भानुभक्त आचार्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
भानुभक्त आचार्य
भानुभक्त आचार्यको तस्विर
जन्म वि. सं. १८७१ असार २९
चुँदी रम्घा, तनहुँ, नेपाल
मृत्यु वि सं. १९२५ असोज ६
सेतीघाट, तनहुँ
पेशा कवि
धर्म हिन्दु

भानुभक्त आचार्य (वि. सं. १८७१ असार २९ – वि सं. १९२५ असोज ६)[१] नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि हुन् । उनी वाल्मीकि रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । [२] । उनले प्रश्नोत्तर (वि.सं. १९१० ), भक्तमाला (वि.सं. १९१०), वधूशिक्षा(वि सं १९१९) [१] लगायतका कृतिहरू लेखेका छन् । उनका पाण्डुलिपिलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका हुन ।

जीवनी

भानुभक्त आचार्यको जन्मस्थान चुन्धी, रम्घामा रहेको भानुभक्तको शालिक

भानुभक्तको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहूँको रम्घामा विक्रम सम्वत १८७१ असार २९ गते भएको थियो [३] । बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका यिनले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाइ छ । उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे । एक पटक एक जना बटुवाले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ दिएका थिए :

पहाड्को अति बेस देश् तनहुंमा श्रीकृष्ण ब्राहृमण् थिया ।
खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।
इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया । [४]

योगदान

१९५ वर्षअघि उदाएका नेपाली बाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन संकटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन् । मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे ।

नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले आदिकवि तथा नेपालको राष्ट्रिय विभूति जस्ता सम्मान पाएका हुन् ।

भानुभक्त नेपाली साहित्यमा

नेपाली वाङ्ग्मयका नेपाली लेखक कविहरूका आधारस्तम्भ भानुभक्तलाई देशविदेशका अध्येता, समालोचक एवं अनुसन्धाताहरूले विभिन्न दृष्टिले हेरेका छन् । नेपाली वाङ्मयमा सागर बनेका भानुलाई आआफ्ना विवेक र बुद्धिले भ्याएसम्म कतिले गाग्रीले उघाएका छन् त कतिले लोहोटा, कचौरा, गिलास पञ्चपात्रो, आचमनी जेले जति पाइयो उघाउने काम भएको छ ।

आदिकवि भानुभक्त बहुआयामिक व्यक्तित्व भएको कुरा उनका समग्र रचनाले पुष्टि गरेको छ । संस्कृतभाषामा लेखिएको अध्यात्मरामायणमा छन्दगत विविधता भेटिए पनि अनुष्टुप्छन्दको बाहुल्य छ तर आदिकविले आफ्नो रामायणमा शिखरिणी, मन्दाक्रान्ता, वंशस्थविलं, मालिनी, स्रग्धरा जस्ता १३ वटा शास्त्रीयछन्दको अनुपम उदाहरण प्रस्तुत गरेका छन् भने शार्दूलविक्रीडित छन्दलाई सबभन्दा बढी प्रयोग गरेका छन् । जसले गर्दा शार्दूलविक्रीडित छन्दलाई नेपाली जनमानसले भानुभक्तको छन्दसमेत भन्ने गरेको पाइन्छ । अनुष्टुप् जस्तो सामान्य छन्दमा लेखिएको संस्कृत श्लोकको भावानुवादलाई स्रग्धरा जस्तो अत्यन्त लामो छन्दमा बदल्न सक्नु र त्यसमा पनि अनुप्रास अलङ्कारादि गुणले सजाउनु भानुभक्तको काव्यकौशल हो । यहा केही पत्रपत्रिका र भानुसम्बन्धी कृतिहरूका आधारमा भानुभक्त सम्बन्धी/उनका कृतिहरूका बारेमा लेखिएका रचनाहरूबाट कतिपय शीर्षक र लेखकहरूको नाम उल्लेख गरिएको छ । शीर्षक र लेखकका बीचमा केही शब्दहरू राखिएका छन् त्यो केवल पूर्वापर सम्बन्ध जोड्ने र भाषिक मिठासका निम्ति भएको हो । भानुसम्बन्धी रचनाका यहा प्रस्तुत गरिएका शीर्षकहरू अध्ययनले भ्याएसम्म र प्राप्त भएसम्मका पत्रपत्रिकाहरूबाट उद्धृत गरिएको छ । शीर्षक प्राप्त भएका पत्रपत्रिका र अन्य स्रोतहरूको सम्पूर्ण विवरण यो सानो टिपोटमा दिन सम्भव देखिएन । यो एउटा सङ्केत मात्र हो ।

कवि भानुभक्तको जीवन चरित्र वि.सं. १९४८मा प्रकाशित गरेर पहिलोपल्ट भानुभक्तलाई तनहुँ चुदीबाट झिकिदिएर बाहिर निकाल्ने काम गरे मोतीराम भट्टले । अनि मात्र त्यस बेलाको नेपाल (काठमाडौंं उपत्यका) र वरपर रामायणका श्लोकसाग भानुभक्त गाइन थाले । सुब्बा होमनाथ, केदारनाथ, सर्वहितैषी कम्पनी, बाबू माधवप्रसाददेखि बम्बै पुस्तक भण्डारसम्म प्रकाशकहरूले कतै सातकाण्ड त आठकाण्डका रूपमा अनि कतै भानुभक्तको रामायण, भक्तमालाबधूशिक्षा आदि नामबाट प्रकाशन गरेर भानुभक्तलाई अझ धेरै व्यापक बनाए । वि.सं. १९८६ तिरबाट सूर्यविक्रम ज्ञवाली, पारसमणि प्रधानजस्ता व्यक्तिहरूले नेपालबाहिरका विभिन्न क्षेत्रमा भानुभक्तलाई यात्रा गराएपछि भानुभक्तले राष्ट्रिय सीमा नाघेर अन्तर्राष्टिय -नेपालीभाषी सबै क्षेत्रमा) मान्यता पाए । भक्त भानुभक्तका रूपमा बालकृष्ण समले नाटकीय अभिनयसहित मञ्चमा उभ्याइदिएपछि २००२ भाद्र २२को गोरखापत्रले पनि यसरी लेखेको छः 'गौरी शङ्कर नाट्यसमुदायले भक्त भानुभक्त नाटक देखायो । भानुभक्तको यौटा श्राद्ध मोतीराम भट्टले गरेथे । अर्को गौरी शङ्कर नाट्यसमुदायबाट भयो । '

अनि त्यही दिनको गोरखापत्रले टिप्पणी पनि गर्‍योथ 'अहिलेसम्म भेट्टाएका पुस्तक र कहानीबाट मात्र स्व. कवि भानुभक्तको चित्र लेख्न कनि ट । ' तर त्यसैबेला दार्जिलिङको चौरस्तामा भानुभक्तको मूर्ति सूर्यविक्रमहरूको सत्प्रयासाबट स्थापित गरेरै छोडियो । ब्रहृम सम्शेर जबराले पनि कवि भानुभक्त भनेर लेखेका थिए । त्यसैबेला भानुभक्तको महत्त्वका रूपमा सूर्यविक्रम ज्ञवालीले देखे । नेपाली साहित्यका इतिहासमा सर्वश्रेष्ठ पुरुष महाकवि देवकोटाका कलममा घोटिएर घासीसम्म बन्नपुगे । आदिकवि भानुभक्त आचार्य लिएर भाइ चन्द प्रधान उभिएकै बेला भानुभक्तको सच्चा जीवन चरित्रका रचनाकार पण्डित कविराज नरनाथ आचार्यका कलममा अझ तिखारियो । उनले भानुभक्त सम्बन्धि त्यसभन्दा पहिले प्रकाशमा नआएका धेरै तथ्य र फुटकर कविताहरू प्रकाशित गराई ठूलो गुन लगाए । 'भानुभक्ताचार्यको जन्म जयन्ती यही आषाढ २९ गते मनाउनुहोस्' भनेर गोपाल पाडेले आहृवान गरेपछि २०१२ सालको भानुजयन्ती भव्यतासाथ सम्पन्न भयो । 'भानुले रामायण सिर्जना गरी नेपालीमा एकता ल्याउनुभयो । ' भनी सोही दिन कवि शिरोमणि लेखनाथ सभापतिको आसनबाट गुन्जिए । उक्त दिन सरस्वती सदनमा आयोजित भानुजयन्ती समारोहमा श्री जगदम्बा कुमारीद्वारा भानुभक्तको प्रतिमा बनाइदिने वचन दिइएपछि भानुभक्त सचेत सहृदयीहरूमा व्यापक बन्दैगए ।

'नेपाल राष्ट्र रहेसम्म भानुभक्त अमर रहनेछन्' लेखनाथ पौडेलको त्यस बेलाको घोषणा आजसम्म सार्थक छ । नेपाली समाजप्रति आदिकवि भानुभक्तको देन सम्झिने गोपाल पाँडे, नेपाली साहित्यमा भानुभक्तको स्थान खोज्ने कृष्णप्रसाद ज्ञवाली, भानुभक्तको काव्य साधनामा अलमलिने गणेश भण्डारी, भानुभक्तको परिचय दिने ज्योति उपाध्याय, आदिकवि भानुभक्त र उनको साहित्यिक साधनको पृष्ठभूमि पहिल्याउने प्रो.ढुण्डीराज भण्डारी, भानुभक्तलाई नेपालीहरूमा भाषात्मक एकता स्थापित गर्ने श्रेय दिने राजेश्वर देवकोटा, भानुभक्तको गाउः अतीतको सम्झनाभित्र राख्ने रामचन्द्र न्यौपाने, दुई जोईको पोइः भानुभक्त निक्र्‍योल गर्ने काशीनाथ तमोट, कवि भानुभक्त र उनका दृष्टिमा नारी उभ्याइदिने राजेन्द्र सुवेदी, भानुभक्तको कान्तिपुर र आजको काठमाडौको तुलना गर्ने केशवराज पिँडाली, भानुको भावना बुझ्ने मुक्तिप्रसाद आचार्य, भानुभक्त विद्रोही र रुढिवादी भावनाको समन्वय गराउने देवेन्द्रराज उपाध्याय, भानुभक्त रामायणबारे लेखिएका केही कुरा खोतल्ने रामदेव ठाकुर र नेपाली साहित्यका प्रज्वलित ज्योति आदिकवि भानुभक्त भन्दै मदन थापाहरू आएका छन् । एउटा खुलापत्र भानुभक्तलाई लेख्न पनि हिचकिचाउदैनन् । राष्ट्रियता तथा सांस्कृतिक चेतना जगाउन आदिकवि भानुभक्तको उल्लेखनीय योगदानको महत्त्व दिनेहरू पनि छन् । इन्द्ररत्न बज्राचार्यले पनि आदिकवि भानुभक्त चिनेका थिए । भानुभक्त रामायणको महात्म्य भागलाई संस्कृत मूलसित दाजेर हेर्दा भनेर डा. डिल्लीराम तिमसिनाको कलम तिखारियो । केशवप्रसाद उपाध्याय भानुभक्त र उनको रामायणको मूल्याङ्कन गर्छन् । भानुभक्तको देन पाएर नेपाली साहित्य समृद्धिशाली भन्नेहरू राष्ट्रभाषा भानुभक्तको देन ठानेर त्यसैमा रमेका पनि भेटिएका छन् ।

आदिकवि भानुभक्त र उनका सर्वश्रेष्ठ गुणहरूको खोजी गर्ने खड्गबहादुर लोहार, युग चेतनाका सजग कवि भानुभक्तः केही सन्दर्भ, केही प्रसङ्ग निकाल्ने डा. सूर्यनाथ, भानुभक्त जागीरे थिए भनेर औाल्याउने मङ्गलदेव परियार, भानुभक्त विषयक मतभेद बटुल्ने मोतीवीर राई, भानुभक्तले कलम किन चलाए ? भन्दै सोधीखोजी गर्ने श्रीभद्र शर्मा, भानुभक्तको युगबोध र नैसर्गिक कवित्व शक्तिसाग जोरी खोज्ने जगन्नाथ त्रिपाठी, भानुको साहित्यिक योगदानबारे प्रकाश पार्ने प्रो. यदुनाथ । भानुभक्तको स्मृतिमा विरह पोख्ने धर्मराज थापा, व्यंग्यात्मक कवि भानुभक्त भनेर व्यंग्य गर्ने श्रीप्रसाद पण्डित, आदिकवि भानुभक्तः केही बुादाहरूमा टिपोट गर्ने अमरकुमार प्रधान, भानुभक्तीय नेपाल भाषाः एक विवेचनामा टुंग्याउने विजय चालिसे, रसभावपूर्ण भानुभक्तभित्र पस्ने नरनाथ शर्मा, भानुभक्त र उनको दिग्दारीमा चिन्तित हुने प्रताप कालिकोटे, भानुभक्तले के गरे त भनेर निहु झिक्ने इन्द्रदेव सिंह, भानुभक्तका राममा रमाउने कमला साङ्कृत्यायन र यस्तैयस्तै धेरै कुराहरू धेरै जनाले देखेका छन् भानुभक्तका कृतित्व र व्यक्तित्वभित्र । सानुभाइ शर्माले भानुलाई मान्छेको रूपमा हेर्दा पनि कसैले अनौठो मानेन । सावित्री सुन्दास भानुभक्तको जीवनदर्शन पाएर खुसी भइन् । कोही चाहि भानुभक्तबाट नेपाली भाषाको उत्थानमा भएको योगदानको कुरा उठाउाछन् । भानु बा नजाती नमान्नु होला भनेर बेस्सरी गाली गर्नेहरू पनि छन् । भानुभक्तलाई कतिले राष्ट्रिय कविको संज्ञा दिएका छन् त कति चाहि जातीय कवि भन्न मन पराउछन् । भाषिक कविको उपाधि दिनेहरू पनि छन् । उनका कृतिलाई नेपालीमा लेखेको दर्शनशास्त्र । गीता/नेपाली काव्यक्षेत्रको गुरूग्रन्थ जस्ता पदवी प्रदान गर्नेहरू पनि छन् । नेपाली तब जगाउने, जातीय भेदभाव मेटाउने, भाषिक सङ्कीर्णता हटाएर नेपाली भाषालाई सशक्त राष्ट्र भाषाका रूपमा दरो पार्ने काम भानुभक्तले गरे । ' 'नेपाली भाषालाई निक्खार र भावमय रूप दिने यिनै पहिला कवि हुन् । ' 'आधुनिक भाषा तथा साहित्यका एउटा महान् जातीय कवि भानुभक्त हुन् । विविध वर्गका मानिसलाई मिलाउने एकताको मूलभाषा तथा संस्कृति प्रदान गरेर भानुभक्तले नेपाली मात्रको अनुपम सेवा गरे । ' 'पण्डितहरूका विरोधमा जनपक्ष लिने भानुभक्त युगअनुसारका प्रगतिशील थिए । ' यस्तै यस्ता असङ्ख्य उद्गारहरू, अभिव्यक्तिहरू, श्रद्धाञ्जलि र सद्भावनाहरू व्यक्त भएका छन् भानुभक्तप्रति ।

वर्तमान नेपालमा

पहिलोपटक मोतिराम भट्टले भानुभक्तलाई चिनाइदिएपछि यता आजसम्म जसले जति लेखे पनि उनै कुरा हुन् । यतिबेलाको लोकतान्त्रिक गणतन्त्र नेपालमा 'आधुनिक नेपालका पृथ्वीनारायण शाह, भाषा निर्माता आदिकवि भानुभक्त आचार्य । ' जस्ता भनाइ दोहोर्या उनु अर्घेलो हुनसक्छ तर योभन्दा राम्रो र धेरै काम नभएसम्म जनताले त्यति सजिलै बिर्सने पनि छैनन् र बिर्सनु पनि हुदैन । भानुभक्त नेपाली वाङ्मयकै विराट पुरुष हुन् । नयाँ ढङ्गबाट उनका बारे व्याख्या र विश्लेषण भइरहेको छ । पछिल्लो जनआन्दोलनका क्रममा धेरै ठाउमा भानुभक्तका मूर्तिहरू पनि तोडिएका छन् । भानुभक्तले गर्दा हाम्रा भाषाहरूको विकास हुन नसकेको हो भनेर गुनासो पनि धेरैले गरेका छन् । त्यसकारण गणतान्त्रिक नेपालमा भानुभक्तलाई कसरी मूल्याङ्कन गर्ने भन्ने कुरा झन् विचारणीय भएको छ । [५]

बहुभाषाभाषी हाम्रो मुलुकका जनतामा परस्पर सम्बन्ध सूत्र जोड्न आधार निर्माण गर्ने आधार व्यक्ति भानुभक्तको योगदान आजको सङ्घीय गणतन्त्रात्मक लोकतन्त्र नेपालमा उत्तिकै सान्दर्भिक छ । भानुभक्तका योगदानको स्मरणसागै सम्मान गर्ने परम्परा अगाडि बढाउदा मात्र अन्य भाषाका आदिपुरुषहरूको पनि स्मृति र सम्मान गर्ने परम्परा विकसित हुदै जानेछ ।

बहुआयामिक व्यक्तित्व

भानुभक्तमा केवल साहित्यिक ज्ञान मात्र थिएन, ज्योतिषशास्त्रमा पनि उनको राम्रै पहँच देखिन्छ । उनका फुटकर कवितामा लेखिएको आफ्नो जन्मकुण्डलीस्थित लग्न, ग्रहस्थान, भाव,नवांश, स्वगृहीग्रह तथा घटी पला विपलाको प्रदर्शनले यो पुष्टि गर्दछ । सामान्य लेखपढका मानिसलाई तिथि, वार, नक्षत्र आदिको जानकारी भए पनि ग्रहस्थान, नवांश, स्वगृही-परगृही,द्वादशभाव, ग्रहमैत्री जस्ता प्राविधिक पक्षको गणना ज्योतिषको राम्रो अध्ययन नगरी बताउनसकिन्न । त्यस्तै एक मित्रले दाङबाट पठाएको चिठीमा आयुको विचार गर्ने प्रश्न सोधिएकाले पनि उनी पनि ज्योतिषी थिए भन्ने प्रमाण पाइन्छ ।

फुटकर कवितामा लेखिएको पाशाको दाउ र पाशा खेलेको प्रसङ्गले द्युतक्रीडामा पनि उनको ज्ञान भएको देखिन्छ । हालसम्म पनि उत्कृष्ट उपचार पद्धतिका रूपमा परिचित आयुर्वेद उपचारविधि र औषधिनिर्माण प्रक्रियाका सम्बन्धमा आदिकविको रचना पढ्दा उनी कुशल वैद्य भएको हुनुपर्छ । भैषज्यरत्नावली, चरकसंहिता आदिमा वणिर्त औषधि निर्माण र प्रयोगविधिमा आधारित उनका पद्यहरूले उनको वैद्यत्व प्रमाणित गर्छ । 'ई नेपाल्-सरि पूण्य भूमि त अहो देखीन मैले कतै' भन्ने हरफबाट आदिकविको राष्ट्रप्रेम हदैसम्म झल्किएकाले भानुभक्त वास्तविक नेपाली कवि भएको थाहा पाइन्छ ।

रामायणी श्लोकका पद-पदमा र भक्तमालाका अंश-अंशमा भगवद्भक्ति दर्शाउने आदिकविको हास्यव्यङ्ग्य क्षेत्र पनि उत्तिकै सशक्त छ । थुनामा बस्दाको अवस्था वर्णन, सरकारी कामकार्यमा भएको ढिलासुस्तीप्रतिको व्यङ्ग्य अत्यन्त रोचक छ । प्रायः सबै रसको प्रयोग रामायणमा गरिसकेका कविले शृङ्गाररसलाई फुटकर कवितामा पनि खन्याएका छन् । वर्तमानमा आएर साक्षात्कार गरिरहेको कान्तिपुरी (काठमाडौं) नगरीको तत्कालीन शब्दचित्रणले कवि भविष्यद्रष्टा भएको देखाउँछ । 'न गृहं गृहमित्याहु गृहिणी गृहमुच्यते' अर्थात् घर घर होइन तर गृहिणी घर हुन् भन्ने नीतिवचनलाई राम्रोसँग बुझेका आदिकविले वधूशिक्षा बनाउनुमा यही कारण देखिन्छ । हाम्रो समाजले नारीलाई सम्मान गरेको छ । तर सम्मानित व्यक्तित्वबाटै अपमानित व्यवहार हुनु निन्दनीय हुने देखेर प्रस्तावनामा मित्र सम्बोधन गरी लेखिएको वधूशिक्षा नारीमा मात्र सीमित नरही सम्पूर्ण मानिसका लागि उपयुक्त हुने देखिन्छ । आद्य जगद्गुरु शङ्कराचार्यको संस्कृतपद्यलाई रूपान्तरण गरी रचिएको प्रश्नोत्तर कवितामा सम्प्रेषणात्मकता पाइन्छ । यसबाट कविमा आधुनिक शिक्षा प्रणालीको सम्प्रेषणात्मक विधिको समेत ज्ञान भएको सिद्ध हुन्छ । घरपरिवारमा कलह भएमा समाजमै अनिष्ट हुनेतर्फ लक्षित गरी आदिकविले वधूशिक्षा बनाएकाले कविमा सामाजिक भावना ओतप्रोत भएको पाइन्छ । त्यसो त खेतमा पानी लैजान कुलो बनाउन थालेको प्रसङ्ग पनि सामाजिक क्षेत्रका लागि स्मरणीय छ । यिनै कुराले उनलाई वरिष्ठ समाजसेवीका रूपमा समेत स्थापित गरेको छ ।

ग्रामीण परिवेशको सामान्य परिवारमा जन्मेर पनि संस्कृतशिक्षाको राम्रो अध्ययन गरी समग्र नेपाली भाषीलाई एकताका सूत्रमा उन्न नेपालीभाषामा रामायण लेख्नु कवि भानुभक्तको विशिष्ट योगदान हो । कारावासमा बस्दा समेत अटुटरूपमा काव्यसाधना गरी २५ हजार श्लोक भएको संस्कृतको रामायणलाई १२ सय श्लोकमा सीमित गरी शास्त्रीय छन्दमा सम्पूर्ण रामायणी कथालाई उतारी नेपालीभाषामा काव्यात्मक गति प्रदान गर्नु अत्यन्त कठिन कर्म हो । यसर्थ राष्ट्रले दिएको 'आदिकवि'को उपाधि पनि अपुग हुनजान्छ परन्तु देशव्यापी रूपमा भानुजयन्ती मनाउने राष्ट्रिय परम्पराले भने केही श्रद्धा प्रकट गरेको देखाउँछ । यसकारण बहुआयामिक व्यक्तित्वका धनी भानुभक्तलाई हामी सम्पूर्ण नेपाली र नेपालीभाषीले आदर र सम्मानका साथ स्मरण गर्नुपर्ने देखिन्छ ।

कृति

कविताशं

रामायण १.बाल काण्ड घाँसी
एक् दिन् नारद् सत्य लोक् पुगिगया लोक्को गरौ हित् भनि

ब्रम्ह्ना ताहि थिया पर्या चरणमा खुसि गराया पनि ।

क्या सोध्छौ तिमी सोध भन्छु म भनि मर्जि भयेथ्यो जसै

ब्रम्ह्नाको करुणा बुझेर ऋषिले बिन्ति गर्या यो तसै ।

हे ब्रम्ह्ना जति हुन् सुभा सुभ सबै सुनि रयाछु कछु

बाकि छइन केही तथापि सुन्न इच्छ्या म यो गर्द्छु ।

आउ लाज भयो कलि बखतमा प्राणी दुराचार भइ

गर्न्याछन सब पाप् अनेक तरहका निज्का मतिमा गइ ।

साच्चो कुरा गरोइनन् अरुकोइ गर्नन् त निन्दा पनि

अर्कको धन खानलाई अभिलाष् गर्नन् त दियो भनि ।

कोहि जन् परस्त्रिमा रतहुनन् कोही त हिम्सा महा

देहलाई त आत्मा जानी रहलान् नास्तिक पसु झहि तहाँ । ।

भर् जन्म घाँस तिर मन् दिई धन कमायो

नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो

म भानुभक्त धनी भैकन किन यस्तो ।

मेरा ईनार न त सत्तल पाटिकै छन्

जे धन चीजहरु छन् घर भित्रनै छन् ।

त्यस घाँसीले कसरी आज दिए छ अर्ति

धिक्कार हो म कन बस्नु न राखि किर्ति ।

चित्र दिर्घा

सन्दर्भ सामग्री

बाह्य लिङ्कहरू

  1. आदिकवि भानुभक्त (पटकथा)
  2. भानुभक्त आचार्यका रचनाहरू (मझेरी डट कममा)
  3. यसरी मनाइयो भानु जयन्ती-तस्बिरमा हेर्नुहोस्(सेटोपाटी अनलाइनमा)