ज्ञानदिल दास

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ज्ञानदिलदास
ज्ञानदिलदास
जन्मश्रीकृष्ण लामिछाने
१८७८
इलाम जिल्ला फिक्कल
मृत्यु१९४०
सिक्किम भारत
साहित्यिक नामसन्त ज्ञानदिलदास
पेशासन्त
भाषानेपाली
विधाकविता, व्यंग्य
उल्लेखनीय कार्यहरूउदय लहरी

सन्त ज्ञानदिल दास (१८७८–१९४०) (जन्मको नाम श्रीकृष्ण लामिछाने[१]) नेपाली साहित्यकार तथा आध्यात्मिक व्यक्ति थिए। यिनले भानुभक्त आचार्य भन्दा अगाडि भक्ति गीतहरू र कविताहरू रचना गरेका थिए। [२] यिनले नेपाली भाषामा व्यंग्य पनि लेखेका थिए। [३]

नेपाली साहित्यको इतिहासमा भक्तिधाराको निर्गुण भक्ति धाराका केन्द्रीय कवि हुन् ज्ञानदिलदास। यस धाराका कवि हरूले निर्गुण, निराकार ब्रह्मको व्याख्या गरेर आध्यात्मिकता र ईश्वरभक्ति झल्काउँछन् । संसारलाई झूटो मान्ने, संसारिक राग, द्वेष, रोचक, भोगविलासको प्रवृत्तिबाट मुक्ति खोज्नुपर्छ, पारमार्थिक चिन्तन गर्नुपर्छ भन्ने निर्गुण भक्तिधाराको मुख्य विशेषता हो । [४]

नेपाली साहित्यको प्राथमिक कालका यी कविको जन्म वर्तमान इलाम जिल्लाको फिक्कलमा सन् १८२१ मा भएको थियो। [५] बेद लगायत पौराणिक ग्रन्थहरूको गहन अध्ययन गरेका यिनले दार्जीलिङका पादरी ए टर्नबुललाई शास्त्रार्थमा पराजित गरेका थिए। [६] यिनले पूर्वी नेपाल तथा भारतको दार्जीलिङ, सिक्किमभुटान सम्म जोसमनी धर्म सम्प्रदायको प्रचार गरेका थिए।[७]

नेपालमा ज्ञान प्रचार गरेको, विद्रोही कविता रचना गरेको आदि आरोपमा तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले यिनलाई पक्राऊ गरेर ६ महिना जेलमा राखेका थिए। [५] त्यसपछि जोसमनी सन्त परम्पराको प्रचार गर्दै यिनी भारतको दार्जीलिङ, सिक्किम र भुटान सम्म पुगेका थिए।

ज्ञानदिलदासको रचनामा तत्कालिन सामाजिक व्यवस्था, जातीय असमानता, लिंगीय विभेदका विरूद्ध बिद्रोह पाइन्छ। पुरुषले एउटी श्रीमती माथि जतिवटा पनि विवाह गर्न पाउने महिलाले आफ्नो श्रीमान् मरेपनि अर्को विवाह गर्न नपाउने प्रथाको यिनी कट्टर विरोधी थिए। बेद, पुराणको गहन अध्ययन नै नगरी पाखण्डी रूपले कर्मकाण्ड गराउने प्रथाको यिनी ठाडो विरोध गर्दथे।

यिनको उदय लहरी नामक कृति प्रमुख थियो। [८] त्यसका अतिरिक्त झ्याउरे भजन, ट्ङ्ना भजन लगायतका कृतिहरू पनि यिनले रचना गरेका थिए। इलाम बाट जोसमनी धर्मको प्रचारको सिलसिलामा यिनी दार्जिलिङको रङ्गबुलमा एक धामको स्थापना गरि लामो समय बसेक थिए। त्यही क्रममा १८७७ सालतिर उदय लहरीको रचना गरेका थिए। [५] उदयलहरी १०९ पद्यमा लेखिएको कृति हो। यो झ्याउरे लयमा लेखिएको छ। दार्जीलिङमा रहँदा लेख्न सुरू गरेको उदय लहरी यात्राको क्रममा सिक्किम पुगेर पूरा गरेका थिए।

सत रज तमको महॉं जुद्धे भयो
सतको अर्जि ली तम गुण गयो
निसापी विचारी निसाप् हेरिदेऊ
सतगुणी निर्धाको सरन् अब लेऊ ।

उदय लहरीमा सत्व रज र तम तिनै गुणको वर्णन पाइन्छ। [६] त्यस बेला समाजमा व्याप्त जातपात, छुवाछुत र पशु बली/हिंसाको खुलेर विरोध गर्दथे। उनको रचनामा यसको परावर्तन पाइन्थ्यो।

धन जन भन्छन् देवीमाई भाक्छन्
पशुघात भयो भन्या धर्म कहाँ राष छन्
गरिपमारा पशुघात जो कोही गर्छन्
नर्क तलाउ भासमा सहजगै पर्छन् ।।११।।
देवीमाई पत्थर जो पुजि जान्छन्
सतलोक धाममा ती कहाँ जान्छन्
धाम चिन सतलोक जमुनाका तीर
लोभ पाप छोड़ी हरी तिर फीर ।।१२।।
ब्राह्मण हुँ भन्या ब्रह्म न चिनन्या ।
वैलि बाख्री कता छन् बसि षोजि किन्या ।।
छेदन्ने धागड़को पकाइहालुँ रक्ती ।
तेस्तै कन भन्नू यमराजको भक्ति ।।

ज्ञानदिलदासका केही रचना

गौवाके सँगमे तीड विगारे– तीड दुध भै मिले मेरा भाई,
धातुके सँगमे पत्थर विगारे– पत्थर धातु भै मिले मेरा भाई,
गुरुके सँगमे चेलो विगारे– चेलो गुरु भै मिले मेरा भाई,
ज्योतिके सँगमे वर्तन विगारे– र्वतन ज्योति भै मिले मेरा भाई,

त्यसैगरी यिनको रचनामा सौन्दर्य चेत र विद्रोह दुवैको मिश्रण पाइन्छ

नरुनु उभिएर मेरो चिहान छेउ,
म छैन त्यहाँ, म सुत्ने गर्दिन,
म बहने गर्दछु बतास सरी बहिरहेको छु,
म चमक हुँ पारशमणीको उजेलिरहेको छु,
पाक्दै गरेको बालीमा पस्रिने सूर्य प्रकाश हुँ म,
शरद ऋतुम तप्किने स्निग्ध वर्षा हु म,
म विनम्र तारा हुँ, रातभरी चम्ककिन्छु,
मेरो चिहन छेउ उभिएर नरुनुम त्यहाँ छैन,
साँचो कुरा म मर्दै मरिनँ [९]

ज्ञानदिलदासको निधन पश्चिम सिक्किमको गेलिङमा सन् १८८३ मा भएको थियो। [५] यिनको स्मृतिमा ज्ञानदिलदास साहित्य पुरस्कारको स्थापना भएको छ। [१०]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. लामिछाने, बिमल, "सन्त ज्ञानदिलदासलाई फर्केर हेर्दा", Mechikhabar, अन्तिम पहुँच ३२ असार २०७५ 
  2. भानुभक्त र 'राष्ट्रिय एकता' नागरिक दैनिक २ साउन २०७०
  3. हास्यव्यङ्ग्य पत्रकारिता मधुपर्क साहित्यिक मासिक
  4. ओली, घनश्याम (२८ फेब्रुअरी २०१६), "समालोचना : नेपाली कविताको विकासक्रम", साहित्य संग्रहालय, अन्तिम पहुँच ३१ साउन २०७५ 
  5. ५.० ५.१ ५.२ ५.३ क्षेत्री, डा. राजकुमार (५ मंसीर २०७१), "सन्त कवि ज्ञानदिल दास र उनको अध्यात्मचेतनामूलक काव्यात्मकताः परिचयात्मक निरूपण", समकालीन साहित्य, अन्तिम पहुँच १ साउन २०७५ 
  6. ६.० ६.१ शम, पारशमणि, "सन्त कवि ज्ञानदिल दास", मझेरी, अन्तिम पहुँच ३२ असार २०७५ 
  7. प्राचीन अस्तित्व’ खोज्दै कान्तिपुर दैनिक
  8. नेपाली कविताको विकासक्रम रूपरेखा
  9. लामिछाने, बिमल, "सन्त ज्ञानदिलदासलाई फर्केर हेर्दा", Mechikhabar, अन्तिम पहुँच ३२ असार २०७५ 
  10. पूर्वै उज्यालो भयो सौर्य दैनिक

बाह्य कडीहरू[सम्पादन गर्ने]