मदनकृष्ण श्रेष्ठ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
मदनकृष्ण श्रेष्ठ
मदनकृष्ण श्रेष्ठ
जन्म (१९५०-०४-१९) अप्रिल १९, १९५० (उमेर ६७)
काठमाण्डू नेपाल
पेशा अभिनेता, हास्य कलाकार, गायक , लेखक

मदन कृष्ण श्रेष्ठ(बिसं २००७) नेपाली हाँस्य अभिनेता हुन

जीवनी[सम्पादन गर्ने]

कलाकार श्रेष्ठको जन्म वि.सं. २००७ साल वैशाख ७ गते काठमाडौंमा भएको हो। उनी रामकृष्णलाल श्रेष्ठ र लक्ष्मीका एक्ला छोरा हुन्। त्यसो त अर्की आमाका तर्फबाट भाइ र दुई बहिनी छन्। उनका भाइ नीरव श्रेष्ठ अमेरिकामा नै छन्। बहिनीहरू साधना र सविनाचाहिं यतै छन्। उनका पिताका चारवटा पत्नी थिए। मदनकृष्ण जन्मेको ६ महिनापछि उनकी आमा लक्ष्मी बितिन्। त्यसपछि अर्को विवाह गरे। उनी पनि बितेपछि फेरी अर्को विवाह गरे। दुई पत्नीबाट जायजन्म भएनन्। कान्छी आमाले मदनकृष्णलाई छोराकै व्यवहार गर्छिन् र मदनकृष्ण भन्छन्, आमाकै जति माया मैले कान्छीआमाबाट पाएको छु।

मदनकृष्णको बाल्यकाल काठमाडौं जितपुरफेदीमा बित्यो। कहिलेकाहीं खसिखेल पनि पुग्थे। त्यहाँ उनका थुप्रै्र साथीहरू छन्। रञ्जना हल बनाउँदा इँटाको मोटर बनाएर खेलेको उनको सम्झना छ। उनको स्कुले जीवन अलि डामाडोल नै रह्यो। १ कक्षा विश्वज्योति सिनेमा भवनअगाडिको स्कुलमा पढे। २, ३, ४ जितपुरफेदीमा पढे। ५ कक्षामा कन्या विद्यामन्दिरमा, ६ कक्षा दरबार हाइस्कुल, ७ पद्मोदय, ८ शान्ति विद्यागृह, ९ जुद्धोदय, १० त्रिभुवन दरबार स्कुल, टेस्ट पास भए शान्ति निकुञ्जबाट। बसाइ सरेकाले त्यस्तो भएको उनको अनुभव छ। उनी भन्छन्– म पढ्नमा कमजोर थिइनँ। तर, बलियो हुन पनि पाइनँ। एसएलसीपछि महेन्द्ररत्न पब्लिक कमर्स कलेजमा आइकम गरे। बीकमको प्राइभेट जाँच दिए। अभिनयमा लागेकाले पढाइ अधुरै रह्यो।

कलाकारिता[सम्पादन गर्ने]

सानैदेखि उनमा कलाप्रति अभिरुचि थियो। रेडियो नेपालमा भ्वाइस टेस्ट पास गरे, वि.सं.२०२३ सालमा। तर उनले त्यसअघि नै स्कुले कार्यक्रममा गाउँथे। भजन गाउँथे। हार्मोनियम र तबेला बजाउँथे। पहिलोचोटि रंगमञ्चमा उत्रेको चाहिं वि.सं. २०१५ सालमा हो। वि.सं. २०२६ सालमा नेवारी गीत प्रतियोगितामा पहिलो भए। द राइजिङ नेपाल र गोरखापत्रमा त्यतिबेला नाम छापिएको समाचारको कटिङ अझै उनीसित छ। वि.सं. २०२८ सालमा मुनास्वः (आवाजको जमघट) संस्था स्थापना भयो। त्यहाँ हास्यव्यंग्य कार्यक्रम हुन्थ्यो। कार्यक्रमको अन्त्यमा उनी गाउँथे। उनी त्यो संस्थाको सचिव थिए। त्यतिबेला क्लबहरू त्यति थिएनन्। रक्तदान, खेल प्रतियोगिता र सरसफाइ कार्यक्रम भइरहन्थ्यो। क्लबहरू बढेपछि त्यसलाई नियन्त्रण गर्न पद्मरत्न तुलाधरको अध्यक्षतामा मंका खलः स्थापना भएको हो।

विलक्षण प्रतिभाका धनी मदनकृष्ण श्रेष्ठले १६ वर्षको उमेरमा जागीर सुरु गरेका थिए कर्मचारी सञ्चय कोषमा। अहिले पनि उनलाई गाउँमा जाँदा गुरु, माडसाप र दाइ भन्छन्। यसरी आफ्नो सम्झेर व्यवहार गर्दा उनलाई औधी खुसी लाग्छ। पिकनिक भएको थियो एकपटक सञ्चय कोषमा। पाँच सय जनाको। गीत गाउनुअघि उनले हँसाए। त्यसैलाई निरन्तरता दिए। उनी सञ्चय कोषको जागीर छाडेर कृषि सूचना शाखा (अहिले कृषि सञ्चार महाशाखा)मा जागीर खान थाले। बीबीसीको तालीम पनि लिए। त्यो तालीम उनका निम्ति उपलब्धिमूलक रह्यो। नातिकाजी, शिवशंकर, पाण्डव सुनुवार, हिरण्य भोजपुरे, आनन्द पुरी, भीमबहादुर थापाहरूले सँगै तालीम लिएका थिए। उनहरूले रसरंग कार्यक्रम गरे वि.सं. २०३५ सालमा। ५/६ वर्ष चल्यो त्यो कार्यक्रम। मिरिक सहरमा कार्यक्रम गर्ने सिलसिलामा पुग्दा श्रोताले तपाईं मदनकृष्ण हो भनेर सोध्दा उनी अचम्मित भए। एकेडेमीमा जागीरदारको गीत बनाएका थिए उनले–

जागीरदारलाई झन् झन् बाँच्नै कठिन भो
गरीबीको खम्बा ढाल्न कठिन भो।

हास्यव्यंग्य कार्यक्रमका सिलसिलामा हरिवंश आचार्यसित भेट भयो। समय बचत गर्नका लागि २०३६ सालमा राष्ट्र बैंकमा उनीहरूले मिलेर कार्यक्रम देखाए। गाईजात्रा कार्यक्रम पनि देखाए। त्यो पनि सुपर हिट भयो। यमलोक भन्ने कार्यक्रम देखाउँदा राजा प्रमुख अतिथि र बीपी कोइराला, मनमोहन अधिकारीहरू अतिथि थिए। ऐतिहासिक दर्शकहरू भएको कार्यक्रम थियो त्यो। बीपीले गरेको प्रशंसा उनी अझै सम्झन्छन्। त्यसपछि उनीहरूले टेलिफिल्महरू बनाए। त्यसपछि देशभरि सामाजिक कार्य गर्ने सकारात्मक जमातसित प्रत्यक्ष/अप्रत्यक्ष नजीक हुन थाले। पहिले पहिले पैसा लिएर काम गरिंदैनथ्यो। उनी भन्छन्– हामी त पैसाको कुरै गर्दैनथ्यौं। नारायणी कला मन्दिरको पर्दा मदनकृष्ण र हरिवंशले नै राखिदिएका हुन्। गोली हानिएका पत्रकार पदम ठकुराठीको उपचारका निम्ति उनीहरूले १० हजार रूपैयाँ दिएका थिए। जनआन्दोलन–२ सम्म त्यसको क्रमले निरन्तरता पायो। मोडल अस्पतालमा उपचार गराउन मदनकृष्ण र हरिवंश अगुवाइमा स्थापना भएको उपचार कोषमा दुई करोड ५५ लाख रूपैयाँ उठेको थियो। उनी भन्छन्– राजनीतिक प्रक्रिया सजिलो रहेनछ। सबै जना मिल्यो भने शान्ति हुन्छ। तर, मिल्न गाह्रो रहेछ।

कुनै बेला मदनकृष्ण श्रेष्ठ पेन्टिङ गर्थे। महाबौद्धको भित्तामा आफूले बनाएका कार्टुन टाँस्थे। मान्छेहरू झुत्तिंदा उनलाई औधी रमाइलो लाग्थ्यो। उनले 'सुख दुख', 'वासुदेव' र के घर के डेरा लगायत फिल्ममा खेले। हजारवटा जति टेलिफिल्ममा खेले। विज्ञापन नाटक ३७६ पटकसम्म गनेर प्रहसन भयो। त्यसपछि कति पटक प्रकाशन भयो उनले गनेका छैनन्। पञ्चायतको श्राद्ध, अभिभावक, पिकनिक, गाउँखाने कथा–२, अभिनन्दन, लालपुर्जालगायत थुप्रै कार्यक्रम गरे उनीहरूले। जनचेतना जगाउने काममा उनीहरूको अभूतपूर्व योगदान छ। प्रजातान्त्रिक आन्दोलनमा मदनकृष्ण र हरिवंशको अतुलनीय योगदान रहेको छ।

मह जोडी राजनीतिमा आउँदैछ। तर, उनीहरू चुनाव लड्न चाहँदैनन्। मन्त्री र प्रधानमन्त्री बन्ने इच्छा छैन। उनी भन्छन्– सबैले आफ्नो ठाउँमा बसेर देश चलाईरहेका छन् तर राजनीतिले देश बिगारिरहेको छ। जापानबाट एकजना विद्यार्थी नेपाल–भारत सम्बन्धबारे शोध गर्न आएका थिए। महको कार्यक्रममा दर्शकहरू हाँसेको देखेर उनले आफ्नो शोध शीर्षक नै बदले। महको कोणबाट किताब लेखे– सोसल एन्ड पोल्टिकल लाई फ अफ नेप्लिज पिपुल। गायन, अभिनय, लेखन र निर्देशनजस्ता बहुमुखी प्रतिभाका धनी मदनकृष्ण सद्भावना राजदूतका रूपमा देश घुमिरहेका छन्। उनी नेपालमा भ्लादिमिर पुटिनजस्ता आर्थिक सुधारक नेताको अभाव देख्छन्। सबै नेता उनी भन्छन्– लेनिनगार्दमा पुग्दा एक जना सज्जनले मलाई सुनाए– ”यहाँ लाखौं पर्यटक ओइरिन्छन् दरबार, पार्क, सडक, चर्चहरू हेर्न। यो सबै जारको पालामा बनेको हो। कम्युनिस्टहरू आएपछि सबै ध्वस्त पारे। प्रजातन्त्रमा झन लथालिंग भयो। हामी कहाँ पनि झन झन खत्तम भइरहेको छ। पछि भ्लादिमिर पुटिनले १ लाख रुबलमा तीनवटा शून्य हटाउन सफल भए। आर्थिक सुधार गर्न सक्ने त्यस्ता नेताहरू जन्मेका छैनन्।” नेपालमा गणतन्त्रमय वातावरण भए पनि गणतन्त्र नआएको उनको धारणा छ। उनको विचारमा अशान्तिको कारक नै पेट हो। जलविद्युत्‌मा ध्यान दिन सकेको भए नेपालमा राजतन्त्र यति अलोकप्रिय हुने थिएन। नेपालमा लिनेमात्र भए, दिन जान्ने देखिएनन्। देशमा बाली उठाउने होइन, बाली रोप्ने नेताहरू चाहिएको छ।”

उनलाई पुराना नेताहरूमा बीपी, गणेशमान, पुष्पलाल, मनमोहनमदन भण्डारी मन पर्दछन्। ख्यातिप्राप्त कलाकार मदनकृष्ण श्रेष्ठलाई कसैलाई मन पर्दैन भन्न मन लाग्दैन। राजाहरूमा उनी वीरेन्द्रको नाम लिन चाहन्छन्। कलाकारमा हरिवंश मनपर्छ भन्नु आफैंलाई मनपर्छ भनेजस्तो लाग्छ। सिनेमामा उनलाई बलिदान, पासुदेव र सुखदुःख पनि मन पर्छ। हिरोहिरोइनमा नाम लिन चाहँदैनन्, मिलनसार, कलाका पारखी मदनकृष्ण कसैलाई पनि नराम्रो भन्न मन पराउँदैनन्। शाकाहारी भोजन मनपर्छ उनलाई। सागपात विशेष मन पर्छ। टाटेपाटे बुट्टा नभएको सादा पहिरन मन पर्छ। रक्सी, चुरोट, माछा र मासु उनी खाँदैनन्। उनलाई सबैखाले जनावर मन पर्छ। मानिसमात्र भएको पृथ्वीमा मज्जा लाग्दैन। हात्ती, गैडा र बाघजस्ता जनावर सबै हाम्रा साथी हुन्। उनलाई फुटबल र क्रिकेट स्वादिलो खेल लाग्छ। उनले ४५ वटा जिल्ला घुमेका छन्। उनी भन्छन्– देशै दुखी छ भने आफ्नो व्यक्तिगत सुखको के मतलब हुन्छ र? म व्यक्तिगत रूपमा ठीकै छु तर राष्ट्रिय रूपमा भन्ने हो भने अत्यन्त विक्षिप्त अवस्था छु। उनको जीवन बिर्सन नसक्ने क्षणले भरिएको छ।

यशोदा सुवेदीसित भेट भएको दिनलाई पनि उन जीवनकै सुखद दिन मान्छन्। यशोदासित उनको अन्तर्जातीय विवाह भएको हो। मदनकृष्णले वि.सं. २०२३ सालदेखि नै सञ्चयकोषमा जागीर खान थालेका हुन्। वि.सं. २०२६ सालमा यशोदा त्यहाँ जागीर खान थालिन्। उनीहरू टेबुल जोडिएको एउटै शाखाको कोठामा थिए। एउटा नआउँदा अर्कोलाई नियास्रो र खल्लो लाग्थ्यो। तीन, चार वर्ष लामो प्रेमपछि उनहरूको अन्तर्जातीय विवाह भयो। पछि घरमा विधिवत् विवाह भयो। उनका बुबा जितपुरफेदीमा १५ वर्षसम्म प्रधानपञ्च थिए। त्यसैले उनहरूलाई सजिलो भयो। उनी भन्छन्– “यशेादा समझदार छिन्। ३५ वर्ष भइसक्यो। हाम्रो झगडा पर्दैन। कसैले जित्न खोजे मेरो हारिदिने बानी छ।” उनीहरूका एक छोरा यमन र एक छोरी सराना हुन्। दुवै अमेरिकामा संघर्षरत छन्। जीवनमा कसैले मन पराएको यशोदाले थाहा पाइनन्। लजालु र गम्भीर थिइन्। रामकृष्ण परमहंसस्वामी विवेकानन्दका कुरा गर्ने साथीहरू थिए। आध्यात्मिक भावना छ उनमा। अहिले आध्यात्मिक भावनाका गीत पनि लेख्छिन्–

मनको राक्षस शान्त गर
जगाउ मनको ईश्वर
शान्त गर मनको युद्ध
जगाउ, मनको बुद्ध।

प्रेमकै लिकमा संसार चलिरहेको मदनकृष्णको धारणा छ। उनका अनुसार प्रेम नभएको भए काटमार गरेर मानिसहरू सकिन्थे। प्रेम नै एकताको गाँठो हो। प्रेममा चुकुल खुस्किएपछि झगडा सुरु हुन्छ। सेक्स स्वाभाविक र प्रकृतिले बन्दोबस्त गरेको व्यवस्था हो। दुरूपयोग कहाँ छैन सेक्स, पैसा, पदको?[१]

पुरस्कार[सम्पादन गर्ने]

श्रव्य, दृश्य दुवै प्रकारले प्रहसनका माध्यमबाट नेपाली भाषालाई देशविदेशमा लोकप्रिय बनाउन प्रशंसनीय कार्य गरेबापत उनलाई हरिवंश आचार्यसँग संयुक्त रूपमा वि.सं. २०४६ सालको जगदम्बाश्री पुरस्कार प्रदान गरियो । यसैगरी पद्यश्री साधना सम्मान मा उनलाई नगद दुई लाख सहित सम्मान गरिएको थियो ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. हेलो नेपाल कोरिया डट कम

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]