क्षेत्रप्रताप अधिकारी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

क्षेत्रप्रताप अधिकारी
क्षेत्रप्रताप अधिकारी
जन्म १९९९ चैत्र
ज्याम्रुक बयापानी, मिर्लुङ्ग – ४, तनहुँ जिल्ला, नेपाल
मृत्यु २०७० चैत्र ३०
काठमाडौं, नेपाल
पेशा साहित्यकार, गीतकार
राष्ट्रियता नेपाली

क्षेत्रप्रताप अधिकारी (अङ्ग्रेजी: Kshetra Pratap Adhikary;(१९९९-२०७०) नेपालका एक बहुप्रतिभाशाली साहित्यकार तथा गीतकार थिए । जीवनको उत्तरार्धमा गीतकारका रूपमा धेरै चर्चा परिचर्चा कमाएका उनलाई नारायण गोपालले गाएको म त लालीगुराँस भएछु..., मलाई छोडी मेरो छाया..., गोपाल योञ्जनले गाएको शान्तिभन्दा पर अर्को भेट्नुपर्ने बुद्ध छैन..., कुन्ती मोक्तानले गाएको गोठालो जाँदा... र पछिल्लो पटक रामकृष्ण ढकालले गाएको जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ, सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ बोलको गीतले नेपालीका घर–घर र मन–मनमा पुर्‍यायो।[१] पेशागतरुपमा महिनामा ३० रुपैयाँ तलब पाउने हुलाकको पियनबाट जागीर आरम्भ गरेका उनी साझा बसको कन्डक्टरदेखि साझा प्रकाशनको अध्यक्षसम्म भए। मूलतः गामवेसीका शब्दशिल्पी र मानवीय चाहतका कोमल प्रवक्ता अधिकारीले पंचायतको उत्तरार्द्धमा शिक्षा सहायकमन्त्रीको पदबाहर समेत समालेका थिए।[२]

जीवनी

पिता गजकेशर अधिकारी र माता जनककुमारी अधिकारीको कोखबाट कान्छो सन्तानको रुपमा जन्मेका अधिकारीको जन्म विसं १९९९ चैत्र महिनामा तनहुँ जिल्लाको मिर्लुङ गाविसको ज्यामरूक बयापानी भन्ने स्थानमा भएको थियो।२०२३ सालमा शान्ता अधिकारी संग वैवाहिक जीवनमा बाधिएका अधिकारीको दुई छोराहरू छन्; अजर अधिकारी र अमन अधिकारी।जापानबाट नेपाल आउने जापानी हरूलाई नेपाल आउनु अघि दिईने नेपाली भाषाको पूर्वाभिमुखिकरण तालिम ( Orientation training ) दिन जाने अवसर पाएर दुईवर्षसम्म जापानमा पढाएर बस्दा जापानको सोफीया विश्वविद्यालयबाट अर्थशास्त्रमा यम ए (M . A) पास गरेँका उनलाई जापानबाट अध्ययन पूरा गरेर फर्केपछि राजा वीरेन्द्रबाट साझा केन्द्रिय सङ्गठनको सदस्य सचिव पदमा एकतीस सालमा मनोनीत गरिएको थियो। यसै क्रममा उनलाई नेपाली, अंग्रेजी, जापानी र हिन्दी भाषाको ज्ञान भयो र त्यसैमार्फत साहित्यको सेवा गरिरहे।

शिक्षा

वि.सं २००६ (१९५०) (७ वर्षको उमेरमा) देवनागरी (नेपाली लिपि) मा अक्षरारम्भ गरि आफ्नो शैक्षिक यात्रा शुरु गरेका उनले वि.सं. २०११ (१९५५) (१२ वर्षको उमेरमा) मिर्लुङ्गको कवाजीत स्थित शान्ति प्राथमिक बिद्यालयमा अंग्रेजी ए बि सि ABC को अध्ययन शुरु गरेका थिय।यसैगरी वि.सं. २०१४ (१९५८) (१५ वर्षको उमेरमा)४ दिनको बाटो पैदल हिँडेर पढ्न काठमाडौं आएर जुध्दोदय माध्यमिक विद्यालयको रात्री कक्षामा भर्ना भएका उनले वि.सं. २०१८ (१९६२) (१९ वर्षको उमेरमा) प्रवेशिका परीक्षा (कक्षा १०) उत्तिर्ण गरेका हुन् । शिक्षा सहायकमन्त्री समेत भएका अधिकारीले स्नातकोत्तर तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन्।

प्रकाशन तथा अनुवाद

गीतकारका रूपमा प्रशिद्धि कमाएका अधिकारीले कवितासङ्ग्रह समेत प्रकाशित गरेकाछन्। रहर लागेर (२०२४), गामबेसीका गीत (२०३४), पहाडेखि पहाडसम्म (२०४३), नफुलेका फूलहरू (२०५३), फेरि एउटा परिवर्तन (२०५५), तर देश हारिरहेछ (२०५७), अकविता (२०५८), युद्ध र छाया (२०६४) यिनका प्रकाशित कृतिहरू हुन्। उनका गीत तथा कविताहरूमा राष्ट्रियता, प्रकृति प्रेम, ग्रामिण समाजप्रतिको आकर्षण, युगीन बेथितिहरूको चित्रण पाइन्छ।[३][४]

प्रकाशित कृतिहरू

  1. रहर लागेर
  2. गामबेसीका गीत
  3. पहाडदेखि पहाडसम्म
  4. म त लालीगुराँस भएछु
  5. नफुलेका फूलहरू
  6. फेरी एउटा परिवर्तन
  7. तर देश हारी रहेछ
  8. अकविता
  9. युद्घका छायाँहरू

अनुवादित कृतिहरू

कविता संग्रह

  1. जापानी नवरत्न
  2. हीम, जून फूल
  3. केञ्जीका कविता

उपन्यास

  1. सानोबाबू
  2. बर्खान्त
  3. हीमदेश

कथा सङ्ग्रह

  1. आकाशगंगाको यात्रा
  2. भीरमुखा
  3. अपूर्ब ग्रहको कथा

अनुसन्धानात्मक कृतिहरु

  1. जापानी साहित्यको इतिहास
  2. हाइकु र हाइजिन

पुरस्कार

  1. साझा पुरस्कार
  2. छिन्नलता पुरस्कार

मृत्यु

अधिकारीको २०७० चैत्र ३० गते आइतबार बेलुका निधन भएको थियो। शनिबार बेलुका हृदयाघातपछि उनलाई गंगालाल हृदय केन्द्रमा भर्ना गरिएको थियो। दिनभरिको उपचारपछि पनि स्वास्थ्यमा कुनै सुधार आउन नसकेका उनलाई चिकित्सकहरुले आइतबार बेलुकी ८:१४ मा मृत घोषित गरेका थिए।उनको शव मृत्युपछि उनी आफैँले गरेका निर्णय अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दान गरिएको थिए।[५]

सन्दर्भ सामग्रीहरू

  1. क्षेत्रप्रताप अधिकारी. हिमालखबर पत्रीका. २०१४. http://nepalihimal.com/article/2679. 
  2. क्षेत्रप्रताप अधिकारी. हिमालखबर पत्रीका. २०१४. http://nepalihimal.com/article/2679. 
  3. आधुनिक नेपाली कविता–काव्य (गीत र गजल), नरेन्द्रप्रसाद कोइराला तथा राजन भट्टराई
  4. कवि क्षेत्रप्रताप अधिकारी रहेनन्. हिमालखबर पत्रीका. २०१४. http://www.himalkhabar.com/64941. 
  5. कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारी रहेनन्. सेतो पाटि. २०१४. http://setopati.com/samaj/10318/. 

यो पनि हेर्नुहोस्

बाह्य लिङ्कहरू

  1. क्षेत्रप्रताप अधिकारीका रचनाहरू (मझेरी डट कममा)