बिसे नगर्ची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बिसे राजा पृथ्वी नारायण शाह कालीन गोरखाका नगर्ची थिए । एकिकरण अभियान शुरू गर्न खर्च नभएर विलखवन्दमा परेका राजा पृथ्वीनारायण शाहलाई यिनले थोरै थोरै खर्चले पनि कसरी ठूलो काम गर्न सकिन्छ भन्ने कुरा उदाहरण सहित सिकाएका थिए ।[१] यस घटनाबाट प्रभावित राजा पृथ्वी नारायण शाहले बिसेलाई सधै उच्च मुल्याङकन गरी रहे।[२]

एक विलक्षण प्रतिभा , इतिहास पुरुष , अमर ब्यक्तित्व , बिसे नगर्ची गोरखा राज्य विस्तार गर्न सहयोग गर्ने सल्लाहकार , योजनाविद , आर्थिक जोहो गराउन सल्लाह दिने कुसल व्यक्तित्व थिए | बुढामहाराजको काशी यात्रा गर्दा अर्थको जोहो गराउने प्रमुख सल्लाहकार पनि यिनै थिए | तेतिखेरको नेपाल एकीकरणको अभियानले बिसे नगर्ची , धार्ने कामी, कालू सार्की तथा मणिराम गाइने आदिको महत्त्वपूर्ण योगदान समेटेको छ | बिसे नगर्चीको जन्म बि.स. १७७५ तीर गोर्खामै भएको थियो | यी गोरखा दरबारका त्यस्ता नगर्ची थिए जसको उपस्थिति दरवारको भारदारी सभा तथा कर्मचारी नियुक्ति गर्दा समेत सल्लाह सुझावकोलागि हुने गर्थ्यो |

नुवाकोट हमलाको योजना[सम्पादन गर्नुहोस्]

दोश्रो नुवाकोट हमला , महेश्वर पन्तको सेनापतित्वमा गरिंदा हारखाई भएको विशाल धन जनको क्षति प्रति चिन्तित २० वर्षे ठिटो महाराजलाई सान्त्वना दिएर जूक्ति सिकाउंदै नुवाकोट माथिको तेश्रो हमला तथा एकिकरण अभियान सञ्चालन गर्न र हातहतियारको सुद्रिढिकरण गर्न सुझाउने बिसे नै थिए | खर्च बर्चको जोहोकालागि सोचमा डुबेका राजालाई बिसेले गोर्खा राज्य भित्र रहेका लगभग १२००० घर धुरीबाट १ ,१ रुपिया सहयोग जुटाई काशीबाट हतियार र बारुद ल्याउन सल्लाह दिएका थिए | कालु पाण्डेलाइ गोर्खादरबारको काजी बनाउन सल्लाह दिनेदेखि राजगुरु श्री हर्ष मिश्रलाई काशी लिएर गई हात हतियार ,बारुद खर खजाना ल्याउन सर सल्लाह दिनेमा इनको ठूलो भूमिका थियो | इनि तेस्रो पटकको नुवाकोट हमलामा सिपाही भै युद्धमा सामिल भएका थिए भने नुवाकोट विजय भई सकेपछि यी बुढा महाराज संगै अन्तरिम राजधानी नुवाकोट मै रहने गर्दथे |

बिसे नगर्चीको विषयमा ऐतिहासिक तथ्य प्रमाणहरू थोरथोरै मात्र भेटिञ्छन | बाबुराम आचार्य लिखित ‘ श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको जीवनी’ (२०२५) मा ‘एकीकरण अभियान सुरु गर्दा पृथ्वीनारायण शाहले उपल्लो थरघरदेखि बिसे दमाईसम्मको चित्त बुझाउनु परेको थियो’ भनी उल्लेख गरेकाछन | राजगुरु हेमराज पाण्डेको संग्रहको हस्तलिखित पुस्तकमा बिसे नगर्चीको प्रसंग ३ ठाउँमा परेको छ | यसबाट उनी पृथ्वीनारायण शाहको समयका महत्त्वपूर्ण व्यक्ति हुन् भन्ने स्पष्ट हुन्छ | पृथ्वीनारायण शाहले सम्बत् १८०१ असोज १५ गते नुवाकोट गोरखाको अधीनमा ल्याउने फौजमा गोर्खालीहरूले मोर्चा बाँधी नुवाकोट आक्रमण गरेका थिए | तीमध्ये धर्मपानीको बाटोबाट चौतारिया महोद्दामकीर्ति शाहको नेतृत्वको फौज, अशोकबारीको बाटो बलभद्र शाह र कालु पाँडेको नेतृत्वको फौज र गेर्खुको बाटो जहाँगिर शाहको नेतृत्वको फौज अगाडि बढेको थियो । तीनघारेको बाटो स्वयम् पृथ्वीनारायण शाह अगाडि बढेका थिए | यही बाटोको मोर्चाबाट युद्ध लड्न अगाडि बढेको फौजमा बानादार दमाई र मणिराम गाइनेका साथ बिसे नगर्ची पनि सरिक थिए (प्राचीन नेपाल, संख्या २१: २८) | युद्ध गोरखाली पक्षले जितेपछि ब्राह्मणहरूले वेद पाठ सहित तथा जयघोष गरे , नगरा बनाउने काम बिसे नगर्ची र बानादार दमाईले र विजय गीत गाउनेकाम मणिराम गाइनेले गरेका थिए |

काजीको छनोट[सम्पादन गर्नुहोस्]

पृथ्वीनारायण शाह काजीको खोजीमा हुँदा उनले विराज बखतीमाथि आँखा लम्काएका थिए तर भारदारी परामर्श लिंदा धेरैले कालु पाँडेलाई कज्याइदिँदा राम्रो हुने सल्लाह दिएपछि उनले कालु पाँडेलाई कज्याइदिएका थिए | काजी ग्रहण गर्नुअघि कालू पाण्डे गोरखाका उपल्लो थरघरदेखि बिसे नगर्चीको घरसम्म पुगेर ‘राजाबाट बक्सेको काजी खाऊँ कि नखाऊँ’ भनी सल्लाह मागेका थिए रे | यसै क्रममा कालुले पृथ्वीनारायण शाहसमक्ष ‘कजाइ खानु मेरा जियले मात्र होइन मेरा सन्तान दरसन्तानले गादिको सोझो गरी काम चलाउन सकुन्ज्याल पाँडेले नै खानु भन्ने बन्देज होस्’ भन्दै आफ्नो दरसन्तानका लागिसमेत जागिरको सुनिश्चितता माग गर्दा बुढा महाराज पृथ्वीनारायण शाहले ‘गादीको सोझो गरुन्ज्याल तेरा सन्तानलाई कजाई नखोस्नु यस बातका साक्षी श्री गुरु गोरखनाथ र श्री काली’ भनी प्रतिबद्धता जनाएका थिए |

गोरखा र लमजुङबीच युद्ध हुँदा सिरानचोकको लडाइँमा गोरखा पक्षका अम्बर पाँडे, कलै द्वारे लगायतको मृत्यु भएपनि विक्रम सम्बत् १८१२ साउन १४ गते शनिबार भएको त्यस युद्धमा गोरखालीको जित भएको थियो |। गोर्खालीहरूले जितको हर्षबढाइँ गर्दा शत्रुपक्षको बेइज्जत गर्न बिसे नगर्चीको धोती टाँगेर लमजुङका सेना अफिसरहरूलाई त्यहाँबाट छिर्न लगाएका थिए | यसबारेमा भाषा वंशावलीमा यस्तो लेखिएको छ (पूर्णिमा पूर्णांक ६:४६ र ४७) ” लमजुग्या सर्दार महिधरसमेतलाई बिस्या नगार्चीको धोती लगी सर्दार बलभञ्जनबाहेक अरू सबैलाई छिराया |” सिरानाचोक थामी चौबिसी हटाया । पश्चिम थेग्लाया ।यस्तै ‘नेपाल देशको इतिहास सङ्ग्रह’मा (प्राचीन नेपाल संख्या २२:४) यसबारे यस्तो लेखिएको छ, यस लडाइँमा सल्यानी अम्बर पाँडे, बले द्वारे प्रभृति धेरै बीर खति भए । जित गोरखालीको भयो र सरदर दलभञ्जनबाहेक लमजुङको महिधरसमेत अरु सबै चौबिसीलाई बिसे नगर्चीको धोती टाँगी धोतीमनि छिराए । राज्यविस्तार अभियानअन्तरगत चौबिसी सिरानचोकको जित पृथ्वीनारायण शाहको महत्त्वपूर्ण उपलब्धि थियो | यो उनको तेस्रो जित थियो | यसअघि उनले नुवाकोट र नालदुमलाई गोरखा अधिनस्थ गरिसकेका थिए | इतिहासका स्रोतहरूमा नुवाकोट र सिरानचोकजस्ता प्रारम्भकालीन युद्धमा बिसे नगर्चीको सहभागिता गतिलो थियो | यसबाट पनि बिसे नगर्ची एक ऐतिहासिक व्यक्तित्व हुन् भन्नेकुरा प्रष्ट हुन पुगेको छ |

बिसे नगर्चीको बयान श्रवण मुकारुङको प्रख्यात कविता पनि हो। राजा ज्ञानेन्द्रको शासन विरुद्द २०६३ सालमा नागरिक आन्दोलन हुँदा यो बहुचर्चित कविता थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. देवकोटा, यादव (१५ जनवरी २०१९), "बिसे नगर्ची जसले नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको उध्रिन लागेको सपना सिलाइदिए", बीबीसी नेपाली, अन्तिम पहुँच २२ जेष्ठ २०७९ 
  2. दिक्पाल, राजकुमार (१२ चैत्र २०७८), "गोरखाली युद्धमोर्चामा बिसे नगर्ची", गोरखापत्र, अन्तिम पहुँच २२ जेष्ठ २०७९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]