नारायणगोपाल गुरूवाचार्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नारायणगोपाल गुरुवाचार्य
जन्म१९९६
किलागल काठमाडौं, नेपाल
मृत्युडिसेम्बर ५, १९९०(१९९०-१२-०५) (५१ वर्ष)
काठमाडौं, नेपाल
मृत्युको कारणमधुमेह
पेशागायक, संगितकार, सम्पादक

नारायणगोपाल (वि. सं. १९९६ असोज १८ - २०४७ मङ्सीर १९)(इ.सं.१९३९ अक्टोबर ४ - इ.सं.१९९० डिसेम्बर ५), पूरा नाम नारायणगोपाल गुरुवाचार्य, एक सफल तथा ख्यातिप्राप्त नेपाली आधुनिक गायक हुन्। उनलाई नेपालको स्वरसम्राटको उपाधिले सम्मान गरिएको छ। यद्यपि सम्राट बन्नेले राज्यकोषबाट भत्ता पाउने भएकाले यो सम्मान उनको अपहेलना हो भनेर केहीले विरोध पनि गरेका छन्।[स्रोत नखुलेको] नारायणगोपाल नेपाली भाषाका पहिलो पुस्ताका गायक हुन्, जसले गायनलाई पेशाको रूपमा अङ्गाले।[स्रोत नखुलेको] उनले १ सय ३६ वटा नेपाली गीतहरू गाएका छन्।[स्रोत नखुलेको] उनका गीतहरू नेपाली चलचित्र तथा नाटकहरूमा पनि प्रयोग गरिएका छन्। नारायणगोपाल गुरुबाचार्यको जन्म वि.सं. १९९६ असोज १८ गते बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको सन्तानका रूपमा काठमाडौंको किलागलमा भएको हो। वि.सं. २०२७ साल फागुनमा पेमालाका साथ यिनको विवाह सम्पन्न भए पनि सन्तान भएनन्। चार जना दाजु-भाइ र ३ जना दिदी-बहिनीमध्येका एक नारायण गोपालले मानविकी शास्त्रमा स्नातकोत्तर गरे। भारतको बडोदामा शास्त्रीय संगीतको अध्ययन थालेर पूरा नगर्दै छाडे। डिस्क र टेपमा गरी जम्मा १ सय ३६ वटा गीतहरू रेकर्ड गराए।[स्रोत नखुलेको]

गायन यात्राको सुरुवात

नारायणगोपालले पहिलो पटक त्रि-चन्द्र कलेजको चालिसौँ वार्षिकोत्वसमा आफ्ना परमप्रिय मित्रहरूका आग्रहमा मञ्चमा उत्रिने आँट गरे। जसमा उनी पहिलो पटक तबलाबादक भएर प्रस्तुत भए। काठमाडौं किलागलमा जन्मेका गायक नारायणगोपालको स्वरको पहिचान गर्ने उनकै मित्र माणिकरत्न स्थापित थिए, नजीकैको टोल प्युखामा बस्ने माणिकरत्न र भेंडासिंग बस्ने प्रेमध्वज प्रधानले हिन्दी गीतमा स्वराभ्यास गरे तर नारायण गोपालले भने जहिले पनि ठट्टा गरेर हिन्दी गीत बिगारेर गाउने गर्थे। प्रेमध्वोज प्रधान र मणिकरत्न भन्छन् उनले हिन्दीलाई नेपाली बनाएर गीतको लय नै बिगारेर गाउथे रे। माणिकरत्नको घर एक किसिमको संगीतशालाजस्तै थियो कारण उनका काका सिद्धिरत्न स्थापित स्वयम् पनि एक कुशल वाद्यवादक थिए। गायक नारायणगोपालको घरमा शास्त्रीय संगीत बाहेक आधुनिक संगीतमा रम्न उनका पिता आशागोपाल गुरुवाचार्यका कारण मनाही थियो। उस्ताद आशागोपाल गुरुवाचार्य आधुनिक संगीतलाई हलुका र रंगहीन मान्दथे। प्रेम–माणिकले आफ्नै संगीतमा गाउन सुरु गरिसकेका थिए, त्यसैले नारायणगोपाललाई एउटा नयाँ शैलीको संगीतको जरुरत थियो त्यसैले उनले आफ्नै संगीतमा छ वटा गीत तयार गरे। ती सबै गीतका गीतकार उनकै सहपाठी कवि रत्नशम्सेर थापा थिए। उनले त्यस संकलनमा चारवटा एकल ( स्वर्गकी रानी, आँखाको भाखा आँखैले , भो भो मलाई नछेक, मधुमासमा यो दिल ) र दुइटा युगल – बिछोडको पीडाए कान्छा ठट्टैमा यो बैंश जानलाग्यो ) गीत गाए। यस गीतका सम्पूर्ण रेकर्डिङ भारतको कोलकतामा सम्पन्न भयो। त्यसपछि यी गीतले विस्तारै नेपाल र नेपालबाहिर नेपालीको जनस्थानमा प्रभाव जमाउन थाल्यो। उनी एकाएक नेपाली मूलका प्रमुख स्वर भएर देखापरे। राणाकालबाट मुक्त भएर नयाँ परिवर्तनको लहरमा उभिरहेको नेपालको नयाँ स्वरलाई उनले विस्तारै प्रेम, जीवन र राष्ट्र निर्माणका हरेक गीतबाट उच्चता दिए। पूर्व पश्चिम राजमार्ग बन्दै गर्दा उनले ‘जाग, जाग चम्क हे नौजवान हो’ वा देशप्रेमबाट प्रभावित भएर ‘आमा ! तिमीलाई जलभरिका औंलाहरूले चुम्न’ जस्ता गीत गाए। यी गीतले नारायणगोपालको गीतको गायन र स्वरको गमकलाई मात्र होइन उनको घनत्वभरि आवाजलाई प्रत्येक नेपाली युवासँग परिचित गरायो। उनी युवा हृदयका प्रिय गायक नै मानिए। उनले त्यसपछि विस्तारै आफ्नो गायनमा परिवर्तनको स्वर ल्याए, उनले गीतको चयन, शब्दको छनौट र भावस्थितिको अध्ययन गरेर नयाँ गीत गाए जसले गर्दा एक्कासि नेपाली गीतको स्तर हिन्दी गीतको तुलनामा अक्कासिँदै गयो। यस समय नेपाली संगीतमा जम्जमाएर आइरहेका पुष्प नेपाली, बच्चुकैलाश, तारादेवी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, नातिकाजी, शिवशंकर आदिका गीतसँग स्पर्श गर्दै नारायणगोपालले नेपाली गीतको आधुनिकतामा एक विशेष आयाम थपे। उनले सुरुवाती चरणमा गाएका गीतबाट बढी जसो श्रोता पछि विस्तारै कवि, लेखक प्रभावित हुँदै गए। उनले आफ्नो गायन शैलीलाई व्यापक बनाउन आफ्ना प्रशंसक, आफ्ना प्रतिस्पर्धी र आफ्ना समकालीनसँग विचारविमर्श गर्न थाले। यसै क्रममा उनको भारतको पश्चिम बँगालस्थित पहाडी राज्य दार्जीलिङको भ्रमाण भयो, बीसको दशकको शुरुवातमा भएको यो भ्रमणले उनले दार्जीलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमलालाई प्रेमीको रूपमा पाए भने त्यहीँ संघर्ष गरिरहेका एक होनहार संगितकर्मी गोपाल योञ्जनलाई एक मितका रूपमा पाए।

गोपाल योञ्जनसितको मितेरी साइनो

गोपाल योञ्जनसितको मितेरी साइनोपछि उनको गायनमा स्वतः परिवर्तन आएको कुरा पछि उनका पत्नी पेमाला गुरुवाचार्यले स्वीकारेकी छिन्। नारायण–गोपाललाई मि त लगाइदिने ईश्वरवल्लभको भाषामा नारायणगोपाल त्यसपछि नेपाली हृदयका गायक भए। उनले युवा हृदयलाई कोमल तवरले स्पर्श गर्दै प्रेमका, वियोगका र विरहका गीत गाउन थाले। उनी यस समय साँच्चै नेपाली संगीतमा नायक भएर देखापरे। ‍‍==बीसको दशकमा उनको शालीनता== नेपाली सुगम संगीत बीसको दशका स्वर्णिम युगमा प्रवेश गरिसकेको थियो। यो समय नेपाली गायक गायिकाले मौलिकताको खोजीमा आफ्नै भाव, शैली र जगतका गीत खोजेर रचेर गाउन थालिसकेको कालावधि थियो। यही समय पश्चिमी जगतबाट बब डायलन, बीटल्सका गीतका उधुम शुरु मात्र भएको थिएन त्यसको प्रभाव पनि आइसकेको थियो। यसलाई जित्न वा छोप्न नेपाली गीतिजगतमा नयाँ बोध र नयाँ परिधानको खाँचो थियो, यही क्रममा नारायणगोपालले गोपाल योञ्जनसँग मिलेर असाध्यै लोकप्रिय शैलीमा आधुनिक गीतहरू गाए। बिर्सेर फेरि मलाई नहेर, चिनारी हाम्रो धेरै पुरानो, तिम्रो जस्तो मुटु मेरो पनि, लौ सुन म भन्छु मेरो रामकहानीजस्ता गीतले गोपाल योञ्जनलाई नयाँ जीवन दियो भने नारायणगोपालले नेपाली सुगम संगीतमा एउटा विशेष स्थान बनाए र उनी एकाएक नेपाली युवाका नायक बन्न पुगे। उनको गायनको स्तरलाई छुन सक्ने प्रतिस्पर्धी देखिएनन् र उनले मानक खडा गरे। यही समय उनी हरेक संगीतकार प्रिय गायक भए। त्यतिवेला उनले युग बनिसकेका संगीतकार नातिकाजी, शिवशंकर, अम्बर गुरुङ, धर्मराज थापाजस्ता साधकका गीतलाई कण्ठबाटै गाए र उनी नेपाली सुगम संगीतका एक छवि बन्न पुगे। उनलाई चेतनाका गायक पनि भन्न थालियो। बीस दशकमै उनले आफ्ना प्रशंसिका पेमालासँग विवाह गरेपछि उनको बसाइँ केही समय पोखरा, केही समय हेटौँडा भयो, यसै सन्दर्भमा उनको पोखरामा कवि भूपी शेरचनसँग र हेटौँडामा गीतकार संगीतकार भीम विरागसँग उठबस सुरु भयो यसको परिणमतः उनले ती स्रष्टाका गीतलाई पनि आफ्नै र उनकै संगीतमा गाएर कालजयी बनाए, भूपी शेरचनको सानै हुरीमा बैँसको सपना, अल्झेछ क्यारे पछ्यौरी, तिम्रो चियाको बुट्टामा र भीम विरागको रचना र संगीतमा तिमीले पनि मजस्तै माया दिएर हेर गाए। प्रेम बिवाहपछि नारायणगोपालको गायनमा आएको परिवर्तनको आधा श्रेय उनकी पत्नी पेमालालाई र आधा श्रेय उनका मितज्यू गोपाल योञ्जनलाई जान्छ। यी दुवैले उनलाई आआफ्नै तवरले सघाएका छन्, एकजनाले राम्रा गीत छान्न र अर्कोले राम्रो गीत गाउन।

परिवर्तनको संघारमा

हेटौँडाको छोटो बसाइँपछि नारायणगोपाल काठमाडौं आए र जागिरे भए नाचघरमा आफ्ना मित्र माणिकरत्न र जनार्दन समको सहयोगले। नाचघर पस्दा उनी बाद्यवादकका रूपमा गएका थिए र उनी विस्तारै त्यहीँका हाकिमसम्म भए। उनले त्यहीँ रहँदा आफ्ना धेरै साथीहरू गुमाए वा उनले विस्तारै आफ्ना सहकर्मी, साथीहरूलाई छोड्दै गए। त्यसका धेरै कारणमध्ये उनको प्रसिद्धी, सफलता र उनीसँग हुर्कंदै आएको अहम् प्रमुख कारण बन्न पुग्यो। उनी चर्चित हुँदै गएपछि आफ्ना पुराना गीतकार साथी रत्नशमसेर थापाबाट टाढिँदै गए र उनका गीत गाउनै छोडिदिए। उनी हाकिम भए पछि आफ्ना दोस्रो गुरु माणिकरत्नसँग बोलचाल बन्दको अवस्था बन्न पुग्यो। उनले मित्रता तोड्ने क्रममा आफ्ना बालसखा प्रेमध्वज प्रधानसँग पनि दुरी बढाए। आफ्ना मितज्यू गोपाल योञ्जनको विवाहपछि उनको गोपालसितको सम्बन्धमा पनि चिसोपन आयो। उनी एक्कासित परिवर्तनको नयाँ सँघारमा पुगे जहाँ उनका सामू आफूपछिको नयाँ पुस्तासँग भेट भयो। त्यसमध्ये दिव्य खालिङसँग उनको जोडी जम्न पुग्यो र उनले खालिङका रचना र संगीतमा आफ्नो दोस्रो इनिङ शुरु गरे। त्यो दोस्रो इनिङमा उनले सधैँ नै म हाँसे तिमीलाई रुवाई, मायाको आधारमा सम्झौता नै हुन्छ, बिपना नभइजस्ता गीतले उनलाई पुनस्र्थापित हुने मौका दियो।

यसैसमय उनको गीतकार क्षेत्रप्रताप अधिकारी,किरण खरेल, कालिप्रसाद रिजाल, नोर्देन रुम्बा, दिनेश अधिकारी, विश्वम्भर प्याकुर्‍यालसँग उठबस सुरु भएपछि पुराना साथीसँगाती छुट्दै गए। संगीतकारमा नयाँ पुस्तामा शम्भुजित बास्कोटा, भूपेन्द्र रायमाझी, शुभबहादुर आदि देखापरे। यस ख्यातिको समय नारायणगोपालको गायनको मूल्याङ्कन गर्दा उनी यतिबेला संगीतजगतमा स्थापित हुने चाहने नयाँ पुस्ताका सहायक मात्र बन्न पुगेको पनि देखिन्छ। उनले धेरै युवा पुस्तालाई जग दिन कमजोर गीत पनि गाए भन्न सकिन्छ। त्यसमध्ये रञ्जित गजमेरको बीरताको चिनो, पहाडको माथि–माथि जस्ता गीतबाट उनले आफ्नो लागि भन्दा अरुका लागि जग बनाइदिए। यो समय उनी सहायक भएर देखा परेको बुझिन्छ। अन्ततः नेपाली संगीतजगतका एक महान साधक र एक परिपूरक व्यक्तित्व नारायणगोपालले चलचित्रमा परिवर्तनमा पनि बलसाराको संगीतमा गाउन सुरु गरेर अन्तिममा चोट चलचित्रमा भूपेन्द्र रायमाझीको संगीतमा बिरही माया अधूरो भयो सम्म गाएर आफ्नो सफल यात्रा तय गरे। कुल मिलाएर अठ्ठाईसवर्षको निरन्तर गायनमा नारायणगोपालले डेढ दर्जन चलचित्रमा गाए भने एकसय सन्तावन्न ओटा गीत गाए। उनले आफ्नो संगीतमा चारजना गायक र तीनजना गायिकाको गीत बनाए।

असफलता

एक सफल गायक मानिने नारायणगोपालको जीवनमा असफलता लश्कर पनि थिए। उनी पहिलो पटक स्वरपरीक्षामा अनुत्तीर्ण भए भने भारतको बरौडामा महाराज फिरदौस संगीत महाविद्यालयमा पढाइ अपूरो छोडेर फर्केर आए। चलचित्र माइतीघरमा पाश्र्वगायकको रूपमा गीत गाउन जाँदा उनी गाउन नसकेर अस्वीकृत भए। चलचित्र कोसेलीमा एउटा गीत उनले स्वास्थ्यका कारण अपुरो अवस्थामा गायन छोडिदिए। उनी सांस्कृतिक संस्थानका महाप्रबन्धक हुँदा उनको कारवाहीका कारणले धेरै कलाकार दशैँको मुखमा बेरोजगार भए। यसको दाग उनलाई जीवनभर लागिरह्यो। चुनौति र परीक्षामै आफ्नो गायनलाई स्वीकार्ने गायक, संगीतकार नारायणगोपाल इतिहासका ज्ञाता थिए। फुटबल खेलका पारखी थिए। चेसका खेलाडी थिए। उनी भान्सामा कुशल भान्से थिए। र, शौखिन फोटोग्राफर थिए। उनले गायनबाहेक कार्यक्रम आयोजना गर्ने संयोजन गर्ने काममा पनि आफ्नो धेरै लगानी गरे। उनले आफ्नो एकल गायन स्वर्णिम सन्ध्या छोडेर भारतको दार्जीलिङ, डुवर्स, साम्चीबाहेक नेपालमा पोखरा, नारायणघाटमा कार्यक्रम आयोजना गर्न पूरा खटे। उनले आफ्नै सम्पादकत्वमा बागीनाको प्रकाशन समेत गरे।

यी सबै इविबृत्त बाहेक नारायणगोपालको स्वरलाई हाम्रो जनसमाजले भुल्न नसक्ने एउटा पंक्ति छ, नारायणगोपालको, उनी भन्थे, म गाउँछु केवल जनताको लागि गाउँछु।

पुरस्कार तथा सम्मान

खाना बनाउने, चेस खेल्ने चंगा उडाउने, फुटबल म्याच हेर्ने, टेबुल (विशेष गरी कोठाको) अगाडि पर्‍यो कि बजाउन थालिहाल्ने खालको उनको बानी र शौख थिए। बागीनाको प्रकाशक तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक, सञ्चार मन्त्रालयमा सल्लाहकारसमेत भएका नारायण गोपालले गीति नाटकको कथा कान्छी मस्याङ लेखेका थिए। उनको निधन वि.सं. २०४७ साल मंसिर १९ गते राति ९ बजे बीर हस्पिटलमा भएको भयो।

प्रमुख एल्बमहरू

मृत्युपश्चात

नारायणकी श्रीमती पेमलाले नारायणका मित्र नगेन्द्र थापा र उनका शुभचिन्तक बसन्त चौधरी, फत्तेमान राजभण्डारी लगायतको सहयोगमा नारायण गोपाल संगीत कोषको स्थापना गरेकी थिइन् ।[१]

बाहिरी लिङ्कहरू

सन्दर्भ सामाग्रीहरू