रामशरण दर्नाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रामशरण दर्नाल
जन्मरामशरण दर्नाल
(१९३७-०७-१०)जुलाई १०, १९३७
धोबीचौर, काठमाडौं
मृत्युसेप्टेम्बर १८, २०११(२०११-०९-१८) (७४ वर्ष)
ठमेल मार्ग, काठमाडौं
मृत्युको कारणहृदयाघात, पार्किन्सन र स्पाइनल इन्जुरी
वासस्थानधोबीचौर, कालधारा, काठमाडौं महानगरपालिका, नेपाल
राष्ट्रियतानेपाल नेपाली
नागरिकतानेपाली
पेशासङ्गीत अन्वेषण, वाद्यवादन
चिनारीको कारणसङ्गीत अन्वेषण, वाद्यवादन, लोकसङ्गीत
प्रसिद्ध कार्यसङ्गीत परिक्रमा, नेपाली सङ्गीत साधक, नेपाली सङ्गीत-संस्कृति, नेपाली बाजा इत्यादि
गृहनगरकाठमाडौं
जीवनसाथीहरिमाया दर्नाल
सन्तानप्रकाश दर्नाल, किरण दर्नाल, ज्योति दर्नाल, दीपिका दर्नाल
मातापितासत्यकुमार दर्नाल, दिलकुमारी दर्नाल
पुरस्कारजगदम्बाश्री पुरस्कार, २०६५
लूनकरणदास गङ्गादेवी चौधरी पुरस्कार, २०६२
राष्ट्रिय प्रतिभा पुरस्कार, २०५३
नूरगङ्गा पुरस्कार, २०६१
नारायणगोपाल सङ्गीत पुरस्कार, २०६६

रामशरण दर्नाल (अङ्ग्रेजी: Ramsharan Darnal) (वि.सं. १९९४ - वि.सं. २०६८) नेपाली वाद्यविद् हुन् । दर्नालको जन्म सन् १९३७, १० जुलाई; विक्रम सम्बत: १९९४ असार २७ गते शुक्ल तृतीयाका दिन भएको हो ।[१][२][३] लोकसङ्गीत तथा संस्कृतिविद् दर्नाल सङ्गीतसम्बन्धी अध्ययन-अनुसन्धानका विशिष्ट अभियन्ता हुन् ।[४][५] रामशरण दर्नाल नेपाली सङ्गीत अन्वेषकको पर्यायवाची नाउँ हो । साथै नेपाली भाषा-साहित्यको श्रीवृद्धिका लागि पनि दर्नालको महत्वपूर्ण भूमिका रहेको छ । नेपाली बाजागाजाका उनी सक्कली अन्वेषक हुन् ।[६] नेपाली समाजमा लोप भइसकेका लोकबाजा र धुनको खोजीमा निरन्तर साधानारत रामशरण दर्नाल लोकबाजा, लोक संस्कृति एवं लोक भाकाको विज्ञ हुन् । उनले जातीय चाडपर्वमा विभिन्न जातजातिले बजाउने बाजा र धुनको ऐतिहासिक महत्त्व र गरिमाबारे गहन अध्ययन गरी जनसमक्ष ल्याएका थिए ।[७] नेपाली लोक तथा शास्त्रीय सङ्गीतका पुस्तकालय मानिन्छन्, रामशरण दर्नाल ।[८]

जीवनी[सम्पादन गर्ने]

बाल्यकाल[सम्पादन गर्ने]

दर्नालको जन्म पिता सत्यकुमार दर्नाल र माता दिलकुमारी दर्नालका सुपुत्रका रूपमा कालधारा १७, काठमाडौंमा भएको हो ।[६][९] उनको न्वारनको नाम दण्डकुमार थियो ।[१०] दर्नाल परिवारमा माहिलो छोराको रुपमा जन्म लिए तापनि बाँचेका सन्तानमध्ये उनी नै जेठा थिए । गोकर्णको मामाघर र थलीको मामाघरमा उनको बालापन व्यतीत भयो ।[१] बालक दर्नालले आफूलाई यस धर्तीमा आँखा खोल्दा नेपाली समाजले अछूत भनेर उपमा थपिदिएको एक गरिब परिवारमा पाए पनि यो परिवार मिहेनतकसहरूको एक पवित्र मन्दिर थियो । राणाकालीन समयमै पनि उनका पिता सत्यकुमार दर्नाल तथा बडा बुबा नेपाली सेनामा ब्याण्ड समूहलाई तालिम दिन्थे । बुबासँग पछि लागेर ब्याण्ड समूहलाई तालिम दिएको हेर्न जाने गर्दा बालक दर्नालको नसा-नसामा सङ्गीत गुञ्जन थाल्यो ।[२]

शिक्षा[सम्पादन गर्ने]

सानैदेखि पढ्ने खुब रहर भएका दर्नालको प्रारम्भिक शिक्षा आर्थिक अभिशाप र गरिबीको चपेटामा परेका वावजुद उनलाई काठमाडौँमा खुलेको स्कूल, दरबार हाइस्कुल र २००८ सालमा माध्यमिक शिक्षाका लागि सेन्ट रोबर्ट हाइस्कुल, दार्जिलिङ्ग, भारतमा पुर्याइयो ।[१] त्यहाँ पनि साङ्गीतिक वातावरण र त्यस्को प्रभावले त्यहीँ उनले मेण्डोलिन, गिटारजस्ता वाद्यसामग्री बजाउन सिके ।[२]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

सानैदेखि रोगी भएर जन्मेका छोरा रामशरणलाई उनकी आमाले पिठ्यूँमा बोक्दै घरी वैद्यकहाँ त घरी जान्नेकहा लैजान्थिन् । त्यति बेलाको अन्धविश्वास या सामाजिक मान्यता, विवाह गरिदिएपछि रोगीको रोग निको हुन्छ रे भन्ने आधारमा उनका आमाबुबाले ११ वर्षको बाल्यकालमै मण्डन गाउँ, काभ्रे जिल्लाकी हरिमाया दर्नालसँग २००३ सालमा उनको विवाह गरिदिए । २००८ सालमा दार्जिलिङ्ग गए पढ्नलाई । त्यसपछि दुई वर्ष कलकत्ता बसे । करिब १२ वर्ष विदेशमा बिताए । सरल जीवन, शिष्ट व्यवहार, लचकदार वचन र अध्ययनशील व्यक्तित्वका धनी, असाध्यै शान्त र सरल स्वभावका दर्नालका तीन छोरा र एक छोरी छन् ।[११][१२]

कार्य जीवन[सम्पादन गर्ने]

अध्ययनको क्रम जारी नै भए पनि सङ्गीत भनेपछि हुरुक्कै हुने दर्नालले भारतको कलकत्ताको एक रेकर्डिङ्ग कम्पनीमा काम गर्न थाले । कलकत्तामै नेपालका पुराना कलाकारहरू नातिकाजी, शिवशङ्कर, धर्मराज थापा, तारादेवीजस्ता कलाकारसङ्ग उनको परिचय भयो । केही वर्षपछि उनी २०१५ सालमा भारतबाट नेपाल आउँदा गितार र मेण्डोलिन ल्याएका थिए । उनलाई नेपालमा ती दुई बाजा भित्र्याउने पहिलो व्यक्तिका रुपमा चिनिन्छ । कहिले रेडियो नेपालमा जाने, कहिले सङ्गीतकारहरूसँग सम्पर्क गर्दागर्दै २०१६ सालमा उनले पहिलो पटक नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानमा मेण्डोलिन बाधक रुपमा जागिर पाए । प्रज्ञा-प्रतिष्ठानका विभिन्न पदमा कार्य गर्दै दर्नाल २०२१ सालमा प्रज्ञा-प्रतिष्ठानका लागि कुलपति श्री ५ महेन्द्रबाट ल्याइएको त्रिवर्षीय योजनामा सङ्गीत- नाट्य शाखाको सहायक सचिव भएर कार्य गरे । वि.सं. २०२८ सालमा तत्कालिन कुलपति केदारमान व्याथितले उनलाई जागिरबाट हटाए । पछि सूर्यविक्रम ज्ञावालीले उनलाई पुनर्वहाली गरे । वि.सं.२०६० सालसम्म निरन्तर प्रज्ञा प्रतिष्ठानमा रही काम गरे । नेपालको आधुनिक वाद्य र वाद्य-सङ्गीतको संयोजनमा सक्रिय भूमिका निर्वाह गरेका दर्नालले साङ्गीतिक तथा सांस्कृतिक विकासका लागि दिएको योगदान कम प्रशंसनीय छैन । अध्ययनलाई विस्तृत गर्ने क्रममा पुष्कल बुढापिर्थीबाट प्रभावित भएर उनले पाश्चात्य सङ्गीतको सम्बन्धमा पनि गहन अध्ययन गरेका छन् । गीत, वाद्य तथा नृत्य तीन पक्षमा अनुसन्धान र योगदान गरेर उनी सबै क्षेत्रका प्रिय बनेका छन् ।[२][१३]

प्रज्ञा-प्रतिष्ठानमा वाद्य प्रबन्धक भइ कार्य गरेका बखत वहा बाजा सङ्ग्रहालय हेर्ने उनी एक्लो व्यक्ति थिए । २५ सय वर्षअघिका क्वताः भनिने तीनमुखे बाजा जुन बुद्धकालीन समयका मानिन्छ सहित सङ्ग्रहालयमा सय किसिमका १२७ वटा बाजा थिए ।[३] एकेडेमीमा २०१६ सालदेखि उनले ‘स्वरलिपिकार’ पदमा जागिरे बनेर ३५ वर्षको अनवरत सेवापछि वाद्य प्रबन्धकका रुपमा उनले अवकाश पाए ।[१४][१५]

सङ्गीत शिरोमणि यज्ञराज शर्माले महिनाको एक सय ५० रूपियाँ तलब खानेगरी कला विभागमा जागीर खुवाएपछि नेपाल प्रज्ञा प्रतिष्ठान छिरेका दर्नालले ५० वर्ष त्यहीँ बिताए, वि.सं. २०६५ सम्म । वि.सं. २०६० देखि वि.सं. २०६५ सम्म उनी प्राज्ञ सभा सदस्य रहे। अवकाशपछि म्यूजिक नेपालमा जागिर खान थाले । त्रिभुवन विश्वविद्यालयको सङ्गीत विषय समिति, लूनकरणदास गङ्गादेवी चौधरी साहित्य कला मन्दिर, नारायणगोपाल युवा सङ्गीत कोष र नेपाली शिक्षा परिषद्का सदस्य दर्नाल नेपाली लोकबाजा सङ्ग्रहालय, बिसे नगर्ची प्रतिष्ठान, नेपाल शास्त्रीय सङ्गीत समाज, नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, कलानिधि इन्दिरा सङ्गीत महाविद्यालय आदिमा संरक्षक र सल्लाहकार रहे।

गीत सङ्गीत[सम्पादन गर्ने]

दार्जिलिङ्गमा रहँदा दर्नालले सङ्गीत र वाद्यवादनमा धेरै उन्नति गरे र लख्खीदेवी सुन्दास, शिवकुमार राईलगायतका विद्वानको सङ्गत गर्न पाए । उनी पियानो, ड्रमसेट, गिटार आदिको कुशल वाद्यवादक बने । उनी कलकत्ताबाट काठमाडौं फर्कदा मेण्डोलीन, विकसित गिटारजस्ता थुप्रै वाद्ययन्त्र लिएर आएका थिए ।[१६]

नेपालमा गिटार र मेण्डोलीन भित्र्याउने पहिलो व्यक्ति उनै रामशरण हुन् ।[१७] गायक प्रेमध्वज प्रधान कालधारास्थित उनैको घरमा पुगेर गितार सिक्थे कुनै बेला ।[१८] मेण्डोलिन, गिटार, ड्रमसेट बजाएर ईश्वरबल्लभकालगायत थुप्रै गीतमा धुन भरे । माधवप्रसाद घिमिरेको रचना रहेका गाउँछ गीत नेपाली गीतमा धुन भरेका थिए । म.वी.वि. शाहको गीत उसका लागि र फेरि उसैका लागिमा नोटेसन गरेका थिए । हे वीर हिड अघिसरी, गर्छिन आमा रोईकराई गीतमा एरेन्ज, नोटेसन, तथा वाद्यवादनको काम गरे । नेपाली चलचित्र "मनको बाँधमा" उनको ब्याण्डले काम गरेको थियो ।[१३][१९]

सङ्गीत अन्वेषण तथा लेखन[सम्पादन गर्ने]


"लोकसङ्गीत नै राष्ट्को प्राण हो ।"
                                -रामशरण दर्नाल[२०]


“नेपाली सङ्गीत र संस्कृतिको सम्बन्ध नङ र मासुजस्तो अभिन्न रूपमा रहेको छ ।"
                                -रामशरण दर्नाल[२१]

बाजाका लागि जीवनकै स्वर्णिम दिनहरु खर्चिएका, बाजा नै जीवनशैली बनेका दर्नाल बाजा र बाजाका धुनहरू खोज्दै सुदूर पश्चीमी नेपालका गाउँसम्म पुगे । नेपालका मध्यपश्चिम र सुदूरपश्चिमका जिल्लामा बाजा सङ्कलनका लागि उनी एक्लै पनि पुग्थे । सेती र महाकाली अञ्चलका विभिन्न जिल्ला डडेल्धुरा, बझाङ, अछाम, डोटी र महेन्द्रनगरका हुड्के (हुड्का बाजा बजाउने) हरूसँग भेट गरी हुड्का समेत ३६५ थरीका बाजाहरू सङ्कलन गरेका थिए ।[२२] नेपाली संस्कृतिमा उब्जेका चार सयभन्दा बढी बाजा छन् । नेपाली बाजागाजाको तथ्याङ्क राख्ने कामको आरम्भ दर्नालबाटै भयो । उनी यसबारे एउटा संस्था नै मानिन्थे । [६]

वि.स. २०२५ सालमा अविरल वर्षाले घर भत्कदा उनका घरमा रहेका १५ थरी पुराना बाजाहरू नष्ट भए । उनकी आमाको पनि त्यही घरले पुरिएर निधन भयो । यस घटनालाई उनी जीवनको अत्यन्तै दुःखको क्षण मान्दथे । यस घटनाले दुःखी उनी शुरुमा निराश थिए । पछि धैर्य गरे र बाजाको सर्वनाश भएर वाद्यवादनभन्दा लेखनतिर सक्रिय हुन थाले । उनलाई विशेष परिस्थितिले लेखक बनायो । उनको जीवनले नयाँ मोड लियो । उनी कसैले ध्यान नदिएको सङ्गीत विधामा केही पुस्तक लेखे । नेपाली संस्कृतिमा वाद्यवादनको स्थान लेख वि.स. २०२३/२४ तिर वनारसबाट निस्कने सँगालो पत्रिकामा प्रकाशित गरे । वि.स. २०२५ सालदेखि लोकबाजा अन्वेषणमा लागेका दर्नालले पहिलो पटक गोरखापत्रमा नेपाली संस्कृतिमा बाजाको स्थान लेखमा नेपाली बाजाबारे प्रकाश पारेका थिए । त्यसपछि निरन्तर लेखनमा लागेका दर्नालका सङ्गीत–परिक्रमा, नेपाली सङ्गीत साधक, प्रज्ञा पुरस्कारद्वारा पुरस्कृत प्रतिभाहरू, सङ्गीतको विस्तृत अवलोकन, विश्वविख्यात सङ्गीतकार, नेपाली बागिना र कला, नेपाली बाजा, गायनशैली, काठमाण्डौं उपत्यकाका समसामयिक गीतहरू लगायत ११ वटा पुस्तक प्रकाशित भएका छन् । उनले पहिलो पटक बिसे नगर्चीबारे अध्ययन अनुसन्धान गरे । नेपाली बाजा भन्ने पुस्तकमा नेपालमा रहेकामध्ये तीन सय पचहत्तर वटा बाजागाजा लोपोन्मुख छन् भनेर नाम र विषेशतासहित खुलाएर लेखे । उनी भन्ने गर्दथे, “मलाई लाग्छ, साँचो अर्थमा लेखक त्यही हो, जो प्रतिकूल परिस्थिति र कठिन अवस्थामा पनि आफ्नो लेखनलाई निरन्तरता प्रदान गरिरहन्छ । आफ्नो साधनाबाट विमुख हुँदैन ।”[१३] अतः उनका समयमा धोबीचौरको पल्लो छेउमा रहेको उनको घर नेपाली बाजाहरूको अन्वेषणमा लाग्नेहरूका लागि पवित्र तीर्थस्थल बनेको थियो भने त्यहाँ मूर्ति वा देवता बनेका थिए रामशरण दर्नाल ।[२३][२४]

आफ्ना दर्जन कृतिमध्ये रत्न पुस्तक भण्डारबाट छापिएको पुस्तक नेपाली बाजालाई गहकिलो मान्थे उनी । नेपाली सङ्गीत साधक प्रज्ञा-प्रतिष्ठानबाट निक्लेको उनको पहिलो पुस्तक हो । यी पुस्तकहरू सङ्गीतसम्बन्धी अध्ययन, अनुसन्धान गर्नेका लागि महत्वपूर्ण सन्दर्भ-सामग्री हुन् ।[२५]

बिसे नगर्चीबारे पहिलो अध्ययन अनुसन्धान गर्ने पनि उनै रामशरण हुन् । खोजी र अन्वेषण हो उनी र उनका छोरा प्रकाश दर्नालको क्षेत्र । रामशरणले जसरी विभिन्न गीतमा सङ्गीत भरे र सङ्गीतकै बारे अन्वेषण गरे, त्यसरी नै प्रकाशले पनि मुस्ताङको लोमान्थाङमा रहेको बाह्रौ शताब्दीको पुरानो मानव गुफा पत्ता लगाए ।[२६]

मृत्यु[सम्पादन गर्ने]

सङ्गीत अनुसन्धाताको विराट व्यक्तित्व, नेपालका लोकबाजा, लोकसंस्कृति र कला सङ्गीतका सम्राट रामशरण दर्नाल लामो समयदेखि आफैँले गरेका काम थाहा नपाउने रोग पार्किन्सन डिजिजबाट पीडित थिए । २०६८ साल, असोज १ गते बेलुका ७४ वर्षीय दर्नालको निधन भयो ।[४][८][९][२५][१८][२७]

कृतिहरू[सम्पादन गर्ने]

वि.सं. २०२५ सालको गोरखापत्रमा उनको पहिलो रचना छापिएको हो । उनका प्रकाशित कृतिहरू :

  • सङ्गीत परिक्रमा (लेखसंग्रह, वि.सं. २०३८)
  • नेपाली सङ्गीत साधक (जीवनीसंग्रह, वि.सं. २०३८)
  • प्रज्ञा पुरस्कारद्वारा पुरस्कृत प्रतिभाहरू (जीवनीसंग्रह, वि.सं. २०३९)
  • विश्वविख्यात सङ्गीतकार (जीवनीसंग्रह, वि.सं. २०४१)
  • सङ्गीतको विस्तृत अवलोकन (लेखसंग्रह, वि.सं. २०४१)
  • नेपाली सङ्गीत-संस्कृति (सङ्गीत/कला, वि.सं. २०४५)
  • सङ्गीत सौरभ (सङ्गीत, वि.सं. २०५८)
  • नेपाली बागीना र कला (सङ्गीत/कला, वि.सं. २०६०)
  • गीतकार झपटबहादुर राणा र नेपाली सङ्गीतको... (सङ्गीत, वि.सं. २०६०)
  • नेपाली बाजा (वाद्यवादन, वि.सं. २०६१)
  • गायनशैली (संस्कृति, वि.सं. २०६१)

पुरस्कार, सम्मान तथा अलङ्कार[सम्पादन गर्ने]

उनले नेपालको साङ्गीतिक फाँटमा पुर्‍याएको योगदानको कदरस्वरुप राज्य तथा थुप्रै अन्य सामाजिक सङ्घसंस्थाले उनलाई विभिन्न मान पदवी, पुरस्कार तथा सम्मान दिएका छन् ।[२८][२९]

सङ्गीत क्षेत्रका अग्रज अन्वेषक रामशरण दर्नालको सम्मानमा हुलाक सेवा विभागले हुलाक टिकट प्रकाशन गरेको छ । गिटारको साथमा दर्नालको तस्बिर अंकित टिकटको मूल्य दस रुपैया रहेको छ ।[३०]

दर्नालसम्बन्धी शिक्षा मन्त्रालय, नेपाल सरकारले कक्षा ९ को नेपाली विषयको पाठ्यक्रममा “सङ्गीतज्ञ रामशरण दर्नाल” समावेश गरेको छ ।[३१]

पुरस्कार[सम्पादन गर्ने]

सम्मान‍‍‍[सम्पादन गर्ने]

वर्ष सम्मान कारण संस्था
२०६७-०६-१८ सम्मानपत्र नेपाली वाद्यवादनका अथक साधक, नेपाली सङ्गीतका विलक्षण प्रतिभा लूनकरणदास गङ्गादेवी साहित्य कला मन्दिर, काठमाडौं
२०६७-०५-०१ प्रथम साधारण सभा एवं प्रथम राष्ट्य अधिवेशन नेपाली कला, संस्कृति, परम्परा र सीतिरिवाजलाई संरक्षण तथा संवर्धन गर्न आजीवन सङ्घर्षरत नेपाल ब्याण्ड बाजा व्यवसायी सङ्घ
२०६७-०४-२२ सार्वजनिक अभिनन्दन सङ्गीत विधामा लेखन, अन्वेषण तथा खोज परियार सेवा समिति
२०६७-०४-०२ सम्मानपत्र लोकसङ्गीत, भाषा, वाद्यवादनको जगेर्ना अनुसन्धान र संरक्षणमा योगदान नेकपा (एमाले) १७ वडा शाखा कमिटी, काठमाण्डौ
२०६६-१२-०८ सम्मानपत्र महाकवि देवकोटा शताब्दी महोत्सव अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन
२०६६-०८-२६ महाकवि लक्ष्मीप्रसाद देवकोटा शतवार्षिकी नेपाली वाङ्मयको श्रीवृद्धि त्रिमूर्ति निकेतन
२०६६-०७-२१ सम्मानपत्र समृद्ध नेपाल र लोकतान्त्रिक समाज निर्माणमा पुर्याएको योगदान नेपाल सांस्कृतिक सङ्घ
२०६५-०४-२६ शोध सम्मान नेपाली सङ्गीत कला र संस्कृतिको क्षेत्रमा शोधकार्य गरी विशिष्ट योगदान ज्ञानगुन साहित्य प्रतिष्ठान
२०६५-०३-३० सम्मानपत्र वाद्य-कलाकारको रूपमा नेपाली सङ्गीतमा अध्ययन, अनुसन्धानमा लिप्त डान्स कल्चर सेन्टर अफ नेपाल
२०६५-०३-२९ सम्मानपत्र नेपाली लोकबाजा र सङ्गीतको अध्ययन, अनुसन्धान, सङ्कलन एवं तिनको चिनारीद्वारा नेपाली संस्कृतिको उन्नयनमा योगदान भानु प्रतिष्ठान
२०६४-०७-०१ सम्मानपत्र समाज र राष्ट्र विकासका लागि विधागत योगदान
२०६४-०३-०८ आवाज सांस्कृतिक साँझ, २०६४ नेपाली साङ्गीतिक क्षेत्रका वरिष्ठ बाजा विशेषज्ञ तथा अनुसन्धानात्मक कृति रचयिता आवाज कलाकार, नेपाल
२०६२-१२-२२ सम्मानपत्र श्रष्टा सम्मानको गौरवमय १० वर्ष श्री लूनकरणदास गङ्गादेवी साहित्य कला मन्दिर, काठमाडौं
२०६२-०५-०१ ४३ औं राष्ट्रिय मुक्ति दिवस मूल समारोह कार्यक्रम राष्ट्रिय समृद्धि, सामाजिक उत्थान एवं संस्कृति, जीवन पद्धतिको जगेर्ना र राष्ट्रलाई आधुनिक विकासको प्रवाहमा दत्तचित्त साथ लागि पर्नु उपेक्षित, उत्पीडित दलित वर्ग उत्थान विकास समिति
२०६२-०३-३० रजत जयन्त्ती वर्ष एवं १९२ औं भानु जयन्ती लोकबाजाको अनुसन्धान एवं वाद्यवादनको क्षेत्रमा विशेष योगदान लिटिल एन्जेल्स स्कूल
२०६१-१२-२७ शक्ति र सृजनाका लागि शिक्षा नेपाली आधुनिक वाद्यवादन क्षेत्रका जाज्वल्यमान नक्षत्र ओम एजुकेशन एकेडेमी
२०६१-११-२१ सम्पूर्ण दलित समुदायको प्रतिष्ठा अभिवृद्धि नेपाली लोकसङ्गीत तथा वाद्यवादनको अध्ययन-अनुसन्धानमा विशिष्ट योगदान नेपाल राष्ट्रिय दलित समाज सङ्घ
२०६१-०५-१० सम्मानपत्र दलित समाजमा लामो समय सेवा र सहयोग टी.आर. विश्वकर्मा स्मृति प्रतिष्ठान
२०६१-०३-०६ सम्मानपत्र संस्कृति लेखनको क्षेत्रमा योगदान नूरगङ्गा प्रतिभा पुरस्कार गुठी
२०६१ प्रेमोपहार, भोलिको नेपाल कान्तिपुर टेलिभिजन नेटवर्क
२०६०-०९-२२ सम्मानपत्र छैटौं राष्ट्रव्यापी लोकनृत्य प्रतियोगिता, २०६० निर्णायक साधाना कला केन्द्र
२०६०-०८-२० उन्नाइसौं दलित साहित्यकार सम्मेलन, तालकटोरा स्टेडियम, नयाँ दिल्ली सामाजिक सेवा भारतीय दलित साहित्य अकादमी, डा. अम्बेडकर भाइचारा पदक
२०६०-०७-३० सम्मानपत्र नेपाली वाङ्मयको श्रीवृद्धि झपट पुरस्कार व्यवस्था समित
२०६०-०५-०५ सम्मानपत्र पाचौँ अन्तरविद्यालय राष्ट्रिय पियानो वादन प्रतियोगितामा योगदान शिक्षा मन्त्रालय
२०६०-०४-३२ सम्मानपत्र नेपाली सङ्गीत क्षेत्रमा आधारभूमि तयार पार्नमा उल्लेखनीय भूमिका, नेपालमा वाद्यवादन संयोजनमा संस्थापक सञ्चालकको रूपमा योगदान मधुरिमा
२०५९-१२-२८ बीसौं अन्तरक्षेत्रीय विद्यालय स्तरीय राष्ट्रिय सांस्कृतिक प्रतियोगिता नेपाली संस्कृतिको समृद्धिका लागि पाठ्यक्रम विकास केन्द्रबाट सञ्चालित "ऐश्वर्य सांस्कृतिक शिल्ड, विद्यालयस्तरीय राष्ट्रिय सांस्कृतिक कार्यक्रममा योगदान" पाठ्यक्रम विकास केन्द्र
२०५९-०५-०९ देशका प्रतिभाशाली कला श्रष्टालाई सम्मान कार्यक्रम कला, सङ्गीत र संस्कृतिको अनुसन्धान, अन्वेषण गरेबापत दलित सेवा सङ्घ
२०५९-०१-२४ कदरपत्र सङ्गीत क्षेत्रमा योगदान सङ्गीत शिक्षा विभाग तथा प्राध्यापक सङ्घ इकाइ, ललित कला क्याम्पस
२०५९-०१-१२ सम्मानपत्र लोकबाजाको संरक्षण, संवर्धन, नेपाली संस्कृतिलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान लालीगुराँस कला मन्दिर
२०५९-०१-०२ कदरस्वरूप अभिनन्दन नेपाली लोक बाजाको क्षेत्रमा अध्ययन, अनुसन्धान, विकास एवं प्रचार-प्रसारमा विशिष्ट योगदान काठमाडौँ नृत्य तथा सांस्कृतिक केन्द्र
२०५७-०५-०३ सम्मानपत्र शताब्दी व्यक्तित्व काठमाडौँ महानगरपालिका
२०५६ धर्मो रक्षति रक्षित समारोह धर्म, नेपाली भाषा, साहित्य, संस्कृति, कला, सङ्गीतजस्ता समग्र वाङ्मयको क्षेत्रमा योगदान ॐ पशुपति सेना, नेपाल
२०५५-११-२७ ३५ औं वार्षिक उत्सव कार्यक्रम नेपाली लोक तथा परम्परागत सङ्गीत क्षेत्रमा उल्लेखनीय योगदान कलानिधि इन्दिरा सङ्गीत महाविद्यालय
२०५५ नेपाल भ्रमण वर्ष, १९९८ लोप हुन लागेका नेपाली लोक संस्कृतिको खोजी र जगेर्ना गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा निर्णायकको भूमिका साधना कला केन्द्र
२०५५ कदरपत्र लोप हुन लागेका नेपाली लोक संस्कृतिको खोजी र जगेर्ना गर्ने राष्ट्रव्यापी लोक नृत्य प्रतियोगिता, २०५५ का निर्णायकको भूमिका साधना कला केन्द्र
२०५३-१२-३० १७ औं वडाव्यापी विशेष समारोह, २०५३ बाल लोकनृत्य प्रतियोगिताका निर्णायक काठमाडौं महानगरपालिका
२०५३-१०-०८ श्री ५ महाराजाधिराजको गद्दी आरोहण रजत महोत्सव, २०५३ लोप हुन लागेका नेपाली लोक संस्कृतिको खोजी र जगेर्नाका लागि साधना कला केन्द्र
सम्मानपत्र नेपाली सङ्गीत संस्कृति र कलाको विकासका लागि खोज अनुसन्धान अन्वेषण र प्रकाशनमार्फत नेपाली मौलिक कला संस्कृतिलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउन उल्लेखनीय भूमिका बिसे नगर्ची स्मृति प्रतिष्ठान
२०५२-१०-०९ साधना सम्मान नेपाली सङ्गीत अन्वेषण विधामा अनवरत योगदान साधना कला केन्द्र
२०५१-११-०१ अभिनन्दन पत्र जातीय उत्पीडनमा परेका जनताको उत्थान र इतिहास निर्माणमा प्रसिद्ध साहित्य, सङ्गीत क्षेत्रमा साधक भई अहं भूमिका नेपाल उत्पीडित दलित जातीय मुक्ति समाज, बुटवल
२०५१-०५-०५ अभिनन्दन पत्र कला एवं संस्कृति तथा अनुसन्धानात्मक क्षेत्रका लागि किरातेश्वर सङ्गीत आश्रम, गौरीघाट
२०४९-०९-१४ गोरखा दक्षिण बाहु प्रशंशनीय कार्य गरेबापत राजदरबार
२०४५-०८-२९ प्रशस्ति पत्र दलित उत्थानका लागि भारतीय दलित साहित्य अकादमी, नयाँ दिल्ली
२०४४-१२-२८/२९ लेखन सम्मान दलित समुदायको उत्थानका लागि पूर्वाञ्चल क्षेत्रीय दलित सम्मेलन तयारी समिति, धरान

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ राजेन्द्र महर्जन तथा पदम सुन्दास, सम्पादक (२०७१), "आत्मवृतान्त", सङ्गीतमय जीवनः सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म, दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, रत्नमाया दलित साहित्य संरक्षण समिति, पृ: २१–२७, आइएसबिएन 9789937284578 
  2. २.० २.१ २.२ २.३ लुइँटेल, कृष्णकुमारी (२०५१ माघ ५), सङ्गीतका विशिष्ट अनुसन्धाता, प्रजातन्त्र साप्ताहिक। 
  3. ३.० ३.१ पौड्याल, बद्री (असोज २०५१), "प्राज्ञिक धरातलको निर्माण", विमोचन १३ (७)। 
  4. ४.० ४.१ पहाडी, डम्बर (कार्तिक २०६८), "लोकसङ्गीत सम्राट : एक स्मृति", नेपालीमञ्च २१ (६)। 
  5. पराजुली, गोपाल (२०६९ असार २), आजीवन सङ्गीत अनुसन्धानदाता, गोरखापत्र। 
  6. ६.० ६.१ ६.२ प्रसाई, नरेन्द्रराज (२०६८ असोज २८), बाँचेको मान्छे : सङ्गीत अन्वेषक, अन्नपूर्ण पोष्ट। 
  7. पलिखे, बद्री (२०६४ चैत्र ४ गते), "जसको सम्झना आइरहन्छ", ज्ञानगुनका कुरा १२६ (दर्नाल अङ्क १)। 
  8. ८.० ८.१ बराइली, गोपाल, "रामशरण दर्नाल", nepalihimal.com, हिमाल खबरपत्रिका, अन्तिम पहुँच २०१९-०३-१६ 
  9. ९.० ९.१ भट्टराई, जयदेव (२०६८ भाद्र ३१), सङ्गीतमय जीवनको अवसान, गोरखापत्र। 
  10. दर्नाल, प्रकाश (२०७१), "बुबालाई सम्झदा", in राजेन्द्र महर्जन तथा पदम सुन्दास, सङ्गीतमय जीवनः सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म, दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, रत्नमाया दलित साहित्य संरक्षण समिति, पृ: २१–२७, आइएसबिएन 9789937284578 
  11. दर्नाल, हरिमाया (२०७१), "साथमा बिताएका ती ६५ वर्ष", in राजेन्द्र महर्जन तथा पदम सुन्दास, सङ्गीतमय जीवनः सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म, दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, रत्नमाया दलित साहित्य संरक्षण समिति, पृ: १६०–१६२, आइएसबिएन 9789937284578 
  12. भादगाउँले, अमृत (२०५८ माघ १२), साताकी गृहणी, साप्ताहिक। 
  13. १३.० १३.१ १३.२ खाती, रमेश, "सङ्गीतका शिखर पुरुष रामशरण", yalambartimes.com, अन्तिम पहुँच २०१९-०३-१६ 
  14. भट्टराई, देवेन्द्र (२०५८ ३१ चैत्र), मुर्चुङ्गाजस्तो जिन्दगी, कान्तिपुर। 
  15. खड्का, रामकला (२०६० माघ ३), अर्कै लोकको आभास, अन्नपूर्ण पोष्ट। 
  16. वाग्ले, अनन्तप्रसाद (२७ मङ्सिर २०५१), "तिलौरी किन्दा हर्जाना तिर्नुपर्योत", कोपिला (कान्तिपुर) 
  17. मल्ल, अशेष (२०४८ असार २७), गितार र मेण्डोलिन भित्र्याउने सर्जक, साप्ताहिक जनमञ्च। 
  18. १८.० १८.१ दिक्पाल, राजकुमार (२०६८ असोज १४), दुःखद दशैं (श्रद्धाञ्जली), अन्नपूर्ण पोष्ट। 
  19. बाला, राई (२०६६ भदौ २६), लोकबाजा अन्वेषक र जगदम्बाश्री पुरस्कार, अन्नपूर्ण पोष्ट। 
  20. श्रेष्ठ ‘सरित’, इन्द्रकुमार (२०४५ वैशाख ७), "”लोकसङ्गीत नै राष्ट्रको प्राण हो !”, रामशरण दर्नाल", विवेक (४)। 
  21. धमला, चेतनाथ (२०५९), "”सङ्गीत र संस्कृतिः नङ र मासुजस्तो”, रामशरण दर्नाल", नेपाल जागरण साप्ताहिक ११ (५)। 
  22. सापकोटा, दीपक (२०६६ कार्तिक १३), बाजा-संवाद : रामशरण दर्नालसँग, गोरखापत्र। 
  23. खपाङ्गी मगर, नरेश (२०६० भदौ ७), बाजाबारे सोधखोज नहुँदा, गोरखापत्र। 
  24. भट्टराई, जयदेव (२०६६ असोज ३), छाप्रोमै बसेर लेखे, गोरखापत्र। 
  25. २५.० २५.१ शर्मा, सन्तोष (२०६८ असोज ७), अन्वेशकको अस्त, नागरिक। 
  26. ढुङ्गाना, गोपीकृष्ण (८ माघ २०६५), आ-आफ्नै पङ्ख उचाली, अन्नपूर्ण पोष्ट। 
  27. मुकारुङ, बुलु (२०६८ असोज १३), विस्मृतिमा रामशरण दर्नाल र लोकबाजा, राजधानी। 
  28. नेपाली सङ्गीतका मुर्धन्य धरोहरः रामशरण दर्नाल १५ (१), नेपालीमञ्च, २ असोज २०६२, पृ: मध्यपृष्ठ। 
  29. दर्नाल, किरण (२०७१), "पत्राचारमा बाबु र छोरा", in राजेन्द्र महर्जन तथा पदम सुन्दास, सङ्गीतमय जीवनः सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म, दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, रत्नमाया दलित साहित्य संरक्षण समिति, पृ: १६५–१६७, आइएसबिएन 9789937284578 
  30. "संगीत अन्वेषक रामशरण दर्नालको नाममा हुलाक टिकट जारी", alldalit.blogspot.com, अन्तिम पहुँच २०१९-०४-१६ 
  31. "Class 9 Solution: सङ्गीतज्ञ रामशरण दर्नाल", khullakitab.com, अन्तिम पहुँच २०१९-०४-१६ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]