धनकुटा जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
धनकुटा जिल्ला
Dhankuta district location.png
अञ्चल: कोशी अञ्चल
सदरमुकाम: धनकुटा
क्षेत्रफल: ८९१ वर्गकिलोमिटर वर्ग कि.मि.
जनसंख्या: १,६३,४१२ (विसं २०६८)[१]
गाउँपालिका(हरू):
नगरपालिका(हरू): धनकुटा,
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाड
सबै भन्दा अग्लो स्थान: पटेक डाँडा मिटर
सबै भन्दा होचो स्थान : मिटर
प्रमुख जातिहरू: बाहुन, क्षेत्री,नेवार,राई,लिम्बु,मगर,शेर्पा,तामाङ् आदि
प्रमुख भाषाहरू: नेपाली, राई,लिम्बु आदि
मानव विकास सूचाङ्क स्थिति: ३५ (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०२६
प्रमुख जिल्ला अधिकारी: -
वेबसाइट: www.ddcdhankuta.gov.np
 हे  वा  सं 
धनकुटा जिल्लामा अवस्थित दुम्से किराँतेश्वर महादेव मन्दिर

धनकुटा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, कोशी अञ्चलमा अवस्थित पहाडी जिल्ला हो । यस जिल्लाको सदरमुकाम धनकुटा नगरपालिका पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि हो । विक्रम सम्बत २०१९ साल अघि विभिन्न नामले देशकै प्रशासनिक एकाईको रूपमा काम गर्दै आएको धनकुटा वि.सं. २०१९ साल बैशाख १ गते तात्कालिन राजा महेन्द्रको शासनकालमा धनकुटा जिल्ला भनी नामाकरण गरिएको हो । यस जिल्लाको पूर्वमा तेह्रथुमपाँचथर जिल्ला, पश्चिममा भोजपुरउदयपुर, उत्तरमा संखुवासभा जिल्ला र दक्षिणमा मोरङसुनसरी जिल्ला रहेका छन् । यसरी चारैतिरबाट जिल्लाहरूले घेरिएको भए पनि धनकुटा जिल्लाको माथिका जिल्लाहरूसँगको सिमाना विभिन्न खोला र नदीहरूले छुट्टयाएका छन् । वि.सं. २०३२ सालमा तत्कालिन सुनसरी जिल्लाको आहाले गाविस यस जिल्लामा समाविष्ट भइसकेपछि ८९१ वर्ग किलोमिटर क्षेत्रफलमा विस्तृत हुन पुगेको धनकुटा जिल्ला हाल ३५ गाविसहरू, एक नगरपालिका, ११ इलाका तथा दुई निर्वाचन क्षेत्रमा विभक्त रहेको छ।

जिल्लाको नामाकरण

जिल्लाको नामकरण सम्बन्धमा एकमत छैन । धनकुटा जिल्ला नामाकरणको पछाडिका कारणहरूलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।

  • '"धान्यकुट"' - संस्कृत भाषामा धान्य - धान र कुट - पर्वत वा शिखर या राशि भन्ने हुन्छ। धान्यकुटको शाब्दिक अर्थ धानको राशि जस्तै देखिने कुनै पर्वत हुने र त्यस्तो पर्वत भएको स्थल नै धान्यकुट हुने हुँदा यस जिल्लाका आसपास धेरै पहाडी खण्डहरू रहेका कारण यस जिल्लालाई धान्यकुट - धानकुट - धानकुटा - हुँदै धनकुटा भएको हो।
  • कसैको भनाइ अनुसार यहाँ धनकुटा नामको देवीस्थान रहेकोले यसको नाम धनकुटा रहन गएको हो।
  • केही स्थानीयहरूको भनाइ अनुसार चुलीवन नजीक कतै आठपहरिया राईहरूको धान कुट्ने ठूलो ओखल रहेको कारण यसको नाम धनकुटा रहन गएको हो।
  • भारतको उत्तर प्रदेशको कानपुरमा धनकुट्टी चैत्य छ। त्यस चैत्यसँग यी आठपहरिया राईको बलिया नाता हुनाले यसको नाम यस्तो रह्यो।
  • अर्को किम्बादन्ती अनुसार - वर्तमान कागते भन्ने ठाउँमा ठूलो पोखरी थियो। त्यो भन्दा अलिक माथि लामो अर्को पोखरी पनि भएको कुरा बूढापाकाबाट सुन्न पाइन्छ। यसका दुवैतिर अग्ला डाँडाँहरू अहिलेसम्म छँदैछन्। कुनै कल्पनाशील मनुष्यले यी दुई थुम्कालाई ढिकीका खाबाँ लामो पोखरीलाई ढिकी र ठूलो पोखरीलाई ओखलजस्तो लागेर अहो यो त धान कुट्ने ठाउँ पो रहेछ भन्यो। चल्दै जाँदा "धानकुटाबाट अपभ्रंस हुँदै धनकुटा भएको हुन सक्ने अनुमान गरिन्छ। [२]

माथिका विभिन्न कारणहरूमध्ये तार्किक दष्टिले उपयुक्त मानिएको कारणहरूमा नं. १मा चर्चा गरिएको कारण केही हदसम्म ठीक मान्न सकिन्छ किनभने यस जिल्लाको भू-धरातलभित्रको अनेकौं यस्ता धानका राशि जस्ता थुम्काहरू रहेका छन् जुन अहिले पनि देख्न सकिन्छ। यस नामलाई स्मरण गराइरहेको जस्तो भान भइरहन्छ। अर्को ५ नं.मा उल्लेख गरिएको बुदाँ पनि जनश्रुतिमा बढी चर्चा गरिएको र सान्दर्भिक नामकरण जस्तो देखिन्छ तथापि हाल कागते पोखरी देख्न सकिदैंन। यति हुदाँहुँदै पनि यसलाई पुष्टि मिल्ने दुई थुम्काहरू उभोपट्टिको छेउमा ढिकीको खाँवा झैं भएर पनि रहिरहेका छन्।

ऐतिहासिक पृष्ठभुमि

इतिहासको प्रामाणिक कालमा लिम्बुवान क्षेत्रका ६ जिल्लाहरू संखुवासभा, धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ्ग र इलाम मध्येको एक जिल्ला धनकुटा हो। यस क्षेत्रमा लिम्बुवान राज्य भएको बखत केन्द्रीय शासन व्यवस्था लिच्छवि शासकहरूका हातमा थियो। इतिहासको कुनै कालखण्डमा लिम्बुवान क्षेत्रमा विभिन्न किराँती शासकहरूले शासन गरेका र त्यस पूर्वको लिम्बुवान क्षेत्रलाई फेदाप भनिएको र धनकुटा जिल्ला पनि त्यसै फेदाप क्षेत्रभित्र पर्ने इतिहासकारहरूको राय छ। त्यो देश धनुर्वाणको सहायताले जितेको हुनाले त्यसको नाउँ लिम्बुवान राखियो लि = धनु, आवु = हान्ने, वाननाउ = लाउनु अर्थात किराँती भाषामा धनुर्वाणले जितेको देश लिम्बुवान हो भन्ने तर्क इतिहासकारहरूले अघिसरेका छन। लिम्बु सरदारहरूका दश सन्तानले होन्देन हांग, याकोतेद हांग, चेस्वी हांग, लारासो पांगबो हांग, खेसिब हांग, इकाङ्सो हांग, खाडी हांग र इमे हांग लगायत आठजना किराँती राजाहरूलाई धनुर्वाणले मारेर लिम्बुवान कब्जा गरेका थिए। यसरी दश सरदारहरूले आफ्नो हातमा पारेका लिम्बुवान क्षेत्रलाई विभिन्न दश भागमा विभाजन गरी शासन गर्न थाले भन्ने दावी पनि इतिहासकारहरूले गरेका छन्।

यस लिम्बुवान क्षेत्रमा विभिन्न किराँती शासकहरूले शासन गरे पनि उनीहरू सबै उत्तिकै महत्वपूर्ण देखिदैनन। तिब्वती राजा स्रोङचङ गम्पोको सहयोग लिएर लिम्बुवान माथि आक्रमण गर्ने मुङमाव रोंग राजाका समयमा उनको राज्य तिव्वतसम्म फैलिएको र हिउँदेकालीन राजधानी साँगुरी भन्ज्याङ थियो। लाशा वंशका उवाहांगले लिम्बुवान माथि बिजय प्राप्त गरेर सन् ८४९ - ८६५ सम्म शासन गरे। पछि उनका छोरा मावोहांग सन् ८६५- ८८२ सम्म लिम्बुवानमा शासन गरेर उनले यूमा धर्म प्रचलित गराए। किराँतीहरूमा अझै पनि यूमा धर्म प्रचलित छ। मावोहांगको शासनको कमजोरीपनको फाइदा उठाएर किराँत लिपिका आविष्कारक श्रीजंगाले लिम्बुवान क्षेत्रको शासन आपुनो हातमा लिएर सन् ८८० - ९१५ सम्म बर्चस्व कायम गरेको कुरा विभिन्न इतिहासकारहरूले उल्लेख गरेका छन। यसपछि अभिमान सिंह बस्न्यातले विजयपुरदेखि माथि महाभारतका डाँडामा रहेको साँगुरी गढीमा गोर्खाली सैनिक दल पठाई त्यस गढ कब्जा गरे र त्यसतिरबाट पहाडपट्टि घुम्ने बाटो खोले। अभिमान सिंह बस्न्यातले चौदण्डी राज्यमाथि विजय गरिसकेपछि उक्त कदम चालेका थिए। पूर्वका लिम्बुवान राज्यका किराँती शासकहरूसँग पृथ्वीनारायण शाह डराएबाट यो राज्य एक ऐतिहासिक कालखण्डमा शक्तिशाली राज्य र शासकको रूपमा चित्रित भएको पाइन्छ। तथापि यो राज्यलाई पृथ्वीनारायण शाहको एकीकरण अभियानमा वि. सं १८३१ (सन् १७७४ मार्च)मा समावेश हुन आएको पाइन्छ। यस समयमा लिम्बुवान क्षेत्र भित्र पाँच जिल्लाहरू धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ र संखुवासभा नेपालमा गाभिएको थिए। लिम्बुवान क्षेत्रको शक्ति र प्रभावलाई मूल्याङ्कन गरेर पृथ्वीनारायण शाहले वि. सं १८३१ श्रावण २२ गते सोमवारका दिन लिम्बुवान क्षेत्रका लिम्बुहरूलाई रजौटाका रूपमा मान्यता दिएका थिए।[३]

नेपाल एकीकरण हुनु अघि हालको धनकुटा जिल्लाको भू-भाग पल्लोकिराँत राज्य अन्तरगत पर्दथ्यो। काठमाडौंमा मल्ल राजाहरूको शासनकालको समयमा अथवा नेपालमा बाइसी चौविसी राज्य हुँदा धनकुटा भेगमा 'हाङ'को दर्जाबाट लिम्बूहरू राज्य गर्दथे। त्यसताका अरुणनदीको वारिपट्टी चौदण्डी पल्लोकिराँतका १७ थुममा बाह्रजना हाङहरू राज्य गर्दथे। नेपाल एकीकरण अभियानका क्रममा पल्लोकिराँतका १७ थुमहरू गोरखाली सेनाले आफ्नो अधीनमा लिएपछि इ.स.१७७४ देखि पृथ्वीनारायण शाहको नेतृत्वमा प्रशासित हुन थालेको उल्लेख भएको पाइन्छ।

राजेन्द्रविक्रम शाह र प्रधानमन्त्री भीमसेन थापाको शासनकालमा प्रशासनिक दृष्टिकोणले वि. सं १८७३ साल पश्चात देश १० जिल्लामा विभाजन भयो। विभाजन अनुसार दूधकोशी पूर्व माझकिराँत तथा पल्लोकिराँत मेची सिमानासम्मको भू-भाग चैनपूर, धनकुटा जिल्ला अन्तर्गत पर्दथ्यो। राणाकालका तेस्रो प्रधानमन्त्रीका रूपमा वि.सं १९४२ साल तिर बीर शम्सेर भए। यिनैको कार्यकालमा नेपालको १० जिल्लाहरूलाई बत्तीस जिल्लामा विभाजन गरियो। यसै समयदेखि जिल्लाहरूको स्वरूपमा एकरूपता आएको र सामान्य परिवर्तन वाहेक राणाकालको अन्त्यसम्म जिल्लाहरूको त्यही स्वरूप रहेको देखिन्छ। पहाडी बीस जिल्लाहरूमा साधारणतया एक जना वडाहाकिम रहने व्यवस्था लागु गरियो। तर ती बीस जिल्लामध्ये पाल्पा, धनकुटा र डोटी जिल्लाहरूलाई विशेषस्थान प्राप्त भयो। पश्चिममा पाल्पा र डोटी, पूर्वमा धनकुटा जिल्लालाई गौंडा बनाइयो। धनकुटा गौंडा वडाहाकिमको अधीनमा पूर्वमा १ नम्बर, २ नम्बर, ३ नम्बर, ४ नम्बर, इलाम र धनकुटा गरी ६ जिल्ला पर्दथे। त्यससमयको धनकुटा जिल्लाको क्षेत्रफल पनि ठूलो थियो। हालको संखुवासभा, तेह्रथुम, ताप्लेजुङ्ग, पाँचथर र धनकुटा गरी ५ जिल्लाको भू-भाग त्यसवखत धनकुटा १ जिल्लाको रूपमा थियो। धनकुटा गौंडा बनाइएको कारणले पूर्व क्षेत्रको धनकुटा जिल्ला ठूलो प्रशासनिक केन्द्र भयो।

२०१९ सालमा नेपाललाई १४ अञ्चल, ७५ जिल्लामा विभाजन गरिएपछि छथर पश्चिम, धनकुटा, खाल्सा, मिक्लुङपहाड, चौविसे र झलहरा गरी छथुमहरू गाभेर धनकुटा जिल्ला बनाइयो। चौध अञ्चल ७५ जिल्ला विभाजन हुँदा साविकमा धनकुटा जिल्लाले चर्चेको भू-भाग पाँच जिल्लामा बाँडिएपछि हालको धनकुटा जिल्ला ६ वटा थुमहरू मिलेर बनेको सानो भू-भागमा सीमित रह्यो।[४]

भौगोलिक अवस्थिति

भौगोलिक विभाजन

भूखण्डका आधारमा

भूखण्डका आधारमा यस जिल्लालाई पहाडी तथा बेंसी गरि दुई भागमा हेर्न सकिन्छ।

धनकुटा जिल्लामा अभस्थित बसन्तटारगाविसको एक दृष्य
  • पहाडी भूखण्ड:- जिल्लाको उत्तरी भेगको भू–भाग मिल्के डाँडाका शाखा उपशाखाबाट निर्मित पहाडी भाग हो। यस भूखण्डमा नै ध्वजे डाँडा २,०४७ मिटरमा रहेको छ। दक्षिणी खण्डको भू–भाग महाभारत पर्वत श्रृङ्खलाको उत्तरी पाखोमा पर्दछ। जिल्लाको अधिकांश जस्तो भू–भाग पहाडी भूखण्डमा नै पर्दछ।
  • बेसी भूखण्ड :- धनकुटा जिल्लाको भू–भागलाई सिंचित गर्ने विभिन्न खोला तथा नदीहरूले बनाएका वा तिनको आसपासमा अवस्थित भू–खण्ड यसमा पर्दछन। खास गरी अरुण, तमोर जस्ता नदीहरूका साथै लेगुवा, मुगा, माङमाया, निवुवा र कोकाहाजस्ता खोलाहरूको आसपासमा यी बस्ती तथा फाँटहरू अवस्थित छन। यस बेसी खण्डमा जिल्लाका चर्चित टारहरू पनि पर्दछन। यी टार एवं बेसीहरू पहाडी भूखण्ड भन्दा खेतीपातीका लागि बढी उर्वर एवं उब्जाउ छन।

उचाईको आधारमा

यस जिल्लालाई उचाईका आधारमा हेर्दा १२० मिटर आहाले गाविस अन्तर्गतको कोकाहा खोला र सप्तकोशी दोभान छेउ देखि २,७०२ मिटर मुर्तीढुङ्गा गाविसको पटेक डाँडा सम्म फैलिएको पाइन्छ। यसरी १२० - २७०२ मिटरको फैलावटको उचाइमा रहेको धनकुटा जिल्लाको भौगालिक स्वरूपमा मात्र विविधता नभई यसको हावापानीमा समेत विविधता देख्न पाइन्छ। यस जिल्लालाई भू-धरातललाई उचाइको आधारमा निम्नानुशार तिन भागमा विभाजन गर्न सकिन्छ।

  • १२० मिटरदेखि ८०० मिटरसम्मको तल्लो भू-भाग:

अरुण, तमोर र अन्य नदीका बेंसी तथा तल्लो भू-भाग यस क्षेत्रमा पर्दछ। पाँगो र दोमट बलौटेले ढाकेको यस क्षेत्रलाई उपलब्ध िसंचाई सुविधाले थप उर्वर र उत्पादनशील बनाउन सहयोग गरेको पाइन्छ। यस क्षेत्रमा कडा जातका बोट विरुवाहरू पाइन्छन्।

  • ८०० मिटरदेखि १,७०० मिटरसम्मको मध्य भू-भाग:

यो क्षेत्र बेंसी र टारहरूभन्दा माथि देखि महाभारत पर्वत श्रृङ्खलाको मध्य भू-भागसम्म पर्दछ। यहाँको माटो माइका र शिष्टबाट बनेको फुस्रो खस्रो र पहेंलो किसिमको रहेको छ। यस क्षेत्रको कुनै भागमा केल्केरीयस् शिष्ट र फेलाईटबाट बनेको रातो-रातेा फुस्रो र कम खस्रो माटो पाइन्छ। जिल्लाको अधिकांश जनसंख्या यस क्षेत्रमा बसोबास गर्ने गरेको देखिन्छ। पतझर जङ्गल र घाँसका रुखहरू प्रशस्त पाइने यस क्षेत्रमा भू-क्षय बढी हुन्छ।

  • १,७०० मिटरभन्दा माथिको उच्च भू-भाग

महाभारत क्षेत्रको मध्य भागभन्दा माथिको भू-भाग यस क्षेत्रमा पर्दछ। यहाँको माटो गाढा खैरो रङ्ग मध्यम टेक्स्चर र माथिल्लो तहमा बढी कार्वोनिक पदार्थ रहेको पाइन्छ। ठाउँ-ठाउँमा शिष्ट र फेलाईट भएकोले भू-क्षयको लागि संवेदनशील क्षेत्र मानिन्छ। जिल्लाको कम जनसंख्यामात्र यस क्षेत्रमा बसोबास गर्दछन। यस भू-भागमा पाइने वनस्पति भने झाडी वर्गका मात्र पाइन्छन्। जडीबुटी उत्पादनको हिसाबले यो क्षेत्र महत्वपूर्ण मानिन्छ।

हावापानी

वर्षायाममा धनकुटा

धनकुटा जिल्लाको भू-धरातलीय स्वरूप विविधतापूर्ण रहेको देखिन्छ। यस क्षेत्रको धरातलीय स्वरूप कतै दक्षिण मोहडा फर्किएको छ भने कतै उत्तरी मोहडा फर्किएको छ। धरातलीय स्वरूपको विविधतासँगै हावापानीको विविधतामा केही न केही भिन्नता महसुस गर्न सकिन्छ, उत्तर मोहडा भएको जमीनको भागमा जति ठण्डा महसुस गरिन्छ त्यति दक्षिण फर्किएको मोहडाको जमीनमा गर्नुपर्दैन। हावापानीको विविधता कुनै पनि स्थानको उचाई पक्षसँग अनुक्रमानुपातिक सम्बन्ध राख्दछ। अर्थात उचाइ बढ्दै गए अनुशार तापक्रम क्रमशः घट्दै जान्छ भने अर्कातिर तापक्रम घट्दै गई सकेपछि हावापानी चिसो एवं शुष्क हुँदै जान्छ। १२० मिटरको उचाइदेखि २७०२ मिटरसम्मको उचाइसम्म भू- धरातलीय स्वरूप रहेको धनकुटा जिल्लाको हावापानीलाई उचाइको आधारमा हेर्दा सामान्यतः समुन्द्र सतहबाट १२०० मिटरको उचाइसम्म उपोष्ण मौसमी हावापानी, १२०० मिटर देखि २१०० मिटरसम्म न्यानो समशितोष्ण हावापानी, र २१००मिटर देखि ३३०० मिटरसम्म ठण्डा समशितोष्ण हावापानी गरी तीन भागमा वर्गीकरण गरेर हेर्न सकिन्छ। यस जिल्लाको औसत अधिकतम तापक्रम २८.६ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७.१ डिग्री सेल्सियस हुन्छ भने वर्षा कुनै महिना नहुने र कुनै महिनामा ३९७.७ मिलिमिटर सम्म वर्षा हुने गर्दछ। यसका साथै हिमपातबाट प्रभावित जिल्ला अन्तर्गत धनकुटा जिल्ला नपर्ने देखिन्छ।

शैक्षिक अवस्था

औपचारिक रूपमा शिक्षा लिने दिने कार्य सुचारु भइरहे पनि यस जिल्लामा औपचारिक शिक्षाको शुरुवात वि.सं. १९५८ सालदेखि भएको पाइन्छ। वि.सं.१९५८ सालमा खुलेको भाषा पाठशाला (हालको निशान भगवती स्थानमा स्थापित)ले नै औपचारिक शिक्षाको बीजारोपण गरेको थियो। भाषा पाठशालाबाट औपचारिक शिक्षण सिकाइ प्रारम्भ गर्नु हुने स्व.पण्डित वेदनिधि पोख्रेल धनकुटा र धनकुटेलीका अविस्मरणीय गुरु हुनुहुन्छ।

उच्च शिक्षा प्रदान गर्नका लागि धनकुटा न.पा., ६मा धनकुटा डिग्री कलेज (हाल धनकुटा बहुमुखी क्याम्पस)को स्थापना वि.सं. २०१२ सालमा भएको हो। मानविकी तथा सामाजिकशास्त्र (२०२९) र शिक्षाशास्त्र संकाय (२०३०)मा प्रवीणता प्रमाण पत्र तह र स्नातक विभिन्न विषयहरूमा अध्ययन अध्यापनको कार्य भइरहेको यस क्याम्पसमा वि.सं. २०४७ साल ताका झुल्केको कानून संकाय भने हाल रहेको छैन। यसरी खास गरी मानविकी तथा सामाजिक शास्त्र संकाय र शिक्षाशास्त्र संकायमा स्वत्व राख्न सफल भएको यस धनकुटा बहुमुखी क्याम्पसले वि.सं. २०५४ सालदेखि विज्ञान विषयमा प्रवीणता प्रमाण पत्र तहको अध्यापन कार्यलाई शुरु गरेको छ। लामो समयसम्म शिक्षाशास्त्र संकायको पूर्वाञ्चल विकास क्षेत्रमा प्रतिनिधित्व गरेको यस क्याम्पसले शिक्षा क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गरेर शिक्षाक्षेत्रलाई महत्वपूर्ण योगदान पु¥याएको छ। हालैका दिनहरूमा स्नात्तकोत्तर तहका कक्षाहरू संचालन गर्ने कुराले धनकुटा आसपासका जिल्लाहरूका गरिव तथा श्रमजीवि जनताका छोराछोरीहरूको मनोवल बढेको छ ।

यस जिल्लामा उच्च शिक्षा प्रदान गर्न अभिप्रायले विभिन्न भागहरूमा १०+२ कक्षाहरू संचालन भइरहेका छन्।

यातायात

नेपाल सरकार तथा विभिन्न दातृ राष्ट्र सङ्घ संस्थाबाट २०२२ सालदेखि नै धरान – धनकुटा सडकको सर्भे डिजाइन तथा संभाव्यता अध्ययन हुँदै आएको सिलसिलामा २०३३ सालतिर यु. के. नेपाल सडक परियोजना विधिवत रूपमा शुरु भएको हो। वि.सं. २०३८ सालतिर धरानको जिरो प्वाइन्टबाट धनकुटा सदरमुकामसम्म बाटो कालोपत्रे गर्ने काम भएको हो। विं सं. २०४३ सालमा धनकुटा सदरमुकामदेखि हिले खण्डसम्म कालो पत्रे भएको हो। कोशी राजमार्गको भेडेटार – धनकुटा सडक खण्ड ३६ किलोमिटरलाई मदन भण्डारी मार्गको रूपमा नामाकरण गरिएको छ। धनकुटा सदरमुकामदेखि तेह्रथुम जिल्लाको सिमानासम्मको ३२ किलोमिटर समेत गरी जम्मा ६८ किलोमिटर सडकले यस जिल्लाको भू–खण्डलाई उत्तर – दक्षिण आधा भागमा विभाजन गर्न पुगेको देखिन्छ।

जिल्लाका नदीहरू

यस जिल्लामा रहेका प्रमुख नदीहरूमा अरुण, तमोर हुन भने अन्य साना तिना २८ वटा खोलानालाहरू रहेको पाइन्छ जस अनुसार केवा (क्याँवा), लेगुवा, तेलिया, ताङ्खुवा, नाबा, छरुवा, सिन्दुवा, जरुवा, नम्फुवा, रगुवा, लेउती, फेसुवा कोकाहा, तकुवा, फङ्सुवा, श्रीवानी आदि पर्दछन्।

हावापानी

धनकुटा जिल्लाको भू–धरातलीय स्वरूप विविधतापूर्ण रहेको देखिन्छ। यस क्षेत्रको धरातलीय स्वरूप कतै दक्षिण मोहडा फर्किएको छ भने कतै उत्तरी मोहडा फर्किएको छ। धरातलीय स्वरूपको विविधतासँगै हावापानीको विविधतामा केही न केही भिन्नता महसुस गर्न सकिन्छ, उदाहरणका लागि उत्तरी मोहडा भएको जमीनको भागमा जति चिसो/ ठण्डा महसुस गरिन्छ, त्यति दक्षिण फर्किएको मोहडाको जमीनमा गर्नुपर्दैन। हावापानीको विविधता कुनै पनि स्थानको उचाई पक्षसँग अनुक्रमानुपातिक सम्बन्ध राख्दछ। अर्थात उचाइ बढ्दै गए अनुशार तापक्रम क्रमशः घट्दै जान्छ भने अर्कातिर तापक्रम घट्दै गई सकेपछि हावापानी चिसो एवं शुष्क हुँदै जान्छ। १२० मिटरको उचाइदेखि २७०२ मिटरसम्मको उचाइसम्म भू–धरातलीय स्वरूप रहेको धनकुटा जिल्लाको हावापानीलाई उचाइको आधारमा हेर्दा सामान्यतः उपोष्ण मौसमी हावापानी (समुन्द्र सतहबाट १२०० मिटरको उचाइसम्म), न्यानो समशितोष्ण हावापानी (१२०० मिटर देखि २१०० मिटरसम्म) र ठण्डा समशितोष्ण हावापानी (२१००मिटर देखि ३३०० मिटरसम्म) गरी तीन भागमा वर्गीकरण गरेर हेर्न सकिन्छ। (स्रोतः भट्टराई, ज्ञानेश्वर, वृहत् ज्ञानकोश समग्र नेपालको हावापानीको वर्गीकरणको आधारमा)।

जैविक विविधता

जिल्लामा पाइने केही जनावर र पंक्षी तथा वनस्पतिहरूको नामावली निम्नानुशार छ।

  • रातो मृग, दुम्सी, बँदेल, चित्तल, चितुवा, बाँदर, लंगुर, मलसांप्रो आदि जनावरहरू।
  • कालिज, लुइँचे, बकुल्ला, मैना, ढुकुर, नीलकण्ठ, कोइली, कुक्कु आदि चराहरू।
  • साल, खयर, सतिसाल, चिलाउने, सल्ला, उत्तिस, चाँप, कटुस, खस्रु ,टाँकी, बडहर, कुट्मिरो, दूधिलो, कोइरालो, चिउरी, चुत्रो, लोक्ता, घगाँरु, गुराँस, पात्ले, कटुस आदि।

खनिज साधन

प्रदेशमा पर्ने यस धनकुटा जिल्लामा खासै खनिज पदार्थ पाउन नसके पनि चुनढङ्गा र कोवाल्ट पाइने कुरा उल्लेख गरिएको पाइन्छ। (स्रोतः भट्टराइ, ज्ञानेश्वर – बृहत ज्ञानकोश)

प्रमुख धार्मिक एवं सांस्कृतिक स्थल

अवस्थितिः छिन्ताङ्ग गाविस (धनकुटा बजारबाट ८ कोश पश्चिम)।
प्रथम पूजारीः बुरुलेन नाकछोङ (राई जातिका)
मन्दिर संख्याः जालपादेवी र कन्यादेवीका १/१ गरी जम्मा २ वटा।

अवस्थितिः धनकुटा नगरपालिका वडा नम्बर ६।
स्थापनाः करिब १६० वर्ष पहिले गरेको मानिने।
पूजाआजा प्रायः सधैंजसो हुने, दशैंको अष्टमीका दिन सेनाद्वारा विशेष वलीसहित पूजा गरिने।

अवस्थितिः बेलहरा गाविस वडा नम्बर ९ मूलघाट, तमोर नदीको किनार।
स्थापनाः विसं २०४०मा विश्रान्ति मन्दिर नामक गैर सरकारी संस्थाबाट निर्मित।
सुविधाः बृद्धाश्रमको निर्माण पश्चात हाल २० जना बृद्ध, बृद्धाका लागि आवस लगायतको प्रबन्ध, मन्दिर परिसरमा विवाह, ब्रतबन्धका लागि स्थान तथा आवासको प्रबन्ध, पितृकार्य आदि गर्नका लागि सहयोग प्रदान।
विशेष पूजाः शिवरात्रीको दिन मेला लाग्नुका साथै विशेष पूजा पनि गरिने।
कोशी राजमार्गको धरान–धनकुटा खण्डका काखमा अवस्थित रमणीय तीर्थस्थल विश्रान्ति एक पर्यटकीय स्थल पनि हो र यस मन्दिरमा यातायातका कारण धार्मिक तिर्खा मेट्न भक्तजनहरू आइरहन्छन्।

अवस्थितिः भेडेटारबाट पश्चिम (३० मिनेटको पैदल)।
प्रसिद्धि: ताप्लेजुङ जिल्लाको प्रसिद्ध पाथीभरा देवीको प्रतीक।
कच्ची सडक पुर्‍याइएको यस मन्दिरमा खास गरी धनकुटा, सुनसरीमोरङबाट तिर्थयात्रीहरू आउने गर्दछन्।

अवस्थितः भिरगाउँ गाविस वडा नम्बर ४, मधुखोला किनारको गुफा, करिब ६० फिट लामो प्राकृतिक गुफाको अन्तमा रहेको शिवलिङ्गलाई महादेबको प्रतीक मानिने।
विशेष दिनः मार्ग पूर्णिमा – पूजाआजा तथा मेला लाग्ने )

अवस्थितिः लेगुवा गाविस वडा नम्बर ५
नामाकरणः नाग आकारको शिवलिङ्ग भेटिएको र त्यही शिवलिङ्ग स्थापना गरेर मन्दिर निर्माण गरिएकोले।
प्रसिद्धि २०० वर्ष पुरानो मन्दिर।
विशेष पूजा समय वा दिनः श्रावण महिमा र प्रत्येक पूर्णिमा, नागपञ्चमी, शिवरात्री र बडादशैं।

अवस्थितिः धनकुटा नगरपालिका वडा नम्बर ५ बिहिबारे हाट।
सम्बन्धः आठपहरिया राई जाति सँग।
विशेष पूजाः धुले पूजा, न्वागी पूजा, मंसिरे पूर्णिमा आदिमा विशेष पूजा गरी सुगुरको पाठा तथा कुखुराको चल्ला बलि दिइने।

अवस्थितिः डाँडाबजार
विशेषताः पुरानो शैलीमा निर्मित मन्दिर। पुरातत्त्व विभागद्वारा छैठो शताब्दी तिरको चतुर्बाहु विष्णुको प्रस्तर मूर्ति स्थापना

अवस्थति: मारेकटहरे गाउँ विकास समिति वडा नं ९ माझगाउँ।
यो मन्दिरको एउटा छुटै बिशेसता पनि रहेको पाइएको छ उक्त मन्दिरमा स्वच्छ मनले माग्यो भने जे पनि पाउन सकिन्छ भन्ने भनाइ रहेको छ। पुरातन शैलिमा निर्मित।
विशेष पूजाः न्वागि पूजा,एकादशि आदि।

मह्त्वपूर्ण पर्यटक केन्द्र

यस जिल्लामा हालसम्म कुन वर्षमा के कति पर्यटकहरू भित्रिएर र उनीहरूबाट के कति आम्दानी भयो सो कुरा निश्चित गर्न नसकिए पनि पर्यटकीय संभावना बोकेका स्थलहरू रहेको कुरा भने ठोकुवाका साथ भन्न सकिन्छ उचाइगत विविधताका कारण हरिया रुखहरूले ढाकेका डाँडाकाँडाहरूले भरिएको धनकुटा प्राकृतिक छटा सदैव चम्काइरहन्छ। यसले दृश्यावलोकन गर्न मिल्ने र पर्यटकको तन, मन जित्न सक्ने खालका निकै सौन्दर्यहरू बोकेको छ। विशेष स्थानहरू संक्षेपमा निम्नानुशार रहेका छनः-

  • भेंडेटार:- धनकुटा सदरमुकामबाट २६ कि.मि. दक्षिणमा रहेको भेडेटार धरानबाट १६ कि.मि.उत्तरमा पर्दछ। समुन्द्र सतहबाट १४२० मिटरको उचाइमा पहाडको टुप्पोमा अवस्थित सानो तर सुन्दर भेंडेटार बजार वि.सं. २०३८ सालमा बेलायती युवराज चाल्र्सको भ्रमण पछि थप चर्चामा रह्यो र हालसम्म उत्तिकै माया पाइरहेको छ। युवराज चाल्र्स पुगेको शैलुङ्ग डाँडाको टुप्पोलाई चाल्र्स प्वाइन्टको नामले चिनिदै आएको छ। भौतिक पूर्वाधारका दृष्टिले पूर्वतिर पाँचथर जिल्लाको राँके जोडने सडक र पश्चिमतिर बराहक्षेत्र जोड्ने सडकको पूर्णतासंगै भेंडेटारले थप महत्व पाउने छ। प्रायः वर्षभरि जस्तो नै मान्छेहरूको सान्निध्य पाउने यस भेडेटार बजारमा आन्तरिक पर्यटकहरू नै बढी आउँछन्। विशेष गरी धरान बजार, तराईका रमाइला फाँटहरू, सप्तकोशी नदी र कुम्भकर्ण, मकालु, कञ्चनजङ्घा लगायतका सुन्दर हिमश्रृंखलाका साथै पहाडका सुन्दर हरिया तरेंलीहरू देख्न समेत पाइन्छ। यातायात, सञ्चार, होटलबास तथा अथाह प्रकृतिको छटासँगै भेंडेटार अझ विकासको चरणमा छ।
  • ध्वजे डाँडा:- समुन्द्र सतहबाट २०४७ मिटरको उचाइमा रहेको ध्वजे डाँडा भेंडेटार बजारबाट करिब १३ कि.मी. पूर्व डाँडा बजार गा.वि.स.मा पर्दछ। डाँडा बजारबाट १ कि.मी. जतिको पैदल यात्रा तय गरी सकेपछि बल्ल पुगिने यस डाँडाबाट पूर्वाञ्चलका १६ बटै जिल्लाहरू देख्न सकिन्छ। नेपालको नक्सा निर्माणमा अक्षांश, देशान्तर टुङ्गो लागाउन विशेषज्ञहरूले बेला बेलामा प्रयोग गर्दै आइएबाट यसको महत्व पनि स्वत झल्कन्छ।
  • ठूलो रुख:- डाडाबजार गा.वि.स. वार्ड न. २ लाप्चेटारमा रहेको एक वरको रुखलाई मानिसहरूले करिव २५० वर्ष पुरानो मानेका छन्। यो रुखको फेदको गोलाइ १७ मीटर रहेको छ। यसरी सामान्य भन्दा विशाल लाग्ने यस रुखले नेपालको मात्रै नभएर एसियाकै सबैभन्दा ठूलो रुख जन मान्यता पाइरहेको छ। यस रुखले मात्र टाढा टाढाबाट पर्यटकहरू आकर्षित गरिरहेको छ।
  • हिले तथा पाख्रिबास:- धनकुटा विभिन्न पर्यटकीय तथा व्यापारिक केन्द्रहरू मध्ये अग्रणी स्थान ओगट्ने सफल हिले र पाख्रिबास बजार करिव १९५० मीटरको उचाइमा रहेका छन्। प्रायः वर्ष भरि नै चिसो हावापानी भइरहने यी बजारहरूको रौनक बीचमा स्थापित कृषि केन्द्र भित्र कैद गरिएको दृश्यले बढाएको छ। तेह्रथुमभोजपुर जिल्लाका लागि कोशी राजमार्ग छुट्ने स्थल हिले सामान भित्राउने र पठाउने पुरानो केन्द्र हो। शेर्पा एवं तामाङ्ग जातिको प्राधान्यता रहेको हिले, हिले गुम्बाका कारण प्रसिद्घ छ नै यसका अतिरिक्त ‘तोङमा’ र सुकुटीका लागि पनि मान्छेहरू/ पारखीहरू मरिमेट्छन्।
  • पञ्चकन्या शहीद स्मृति पार्क:- वि.सं. २०३६ कार्तिक १७ गतेको इतिहास मै चर्चित छिन्ताङ्ग हत्या काण्डमा मारिएका १५ शहीदहरूको सम्झनामा शालिक निर्माण गरी यस पार्कको स्थापना गरिएको हो। छिन्ताङ्ग गा.वि.स. वार्ड नं. १मा छिन्ताङ्ग देवी मन्दिर नजीकै रहेको यस पार्कमा मदन भण्डारीको समेत शालिक राखिएको छ। जि.वि.स. धनकुटाद्वारा निर्मित यस पार्कमा हिलेबाट कच्ची मोटरबाटो पुर्याएइएको छ।

पहाडी प्रदेशमा पर्ने धनकुटा जिल्लामा स्वभावैले छिटफुट यस्ता सौन्दर्यपूर्ण स्थलहरू अरु पनि रहेकै छन्। पर्यटकीय महत्वकै दृष्टिकोणले विकास गर्न सकिने सम्भावना रहेका स्थानहरूमा काँगडापोखरी, चमेरे ओडार, नमस्ते झरना पारिपात्ले, त्रिशुले पटेक डाँडा लगायतका करिव २० भन्दा बढी स्थानहरू छन्।

मौजुदा महत्वपूर्ण बजार केन्द्र

धनकुटा, पाख्रिबास, हिले, सिंधुवा, भेंडेटार, उत्तरपानी, जीतपुर, डाँडाबजार, छ नम्बर बुधबारे, राजारानी र जोरपाटी।

सम्भाव्य महत्वपूर्ण बजार केन्द्र

थलथले, मौनाबुधुक, चुलाचुली, मूलघाट, मुढेबास, साम्बुगाउँ (छिन्ताङ्ग), लेगुवा, डाँडाबजार, चित्रे (मारेकटहरे , चानुवा, मूर्तिढुङ्गा, घोर्लिखर्क, कुरुलेतेनुपा, त्रिवेणी (छिन्ताङ्ग), घुमाउने (मारेकटहरे।

राजनीतितिक विभाजन

धनकुटा जिल्लालाई एक नगरपालिका, पैंतिस गाउँ विकास समिति, एघार इलाकामा विभाजन गरिएको छ भने संसदीय निर्वाचनको प्रयोजनको लागि भने दुई निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ।

यातायात

नेपालको पूर्वी पहाडी खण्डको मध्य भागमा पर्ने धनकुटा जिल्लाको दक्षिण र पश्चिमचर्फ चुरे पहाडको विकराल भीर र अरुण तमोर जस्ता प्रमुख नदीहरूले निर्माण गरेका चट्टानयुक्त पहरा तथा साँघुरा घाँटीहरूका साथै उत्तर पूर्वतिरका उच्च पहाडी श्रृंखलाहरूले घेरिएको जटिल भू-अवस्थितिको कारण सडक यातायातको कल्पनासम्म पनि गर्न नसक्ने अवस्था रहदाँ रहदैं पनि हवाई यातायातको व्यवस्था समेत नभएको हुदाँ यस जिल्लामा दैनिक उपभोग्य सामग्रीहरू पूर्वी नेपालको व्यापारिक केन्द्र धरान - चिउरीवास - साँघुरी गढी - धारापानी - लेउती बगर - मूलघाट हुदैं धनकुटा सदरमुकामको धनकुटा बजार आइपुग्न २ दिन लाग्दथ्यो। हवाई यातायातको त हालसम्म पनि सुविधा पाउनबाट वन्चित रहेको धनकुटा अझ कति समयसम्म हवाई यातायातबाट कोल्टे पर्ने हो सो बताउन सकिने देखिदैंन। वास्तवमा धनकुटा पहाडी क्षेत्रमा रहेको हुनाले यसलाई सडक यातायातले भन्दा बढी हवाई यातायातले सहयोग पुर् याउने देखिन्छ।

नेपाल सरकार तथा विभिन्न दातृ राष्ट्र सङ्घ संस्थाबाट २०२२ सालदेखि नै धरान-धनकुटा सडकको सर्भे डिजाइन तथा संभाव्यता अध्ययन हुँदै आएको सिलसिलामा २०३३ सालतिर युके नेपाल सडक परियोजना विधिवत रूपमा शुरु भएको हो। विसं २०३८ सालतिर धरानको जिरो प्वाइन्टबाट धनकुटा सदरमुकामसम्म बाटो कालोपत्रे गर्ने काम भएको हो। विसं २०४३ सालमा धनकुटा सदरमुकामदेखि हिले खण्डसम्म कालो पत्रे भएको हो। कोशी राजमार्गको भेडेटार - धनकुटा सडक खण्ड ३६ किलोमिटरलाई मदन भण्डारी मार्गको रूपमा नामाकरण गरिएको छ। धनकुटा सदरमुकामदेखि तेह्रथुम जिल्लाको सिमानासम्मको ३२ किलोमिटर समेत गरी जम्मा ६८ किलोमिटर सडकले यस जिल्लाको भू-खण्डलाई उत्तर - दक्षिण आधा भागमा विभाजन गर्न पुगेको देखिन्छ।

सन्दर्भ सामाग्रीहरू

  1. Household and population by districts, Central Bureau of Statistics (CBS) Nepal
  2. धनकुटा नगरपालिका एक चिनारी २०५३ पेज नं ६-८
  3. धनकुटा जिल्लाको वस्तुगत विवरण, २०६२, केन्द्रिय तथ्याङ्क विभाग
  4. "धनकुटा जिल्लाको ऐतिहासिक पृष्ठभूमि". जिविस धनकुटा. http://ddcdhankuta.gov.np/index.php/homes/introduction. 

बाहिरी कडीहरू

यो पनि हेर्नुहोस

बाहिरी कडीहरू