नातिकाजी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मेलोडी राजा नाति काजी
नातिकाजी
[[File:
नातिकाजी
|frameless|alt=]]
जन्म२५ डिसेम्बर १९२५
ललितपुर जिल्ला नेपाल
मृत्यु२ नोभेम्बर २००३ (७७ वर्षमा)
काठमाडौं, नेपाल
वासस्थानकाठमाडौं, नेपाल
राष्ट्रियतानेपालनेपाली
अन्य नामनातिकाजी श्रेष्ठ
अमृत लाल श्रेष्ठ
नागरिकतानेपाली
जीवनसाथीसरस्वती राज भण्डारी (विवाह?-२००३)


नातिकाजी (जन्म २५ डिसेम्बर १९२५ – २ नोभेम्बर २००३) नेपाली सङ्गीतका एक चर्चित व्यक्तित्व थिए। नातिकाजी श्रेष्ठ, गायक तथा वरिष्ठ संगीतकार हुन्। नातिकाजीको बहुचर्चित गीत, नेपाली हामी रहौँला कहाँ[१], उनले नेपाल र नेपाली जनताका बारेमा वर्णन गरेका छन्।[२] यस्तो पनि हुँदो रहेछ (गीत) मा उनले सङ्गीत भरेका हुन् ।

इतिहास र कार्यकाल[सम्पादन गर्ने]

बाल्यकालदेखि नै सङ्गीतको सङ्गतमा परेका नातिकाजीले आफ्नो जीवनका अधिकांश समय हार्मोनियमका पर्दा चाल्दै बिताउनुभयो। पार्किन्सन रोगले थलिएर बस्दासमेत हरदम हार्मोनियममा भुलेर बस्ने नातिकाजी आफ्नो समयको कालजयी सङ्गीत सिर्जना गर्ने महान सङ्गीतकार हुन्। उनका सङ्गीत कालजयी छन्। नेपाली सङ्गीतको एउटा कालखण्डको मात्र नभई आउने समयको समेत प्रतिनिधिको रूपमा उनका सङ्गीत रहनेछन्।

सानै उमेरमा आमा-बुबा गुमाएका नातिकाजी गुहृयेश्वरीस्थित मामाघरमा हुर्किए। मामाघरका बाजे गुह्वेश्वरीका पुजारी भएका कारण पशूपतिगुहृयेश्वरी मन्दिरमा हुने विभिन्न भजन कार्यक्रमहरूमा नातिकाजी सहभागिता जनाउँथे। बाजेको पछिलागेर भजनमा सरिक हुँदाहुँदै सङ्गीतमा सक्रियरुपमा सहभागी हुन थालेका नातिकाजीले वि.सं. २००४ सालतिर केही साथी कृष्ण मानन्धरसँग मिलेर ‘जीवनज्योति’ नामक नाटक पनि बनाएका थिए।

आफ्नो घर, साथीभाइ र भजनगृहमा गीत गाउँदागाउँदै नातिकाजी वि.सं. २००७ सालमा रेडियो नेपाल पुगे र त्यसको एक वर्षपछि वि.सं. २००८ बैशाख १५ गतेदेखि लागू हुने गरी रेडियोमा नै जागिरको नियुक्तिपत्र पाए। उनले आफ्नै शब्द सङ्गीत र स्वरमा ‘जब प्रेम छुट्यो रोएर के गरौँ’ बोलको गीत पहिलोपटक रेडियो नेपालको प्रत्यक्ष प्रसारणमा गाएका थिएका थिए। त्यस्तै पुष्प नेपालीको शब्द र उनकै स्वर र सङ्गीत रहेको गीत ‘पहाड बसी वनमा खेली हुर्केकी अकेली’ उनको स्वरमा रेकर्ड भएको पहिलो गीत हो। २००९ सालमा उक्त गीत भारतको कोलकातामा डिस्क रेकर्ड गर्नका लागि राजा त्रिभुवन शाहले नातिकाजीलाई रु ६०० दिएका थिए। सुरुवातका दिनहरूका नातिकाजी आफैँ गीत लेख्थे र गाउँथे पनि। र, उनका स्वरका गीतहरू त्यसबेला श्रोताबीच चर्चित पनि थिए। लगभग २०० जति गीतहरू आफ्नो स्वरमा रेकर्ड गराएका नातिकाजी वि.सं. २०१६/१७ सालपछि गाउन छाडेर सङ्गीत सिर्जना सिर्जना गर्नपट्टि मात्रै लागे ।

रेडियो नेपाल[सम्पादन गर्ने]

रेडियो नेपालको स्थापना हुँदा नेपाली गीतहरू त परै जाओस् बजाउनलाई नेपाली धुन पनि थिएन। यस्तै अभावकालका कलाकार मध्येका एक हुन् नातिकाजी। रेडियो नेपालमा प्रवेश गरेपछि नेपाली सङ्गीतको क्षेत्रलाई फराकिलो बनाउन ठूलो भूमिका खेलेका नातिकाजी रेडियो नेपालको साङ्गीतिक क्षेत्रको विकासका पृष्ठाधार मध्येका एक हुन्।

नातिकाजीले रेडियो नेपालमा प्रवेश गरेका बेला नेपाली गीतको अभावमा हिन्दी गीतलाई नै हुबहु नक्कल गरेर त्यसमा नेपाली शब्दहरू राखी गाउने गरिन्थ्यो। त्यसैले सुरुसुरुका दिनहरूमा नातिकाजी पनि हिन्दी गीतगजलहरूबाट केही प्रभावित देखिन्छन्। यसको उदाहरणको रूपमा नीरव रातमा आँसु खसाली र जीवनको सहारा त्यो आशा न बिदा गर्नजस्ता त्यसबेलाका केही गीतहरुलाई लिन सकिन्छ । साङ्गीतिक यात्राको क्रममा नातिकाजीले नेपाली लोकलय, नेवारी लोकलय र शास्त्रीय सङ्गीतलाई आधार बनाएर सङ्गीत सिर्जना गर्न थाले र नेपाली मौलिकपन भएका गीतहरु रचना गर्न उनी सक्षम भए, यसरी विस्तारै उनको सङ्गीत बाहृय प्रभावबाट फरक हँदै आयो। सङ्गीत सिर्जना गर्दा शब्दको भावअनुसार सङ्गीत सिर्जना गर्न रुचाउने नातिकाजी गीत रेकर्ड गर्दा शब्दको उच्चारण गलत नहोस् भनेर निकै होसियारी अपनाउँथे। उनको होसियारी गायिका तारादेवीको गीत रेकर्ड अझ विशेषरुपमा देखिन्थ्यो।

नेपालको चर्चित सङ्गीतकार, आकर्षक जिउडाल र लोभलाग्दो मुस्कानसहितको हेराइ, यस्ता गुणहरुले भरिपूर्ण नातिकाजीलाई आफ्नो बनाउन त्यसबेलाका युवतीहरु निकै मरिमेट्थे तर उनले पारिवारिक सहमतिमा वि.सं. २०१७ सालमा वीर अस्पतालमा नर्सको रुपमा कार्यरत सरस्वती राजभण्डारीसँग लगनगाँठो कसे। तीन छोरीहरु सङ्गीता, कविता र सविताका पिता बने। दुवै जागिरे भएका कारण उनीहरुले घरमा निकै कम समय दिए पनि छोरीलाई उचित माया र शिक्षा दिन चुकेनन्।

पशुपति पाठशालाबाट औपचारिकरुपमा एसएलसीसम्मको शिक्षा लिएका नातिकाजी विवाह गरेको एक वर्षपछि पढाइलाई पनि अगाडि बढाउने विचारले त्रिचन्द्र कलेजमा आइ.ए.मा भर्ना भएका थिए तर पारिवारिक जिम्मेवारी र सङ्गीतको व्यस्तताका कारण एक वर्षपछि उनले कलेजको पढाईलाई विश्राम दिए। सङ्गीतको शिक्षा बढाउनपट्टि लागे। यसैक्रममा उनले सन् १९७३ मा प्रयाग सङ्गीत समिति, इलाहावादबाट शास्त्रीय सङ्गीतमा विम्युज् गरे। पहेँलो रङको कपडा अलि बढी मन पराउने नातिकाजी साथीभाइ भेला पारेर मीठोमीठो खान, पिउन र रमाइला गफ गर्न रुचि लाग्थ्यो। वि.सं. २०२० सालदेखि २०४० सम्मको समयलाई नेपाली सङ्गीतका लागि स्वर्णिम युग मानिन्छ। यसै स्वर्णिम युगका महत्त्वपूर्ण धरोहर हुन् नातिकाजी। यसै अवधिमा उनका उत्कृष्ट रचनाहरु निस्किएका छन्। धर्मराज थापा, उस्ताद साइँलाहरुको लोकलहरी, मित्रसेन थापाको लाहुरे लोकशैली र मास्टर रत्नदास प्रकाशको तत्कालिक हिन्दुस्तानी शैलीको सङ्गीतमा हिँडिरहेको नेपाली सङ्गीतलाई परिमार्जन गरेर आज सबै नेपालीले गर्व गर्न लायकको आधुनिक सङ्गीत भनेर चिनिने शैलीको सङ्गीतको निर्माण गर्नमा नातिकाजीको ठूलो हात रहेको छ।

नातिकाजीको सङ्गीतमा थुप्रै नेपाली गायकगायिकाहरुले आफ्नो स्वर दिएर चर्चित बन्ने सौभाग्य पाएका छन्। प्रेमध्वज प्रधान, तारादेवी, योगेश वैद्य, रुवि जोशी, फत्तेमान, उदितनारायण झादेखि रामकृष्ण ढकाल, यम बरालसम्मका लागि सङ्गीत तयार गरेका छन्। कुनै पनि गीतको संगीत तयार गर्नुपहिले नातिकाजी शब्दलाई ध्यान दिएर दोर्‍याई तेर्‍याई पढ्थे अनि अलिअलि धुन फेर्नासाथ सुसेल्न थाल्थे। र, त्यसपछि एउटा चुरोट सल्काएर लामो श्वासले धुवाँ फाल्दै हार्मो्नियममा उक्त धुनलाई गाउन थाल्थे। यसरी उनी गीतको सङ्गीत तयार पार्थे। नातिकाजीको सङ्गीत राजदरबारका लागि पनि निकै प्रिय थियो। त्यतिखेरका राजपरिवारका सदस्यहरु उनी भनेपछि झुम्मिन्थे। राजपरिवारका सदस्यहरुका शब्दमा समेत सङ्गीत भरेका नातिकाजीको सङ्गीतको ट्युनिङ चादनी शाहको शब्दमा गजबसँग मिलेको छ। उनले सङ्गीत गरेका चाँदनी शाहका सबै गीतहरु श्रोतामाझ लोकप्रिय बने। रेडियो नेपालमा राजा वीरेन्द्रको हुकम प्रमाङ्गीबाट शाखा अधिकृत हुदै उपसचिवस्तरीय सङ्गीतकारसम्म भएका र वि.सं. २०४६ सालदेखि उमेरका कारण रेडियोको जागिरबाट अवकाश पाएका नातिकाजीले यस अवधिमा थुप्रै गीतहरुमा सङ्गीत दिए। आधुनिक, चलचित्र, नेवारी, राष्ट्रिय, लोक सबै प्रकारका गीतमा सङ्गीत दिएका नातिकाजीका पिंजराको सुँगा, कुञ्जिनी, हामी आफ्नै भरमा ज्युँदै छौँ, भक्त प्रल्हाद, पृथ्वीनारायण शाहका चार पक्ष लगायतका २२ वटा जति गीतिनाटक अहिले पनि रेकर्डको रुपमा रहेका छन्। त्यस्तै उनले मनको बाँध, सिन्दूर, २५ वसन्त, शान्तिदीप, चेलिबेटीजस्ता केही चर्चित चलचित्रहरुमा पनि सङ्गीत दिएका छन्।

लगभग ४००० जति गीतमा सङ्गीत गरेका नातिकाजीका गीतहरु रेकर्ड भएका अनुपातमा निकै कम मात्र गीतहरुले श्रोताको मन छुन सफल भएका छन्। रेडियो नेपालमा मेसिनले झै सङ्गीत सिर्जना गरेका कारण कतिपय उनका गीतका मेलोडी सामान्य किसिमका लाग्छन्। गीत सङ्गीत भनेपछि मरिमेट्ने नातिकाजी रोगका कारण थलिएर ओछ्यानमा ढल्दासमेत उनको सङ्गीत माग्न आउनेहरुलाई खाली हात फर्काउँदैन थिए। यिनका सङ्गीतमा पाइने दुःखात्मक, सुखात्मक र राष्ट्रनिर्माणमा जुर्मुराउने उत्साहपूर्णलयले गर्दा उनी अमर छन्। वास्तवमा उनको त्यो कलात्मक व्यक्तित्वले उनी नेपाली सङ्गीतका ज्योति भए। गाउँपाखा, सहरबजार सबैतिरका नेपाली अझै पनि बोल्छन्– “नातिकाजी नै रेडियो नेपाल हो र रेडियो नेपाल नै नातिकाजी हुन्।” वास्तवमा त्यति बेला नातिकाजीले यसबारेको एउटा ठूलो फाँट नै स्थापना गरेका थिए। त्यसैले उनलाई नेपाली साङ्गीतिक क्षेत्रका सङ्गीतशिरोभूषण भनियो। कर्मको गुण, परिमाण र योगदानको मर्मलाई समेट्न उनका लागि यो उपमा पनि थोरै हुन्छ भने उनी नेपाली सङ्गीतका शङ्कराचार्य हुन्। नातिकाजीका त्यस बेलादेखिका सङ्गीतका सम्पूर्ण सङ्ग्रहहरू हेर्ने हो भने यिनका दुई हजारभन्दा बढी साङ्गीतिक धूनहरू रेडियो नेपालमा रहेका छन्। यिनले युवावस्थामा गीत पनि गाएका थिए। त्यसबेला गाएका यिनका दुई सयवटा गीतहरू रेडियो नेपालमा सुरक्षति छन्। त्यति मात्र होइन यिनका बाईसवटा अपेराहरू रेडियो नेपालमा सुरक्षित छन्। यिनले आफैले गीत पनि लेखे। यिनले जम्मा सातवटा गीतहरू लेखे। मान्छेले गीत सुन्ने इच्छा मात्रै गर्छ भने पनि यिनको स्वर, सङ्गीत र रचनालाई मन नपराउने मान्छे नै हुँदैनन् किनभने यिनी गाउँदा, लेख्ता र सङ्गीत भर्दा नेपाली मुटुको ढुकढुकीबाट प्रस्तुत गर्ने गर्थे नातिकाजीले सङ्गीतकै सिलसिलामा नेपालका विभिन्न भूभाग डुले। नेपालीहरूका घरआँगनमा गएर गीत गाउने, सङ्गीत पोख्ने र रचना गर्ने नातिकाजी सरल जीवन र उच्च विचारका कुबेर थिए। उनको सरलताको अझै धेरैले तारिफ गरे, उनको व्यवहारको थुप्रैले पाठ सिके र उनको महानताको कदर गर्ने मान्छे पनि त्यत्ति नै भेटिए।

पुरस्कार तथा सम्मान[सम्पादन गर्ने]

विभिन्न विभूषणबाट विभूषित नातिकाजीले जीवनभरि सङ्गीतमा समर्पित भएवापत गोर्खा दक्षिण बाहु प्रथम, इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार, छिन्नलता पुरस्कार, भूपाल सङ्गीत पुरस्कार र नई सुरसम्मान प्राप्त गरे । यिनले नेपालका विभिन्न साङ्गीतिक, साहित्यिक र सामाजिक सङ्घसंस्थाबाट अरू पनि पुरस्कार, सम्मान र अभिनन्दन पाए । साथै उनको जीवनकालमा नईद्वारा सम्पादित ‘सङ्गीत शिरोभूषण नातिकाजी’ र विमल भौकाजीद्वारा सम्पादित यशस्वी सङ्गीत तपस्वी नातिकाजी पुस्तक प्रकाशनमा आएको छ।

चलचित्रमा[सम्पादन गर्ने]

वर्ष चलचित्र भूमिका टिप्पणी
१९७४ मनको बाँध सङ्गीत निर्देशक[३]
१९८० सिन्दुर सङ्गीत निर्देशक
१९८९ पच्चीस बसन्त सङ्गीत निर्देशक/ षृष्ठभूमिमा सङ्गित
१९८९ शान्ति दिप सङ्गीत निर्देशक

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "नातिकाजी - नेपाली हामी रहौँला कहाँ नेपालै नरहे | म्युजिक्सम्याक्स", म्युजिक्सम्याक्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०७-२९ 
  2. "नातिकाजी श्रेष्ठको जीवनी", २०१३-०६-०९, मूलबाट २०१३-०६-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०७-२७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "नातिकाजी श्रेष्ठ - अभिनय, चलचित्र, हालैको चलचित्र, आउँदो चलचित्रहरू सुची", रिल नेपाल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०७-२९ 

बाहिरी कडीहरू[सम्पादन गर्ने]