बालकृष्ण सम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बालकृष्ण सम
Balkrishna Sama.jpg
बालकृष्ण सम
उपनाम:नाट्यसम्राट
जन्म: वि.सं. १९५९ साल माघ २४
ज्ञानेश्वर, काठमाडौं
मृत्यु:वि.सं. २०३८ साल
पशुपती आर्यघाट,काठमाडौं,नेपाल
कार्यक्षेत्र: लेखन
राष्ट्रियता:नेपाली
भाषा:नेपाली
काल:साहित्य लेखन
विधा:नाटक, उपन्यास, महाकाब्य, कविता, कथा, निबन्ध
विषय:देशभक्ति, राष्ट्रीयता, स्वाभिमान
पहिलो कृति:मुटुको व्याथा वि.सं. १९८६

बालकृष्ण सम (वास्तविक नाम: बालकृष्ण शमशेर जङ्बहादुर राणा; १९५९ साल माघ २४ – २०३८ साल साउन ६) नेपाली साहित्यका नाटककार र चित्रकार थिए । वि.सं. २००७ सालको क्रान्तिपछि सबै नेपालीसँग बराबर भएको देखाउन उनले 'शमशेर जङ्बहादुर राणा' हटाई 'सम' थपेका थिए।

प्रज्ञा भवन कमलादी, काठमाडौँमा रहेको बालकृष्ण समको सालिक

जन्म[सम्पादन गर्ने]

बालकृष्ण समको जन्म वि.सं. १९५९ साल माघ २४ गते काठमाडौंको ज्ञानेश्वरमा भएको थियो।

शिक्षा[सम्पादन गर्ने]

औपचारिक रूपमा उनले आई.एस्सी. सम्मको मात्र अध्ययन गरेका भए तापनि आफ्नै अध्ययनबाट उनले पूर्वीय एवं पाश्चात्य कला, साहित्य, धर्म, दर्शन, विज्ञान, इतिहास आदिको गम्भीर विवेचना गर्ने सामर्थ्य प्राप्त गरेका थिए।

जीवन[सम्पादन गर्ने]

बहुमुखी प्रतिभाका धनी बालकृष्ण समले कविता, नाटक, कथा, प्रवन्ध, निवन्ध, जीवनी आदि बिभिन्न क्षेत्रमा कलम चलाएका छन्। समलाई नेपाली साहित्यमा नाट्यसम्राट्को विशिष्ट सम्मान प्राप्त भएको छ। नेपाली साहित्यलाई बौद्धिकताको छाप दिने सम चित्रकार, अभिनेता, वक्ता र दार्शनिक चिन्तक पनि थिए। उनी रेडियो नेपालका निर्देशक र गोरखापत्रका सम्पादक पनि भएका थिए। दश वर्षमा कविता लेखी साहित्यिक यात्रा सुरु गरेका समको वि.सं. १९७७मा लेखिएको ' तानसेनको झरी ' प्रथम नाटक हो भने प्रथम प्रकाशित नाटकचाहिँ 'मुटुको व्यथा' (१९८६) हो। यसरी सुरु भएको उनको नाट्ययात्रा वि.सं. २०३५ सम्म चलिरह्यो। उनले नाटकका अतिरिक्त कविता, कथा, निबन्ध, आत्मसंस्मरण आदिमा पनि सशक्त कलम चलाएका छन्। कवितालाई बढी रुचाए पनि उनी नाटककै कारण प्रसिद्धिको शिखरमा पुगेका हुन्।

सेवा, पेसा र संलग्नता[सम्पादन गर्ने]

  • १. सैनिक क्याप्टेन(१९८०)
  • २. नेपाली जाँचपास अड्डाका प्रमुख
  • ३. दरबार स्कूलमा अध्यापन९८७)
  • ४. त्रिचन्द्र कलेजमा प्राध्यापन(१९८७)
  • ५. नेपाली भाषा प्रकाशनी समितिको अध्यक्ष(१९९०)
  • ५. सैनिक मेजर(१९९५)
  • ६. नेपाल रेडियोको निर्देशक(२००८)
  • ७. सैनिकमा लेफ्टिनेन्ट कर्णेल(२००९)
  • ८. गोरखापत्रको सम्पादक(२०१२)
  • ९. रोयल नेपाल एकेडेमीको सदस्य(२०१४)
  • १०.नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका उपकुलपति(२०२६)
  • ११.नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्य(२०२८)
  • १२.राजसभा स्थायी समितिका सदस्य(२०३०)

कृतिहरू[सम्पादन गर्ने]

डेढ दर्जनभन्दा बढी नाटक प्रकाशन गरेका समका प्रमुख नाटकहरूमा मुटुको व्यथा (१९८६), मुकुन्द-इन्दिरा (१९९४), प्रह्लाद (१९९५), अन्धवेग (१९९६), भक्त भानुभक्त (२०००), प्रेमपिण्ड (२००२), अमरसिंह (२०१०), स्वास्नीमान्छे (२०३३) आदि पर्दछन्। यी नाटकमध्ये मुटुको व्यथा, मुकुन्द-इन्दिरा, आदि सामाजिक हुन् भने अमरसिंह, भक्त भानुभक्त, भीमसेनको अन्त्य आदि ऐतिहासिक हुन्। त्यस्तै, ध्रुब, प्रह्लाद आदि पौराणिक नाटक हुन् भने स्वास्नीमान्छेचाहिँ स्वैरकल्पनात्मक प्रयोगवादी नाटक हो। अन्त्यका हिसाबले हेर्दा ध्रुब, प्रह्लाद, मुकुन्द-इन्दिरा आदि संयोगान्त तथा मुटुको व्यथा, अन्धवेग, प्रेमपिण्ड आदि दुःखान्त भएका छन्। उनका बोक्सी, नालापानीमा, बिरामी र कुरुवा, रणदुल्लभ जस्ता उत्कृष्ट र सबल एकाङ्कीहरू पनि प्रकाशित छन्। सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले सम नेपाली नाटकका सर्वोच्च प्रतिभा वा नाट्यसम्राट् हुन्। कवितात्मक वा गद्यात्मक, संयोगान्त वा दुःखान्त, एकाङ्की वा पूर्णार्ङ्की, जुनैमा पनि सम सबल देखिन्छन्।

लघुनाटक (एकाङ्की) देखि प्रेमपिण्ड जस्तो महानाटक दिएर नेपाली साहित्यलाई समृद्ध पार्ने सम बहुमुखी र नेपालीले गर्व गर्न लायक प्रतिभाशाली साहित्यकार हुन्। आधुनिक नेपाली नाटकका प्रारम्भकर्ताका रूपमा पनि उनको उत्तिकै ख्याति छ। नेपालका विश्वकोष मानिने समको साहित्यिक योगदानलाई कदर गरेर उनलाई रोयल नेपाल एकेडेमीका (हाल नेपाल प्रज्ञा प्रतिष्ठान) सदस्य र पछि उपकुलपतिसमेत बनाइयो।

क्र०सं० पुस्तकको नाम विधा प्रकाशित गरेको साल (वि०सं०)
आगो र पानी खण्डकाब्य २०११
चिसोचूल्हो महाकाव्य २०१५
बालकृष्ण समका कविता कविता संग्रह २०३८
मुटुको व्यथा नाटक १९८६
प्रह्लाद नाटक १९९५
ध्रुब नाटक १९८६
अन्धवेग नाटक १९९६
मुकुन्द-इन्दिरा नाटक १९९४
भक्तभानुभक्त नाटक २०००
१० नाटक २००२
११ प्रेमपिण्ड नाटक २००९
१२ अमरसिंह नाटक २०१०
१३ भीमसेनको अन्त्य नाटक २०१२
१४ तलमाथि नाटक २०२३
१५ तानसेनको झरी नाटक २०२६
१६ अमितवासना नाटक २०२७
१७ स्वास्नीमान्छे नाटक २०३३
१८ मोतीराम नाटक २०३३
१९ उ मरेकी छैन नाटक २०३५
२० बोक्सी एकाङ्की १९९९
२१ भतेर एकाङ्की २०१०
२२ तपोभूमी एकाङ्की २०१४
२३ चार एकाङ्की एकाङ्की २०२०
२४ माटोको ममता एकाङ्की २०२६
२५ बिरामी र कुरुवा एकाङ्की २०२७
२६ नियमित आकस्मिता प्रबन्ध २००५
२७ मेरो कविताको आराधन उपासना १ प्रबन्ध २०२३
२८ मेरो कविताको आराधन उपासना २ प्रबन्ध २०२९

सम्मान/पुरुस्कार[सम्पादन गर्ने]

उनको नाममा 'बालकृष्ण सम फाउन्डेसन' नामक साहित्यिक संस्था पनि स्थापना भएको छ।

मृत्यु[सम्पादन गर्ने]

उनको मृत्यु वि.सं. २०३८ साल साउन ६ गते, पशुपति आर्यघाट, काठमाडौंमा भएको थियो।

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]