सामग्रीमा जानुहोस्

गोविन्दबहादुर मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोविन्द बहादुर मल्ल
जन्मवि. सं. १९७९ असार २९
मृत्यु२०६७ मंसिर २७
काठमाडौँ
पेशालेखक
भाषानेपाली
राष्ट्रियतानेपाली नेपाल
नागरिकतानेपाली
विधाकथा, नाटक, उपन्यास
उल्लेखनीय कार्यहरूपल्लो घरको झ्याल
आफन्तहरूभाइ विजय मल्ल

गोविन्द बहादुर मल्ल “गोठाले” (वि. सं. १९७९ - वि.सं. २०६७) नेपाली भाषाका चर्चित साहित्यकार हुन्। ऋद्धिबहादुर मल्ल र आनन्दमायाबाट काठमाडौँको पुरानो भन्सारमा जन्मिएका जयबहादुर मल्लको साहित्यिक नाम गोविन्दबहादुर मल्ल गोठाले हो । उनले सिद्धिचरणबाट लेख्ने, रिमालबाट आधुनिक बन्ने र देवकोटाबाट लगनशील बन्ने प्रेरणा पाएका हुन् । उनले कथा, उपन्यास र नाटकका क्षेत्रमा ख्याति प्राप्त गरेका छन् ।[]

गोठालेको जन्म वि. सं. १९७९ असार २९ गते ओमबहाल, काठमाडौँमा भएको थियो। उनका बाबु सुब्बा ऋद्धिबहादुर मल्ल र आमा आनन्दमाया हुन्। शारदाका प्रकाशक/सम्पादक उनका पिता ऋद्धिबहादुर भाषासेवी थिए भने दाजु विजय मल्ल ठूला साहित्यकार थिए। उनले आई.एस्सी. सम्म पढे। नीजि व्यवसायमा संलग्न रहे।

कवि सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटा लगायतसँग उठ्बस गर्न भ्याएका गोठाले नाटक, कथा र उपन्यास गरी तीन विधाका पहिलो आधुनिक प्रयोक्ता थिए। गोठालेले साहित्यिक पत्रिका शारदाको सम्पादक भएर समेत काम गरे ।

उनी शारदाका सम्पादक र जोरगणेश प्रेसका निर्देशक रहे। यसका साथै विभिन्न कालमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य, प्रेस काउन्सिलका सदस्य, निर्वाचन आयोगका सदस्य, नेपाल लेखक सङ्घका अध्यक्ष भए। आफू सम्पादक हुँदा शारदालाई उनले नेपाल बाहिरका नेपाली भाषी माझ समेत पुर्‍याएका थिए। गोठाले नेपालको पहिलो दैनिक अखबार आवाजको प्रधान सम्पादकसमेत भएका थिए।

उनले वि. सं. १९९२ तिरै लेखेको 'ममता' शीर्षकको कविता उनका पहिलो रचना हो। गोठालेद्वारा वि. सं. २०१६ सालमा लेखिएको पल्लो घरको झ्याल उपन्यासले अत्यधिक लोकप्रियता पाएको थियो। कथा, उपन्यास, नाटक आदिमा कलम चलाएका मल्लका कृतिहरू यस प्रकारका छन्:

प्रकाशन मितिशीर्षकविधा
वि. संकथा सङ्ग्रहकथा सङ्ग्रह
वि. सं २०१३भुसको आगोनाटक
वि. सं २०१६पल्लो घरको झ्यालउपन्यास
वि. सं २०१६कथैकथाकथा
वि. सं २०१६च्यातिएको पर्दानाटक
वि. सं २०२७दोष कसको छैननाटक
वि. सं २०३४भोको घरनाटक
वि. सं २०३९प्रेम र मृत्युकथा सङ्ग्रह
वि. सं २०५२बाह्रकथाकथा सङ्ग्रह
वि. सं २०५३अपर्णाउपन्यास
वि. सं २०५६पियानानीउपन्यास
वि. सं २०६१जङ्गबहादुर र हिरण्यगर्भकुमारीकथा

नेपाली भाषा-साहित्यका विविध विधामा खास गरी कथा, नाटक र उपन्यासमा पाँच दशकभन्दा बढी समयदेखि उच्च दर्जाका कृतिहरूको सिर्जना गरी नेपाली वाङ्मयको श्रीवृद्धिका लागि उल्लेखनीय योगदान गरेबापत उनले २०५५ सालको जगदम्बाश्री पुरस्कार पाएका उनका अन्य सम्मानहरू निम्नानुसार छन्:-

  • नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको मानार्थ आजीवन सदस्य (२०३३)
  • गोरखा दक्षिण बाहु दोस्रा (२०३६)
  • त्रिभुवन प्रज्ञा पुरस्कार (२०४२)
  • भवानी साहित्यिक पत्रकारिता पुरस्कार (२०४५)
  • वेदनिधि पुरस्कार (२०४८)
  • सर्वश्रेष्ठ रचना पुरस्कार (२०५०)
  • पहलमानसिंह स्वाँर पुरस्कार (२०५२)
  • सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार (२०५३)

नेपालका विभिन्न ठाउँ, भारत, लेबनान, फ्रान्स, जर्मनी, इटली, चीन, थाइल्यान्ड, बेलायत, हल्याण्ड, सिरिया, बेल्जियम आदि देशको भ्रमण गरेका मल्ल नेपाली साहित्य आकाशका कहिल्यै ननिभ्ने तारा हुन् ।

उनको वि.सं. २०६७ मंसिर २७ गते (सन् २०१० डिसेम्बर १३) का दिन ८९ वर्षको उमेरमा निधन भयो।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, काठमाडौँ : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]