युद्धप्रसाद मिश्र
युद्धप्रसाद मिश्र | |
---|---|
युद्धप्रसाद मिश्र | |
जन्म | युद्धप्रसाद मिश्र वि.सं. १९६४ सोमलिङटार, भक्तपुर |
मृत्यु | वि.सं. २०४७ फाल्गुण ६ गते (८३ वर्ष) वीर अस्पताल काठमाडौँ |
राष्ट्रियता | ![]() |
नागरिकता | नेपाली |
पेशा | लेखन, राजनीति |
चिनारीको कारण | कवि, राजनीतिज्ञ |
उल्लेखनीय कार्य | चरी (१९९४), बाढी (२०२९), अमर कथा (कथा-२०१५), मुक्तिनारायण, मुक्त सुदामा, युद्धप्रसाद मिश्रका कविताहरू (२०४८) |
गृहनगर | काठमाडौँ |
जीवनसाथी | लोककुमारी देवकोटा |
सन्तान | नौ सन्तान (चार छोरा, पाँच छोरी) |
पुरस्कार | ‘स्रष्टा पुरस्कार’ (वि.सं २०४५), ‘कृष्णमणि साहित्य पुरस्कार’ (वि.सं. २०४६) |
युद्धप्रसाद मिश्र (अङ्ग्रेजी: Yuddha Prasad Mishra) (वि.सं. १९६४ - वि.सं. २०४७) नेपाली कविता क्षेत्रका स्वच्छन्दतावादी, प्रगतिवादी धाराका कवि हुन् । मिश्र वि.सं. १९६४ पौष शुक्ल अष्टमीका दिन भक्तपुरको सोमलिङटारमा जन्मिएका थिए ।[१]
जीवनी[सम्पादन गर्नुहोस्]
प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]
जनताका यी महान् साहित्यकार युद्धप्रसाद मिश्रको जन्म आमा गीताकुमारी र बुबा रुद्रप्रसाद मिश्रको कोखबाट भक्तपुर जिल्लाको सोम्लीङ्गटारमा भएको थियो । युद्धप्रसाद डेढ वर्ष हुँदा उनका बुबा बितेका थिए । त्यसपछि उनी आमा गीताकुमारी र भावलीको काखमा हुर्केका थिए ।[२]
शिक्षा[सम्पादन गर्नुहोस्]
सानैमा बुबाको मृत्यु भएकोले उनले राम्रोसँग पढ्ने मौका पाएनन् । उनले प्रारम्भिक शिक्षा आफ्नी आमाबाट पाए । पछि आमा र मावली हजुरबाको प्रयासमा घरमै एकजना शिक्षकको व्यवस्था गरी प्राथमिक शिक्षाको बन्दोबस्त मिलाइएको थियो । प्रारम्भिक शिक्षा सकेपछि उनलाई त्यस बेलाको दरबार हाइस्कुलमा भर्ना गरियो । त्यहाँ उनले एक वर्षजति वेदको अध्ययन गरे । त्यसबेला सरकारी जागिर खानका लागि तीन पास भन्ने परीक्षा पास गर्नु पर्थ्यो । उनले दरबार हाइस्कुलबाट तीन पास गरे । तीन पास गरेपछि जागिर खाँदै उनले चार पास गरे । त्यसैलाई आधार मानेर चौध पासको मान्यता दिइएको थियो ।[२]
कार्य जीवन[सम्पादन गर्नुहोस्]
दरबार हाइस्कुलबाट तीन पास गरेपछि उनले १९८४ देखि कुमारी चोकमा नौसिन्दाको पदबाट जागिर खान थाले । नौ वर्ष जागिर खाएपछि उनले राजीनामा दिए । त्यसपछि उनले राणा प्रधानमन्त्री श्री ३ भीमशमसेरको दरबारमा कान्छी रानीको ढुकुटीमा बहिदारको जागिर खाए । तयहाँबाट पनि उनले १९९० मा राजीनामा दिएर आफ्नै जन्मथलोतिर लागे । त्यहाँ उनले जागिर खाए पनि पढ्न छाडेनन् । उनले केही विद्वानहरूको सहयोग र स्वअध्ययनबाटै संस्कृत भाषा र साहित्यको गहिरो अध्ययन गरे । उनलाई हिन्दी र अङ्ग्रेजी भाषाको पनि राम्रै ज्ञान थियो । वि.सं. २००० तिरबाट उनले फेरि वीरगञ्ज सर्कल अफिसमा सुवेदार पदको जागिर खान थालेका थिए । [२]
व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]
उनको विवाह लोककुमारी देवकोटासँग वि.सं. १९८६ सालमा भएको थियो । उनीहरूका कोखबाट किरणप्रकाश, नानीमैया, अरुणप्रकाश, विद्युतप्रकाश, महेश्वरप्रकाश, सावित्री, महालक्ष्मी, श्रीकुमारी, कमलकुमारी गरी नौ सन्तानको जन्म भएको थियो । युद्धप्रसाद बीस वर्ष पुग्दा उनको आमाको मृत्यु भयो । यसैबीचमा उनले तीन छोरी पनि गुमाउनु परेको थियो ।[२]
राजनैतिक जीवन[सम्पादन गर्नुहोस्]
वि.सं. २००३ सालमा नेपालमा नेपाली राष्ट्रिय काङ्ग्रेस पार्टीको स्थापना भएको थियो । काङ्ग्रेसले राणाहरूको अत्याचारको विरोध गर्ने भएकाले मिश्र पनि त्यही पार्टीतिर आकर्षित भए । २००४ सालमा काङ्ग्रेसमा लागेर राणाविरोधी गतिविधिमा लागेको भनी सुब्बा पदबाट बर्खास्त गरी उनलाई गिरफ्तार गरियो र २ वर्ष ४ महिनासम्म जेलमा राखेर यातना दिइयो ।
२००७ सालको परिवर्तनपछि उनले पुनः वीरगञ्ज बजारअड्डामा खरदारको जागिर पाए । उनको इमानदारीलाई कदर गर्दै जागिर खाएको एक वर्ष नपुग्दै उनी सुव्बामा बढुवा गरिए ।
२०१०/११ सालतिर उनको आफ्नै पार्टी नेपाली काङ्ग्रेसले उनलाई भ्रष्टाचारको आरोप लगायो र धेरै वर्षसम्म उनलाई मुद्दामा दुःख दियो । केही समयपछि सरकारले भ्रष्टाचारको मुद्दा लागेको सबैलाई सफाइ दिएपछि उनी फेरि सुब्बा पदमा पुनः बहाली भए ।
२०१२ सालमा बनारस निर्वासन भएपछि उनी नेपाली काङ्ग्रेसको विचार त्यागी कम्युनिष्ट सद्धान्ततिर आकर्षित हुँदै गए । बनारसमा उनको पुष्पलाललगायत अन्य भूमिगत नेतासँग भेट भयो । २०१७ सालदेखि कम्युनिष्ट विचारतिर प्रभावित हुन थालेका थिए । तर त्यसबेला एउटा कम्युनिष्ट पार्टी थिएन । सबै कम्युनिष्ट एक भएर अगाडि बढ्नु पर्छ भन्ने उनको भनाइ थियो । त्यसैले उनी कुनै पनि कम्युनिष्ट पार्टी वा समूहको सदस्य बनेनन् ।
८२ वर्षको उमेरमा पनि उनले पञ्चायती तानाशाही व्यवस्थाको विरुद्ध २०४७ साल चैत्र ३ मा लेखक कलाकारहरूले चलाएको आन्दोलनमा नेतृत्वदायी भूमिका खेले र गिरफ्तार भए ।[२]
साहित्यिक यात्रा[सम्पादन गर्नुहोस्]
युद्धप्रसाद मिश्रले चौध, पन्ध्र वर्षको उमेरमै कविता लेख्न थालेका थिए । वि.सं. १९८६ मा उनले “अहिंसा प्रार्थना” लघुकाव्य रचना गरेका थिए । त्यस कृतिलाई राणाविरोधी भनी श्री ३ भीमसमसेरले च्यातेर जलाइदिएका थिए ।
यसो गरेपछि कवि निरास भई लेख्नै छाड्छन् भन्ने राणाशासकले सोचेका थिए । तर त्यस घटनाले उनलाई झन् उत्साही बनायो । उनले वि.सं. १९८८ मा विद्यार्थी शिक्षा नामको कविता गोरखापत्रमा प्रकाशित गरे । यो उनको पहिलो प्रकाशित रचना थियो ।
उनले शुरूमा स्वच्छन्दतावादी कविता लेखे । त्यसपछि प्रकृतिप्रेमीका कविता हुँदै २०१७ सालदेखि जीवनको अन्त्यसम्म जनतालाई अन्याय अत्याचारको विरुद्ध लड्न जोस्याउने प्रगतिवादी रचना सिर्जना गरे ।[२]
मृत्यु[सम्पादन गर्नुहोस्]
यी महान् तथा स्वाभिमानी कविको २०४७ साल फाल्गुण ६ गते ८३ वर्षको उमेरमा वीर अस्पतालमा निधन भएको थियो ।[२]
कृतिहरू[सम्पादन गर्नुहोस्]
- चरी (कविता-१९९४)
- बाढी (कविता-२०२९)
- अमर कथा (कथा-२०१५)
- मुक्तिनारायण (खण्डकाव्य)
- मुक्त सुदामा (खण्डकाव्य)
- युद्ध प्रसाद मिश्रका कविताहरु (कवितासङ्ग्रह-२०४८)
पुरस्कार तथा सम्मान[सम्पादन गर्नुहोस्]
प्रगतिशील लेखक कलाकार सङ्घले २०४१ सालमा अभिनन्दन गरेको थियो । मृत्युपश्चात् पनि उनको सम्मानमा युद्धप्रसाद मिश्र प्रतिष्ठान गठन गरी विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । प्रतिष्ठानद्वारा साहित्यका विभिन्न विधा तथा क्षेत्रमा काम गरेका स्रष्टा तथा संस्थाहरूलाई पुरस्कृत गर्ने गरिएको छ । मिश्रले विसं २०४५को ‘स्रष्टा पुरस्कार’, विसं २०४६को ‘कृष्णमणि साहित्य पुरस्कार’ प्राप्त गरेका थिए। प्रगतिशील लेखक संघबाट विसं २०४१मा अभिनन्दित भएका मिश्रको नाममा हाल ‘कवि युद्धप्रसाद मिश्र पुरस्कार’को स्थापना गरिएको छ।