हर्क गुरुङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
हर्क गुरुङ
जन्म१९९५ पौष २१
5 January 1939
Taranche, लमजुङ, नेपाल
मृत्यु२३ सेप्टेम्बर २००६(२००६-०९-२३) (६७ वर्ष)
[[]], ताप्लेजुङ, Nepal
मृत्युको कारणहेलिकप्टर दुर्घटना
वासस्थानकाठमाडौँ
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
मातृ शिक्षाप्रतिष्ठानएडीनवरा विश्वविद्यालय, पटना विश्वविद्यालय
चिनारीको कारणभूगोलविद्, सहरी विकास विद्, मानवशास्त्री, लेखक, चित्रकार , राजनितिज्ञ

डा हर्क गुरुङ (सन् १९३९– ५७५४) भूगोलविद् र नेपालका पूर्व राज्यमन्त्री, राष्ट्रिय योजना आयोगका सदस्य र पछि उपाध्यक्ष थिए। उत्तरी लमजुङको बाहुनडाँडा गाविस वडा नं. २, नाइँचेस्थित मामाघरमा विक्रमसंवत १९९५ साल पौष २१ गते उनको जन्म भएको थियो। भुलभुले गाउँ विकास समिति वडा नं. ५ ताङ्लिचोक घर भएका बुवा पारसै गुरुङ र माता मैँस्यो गुरुङको कोखबाट ठूल्कान्छा छोराको रूपमा जन्मेका थिए। बाबुको पछि लागेर लाहुर छिरेका उनले nachera एडीनवरा विश्वविद्यालय वेलायतबाट डिप्लोमा र भबिस्यबाणी सालमा भुगोल विषयमा पीएचडी गरी डाक्टरेट पास गर्ने पहिलो नेपाली बने। लामो समयसम्म भूगोल विषयको अध्यापन गरेका गुरुङ नेपाल भौगोलिक समाजमा स्थापनादेखि नै सकृय थिए। विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कन्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर र्फकने क्रममा डा. हर्क गुरुङ चढेको हेलिकप्टर २०६३ असोज ७ गते दुर्घटना भएको थियो। ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना हुँदा भूगोलविद् डाक्टर हर्क गुरुङसहित २४ जना स्वदेशी एवं विदेशीले आफ्नो ज्यान गुमाए।[१]

शिक्षा र कार्यकाल[सम्पादन गर्ने]

नौ वर्षम्म डा गुरुङ भेडीगोठ र गाईगोठको साहरामा रमाईरहेका थिए। [१] पेन्सन थाप्न काठमाडौँ आउने आफ्ना पिताको टोलीलाई पछ्याउँदै खाली गोडा उनी सात दिनको बाटो पैदल हिँडेर काठमाडौँ आइपुगे। उनी काठमाडौँको दरबार स्कूलमा भर्ना भए। लाहुरे परिवारको भएकाले पछि भारतको देहरादून र जालन्धरमा पढ्न गए। त्यसपछि काठमाडौँको त्रिचन्द्र कलेजमा भर्ना भएर आई.ए प्रथम स्थानमा उत्तीर्ण गरे। अनि भूगोल विषयमा उनले पटना विश्वविद्यालयबाट प्रथम श्रेणीमा बी.ए. अनर्स गरे। तत्पश्चात् एडीनवर्ग विश्व–विद्यालयबाट पहिले डिप्लोमा र पछि सन् १९६५ मा भूगोल विषयमा डाक्टेरट गरेर त्यस विषयमा पीएच.डी. गर्ने पहिलो नेपाली बने।[२] त्रिचन्द्र कलेजबाट आईए गरेपछि पटना विश्वविद्यालयमा भर्ना हुदा नेपाली छात्र परिषद्को गठन भएको थियो। उनी परिषद्को महासचिव बने। २६ वर्षकै उमेरमा पीएचडी गर्ने दुर्लभ इतिहास बनेका उनले बेलायतबाट अध्ययन पूरा गरेर नेपाल फर्किएपछि पनि उनले घुमफिरलाई निरन्तरता दिए। पर्यटनमा उत्तिकै चासो राख्ने तत्कालीन कुमार खड्गविक्रम शाह र उनको दोस्तीकै कारण २०२९मा नेपाल पर्वतारोहण सङ्घ स्थापना भयो। त्यसको दुई वर्षपछि नै सरकारले पर्यटन मन्त्रालय गठन गर्‍यो र डा. गुरुङ पर्यटन मन्त्रालयको बागडोर सम्हाल्न पुगे। उनकै पालामा पर्यटन ऐन, ट्राभल-ट्रेकिङ नियमावली बने। २०४०मा डा. हर्क गुरुङ संयोजक रहेको एक अध्ययन समितिले ७० बुँदे सुझावसहितको 'नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रिय बसाइँसराइ' प्रतिवेदन तयार पार्‍यो। २०४९ तिर उनी एसियन एन्ड प्यासिफिक डेभलपमेन्ट सेन्टरको निर्देशक बनेर मलेसिया पुगे। त्यहाँ करिब पाँच वर्ष बिताउँदा उनले अनुभव गरे, 'देशको समग्र विकास गर्नु छ भने पहिला अल्पमतमा परेका र पिछडिएका जातिको उत्थान गर्नुपर्छ।' यही सत्य बुझेकाले पछिल्लो समय उनी अल्पमत र आदिवासी जनजातिका एक सशक्त प्रवक्ता बनेका थिए। [३] हर्क गुरुङको हुन्? [२]

को हुन् हर्क गुरूङ्[सम्पादन गर्ने]

आफ्नो गाउँको शिरानी बनेर बसेका मनास्लु र हिमालचुली हिमशिखर पछिल्तिर के छन् र मर्स्याङ्दी नदी के कारणले गड्गडाएर बग्छ भन्ने जिज्ञासाले उनलाई बाल्यकालमै चिमोट्थ्यो र ज्ञानको एउटा नौलो संसार हेर्न उनी घरबाट भागेका थिए। यो घुमन्ते स्वभावले उनलाई जीवनभर एक ठाउँमा बस्न नदिई ठाउँठाउँमा घुमाइरह्यो― कहिले शिक्षक, कहिले अनुसन्धाता, कहिले योजनाकार र कहिले समाजशास्त्रीका रूपमा। सन् १९५०को दशकमा नेपालका तराई, पहाड र हिमाली भागको चप्पाचप्पा पैदल घुम्नेमा स्वीस भूगर्भविद् टोनी हागन चिनिन्छन्। उनले नेपालभरि १४ हजार किलोमिटर पैदल यात्रा गरेको कुरा आफ्ना पुस्तकमा खुलाएका छन्। टोनी हागनले कायम गरेको त्यस कीर्तिमानलाई कुनै नेपालीले चुनौती दिन सक्छ भने डा. हर्क गुरुङले सक्छन्। यो कुरा उनको 'भिन्यात्स् अफ नेपाल' नामक पुस्तकमा समाहित भ्रमण वृत्तान्तहरू र त्यसपछिका उनले लेखेका अन्य विवरणहरूबाट प्रमाणित हुन्छ। नेपालका हरेक भागबारे उनलाई आफ्ना हत्केलाजत्तिकै जानकारी थियो।

उनको त्यत्तिकै गहन अध्ययन र जानकारी गोर्खालीहरूको पल्टने इतिहासको थियो। गोर्खालीहरूको पल्टन इतिहासलाई भित्ता पुर्‍याएर केलाउने अर्को नेपाली विद्वान् अझसम्म देखिएको छैन। अर्को उनको अभिरुचिको विषय थियो पर्वतारोहणको इतिहास। डा. गुरुङले नै हो त्यसको इतिहास खोतलेर नेपालका शेर्पाहरूभन्दा पनि अघि पर्वतारोहणको क्षेत्रमा पहिलो पाइला टेक्नेहरू गैरशेर्पा करवीर बुढाथोकी र हर्कवीर थापा थिए भन्ने बताइदिने। थापा र बुढाथोकीले सन् १८९४ मै स्वीट्जरल्याण्डका आल्प पर्वतहरू ब्रिटिसहरूको साथ लागि चढिसकेका थिए। उनलाई पर्वतारोहणको इतिहासको अध्ययनमा मात्र होइन, त्यसमा आफैँ संलग्न हुने पनि सोख थियो। थोरै नेपालीलाई थाहा होला उनी एउटा अन्तर्राष्ट्रिय आरोहण दलमा संलग्न भएर सगरमाथाको दोस्रो शिविरसम्म पुगेको कुरा।

डा. हर्क गुरुङको नामसित जोडिने विशेषणहरूमा एउटा 'पूर्व राज्यमन्त्री' पनि हो। तर, उनलाई त्यसै विशेषणमा सीमित राखेर हेरिनु उनको बहुप्रतिभाशाली प्रतिभा र व्यक्तित्वका लागि अन्याय हुन जान्छ। चित्रकार, फोटोग्राफर, खेलाडी, लेखक, योजनाविद्, विद्वान् वक्ता के मात्र थिएनन् उनी?

चित्रकार[सम्पादन गर्ने]

बालकृष्ण समको सान्निध्य र संरक्षणमा चित्रकलातिर प्रवृत्त भएर डा. हर्क गुरुङले कोरेका डाँफे र मुनालका चित्रहरू त आजभन्दा ५० वर्षअघि नै हुलाक टिकटका रूपमा छापिएका थिए।

खेलाडी[सम्पादन गर्ने]

उनी क्याप्टेन भएको ठमेल ११ फूटबल टिमले सन् १९६७मा त्रिभुवन च्यालेन्ज शिल्ड जितेको थियो। टेनिस त उनी हप्तैपित्छे नबिराई दश काम छाडेर पनि खेल्ने गर्थे।

योजनाविद्[सम्पादन गर्ने]

बसाइँसराइ अध्ययन समिति[सम्पादन गर्ने]

उनी संयोजक रहेको नेपालको बसाइँसराइ अध्ययन गर्ने समितिले सन् १९८३मा तयार पारेको प्रतिवेदनका कारण डा. हर्क गुरुङ चर्चित मात्र होइन, आलोचित पनि भए। त्यस विवादास्पद प्रतिवेदनका निष्कर्ष र सुझावहरूको विरोध गर्नेहरूले उनलाई झुण्ड्याउनुपर्छ समेत भनेका थिए। उनको स्पष्ट धारणा भारतसितको खुला सिमानाको आवागमनलाई व्यवस्थित तुल्याउनु पर्छ भन्ने थियो जसलाई त्यस सुझावका विरोधीहरूले सिमाना बन्द गर्नु भन्ने व्याख्या गरेका थिए। डा. हर्क गुरुङ सस्तो लोकप्रियताका पछाडि नलागी आफ्नो ब्रह्मले देखेका सत्य र तथ्य कुरा बोल्थे र लेख्थे ।

नत्र आरोहणका लागि नखोलिएको माछापुच्छ्रेलाई तत्काल खोल्नुपर्छ भनी प्रस्ताव राख्ने थिएनन्। नेपालको विकासका समस्या निवारण निम्ति नेपाललाई २५ वटा जिल्लामा पुनर्विभाजन गर्नुपर्ने उनको प्रस्तावले पनि प्रशस्तै केही वर्ष चर्चा पाएको थियो ।

जनसङ्ख्या अध्ययन[सम्पादन गर्ने]

यता आएर डा. गुरुङको अध्ययन र लेखनमा नेपालको जनसङ्ख्यासम्बन्धी विषयले पनि निकै प्रमुखता पाएको थियो। उनले सन् १९९१को साथै सन् २००१को जनगणनाको मिहिन विश्लेषण गरेर अनेक पुस्तक र पुस्तिका तयार पारेका छन्। नेपालको अहिलेसम्मका गतिला वैज्ञानिक एटलसहरू उनकै सम्पादन र संयोजनमा निस्किएका छन्। उनले टोनी हागन फाउन्डेसनका लागि तयार पारेको एटलस यसै हप्ता मात्र प्रेसबाट निस्किएको छ।

जनजाति विषयक अध्ययन उनको अर्को मन पर्ने क्षेत्र थियो। 'फेसेज अफ नेपाल' भन्ने नेपालका जातजातिबारे चिनारी गराउने पुस्तक त उनले मलेसियामा एउटा अन्तर्राष्ट्रिय संस्थाको प्रमुख भएर रहँदा उहीँ लेखी सिध्याएका थिए। उनको विश्लेषणमा कोरा तथ्याङ्कको चिरफार मात्र नभएर नेपाली समाजलाई यसको समग्रतामा बुझ्ने प्रचेष्टा रहन्थ्यो। जनजाति समुदायलाई उनीहरूको समुचित स्थान प्रदान गर्दै विकासको मूलधारमा कसरी समाहित गर्ने भन्ने खोजी हुन्थ्यो।

उनको शैक्षिक प्रशिक्षण र अभ्यासले गर्दा उनका धेरै कृतिहरू अङ्गे्रजी भाषामा लेखिएका छन्। तर, उनी त्यत्तिकै निपुणतासाथ नेपाली भाषामा पनि लेख्ने गर्थे। उनको यो पकड विविध विषयमा नेपालीमा लेखिएका हिमाल किताबले छाप्न लागेको उनका रचनाहरूको प्रकाशोन्मुख सँगालोमा पनि देख्न सकिन्छ। उनको सोचाइको स्पष्टता लेखाइमा पनि उत्तिकै प्रबल पाइन्छ।

व्यक्तित्व[सम्पादन गर्ने]

केही वर्षयता उनको सृजनात्मक उत्पादनशीलता असाध्यै तीव्र भएको थियो। अफिस कोठामा होस् या घरको अध्ययन कक्षमा, उनी सदैव बायाँ हातमा चुरोट र दायाँ हातमा कलम समातेर बसेका भेटिन्थे। अनि, अघिल्तिरको होचो टेबुलमा हालसालै छापिएका उनका पुस्तकहरूका ताँती प्रदर्शित हुन्थ्यो।

'अदभुत' थियो उनको काम गर्ने क्षमता। उनको जीवनशैली र काम गर्ने ऊर्जा देख्दा त त्यस शब्दको अघिल्ला दुई वर्ण झिक्नु उपयुक्त देखिन्थ्यो। रक्सी त्यत्तिकै पिउन सक्ने, चुरोट छिनछिनमा फुक्नुपर्ने, तास खेल्न परे रात काट्न सक्ने। गजबको समन्वय थियो डा. हर्क गुरुङको जीवनमा विलक्षण विद्वत्ता र नैसर्गिकताको।

उनको कर्मठ जीवनलाई उनले आफ्नो एउटा किताबमा उद्धृत गरेको निम्न तिब्बती उखानले नै चरितार्थ गर्दछ। सिङ्गै पहाड खाएर पनि मानिसको चित्त बुझ्दैन, सिङ्गै सागर पिएर पनि उसको तिर्खा मेटिँदैन।

शायद यही मानवोचित असन्तुष्टि र तृष्णाले उनलाई ज्ञानको संसारको एक अथक यात्री बनाएको थियो। उनी थोरै नेपाली अनुहारमध्ये एक थिए जसलाई हामी गर्वसाथ अन्तर्राष्ट्रिय मञ्चमा उभ्याउन सक्थ्यौँ र उभिएका पनि थिए।

सन्दर्भ सामाग्रिहरू[सम्पादन गर्ने]

  1. १.० १.१ http://www.elamjung.com/articles_view.php?id=2531
  2. २.० २.१ http://www.nepalihimal.com/2063/ashoj-16-31/samjhana.html
  3. http://www.ekantipur.com/nep/2069/6/7/full-story/355031.html

बहिरी कडीहरू[सम्पादन गर्ने]