फणीन्द्रराज खेताला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


फणीन्द्रराज खेताला (वि.सं. १९७९ - वि.सं. २०६७) नेपाली साहित्यकार हुन्।

जीवनी[सम्पादन गर्ने]

फणीन्द्रराजको जन्म बाबु भुवनराज शर्मा र आमा दिव्यकुमारीका सुपुत्रका रूपमा वि.सं. १९७९ साल असोज १३ गते शुक्रवारका दिन ठमेल, सल्लाघारी, काठमाडौंमा भएको हो। वि.सं. २००५ सालमा कल्याणीदेवसँग विवाह भएको थियो। उनका चार छोरी र तीन छोरा जन्मिए। स्नातकसम्म गरेका खेतालाले शिक्षण पेसा अँगालेका थिए। वि.सं. २००४को सुरूदेखि २०४६को अन्त्यसम्म गरी ४३ वर्ष उनले शिक्षण अध्यापनमा लगाए। पशुपति मित्र माध्यमिक विद्यालय, त्रिभुवन आदर्श विद्यालय (फर्पिङ), पशुपति क्याम्पस आदिमा शिक्षण, प्राध्यापन गरे। उनले वि.सं. २००४ सालमा विनायक पद्म स्कूल, वि.सं. २०१४ सालमा रात्रि स्कूल खोल्न योगदान पनि दिएका थिए।

कृतिहरू वि.सं. १९९४मा 'पैसा' शीर्षक कविताबाट साहित्य यात्रा थालेका उनले 'फिलिंगो' दैनिकको सम्पादन गरेका थिए। नाटक/एकाङ्की, कविता, आदिमा कलम चलाएका खेतालाका प्रकाशित कृतिहरूः

  • छाँगो र छायाँ (कवितासंग्रह, वि.सं. २०२८)
  • खेतालाका कविताहरू (कवितासंग्रह, वि.सं. २०६७)
  • विजय (नाटक, वि.सं. २०१९)
  • नागफनी र स्वास्नीमान्छे (नाटक, वि.सं. २०२८)
  • फ्युज गएको इज्जत
  • सीता-स्वयम्बर (नाटक, वि.सं. २०२५)
  • मूर्ति बोल्छ (नाटक, वि.सं. २०४३)
  • आफूलाई टेकेर हिँड्दा (संस्मरण, वि.सं. २०६२)

संलग्नता[सम्पादन गर्ने]

उनी मित्र मण्डल, मित्र वाचनालयका संस्थापक, फर्पिङ पुस्तकालय, अग्रगामी साहित्यिक मण्डल अध्यक्ष, भैरव पुरस्कार गुठीका उपाध्यक्ष, नेपाल लेखक सङ्घका सदस्य रहे।

पुरस्कार[सम्पादन गर्ने]

आधा शताब्दीभन्दा अघिदेखि नेपाली भाषा शिक्षणमा अनवरत रूपमा साहित्य सेवामा लागी नेपाली भाषामा उल्लेख्य योगदान गरेबापत उनलाई वि.सं. २०६१ सालको जगदम्बाश्री पुरस्कार प्रदान गरियो। उनले रत्नश्री स्वर्ण पदक (वि.सं. २०४३), दीप स्मृति पुरस्कार (वि.सं. २०५२), वेदनिधि पुरस्कार (वि.सं. २०५६), सिपाही पत्रिका पुरस्कार (वि.सं. २०३७, वि.सं. २०३९), रूद्रराज पुरस्कार (वि.सं. २०६१), भवदेव पन्त पुरस्कार (वि.सं. २०६१) पनि पाए।

निधन[सम्पादन गर्ने]

मूत्रनलीको संक्रमणबाट पीडित उनको २०६७ माघमा निधन भयो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]