मदन भण्डारी
मदन भण्डारी | |
|---|---|
मदन भण्डारीको तस्वीर | |
| नेपाल कम्युनिस्ट पार्टी (एमाले)को महासचिव | |
| पदमा २०४७ पुस २२ – २०५० जेठ ३ | |
| पूर्वाधिकारी | पार्टी स्थापना |
| उतराधिकारी | माधवकुमार नेपाल |
| प्रतिनिधि सभा सदस्य | |
| पदमा २०४८ असार ६ – २०५० जेठ ३ | |
| पूर्वाधिकारी | निर्वाचन क्षेत्र सिर्जना |
| उतराधिकारी | विद्यादेवी भण्डारी |
| निर्वाचन क्षेत्र | काठमाडौँ १ |
| व्यक्तिगत विवरण | |
| जन्म | २००८ असार १३ |
| निधन | २०५० जेठ ३ (उमेर ४१) |
| मृत्युको कारण | सम्भावित हत्या (जीप दुर्घटना) |
| दल | नेपाल कम्युनिस्ट पार्टी (एमाले) |
| दम्पती | विद्यादेवी भण्डारी |
| सन्तान | २ |
प्रख्यात कारण | जनताको बहुदलीय जनवाद |
पुरस्कार तथा सम्मान | नेपाल रत्न (२०७३) |
मदनकुमार भण्डारी (२००८ असार १३ – २०५० जेठ ३) एक नेपाली राजनीतिज्ञ थिए।[१] उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले)को महासचिवमा निर्वाचित भएका थिए, जसले नेपालमा बहुदलीय प्रजातन्त्र र मौलिक मानव अधिकारका लागि सङ्घर्ष गरेको थियो।[२] आम निर्वाचन २०४८मा बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि उनको लोकप्रियता चुलिएको थियो। प्रखर वक्ता र जनतासँग जोडिन सक्ने क्षमताका लागि परिचित भण्डारीको सबैभन्दा मौलिक योगदान उनको राजनीतिक विचार थियो, जसलाई "जनताको बहुदलीय जनवाद" (जबज) भनेर चिनिन्छ।[३] राजाको प्रत्यक्ष शासनको ३० वर्षपछि नेपालमा प्रजातन्त्र र मौलिक मानव अधिकार पुनर्स्थापना गर्ने ४६ साल को जनआन्दोलनमा केन्द्रीय भूमिका खेल्नुका साथै नेपालको कम्युनिस्ट आन्दोलनलाई उच्च उचाइमा पुर्याएको श्रेय उनलाई दिइन्छ। वि.सं २०५० मा चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा परी उनको निधन भएको थियो।[४]
प्रारम्भिक जीवन
[सम्पादन]मदन भण्डारीको जन्म पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा एक खस ब्राह्मण परिवारमा भएको थियो। २०२४ सालमा उनको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा सरेको थियो। उनी भारतको मथुरामा अध्ययन गर्न गएका थिए। दुई वर्ष मथुरामा बिताएपछि २०२८ मा देहरादुनबाट बनारस पुगेका भण्डारीले २०२३ सालमा बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गरेका थिए। उनले ताप्लेजुङको मेदिबुङ विद्यालय र भारतको वाराणसीमा शिक्षा हासिल गरेका थिए।
राजनीतिक जीवन
[सम्पादन]वि.सं २०२८ सालमा पुष्पलालसँगको भेटपछि उनी राजनीतिमा लागेका थिए। वि.सं २०२९ मा उनी पुष्पलाल श्रेष्ठद्वारा स्थापित विद्यार्थी सङ्गठन 'जनवादी सांस्कृतिक मोर्चा'को केन्द्रीय सदस्य बनेका थिए। त्यसको अध्यक्षमा युद्धप्रसाद मिश्र र महासचिव मोदनाथ प्रश्रीत थिए। २०३० सालमा पार्टीको पूर्णकालीन कार्यकर्ता भए। वि.सं २०३३ मा उनले नेपाल कम्युनिस्ट पार्टी (पुष्पलाल) छाडेर 'मुक्ति मोर्चा समूह'को गठन गरेका थिए जसले २०३५ मा झापा आन्दोलनका बाँकी नेताहरूसँग गठबन्धन गरेको थियो। उनी २०३७ को जनमत सङ्ग्रहअघि नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)का संस्थापक सदस्य थिए र २०४३ मा यसको चौथो राष्ट्रिय महाधिवेशनबाट महासचिव निर्वाचित भएका थिए।[५]
२०४७ मा नेकपा (माले) अर्को मार्क्सवादी समूहसँग एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) बनेपछि भण्डारी महासचिव निर्वाचित भएका थिए। त्यसपछिको महाधिवेशनमा उनले पार्टीलाई रूढिवादी उग्रवादबाट मुक्त गराई समावेशी र प्रतिस्पर्धी लोकतान्त्रिक मूल्यमान्यतालाई अङ्गीकार गर्दै आफ्नो सिद्धान्त "जनताको बहुदलीय जनवाद" (जबज) अपनाउन सहमत गराएका थिए। यस नवप्रवर्तनले एकातिर नेकपा (एमाले) लाई नेपालको सबैभन्दा शक्तिशाली कम्युनिस्ट पार्टीको रूपमा स्थापित गरेको थियो भने अर्कोतिर देशका साथै विश्व कम्युनिस्ट आन्दोलनलाई नै नयाँ लोकतान्त्रिक दृष्टिकोण प्रदान गरेको थियो।[६]
२०४८ को निर्वाचन र त्यसपछिको अवस्था
[सम्पादन]नेकपा (एमाले)ले तीन दशकभन्दा बढी समयपछिको देशको पहिलो स्वतन्त्र निर्वाचन, आम निर्वाचन २०४८मा ६९ सीटमा जित हासिल गरेको थियो, जसको पूर्वसन्ध्यामा भण्डारी आफ्नो पार्टीको प्रचार अभियानका प्रमुख नेताका रूपमा अगाडि आएका थिए।[७] भण्डारीले यसलाई "प्रजातन्त्रका लागि मतदान", "स्वतन्त्रताका लागि मतदान" र "गरिबी निवारणका लागि मतदान" भनेर घोषणा गरेका थिए।[७] उनले कम्युनिस्टहरूका लागि सशस्त्र सङ्घर्षको साटो जनमतलाई मुख्य रणनीतिका रूपमा अघि सारेका थिए।

व्यक्तिगत जीवन
[सम्पादन]भण्डारीले वि.सं २०३९ मा विद्यादेवी भण्डारीसँग विवाह गरेका थिए। विवाहको समयमा विद्यादेवी भण्डारी एक प्रमुख विद्यार्थी नेता थिइन्।[८] विवाहपछि भने मदन भण्डारी पार्टीको शीर्ष नेतृत्वमा रहेकाले उनले पर्दापछाडि नै रहन रुचाएकी थिइन्। श्रीमान्को निधनपछि राजनीतिमा पुनः सक्रिय भएकी उनी चार पटक सांसद निर्वाचित भइन्, प्रमुख मन्त्रालयहरूको जिम्मेवारी सम्हालेकी थिइन् र सात वर्ष चार महिना सर्वोच्च पदमा रहँदै नेपालको पहिलो महिला राष्ट्रपति बन्न सफल भएकी थिइन्। यो दम्पतीका उषाकिरण भण्डारी र निशाकुसुम भण्डारी गरी दुई छोरीहरू छन्।
निधन
[सम्पादन]२०५० जेठ ३ मा चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा भण्डारीको निधन भएको थियो।[९] केपी ओलीको नेतृत्वमा भएको छानबिन अनुसार यो दुर्घटना नभई एक सुल्झिन नसकेको हत्या थियो।[१०] गाडीमा सवार तीन जनामध्ये चालक अमर लामा मात्र जीवित रहेका थिए, जसलाई पछि काठमाडौँको कीर्तिपुरमा अज्ञात बन्दुकधारी समूहले अपहरण गरी हत्या गरेको थियो।[११] दुर्घटनामा दुई नेता मदन भण्डारी र जीवराज आश्रितको निधन भएको थियो।
उनको शव तीन दिनपछि फेला परेको थियो र दशरथ रङ्गशालामा राखिएको थियो, जहाँ दिनभर र रातिसम्म मानिसहरूले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।[९] त्यस दुर्घटनाका एकमात्र जीवित व्यक्ति, चालक अमर लामाको १० वर्षपछि हत्या भएको थियो।[१२] अज्ञात बन्दुकधारीको समूहले दिउँसो करिब १३:४५ बजे ताजाखबर साप्ताहिकको कार्यालयबाट लामालाई अपहरण गरेको थियो। उनलाई राजधानीको दक्षिणपश्चिम किनारमा रहेको कीर्तिपुरमा लगेर गोली हानिएको थियो। त्यसपछि हत्याराहरू पाङ्गा गाउँतर्फ फरार भएका थिए।[१२]
त्यसपछिका घटनाक्रमहरू
[सम्पादन]दुर्घटनास्थल दासढुङ्गामा उनको एउटा अर्धकदको सालिक निर्माण गरिएको छ।[१३] नेपाल सरकारले झापा जिल्लाको शान्तिनगरदेखि डडेल्धुरा जिल्लाको रुपालसम्म मदन भण्डारी राजमार्ग निर्माण गर्ने प्रस्ताव गरेको छ।[१४][१५] सन् २०१८ मार्चमा मोरङको उर्लाबारीमा मदन भण्डारी सङ्ग्रहालयको उद्घाटन गरिएको थियो। सन् १९९३ को दुर्घटनामा क्षति पुगेको जीप उर्लाबारी सङ्ग्रहालयमा प्रदर्शनीका लागि राखिएको छ।[१६]
सम्मान
[सम्पादन]
नेपाल रत्न मान पदवी (२०७३ जेठ १५) – तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मदन भण्डारीलाई मरणोपरान्त प्रदान गरिएको।[१७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ नेपाली जनताका नायक स्वर्गीय जननेता मदन भण्डारी अभिलेखिकरण २०१३-११-१२ वेब्याक मेसिन कुवेत नेपाल डट कम
- ↑ SATP (२०१८-०५-२२), "Nepal: Decisive Turn – Analysis", Eurasia Review (en-USमा), अन्तिम पहुँच २०१९-०१-०५।
- ↑ Dhakal, Tika P. (2023). “Madan Bhandari and His Theory of People’s Multiparty Democracy”. State, Society and Development: PMPD Perspectives, 1(1), 61–76. https://doi.org/10.3126/ssd.v1i1.58470
- ↑ मदन भण्डारी र जीवराज आश्रिमतको १९ औँ स्मृति दिवस अभिलेखिकरण २०१२-०५-२२ वेब्याक मेसिन हिमालय टेलिभिजन
- ↑ मदन भण्डारी, प्रजातन्त्र र एमाले कान्तिपुर दैनिक
- ↑ Chancen für Nepals angeschlagene Demokratie?
- 1 2 FINEMAN, MARK (१९९१-०५-१५), "Communists Celebrate Nepal Victories : Elections: Katmandu goes Marxist but moderates lead in countryside voting.", Los Angeles Times, आइएसएसएन 0458-3035, अन्तिम पहुँच २०१५-१०-२८।
- ↑ Office of the President of Nepal.“Biography of the Right Honorable President Mrs. Bidya Devi Bhandari. https://president.gov.np/biography-of-rt-honble-president-bidhya-devi-bhandari/
- 1 2 "A Death Heavier than the Himalayas", www.marxists.org, अन्तिम पहुँच २०१५-१०-२८।
- ↑ Anonymous (मे २४, २००९), "UML Leader Accuses Maoists of Having Assassinated Madan Bhandari", मूलबाट ३१ मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १८, २०१८। अभिलेखिकरण मार्च ३१, २०१९ वेब्याक मेसिन
- ↑ Reporters Without Borders Annual Report 2004: Nepal https://www.refworld.org/reference/annualreport/rsf/2004/en/48745
- 1 2 Acharya, Yuvraj (जुलाई २८, २००३), "Driver of murdered UML leaders killed", मूलबाट सेप्टेम्बर १५, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २७, २०२६।
- ↑ "Some heart-broken Nepalese turn their backs on gods", in.news.yahoo.com (en-INमा), अन्तिम पहुँच २०१९-०१-०५।
- ↑ "Budget more focused on physical infrastructure", The Himalayan Times (en-USमा), २०१८-०५-३०, अन्तिम पहुँच २०१९-०१-०५।
- ↑ "Highway named after late communist leader", The Himalayan Times (en-USमा), २०१८-०५-२२, अन्तिम पहुँच २०१९-०१-०५।
- ↑ सुमन घिमिरे (२०७४ चैत १७), "मदन भण्डारी संग्रहालय : ढुंगेसाँघुदेखि दासढुंगासम्म", खरिबोट (नेपालीमा), अन्तिम पहुँच २०८३ साउन १२।
- ↑ "81,790 to be conferred awards and decorations", The Himalayan Times (अङ्ग्रेजीमा), २०१६-०५-२९, अन्तिम पहुँच २०१९-०१-०५।
बाह्य कडीहरू
[सम्पादन]| नेपालमा साम्यवाद |
|---|
- मदन भण्डारी प्रतिष्ठान अभिलेखिकरण २०१३-०४-०४ वेब्याक मेसिन
- मदन भण्डारी मेमोरियल कलेज अभिलेखिकरण २०२१-०४-२८ वेब्याक मेसिन