रेडियो नेपाल
![]() | |
प्रकार | सार्वजनिक प्रसारण |
---|---|
देश | नेपाल |
उपलब्ध | अन्तर्राष्ट्रिय |
स्थापना | २ अप्रिल १९५१ तराणी प्रसाद कोइराला |
नारा | नयाँ नेपालको समावेशी आवाज |
मुख्यालय | सिंहदरवार, काठमाडौँ, नेपाल |
प्रसारण क्षेत्र | राष्ट्रिय र अन्तर्राष्ट्रिय |
मालिक | नेपाल सरकार |
मुख्य व्यक्ति | सुरेस कुमार कार्की[१] |
प्रसारण मिति | २ अप्रिल १९५१ |
सम्बन्ध | विश्व रेडियो सञ्जाल |
वेब प्रसारण | www |
आधिकारीक वेबसाइट | www |

रेडियो नेपाल नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयको स्वामित्वमा सञ्चालित सरकारी रेडियो प्रसारण सेवा हो। यसको स्थापना वि.सं. २००७ चैत्र २० गते भएको थियो। रेडियो नेपालको प्रसारण अनलाइन, स्थानीय रेडियो स्टेसन र मोबाइल अनुप्रयोग मार्फत उपलब्ध छ।[१] मुलुककै जेठो प्रसारण संस्था रेडियो नेपालले हाल २१ भाषाहरूमा समाचार र १८ भाषाहरूमा कार्यक्रम प्रसारण गर्दै आइरहेको छ। यसले नियमितरूपमा जागरण गीत तथा फूलबारी गीत सम्मेलन आयोजना गरी मुलुकमा कला र संस्कृतिको जर्गेना गर्दै आएको छ।
इतिहास[सम्पादन गर्नुहोस्]
रेडियो नेपाल सर्वप्रथम वि. सं २००३ साल मंसिर महिनामा हाल विद्युत् प्राधिकरण रहेको भवनबाट ५ वाटको शक्तिबाट आरम्भ भयो। यो प्रसारण सात-आठ महिनासम्म मात्र सीमित रही बन्द भयो र यस स्थानबाट दिनको १.३० देखि ३ बजेसम्म प्रसारण हुन्थ्यो। तर पद्म शम्शेरको देश निकालासंगै मोहन सम्शेर गद्दीमा आएपछि पहिले प्रसारण भईरहेको प्रसारण बन्द हुन पुग्यो। जहानियाँ राणा शासनको अन्त्य गर्ने उद्देश्यले २००६ सालमा विराटनगरमा एक आकाशवाणी केन्द्रको स्थापना गरिएको थियो। २००७ साल मंसिर २८ गते बिहान ८:३० बजे एकाएक एउटा प्रसारण सुनियो- "यो नेपाल प्रजातन्त्र रेडियो हो। हामी विराटनगर मुक्तिमोर्चाबाट बोलिरहेका छौ।" को रघुपति जुटमिलको एउटा कोठामा आकाशवाणी सेट राखेर ४१ मिटर बेन्ड शर्टवेभमा कार्यक्रम प्रसारण गरिएको थियो। यसको प्रसारण काठमाडौ, दार्जीलिङ, कलकत्ता, गोरखपुर र बनारससम्म सुन्न सकिन्थ्यो। यी स्थानहरू २००७ सालको राणा विरोधी सङ्घर्ष सञ्चालनका प्रमुख केन्द्र थिए। सशस्त्र संघर्षका समाचार प्रसारण गर्न यो रेडियो केन्द्र अत्यन्त उपयोगी माध्यम साबित भएको थियो। यस रेडियो केन्द्रको स्थापना र सञ्चालन गर्नमा तारिणीप्रसाद कोइरालाको उल्लेख्य योगदान रह्यो। यसका सर्वप्रथम उदघोषक थिए- गजाधरभक्त माथेमा, तारिणीप्रसाद कोइरालाले नेपालीमा, हिन्दीका प्रसिद्ध कवि फणीश्वरनाथ रेणुले हिन्दीमा र विजयालक्ष्मी (वि.पि. कोइरालाकी बहिनी)ले अङ्ग्रेजीमा समाचार प्रसारण गर्दथे। त्यसको केही समय पछि निर्झ भन्नेले हिन्दी कार्यक्रम सञ्चालन गर्नुका साथै हिन्दीमा समाचार प्रसारण गर्न थालेका थिए। यसले राणा शासन हटाउन ठूलो मद्दत गर्यो।
२००७ सालको क्रान्ति बन्द भएपछि उक्त रेडियो केन्द्रलाई विराटनगरवाट काठमाडौको सिंहदरबार सारी रेडियो नेपालको नामवाट २००७ साल चैत्र २० गतेवाट प्रसारण शुरु गरियो। 'रेडियो नेपाल प्रसारण ऐन' भने २०१४ मा मात्र जारी भयो। प्रारम्भिक अवस्थामा २५० वाटको ट्रान्समिटरबाट दैनिक ४ घण्टा प्रसारण हुदै आएको रेडियो वि.सं. २०१७ सालमा प्रसारण अवधी बढेर दैनिक ५ घण्टा पुगेको थियो। वि.सं. २०२५ सालमा दिनमा १२ घण्टा प्रसारण समय बढाईयो भने वि.सं. २०४१ सालवाट दैनिक साढे १३ घण्टा प्रसारण हुन थालेको थियो। रेडियो नेपाल २४ सै घण्टा प्रसारण वि.स. २०७३ भदौ १ देखी हुन थालेको थियो।[१][२] सुरेश कुमार कार्की २०६९ साल मङ्सिर महिनाको २१ गते देखि कार्यकारी निर्देशकको रूपमा कार्यभार सञ्चालन गरेका थिए।[१]
क्षेत्रीय प्रसारण केन्द्रहरू[सम्पादन गर्नुहोस्]


रेडियो नेपाल नेपाल भरिकै एक मात्र राष्ट्रिय सञ्चार माध्यम भएका कारण श्रोताहरूको सुविधाका लागि रेडियो नेपालले वि. सं २०५० चैत्र २० गते देखि क्षेत्रीय प्रसारण केन्द्रहरू द्वारा क्षेत्रीय प्रसारण सेवा सुरु गरेको थियो। शुरुमा क्षेत्रीय प्रसारण सेवा प्रत्येक दिन बिहान ११ बजे देखि १२ बजेसम्म मात्र एक घण्टा चल्दथ्यो। यसमा स्थानिय भाषामा गीत-संगीतको साथ साथै स्थानिय समाचार मुलक विभिन्न कार्यक्रमहरू प्रसारण गर्ने गरेको थियो। पछि गएर रेडियो नेपालले क्षेत्रीय प्रसारण कार्यक्रमको समयलाई थप गरी बिहान ०९:४५ देखी ११:०० सम्म र राती ४:०० बजे देखी ६:०० सम्म गर्नुका साथै क्षेत्रीय प्रसारण केन्द्रबाट स्थानिय भाषामा समाचार प्रसारणको काम सुरु गरेको छ। रेडियो नेपालका क्षेत्रीय प्रसारण केन्द्रहरूको सूची:-
क्षेत्रीय प्रसारण केन्द्र | आवृति |
---|---|
धनकुटा | ६४८ किलोहर्ज (धरान) |
काठमाण्डौ | ७९२ किलोहर्ज (सिँहदरबार) तथा ११४३ किलो हर्ज (गौरीडाँडा) |
पोखरा | ६८४ किलोहर्ज |
सुर्खेत | ५७६ किलोहर्ज |
दिपायल | ८१० किलो हर्ज |
यसका साथै रेडियो नेपालले श्रोताहरूलाई भएको असुविधालाई ध्यानमा राखेर विभिन्न ठाउँबाट एफएम प्रसारण पनि सुरु गरेको छ।
सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ १.२ १.३ "यसरी रेडियो नेपालको प्रसारणलाई विश्वव्यापी बनाइयो", प्रशासन, माघ ७, २०७५, अन्तिम पहुँच २१ माघ २०७५।
- ↑ "रेडियो नेपालको इतिहास", गोरखापत्र अनलाइन, अन्तिम पहुँच २०७५ माघ २१।