व्याकुल माइला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


जन आन्दोलन २ पछिको नयाँ राष्ट्रिय गान सयौं थुंगा फूलका हामी का रचनाकार प्रदीपकुमार राई/व्याकुल माइलाको जन्म २०२९ साल चैतमा थाक्ले-८ हिलेपानी, ओखलढुङ्गामा भएको हो। आमा धनलक्ष्मी र बुबा मानबहादुरका छोरा प्रदीपका एक दाजु, एक दिदी र एक भाइ छन्। उनको मातृभाषा वाम्बुले राई हो। अविवाहित राई कानुनशास्त्र स्नातक तथा जनप्रशासन (एमपीए) अध्ययनरत छन्। कानुनी सेवा (अधिवक्ता) का रूपमा राजधानीमा कार्यरत राईको साहित्यिक लेखन थालनी २०४६ सालमा भएको हो। उनको पहिलो प्रकाशित रचना कविता (नेपाली भाषामा) थियो, जुन समीक्षा साप्ताहिक, २०४८मा छापिएको थियो। उनका प्रकाशित रचना - कविता, गीत, गजल, लेख, निबन्ध (नेपाली र वाम्बुले राई भाषामा) छन्। उनका रचना मधुपर्क, गरिमा, समष्टि, मिर्मिरे, कविता (ने.प्र.प्र.), नव कविता, 'स्रष्टा' (कालेबुङ), 'बिन्दू' (असम), 'लिब्जु-भुम्जु', कान्तिपुर, गोरखापत्र, स्पेसटाइम, राजधानी, गोरखापत्र आदीमा छापिएका छन्। उनको प्रकाशित कृति 'नेपाली गीत संग्रह-२०५९' (दुई सय स्रष्टाका गीतिसंगालो सम्पादन) हो। उनी 'बरभञ्ज्याङ्ग' चौमासिक गोजिका, 'मानव अधिकार आवाज', 'लिब्जु-भुम्जु' त्रिभाषीय त्रैमासिक (वाम्बुले राई भाषा, साहित्य र संस्कृति प्रधान पत्रिका- र 'कौशिकी' साहित्यिक पत्रिकामा संलग्न छन्। उनी मानव अधिकारवादी युवा कानुन व्यवसाय केन्द्र (ह्युरिन्पेक), आदिवासी मानव अधिकार सरोकार केन्द्र, काठमाडौं, कौशिकी साहित्य प्रतिष्ठान, काठमाडौंका संस्थापक सदस्य हुन् भने काठमाडौं जिल्ला नेपाल बार एसोसियसनका साधारण सदस्य छन्। उनले लेखेको राष्ट्रिय गान यस्तो छ -

सयौं थुङ्गा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची महाकाली
प्रकृतिका कोटीकोटी सम्पदाको आँचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल।
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।

यो गान राष्ट्रिय गान छनोट समितिले २०६३ मंसिर १४मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। यो गान नै २०६४ वैशाखमा राष्ट्रिय गानका रूपमा छानिएको छ। राईबाहेक हरिहर तिमिल्सिनाको लेखन दोस्रा र रामप्रसाद ज्ञवालीको लेखन तेस्रो भएका थिए। ती राष्ट्रिय गीत यस्ता छन्-

दोस्रो गीत

नेपाल हौ आमा तिमी, हामी छोराछोरी
रंगरूप, जातधर्म, भाषा थरीथरी
कोही बस्छौं फेदीतिर कोही टाकुरामा
श्रमशक्ति फुलिदिन्छ हाम्रा पाखुरामा
बुद्ध हाम्रो मुटु बनोस् सगरमाथा शिर
चन्द्रसूर्य ध्वजा बोकी बढ्छौं लक्षतिर
दुखसुख साझा हाम्रा बाँच्ने साझा धर्ती
एकअर्को नेपालीमा गाँसी मायाप्रीति
हातमाथि हात दिन्छौं मुठ्ठीमाथि मुठ्ठी
एकताको सुगन्धमै फुल्छ हाम्रो मट्टी।

हरिहर तिमिल्सिना

तेस्रो गीत

मेची-काली झंकृत पारी गुन्जिरहेको जागृति गान
जनजनको मन गर्दछ नूतन, छर्दछ जीवन, भर्दछ सान
स्वतन्त्रताले राष्ट्रियताले सम्प्रभुताले गर्वित भाल
जय होस् मेरो जीवनमाली गौरवशाली देश नेपाल
हिमगिरिदेखि पर्वतबेंसीसम्म तराई पौरख गान
धर्म र जाति संस्कृतिमाथि दृष्टि भएको एक समान
प्राकृतताले उच्च कलाले शोभित, सुन्दर शान्त विशाल
जय होस् मेरो जीवनमाली गौरवशाली देश नेपाल

रामप्रसाद ज्ञवाली