अम्बर गुरुङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अम्बर गुरूङ
अम्बर गुरूङ गायनमा
जन्म (१९३८-०२-२६)फेब्रुअरी २६, १९३८
दार्जिलिङ, भारत
मृत्यु ७ जुन २०१६(२०१६-०६-०७) (७८ वर्ष)
काठमाडौँ, नेपाल
राष्ट्रियता नेपाली
पेशा संगीत

अम्बर गुरुङ (जन्म विसं १९९४-२०७३) नेपाली सांगीतिक फाँटका प्रसिद्ध व्यक्तित्व हुन्। उनले सयौं नेपाली गीतमा संगीत भरेका छन्। उनी खास गरी नेपालको राष्ट्रिय गान सयौं थूंगा फूलकाको संगीतकारको रूपमा परिचित छन्।


बाल्यकाल[सम्पादन गर्ने]

अम्बर गुरुङको जन्म विसं १९९४ फागुन १४ गते बाबु उजीरसिंह गुरुङ र आमा रेणुका गुरुङका सुपुत्रका रूपमा भारतको दार्जिलिङको लालढिकीमा भएको थियो।[१]उनका बुबामात्र होइन, हजुरबुबा देवराज गुरुङ पनि सेनामा जागीर खान्थे। अम्बर गुरुङको पुर्ख्यौली घर गोरखा जिल्लाको रिसिङ हो ।[२]

तीन छोरा : किशोर, राजु तथा शरदमणि र एक छोरी अलकाका पिता गुरुङ हुन्। ०५२ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको संगीत निर्देशकसमेत रहेका गुरुङ काठमाडौंको महाराजगञ्ज चक्रपथ नजिकै बसोबास गरे।

गायन तथा संगीत सुरुवात वि.सं. २०१६ माघ कलकत्ताबाट दुई गीत 'म अम्बर हुँ' र 'सम्हालेर राख'बाट गीतिलेखन प्रारम्भ गरेका हुन्। संगीतकार गुरुङले कोलकातामा पहिलोपटक सन् १९६१मा अगमसिंह गिरीले रच्नुभएको गीत रेकर्ड गरेका थिए- 'नौ लाख तारा उदाए'। एक हप्तामै पाँच सय प्रति बिक्री भएको यो गीत भारतविरोधी भन्दै अल इन्डिया रेडियोमा प्रतिबन्धित भएको थियो। पछि यही गीत नेपालीले धेरै मन पराए।

राजा महेन्द्रले यही गीत मन पराएर अम्बरलाई उनको जन्मोत्सवको उपलक्ष्यमा नेपाल बोलाउँथे। उनी वि.सं. २०२५ सालमा नेपाल आए। वि.सं. २०२६ सालमा (दोस्रोपटक) नेपाल आएका बेला पनि राजा महेन्द्रले फेरि एकेडेमीमा बस्न प्रस्ताव दोहोर्‍याएपछि गुरुङ नेपाल आएर बसे।

वि.सं. २०२६ मा संगीत विशेषज्ञका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रवेश भए। संगीत प्रमुख, संगीतसंयोजक र संगीत निर्देशक भएर वि.सं. २०५४मा अवकाश पाए। उनले लक्ष्मीप्रसाद देवकोटाको गीतिनाटक कुन्जिनी, मुनामदनमा सँगीतांकन गरेका छन्। उनले सत्यमोहन जोशीका चार नाटकलगायत माधवप्रसाद घिमिरेको मालती मंगलेमा समेत संगीत दिएका छन्। उनले चलचित्र मनको बाँध, जीवनरेखामा पृष्ठसंगीत र पार्श्व संगीत दिएका छन्। त्यस्तै आदिकवि भानुभक्त वृतचित्र वृतचित्रमा पार्श्वसंगीत,स्वर दिएका छन्।

नेपालको वर्तमान राष्ट्रगान सयौं थुंगा फूलका हामी लाई अम्बर गुरुङले संगीत दिएका हुन्।

कृतिहरू[सम्पादन गर्ने]

  • अक्षरका आवाजहरू (गीतिसङ्ग्रह, २०६०/प्रकाशकः तलेजु धनकुमारी कोष)
  • कहाँ गए ती दिनहरू (संस्मरण, निबन्ध, २०६३/रत्न पुस्तक भण्डार, सम्पादकः देवेन्द्र भट्टराई)
  • कहिले लहर कहिले तरंग (गीति क्यासेट)
  • सम्हालेर राख (संयुक्त गीतिसङ्ग्रह, २०६९)

पुरस्कार[सम्पादन गर्ने]

१ जनवरी २०१४ हङकङमा हिमालयन् टोन्स म्युजिक एकेडेमीले आयोजना गरेको "अम्बर गुरुङ रात्री" मा आयोजकका तर्फबाट संगीतकार गुरुङलाई अभिनन्दन गर्दै "महासंगीतकार" को घोषणा गरियो। विगत पाँच दशक यता सङ्गीत-साधनामा निरन्तर लगनशील रही सांगीतिक माध्यमद्वारा नेपाली कला र संस्कृतिको उत्थानका साथै नेपाली भाषा साहित्यको श्रीवृद्धि गर्न सशक्त योगदान गरेबापत विसं २०५४ सालको जगदम्बाश्री पुरस्कार पाए। उनले २०२८ सालमा गोरखा दक्षिणबाहु चौथो, सन् १९९४ मा गिरी पुरस्कार गुठी दार्जिलिङबाट रु. १ लाख नगद प्रमाणपत्र, विसं २०३८ सालमा इन्द्रराज्यलक्ष्मी पुरस्कार, २०४७ सालमा छिन्नलता गीत पुरस्कार पाए। [३]

सन्दर्भ सामग्रीहरू:[सम्पादन गर्ने]

  1. "अस्ताए ‘नौ लाख तारा’", नयाँ पत्रिका, २७ जेठ २०७३. अन्तिम पहुँच मिति:10 June 2016.
  2. "वरिष्ठ संगीतकार अम्बर गुरुङ रहेनन्", सेतोपाटी, २५ जेठ २०७३. अन्तिम पहुँच मिति:10 June 2016.
  3. "अम्बर गुरुङ रहेनन्", उज्यालो अनलाइन, २५ जेठ २०७३. अन्तिम पहुँच मिति:10 June 2016.

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]