सामग्रीमा जानुहोस्

सयौँ थुङ्गा फूलका हामी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सयौँ थुङ्गा फूलका हामी

 नेपालको राष्ट्रिय गान
लेखकब्याकुल माइला
सङ्गीतअम्बर गुरुङ
लागू२०६४ साउन १८
सङ्गीत नमूना
noicon

सयौँ थुङ्गा फूलका हामी, नेपालको राष्ट्रिय गान हो। यसलाई २०६४ साल साउन १८ गते लागू गरिएको थियो।[१] यसलाई अन्तरिम संसदका सभामुख सुवासचन्द्र नेम्वाङ सिंहदरबार भित्र रहेको राष्ट्रिय योजना आयोगको सम्मेलन भवनमा आयोजित समारोहको बीच २०६४ साउन १८ मा औपचारिक रूपमा राष्ट्रिय गानको रूपमा लिइएको घोषणा गरेका थिए। तत्कालीन शाही परिवारलाई समर्पित भई गाइएको राष्ट्रिय गान (राज गान) श्रीमान् गम्भिर नेपालीलाई वि.सं. २०६३ साल जेष्ठ ५ गते शुक्रबार बसेको तत्कालीन प्रतिनिधि सभा घोषणाले नयाँ राष्ट्रिय गानको साथ प्रतिस्थापन गरेको थियो।[२] अम्बर गुरुङले सङ्गीत दिएको र ब्याकुल माइलाको शब्द सिर्जना रहेको राष्ट्रिय गान "सयौँ थुङ्गा फुलका हामी" शीर्षकको राष्ट्रिय गानलाई नेपालको संविधान २०७२ ले पनि आधिकारिक मान्यता दिइसकेको छ।[३]

६२/६३ को जनआन्दोलन सफल भए पश्चात्, गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारले नेपालमा आएको राजनैतिक परिवर्तनहरूसँगै चलिआएका पुरानाशैलीहरूलाई पनि परिवर्तन गर्ने निर्णय गरेको थियो जहाँ राष्ट्रिय गानका कुरा समेत समावेश गरिएको थियो।[४] सरकारले देशभरि रहेका कलाकारहरूलाई राष्ट्रिय गान लेख्नका लागि प्रेरित गरेको थियो र नयाँ राष्ट्रिय गान छनोट समिति पनि गठन गरेको थियो जसमा चौध सदस्यीय टोली रहेका थिए।सयौं थुङ्गा फूलका हामी बोलको गीतलाई सर्बोत्कृष्ट मानेर १४ सदस्यीय राष्ट्रिय गान छनोट कार्यदलले १,२९२ रचनाहरू मध्यबाट नेपालको राष्ट्रगानको रूपमा छनोट गरेको थियो। यो गानका रचनाकार कवि व्याकुल माइला हुन् भने सङ्गीतकार अम्बर गुरुङ हुन्।[५] यस गीतमा २० भन्दा बढी चर्चित गायक/गायिकाहरूले स्वर दिएका छन्। २०६२/६३ सालको परजिवितान्त्रिक आन्दोलनबाट शाही शासन अन्त्य भएपछि यो गीतलाई राष्ट्रिय गानको रूपमा अन्तरिम संसदले स्वीकृत गरेको थियो। यो गान राष्ट्रिय गान छनोट समितिले २०६३ मङ्सिर १४ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो जुन २०६४ वैशाख ७ गते राष्ट्रिय गानका रूपमा छानिएको छ।[६]

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-महाकाली।
प्रकृतिका कोटी-कोटी सम्पदाको आँचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृती छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल[३]
  1. "गुञ्जियो नयाँ राष्ट्रिय गान"। बीबीसी नेपाली। सङ्ग्रह मिति १० डिसेम्बर २०२० 
  2. "गणतन्त्र घोषणा पछि काठमाडौँमा पहिलोपल्ट खुलेआम गुञ्जियो 'श्रीमान गम्भीर नेपाली…'"नेपाली दीप। सङ्ग्रह मिति १० डिसेम्बर २०२० 
  3. ३.० ३.१ "अनुसूची–२ नेपालको राष्ट्रिय गान"कानुन आयोग। सङ्ग्रह मिति १० डिसेम्बर २०२० 
  4. "यसरी छानियो नेपालको राष्ट्रिय गान"। छोट्करी। सङ्ग्रह मिति १० डिसेम्बर २०२० 
  5. "यसरी छानियो नेपालको राष्ट्रिय गान"थाह खबर। सङ्ग्रह मिति १० डिसेम्बर २०२० 
  6. "सयौं थुँगा फूलका हामी..."। नागरिक दैनिक। सङ्ग्रह मिति १० डिसेम्बर २०२० 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]