पाण्डव सुनुवार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


नेपाली आधुनिक गीतका सर्जक, गायक एवं प्रसिद्द रेडियो उदधोषक|

परिचय[सम्पादन गर्ने]

रेडियो नेपालमा कार्यरत रहँदा मास्टर रत्नदास प्रकाश, शिवशङ्कर, नातिकाजी, तारादेवी, हिरण्य भोजपुरे आदिको सङ्गत र हौसलाले सङ्गीत क्षेत्रमा लागेका सुनुवारले नेपाली सङ्गीतलाई उत्कृष्ट लोकलयहरूको उपहार छाडेका छन्। २०३० सालतिर सपनाभरि हाँसिरहन्छु...बोलको गीत गाएर गायन क्षेत्रमा प्रवेश गरेका सुनुवार का " ऐंसेलुको पात..., सक्यो नानी सक्यो नानी..., शहरै जाउँला नि धन कमाइ ल्याउला... " जस्ता उनका दर्जनौ गीतहरू आज पनि जनजिब्रोमा झुण्डिएका छन्। एक समय सुनुवार र वासुदेव मुनालको जोडी नेपाली गायन क्षेत्रमा खुबै छाएको थियो। दुवैको संयुक्त स्वरमा पाँच दर्जन जति गीत रेकर्ड भएका छन्। उनको फ्याफुल्ला गीति अल्बम र रेडियो प्रसारणका आरोह अवरोह नामक पुस्तक समेत प्रकाशित छन्।

योगदान[सम्पादन गर्ने]

रेडियो नेपालका फोन इन, चौतारी, झरना र झङ्कार, सुनगाभा, इन्द्रेणी जस्ता कार्यक्रममार्फत् रेडियो–श्रोतामाझ अत्यन्त प्रिय बनेका सुनुवारको आवाजमा एक खालको जादु नै थियो। कुनै बेला रेडियो नेपालको सर्वाधिक लोकप्रिय कार्यक्रम फोन इनको सुरुआत उनैले गरेका थिए। दुई दशकअघि कोरिया र हङकङका रेडियोको सिको गरेर उनले नेपालमा शुरु गरेको फोन इनको लोकप्रियताको फाइदा अहिलेका एफएम रेडियो र टेलिभिजनहरूले पनि लिइरहेका छन्। त्यस्तै, चौतारी मार्फत् उनले गाउँघरका प्रतिभाशाली कलाकारहरूको आवाजलाई रेडियोमा गुञ्जिने अवसर दिलाएका थिए।

प्रसिद्दि[सम्पादन गर्ने]

पाण्डव सुनुवारले नेपाली साङ्गीतिक दुनियाँमा हत्तपत्त नमेटिने पहिचान मात्र बनाएका थिएनन्, मीठो आवाजको रेडियोकर्मी तथा संस्कृतिविद्का रूपमा श्रोतामाझ मजैले छाएका थिए उनी। पाण्डव सुनुवारको आवाजको लोकप्रियतालाई शारीरिक रूपसँग दाँजेर कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ठट्यौली कथन बनाएका थिए, “अनुहार न दनुवार पाण्डव सुनुवार।” आफ्ना बारेमा यसरी उखानै बनेको देख्दा उनलाई गर्वको अनुभूति हुन्थ्यो। रेडियोको आवाज, ठेट शब्दयुक्त लोकगीत र यस्तै उखानहरूमार्फत् सुनुवार कुनै न कुनै रूपमा सुनिन्थे, चर्चा–परिचर्चाको विषय बनिरहन्थे। उनका कमजोरी, आनीवानी र आलोचनाका कुरा यी विशेषताका अघि निष्प्राण देखिन्थे। “हेल्लो...कहाँबाटको बोल्दै हुनुहुन्छ? अनि, त्यहाँको मौसम कस्तो छ नि?...” जस्ता प्रश्नहरूबाट सुनिने रेडियो वार्ताहरूले सदैव उनलाई सम्झाइरहने छन्। कलेजोसम्बन्धी रोग सिरोशिषबाट पीडित सुनुवारको २१ असोजमा लण्डनस्थित किङ्गस कलेज हस्पिटलमा निधन भएको थियो|

गीतहरू[सम्पादन गर्ने]

    • भिज्यो तिम्रो रातो पछ्यौरी नि लै लै...,
    • बाबरी फूलको बोट...,
    • बाईरोडको बाटोमा ट्याक्सी गुडाउँदै...,
    • यो दाजुको मिर्मिरे आँखा...,
    • साउने खोला उर्लेर आउँदा...,
    • म रक्त हुँ यो देशको ...
    • ऐंसेलुको पात...,
    • सक्यो नानी सक्यो नानी...,
    • शहरै जाउँला नि धन कमाइ ल्याउला...
  • [१] अस्तायो मीठो आवाज