जयपृथ्वीबहादुर सिंह
जयपृथ्वीबहादुर सिंह | |
---|---|
जन्म | १९३४ भदौ ७ गते बझाङ |
मृत्यु | १९९७ असोज १ |
पेशा | भाषा, साहित्य, पत्रकारिता, शिक्षा, स्वाथ्य, समाज सुधार आदि |
भाषा | नेपाली |
धर्म | हिन्दू |
वेबसाइट | |
मानवतावाद र जयपृथ्वी फाउन्डेसन |
जयपृथ्वीबहादुर सिंह एक बझाङ्गी राजा थिए। जयपृथ्वीको जन्म विसं १९३४ भदौ ७ गते[१][२] (इ.सं.१८७७) सेती अञ्चलको बझाङमा भएको थियो।[२] उनले लेखेका अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ।[३] त्यस्तै उनको प्राकृतव्याकरण नामक अर्को पुस्तक पनि गोरखापत्र छापाखानाबाट विसं १९६९ प्रकाशित भएको थियो।[४] जयपृथ्वीबहादुर सिंहले लेखेका नेपाली भाषाको पुस्तक 'अक्षराङ्क'मा देवनागरी लिपिका साँवाअक्षर, गणितका साधारण हिसाव, तत्कालीन चलनचल्तीमा रहेको नापतौल, वर्ष, महिना, दिन, ऋतु, अङ्ग्रेजी महिनाका नाम आदि कुरा समावेश गरिएका थिए। [५] उनको "अक्षराङ्क शिक्षा" नामक पुस्तकमा बाह्रखरी अक्षर ज्ञान, गणितको एकावली, पहाडा, विभिन्न वर्गाङ्क, जोडघटाउ, भाग, गुणन र इस्लाम धर्मका चाडपर्वको पनि उल्लेख छ। जयपृथ्वीले अक्षराङ्क शिक्षा लेखेर विसं १९५८ मा प्रकाशित गरेपछि, त्यो पुस्तक कोसेढुङ्गोको रूपमा स्थापित भएको छ। [२][६]
परिवार
[सम्पादन गर्नुहोस्]बझाङका राजा विक्रमबहादुर सिंहकी चारओटी रानीमध्ये जेठी रुद्रकुमारी र माहिली मेघकुमारी राणाका छोरी थिए। साहिली त्रैलोक्यकुमारी अस्कोटे पाल र कान्छी पार्वतीदेवी बमकी छोरी थिइन्। विक्रमबहादुर सिंहका जेठी रानी रुद्रकुमारीका जेठा छोरा जयपृथ्वीबहादुर सिंह हुन्।[७] जङ्गबहादुरको नाति भएकै कारण जयपृथ्वीले आठ वर्षको उमेरमा काठमाडौँ आएर दरबार स्कुलमा पढ्न पाएका थिए। जयपृथ्वीकी आफ्नी आमापट्टिका अरू दुई भाइ वीरजङ्गबहादुर सिंह र प्रभुजङ्गबहादुर सिंह थिए। विक्रमबहादुर सिंहका चार रानीबाट चौध भाइ छोरामध्ये जयपृथ्वीबहादुर सिंह बैङ्गलोर बसाइ सर्न पुगेका थिए भने वीरजङ्गबहादुर सिंह र प्रभुजङ्गबहादुर सिंह क्रमशः बझाङकै देउरा र बगडगाउँमा बसेका थिए। राजा जयपृथ्वीले राजकाज त्याग्ने बेला माहिला भाइ ललितजङ्गबहादुर सिंहको निधन भइसकेका कारण साहिला भाइ देवीजङ्गबहादुर सिंहलाई राजकाज सुम्पेका थिए।[८]
सामाजिक सुधारका प्रयासहरू
[सम्पादन गर्नुहोस्]राजा जयपृथ्वीले शिक्षालाई खुबै महत्त्व दिएका थिए। वि.सं १९४८ मा, १४ वर्षको उमेरमा हुँँदा उनले ब्रिगेड नामक अङ्ग्रेजी पुस्तकलाई नेपालीमा अनुवाद गरेका थिए। वि.सं १९५५ मा, बझाङबाट पिछडिएका मानिसहरूलाई काठमाडौँ ल्याई तालिम दिएर बझाङमा छाला प्रशोधन, तामा, फलाम तथा नेपाली कागज, घरेलु कपडा र सिलाइ उद्योग स्थापना गरेका थिए। उनले आठजना विद्यार्थी काठमाडौँमा पढ्न पठाएका थिए। सामान्य शिक्षा आर्जन गरेपछि ती आठैजना बझाङका विभिन्न अड्डा, स्वास्थ्य र शिक्षण संस्थाका कारिन्दा भएका थिए। त्यसपछि पनि उनले त्यहाँका केही मानिसहरूलाई भारतको अलमोडा पढ्न पठाएका थिए। साथै उनले वि.सं १९६२ मा, काठमाडौँको नक्सालको आफ्नै घरमा सत्यवादी पाठशाला पनि खोलेका थिए।[९] पछि उनले काठमाडौँको सत्यवादी प्राथमिक पाठशाला वि.सं १९७० मा, बझाङमा सारेका थिए। त्यहाँको यो प्रथम विद्यालय थियो।
जयपृथ्वीले देवशमशेरलाई स्कुल खोल्नुपर्छ र नेपाली भाषामा शिक्षा दिनुपर्छ भनेर सुझाव दिएका थिए। अनि उनले विभिन्न पाठ्यपुस्तक पनि लेखेका थिए। त्यसबेला विद्यार्थीले जयपृथ्वीले लेखेको ‘अक्षरङ्क शिक्षा’ पठनपाठन गरिन्थ्यो।[१०] उनले क्रमश: अरु बौद्धिक किताबहरू पनि लेखेका थिए। उनले जम्मा १८ वटा किताब लेखेका थिए। जयपृथ्वीले राजा भएपछि पनि पढेका थिए। उनको पढाइ काठमाडौँको दरबार हाई स्कुलमा भएको थियो। उनले कोलकाता गएर म्याट्रिक उतिर्ण गरेका थिए। अनि उनले प्रयागमा आइए पढेता पनि तर पूरा गर्न भने सकेनन्। जयपृथ्वीको १७ वर्षको उमेरमा वि.सं १९५१ श्री ३ चन्द्रशमशेरकी १४ वर्षीया छोरी खगेश्वरीदेवीसँग विवाह भएको भएको थियो। तर यी दम्पतिबाट सन्तान चाहिँ भएनन्।
जयपृथ्वीले बझाङमा आर्थिक सुधारका नाउँमा भूमिसुधारको व्यवस्थापन गरेका थिए।[११] उनैले वैज्ञानिक ढङ्गबाट नापीको व्यवस्था पनि गरेका थिए। त्यहाँ औषधालय पनि स्थापना गरिएको थियो। खग औषधालय र जयपृथ्वी धर्म औषधालय त्यस भेकको पहिलो औषधालय थियो। उनले त्यहाँ कोलकत्ताबाट चिकित्सक पनि ल्याएका थिए। उनले काठमाडौँबाट त्यहाँ धोबी र च्यामे पनि पुर्याएका थिए। २५ वर्षीय जयपृथ्वीलाई प्रधानमन्त्री चन्द्रशमशेरले कोलकात्तामा वकील बनाएर पठाएका थिए। त्यतिबेला उनी त्यहाँ तीन वर्ष बसेर अङ्ग्रेजी भाषाको विशेष ज्ञान हासिल गरेका थिए। तर नेपालमा नेपाली भाषाकै किताब छापेर प्रचार गर्ने उद्देशले उनी नेपालै फर्किएका थिए। नेपाल आउँदा उनले हाते प्रेस किनेर ल्याएका थिए। चन्द्रशमशेर प्रधानमन्त्री भएपछि नरदेव पाण्डेलाई खोसेर आफ्ना ज्वाइँ जयपृथ्वीलाई गोरखापत्रको तालुकदार बनाइएको थियो। त्यतिमात्र होइन राणाले गोरखापत्रको सम्पूर्ण आम्दानी पनि सिंहले नै खाने कागत गरिदिएका थिए।[१२]
जयपृथ्वीले भारदारी अड्डामा पनि काम गरेका थिए। विसं १९६५ सालमा प्रधानमन्त्री चन्द्रशमशेरसँगै उनी बेलायत पनि गएका थिए। त्यसैबखत त्यहाँका राजाले उनलाई कर्नेलको दर्जा दिएका थिए। साथै उनी अमेरिकाको भ्रमण गर्ने पहिलो नेपाली थिए। रुसको भ्रमण गर्ने पहिलो नेपाली पनि उनी थिए।[१३] जयपृथ्वीले मानवतावादी संस्था खोल्ने अभियान चलाएका थिए। त्यसैले उनले विश्वभ्रमण पनि गरेका थिए। पछि उनैको संरक्षकत्व एसियाका विभिन्न राष्ट्रमा मानवतावादी सङ्घहरू पनि खुलेका थिए। साथै उनले मानवतावादी पुस्तकहरू पनि प्रकाशित गरेका थिए।[१४] जयपृथ्वीबहादुर सिंह नेपालका शिक्षासेवी हुन्। जयपृथ्वीका योगदान एउटा एउटा गरेर लिपिबद्ध गर्न थालियो भने दर्जनौँ पुस्तक तयार हुन्छन्। राणा प्रधानमन्त्री चन्द्रशमशेरको छोरीज्वाई भएर पनि उनको स्वतन्त्र चिन्तनले गर्दा उनी नेपालमा बस्न सकेनन्। त्यसैले भारतको बेङ्गलोरमा बसेर हृयुमानिष्ट नामक पत्रिका प्रकाशित गरेर मानवतावादी विचारको प्रचारप्रसार भारत, युरोप, अमेरिकासम्म गरेका थिए।[२] शिक्षाप्रेमी जयपृथ्वीकै अनुरोधमा चन्द्रशमशेरले आठजना व्यक्तिलाई जापानमा प्राविधिक शिक्षा लिन पठाएका थिए। नेपालमा शिक्षाको ज्योति बाल्न पाठशाला खोलेर मात्रै पुग्दैन भनेर जयपृथ्वीले स्रोत सामग्री जम्मा गर्न पुस्तक लेख्ने र प्रकाशन गर्ने कार्य पनि आफैँ गरेका थिए।[२] उनले वि.सं १९६५ मा, व्यवहारमाला नामक पुस्तक लेखेका थिए।
जयपृथ्वी पितृभक्त थिए। त्यसैले उनले चालीस वर्षको उमेरमा राजगद्दी छाडेर आफ्ना बुबालाई पुन: राज्यारोहण गराएका थिए। ६ वर्ष सिंहासनमा बसेपछि उनका बुबाको निधन भएको थियो। त्यसपछि जयपृथ्वी पुन: राजगद्दीमा बसेका थिए। तर उनलाई राजा भएर बस्न मन लागेन र उनले आफ्ना भाइ देवीजङ्गबहादुर सिंहलाई राज्यारोहण गराई ४८ वर्षको उमेरमा उनी भारत गएका थिए। जयपृथ्वीबहादुर सिंहको १९९७ साल असोज १ गते ६४ वर्षको उमेरमा भारतको बेङ्गलोरमा निधन भएको थियो।[१५] त्यस समयमा उनलाई त्यहाँ ब्रिटिस कम्पनी सरकारले राजबन्दी बनाएर राखेको थियो।
भारतमा शरण
[सम्पादन गर्नुहोस्]उनले गोरखापत्रमार्फत पनि राष्ट्रियता र जनजागरणको पक्षमा खुलेका थिए त्यही कारणले गर्दा चन्द्रशमशेरले हठात रूपमा गोरखापत्रको प्रकाशन नै बन्द गराएका थिए। त्यसपछि उनी भारत भागेका थिए। चन्द्रशमशेरका डरले उनी भारतबाट पनि भागेर बेलायत पुगेका थिए। उनी भागेको कुरा श्री ३ चन्द्रशमशेरका थाह पाएपछि उनलाई दाखिल गराउनेलाई पाँच हजार रूपैयाँ इनामको सार्वजानिक घोषणा गरेका थिए। तर उनी राणाका पञ्जामा नआएपछि उनको खाइपाई आएको भत्ता बन्द गराइएको थियो। त्यसपछि राणाले उनीसँग आफ्नी छोरीलाई पनि छुटाएका थिए। त्यसपछि राणाले जयपृथ्वीको जात च्युत गरेका थिए। जयपृथ्वी पनि ससुरा अर्थात् चन्द्रशमशेरको मृत्युु भएपछि मात्र नेपाल फर्किएका थिए।
सम्मान
[सम्पादन गर्नुहोस्]डेढ शताब्दी अगाडि रुस भ्रमण गर्ने पहिलो नेपाली जयपृथ्वीबहादुर सिंह र नेपाल भ्रमण गर्ने इभान मिनायेभको स्मृतिमा स्थापना गरिएको जयपृथ्वी-इभान मिनायेभ स्रष्टा सम्मान पुरस्कारको स्थापना गरिएको थियो।[१६] त्यस्तै उनको सम्मानमा बैतडी–बझाङ राजमार्गलाई जयपृथ्वीबहादुर राजमार्ग नामाकरण गरिएको छ।[१७] साथै उनको सम्मानमा जयपृथ्वी पत्रकार पुरस्कार स्थापना गरिएको थियो। पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने पत्रकारलाई सो पुरस्कार प्रदान गरिन्छ।[१८]
राष्ट्रिय विभूति घोषणा
[सम्पादन गर्नुहोस्]नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्याएको योगदानको कदर स्वरुप मन्त्रिपरिषद्ले जयपृथ्वीबहादुर सिंहलाई २०७९ असार ६ गते राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको थियो। यस सँगै नेपालका राष्ट्रिय विभूतिको सङ्ख्या १८ पुगेको छ।[१९]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ राजा जयपृथ्वीबहादुर सिंह-नरेन्द्रराज प्रसाई[स्थायी मृत कडी] नेपाल जापान डट कम
- ↑ २.० २.१ २.२ २.३ २.४ शिक्षाप्रेमी जयपृथ्वीबहादुर सिंह, प्रा.डा.वीणा पौड्याल [स्थायी मृत कडी] गोरखापत्र
- ↑ ' अक्षराङ्क शिक्षा ' नामक पुस्तकको विवरण, मदन पुरस्कार पुस्तकालय
- ↑ ' नामक पुस्तकको विवरण, मदन पुरस्कार पुस्तकालय
- ↑ पिछडिएको शिक्षानीति र पाठ्यक्रमसित जोडिएका प्रश्नहरू – विमल पोखरेल[स्थायी मृत कडी] www.weeklynepal.com
- ↑ गीता कोइराला, "इतिहासले चिरिक्क चिमोट्दा", अन्तिम पहुँच १५ मङ्सिर २०७९।
- ↑ "बिर्सिएका नायक जयपृथ्वीबहादुर सिंह", नागरिक दैनिक, अन्तिम पहुँच १५ मङ्सिर २०७९।
- ↑ रतन भण्डारी, "जयपृथ्वीको मावली होइन तारुका", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच १५ मङ्सिर २०७९।
- ↑ "‘बालराजा’ जयपृथ्वीबहादुर", गोरखापत्र, अन्तिम पहुँच १५ मङ्सिर २०७९। वेब्याक मेसिन अभिलेखिकरण २०२२-१२-०१ मिति
- ↑ "शिक्षाका पथप्रदर्शक", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२१-०६-१८।
- ↑ प्रताप ओलश्र, "जसले बझाङमा पाँच सय वर्ष राज गरे", शिलापत्र, अन्तिम पहुँच १५ मङ्सिर २०७९।
- ↑ "मानवतावादी जयपृथ्वीबहादुर सिंहबारे नखुलेका केही तथ्य", अनुमोदन खबर, अन्तिम पहुँच १५ मङ्सिर २०७९।
- ↑ "सरकारले राष्ट्रिय विभूति घाेषणा गरेका जयपृथ्वीबहादुर सिंह काे हुन् ?", शिलापत्र, अन्तिम पहुँच १५ मङ्सिर २०७९।
- ↑ "को हुन् राष्ट्रिय विभूति जयपृथ्वी बहादुर सिंह ?", अन्तिम पहुँच १५ मङ्सिर २०७९।
- ↑ "Remembering Jaya Prithvi Bahadur Singh", nepalnews.com, अन्तिम पहुँच २०२२-०४-०३।
- ↑ "मिनाएभको नेपाल महात्म्य", साहित्य पोस्ट, अन्तिम पहुँच १५ मङ्सिर २०७९।
- ↑ "जयपृथ्वीबहादुर सिंहलाई सम्झिँदा" (नेपाली) भाषा)। गोखरापत्र अनलाइन। सङ्ग्रह मिति २० अप्रिल २०२२।
- ↑ "Four journos honoured on birth anniversary of Jaya Prithvi Bahadur Singh", गोरखापत्र (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०४-०३।
- ↑ "जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा", अनलाइन खबर, ०६ असार २०७९।