भव नहुने ठाउँहरूमा सुविधा।सम्पन्न क्याम्पिङ स्थलहरु कनाउन सकिएको खण्डमा दुधकुण्डस्वदेशी तथा विदेशी पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्ने कुरामा दुई मत छैन । यसका लागि टाक्सिन्दुवासी र समग्र सोलुवासी जागरुक हुनु पर्छ । ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/8/81/Wikimedia-logo.svg/40px-Wikimedia-logo.svg.png)