बाबुराम आचार्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बाबुराम आचार्य
Baburam Acharya.jpg

बाबुराम आचार्य नेपालका इतिहास शिरोमणि हुन्।

जन्म[सम्पादन गर्ने]

उनको जन्म काठमाडौँको ठूलो गौचर भन्ने ठाउँमा भएको थियो। मध्यमवर्गीय परिवारमा वि.सं. १९४४ फागुन २९ गते जन्मेका आचार्यका माताको नाम शिवकुमारी र पिताको नाम धर्मदत्त हो।

शिक्षा[सम्पादन गर्ने]

प्रारम्भिक शिक्षा बाजे पशुपति आचार्यबाट प्राप्त गरेपछि उनले संस्कृतमा व्याकरण र ज्योतिष विषयको औपचारिक शिक्षा हासिल गरेका थिए । पछि बनारस गएर उनले उच्च शिक्षा हासिल गरेका थिए।

जीवन[सम्पादन गर्ने]

उनी ३२ वर्षको उमेरदेखि इतिहासको अन्वेषण गर्ने कार्यतर्फ आकषिर्त भए र आफ्नो सम्पूर्ण जीवन यही कार्यमा खर्चे। त्यो बेला देशमा राणाशासन थियो। त्यसैले इतिहास विषयमा हात हाल्नु तत्कालीन अवस्थामा खतरा मोल्नु थियो। त्यस बेला देशको इतिहास लेख्न त के, थाहा पाएको विषयमा बोल्नसमेत नहुने जमाना थियो। त्यसो भए तापनि बाबुराम आचार्यले खतरा उठाए। सुब्बा वीरेन्द्रकेशरी अज्र्यालको उपदेशअनुसार छरिएर रहेका अभिलेख, शिलालेख, वंशावली, हस्तलिखित ग्रन्थ खोज्ने पढ्ने काम उनले सुरु गरे। लुकेर रहेको उनको इतिहास विषयको रुचि र प्रतिभालाई पण्डित भगवान्लाल इन्द्राजीको नेपालको इतिहास विषयक खोजकार्यले प्रेरणा मिल्यो। वि.सं. १९३७मा काटियावाड भारतका पण्डित इन्द्राजीले नेपालका २३ वटा अभिलेख छपाई प्रकाशित गरेका थिए। बाबुरामको जन्मपूर्व नै उनको नेपाल आगमन भएको थियो। इतिहास लेख्ने शुभारम्भ त्यसैले गरायो। बाबुराम आचार्यलाई इतिहास विषयमा प्रवृत्त तुल्याई इतिहास शिरोमणि तुल्याउने काम पनि त्यही भ्रमणको प्रतिफल मान्न सकिन्छ।शिलालेख, अभिलेखजस्ता ऐतिहासिक सामग्रीको अध्ययन-मनन गर्नु आवश्यक छ भन्ने जानकारी त्यस भ्रमणले दियो। व्यापक जनसम्पर्क, मिलनसार प्रकृति, इतिहासप्रतिको उत्कृष्ट रुचिको कारण उनले धेरै कुरा जान्ने अवसर पाए। फलस्वरूप बाँचुन्जेल उनी एक किसिमले जीवित इतिहास बने भने मरेपछि अमर इतिहास। वि.सं. २००७ अघि उनको इतिहासप्रतिको प्रेम आत्मसन्तुष्टिकै लागि मात्र सीमित थियो भने त्यसपछि उनको कलमले अगाडि बढ्ने अवसर पायो। नेपाली भाषामा शिक्षा दिनुपर्छ भन्ने बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहको सङ्गतबाट जागीरे जीवनमा प्रवेश गरेका बाबुराम राजगुरु हेमराजका सहायकसमेत बनेका थिए। नेपालमा आधुनिक ढङ्गको अन्वेषण परम्परालाई भित्र्याउने विद्वत्शिरोमणि हेमराजको मातहतमा रहेको पाठशाला बन्दोबस्त अड्डाका हाकिम बाबुरामले संस्कृत विद्याको उन्नतिमा समेत मद्दत पुर्‍याए।

बाबुराम आचार्य असाधारण प्रतिभासम्पन्न तीव्र स्मरणशक्ति र प्रखर कल्पनाशक्ति भएका प्रतिभा थिए। उनको अध्ययन क्षेत्र केवल इतिहास विषयमा मात्र सीमित नभई मूर्ति, मुद्रा, नापतौल, जीवनी, धार्मिक स्थल परिचय, शिलालेख तथा नेपालको भाषा, साहित्य आदि विषयमा उत्तिकै चलेको पाइन्छ। इतिहासको सम्बन्धमा उनी आधुनिक कालको इतिहास मात्र होइन लिच्छवि, मध्य, मल्ल तथा बाइसे-चौबीसे राज्यहरूका बारेमा पनि त्यत्तिकै ज्ञान राख्थे। कोही पनि उनीकहाँ पुग्दा निरुत्तरित हुनुपर्दैनथ्यो। जान्न चाहेको कुरा विनास्वार्थ, विनासङ्कोच सम्पूर्ण बताइदिन्थे। त्यति मात्र होइन, उनको सम्पर्क र सानिध्य पाएर कति व्यक्ति नेपालको इतिहासको खोज, अन्वेषणमा लागेको पाइन्छ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको नामकरण पनि उनले नै गरेका थिए। त्यसभन्दा अगाडि यसलाई पन्ध्रौँ चुली र माउन्ट एभरेस्ट नामले मात्र पुकारिन्थ्यो। आफ्नो सम्पूर्ण जीवन इतिहासको अध्ययनमा नै खर्चिंदा वि.सं. १९९७ देखि आँखा धमिलिँदै गएर वि.सं. २००८मा त पूरै बन्द भएका थिए। सोही वर्ष श्री ५ त्रिभुवनद्वारा इतिहासशिरोमणि उपाधिले सम्मानित बाबुराम वि.सं. २०२०मा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका मानार्थ आजीवन सदस्य बनेका थिए। उनका प्रकाशित कृतिहरूमा 'पुराना कवि र कविता' (२००३), 'तुलनात्मक सुन्दर काण्ड' (२००२), 'चीन र तिब्बतसँग नेपालको सम्बन्ध' (२०२३), 'नेपालको संक्षिप्त वृत्तान्त' (२००२), 'श्री ५ पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी' (४ खण्डमा, २०३४), 'प्राचीन नेपालको इतिहास', 'नक्षत्र तारा निरूपण', 'बाबुराम आचार्यका कविता' र 'नेपालका सांस्कृतिक परम्परा' आदि मुख्य हुन्। अन्य फुटकर लेख पनि प्रशस्तै छन्।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]