दौलतविक्रम विष्ट
दौलतविक्रम विष्ट | |
---|---|
जन्म | वि.स १९८३ असोज ६ भोजपुर, नेपाल |
मृत्यु | वि.स २०५८ पुस १३ |
पेशा | साहित्यकार |
दौलत विक्रम विष्ट (वि.सं. १९८३- वि.सं. २०५९) एक प्रसिद्ध नेपाली उपन्यासकार थिए। सामान्यतया नेपाली कथा र उपन्यासको क्षेत्रमा कलम चलाउने विष्टले वि.सं. २०४५ सालमा ज्योति ज्योति महाज्योति उपन्यासका लागि मदन पुरस्कार प्राप्त गरेका थिए।[१]
पारिवारिक पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]साहित्यकार दौलतविक्रम विष्टको जन्म वि.सं. १९८३ साल असोजको ६ गतेका दिन भोजपुरमा भएको थियो। उनको बुबाको नाम सोमराज विष्ट हो भने उनको आमाको नाम मानकुमारी विष्ट हो। विष्टका बुबा सरकारी जागिरे भएकाले उनको बाल्यकाल काठमाडौँ, भोजपुर, सल्यान, रक्सौल र झापामा बितेको थियो। विष्ट १३ वर्षका छँदा उनको आमाको मृत्यु भएको थियो जसको प्रभाव विष्टमा पछिसम्म पनि परेको थियो। आमाको मृत्युपछि उनका बुबाले दोस्रो विवाह गरेका थिए। विष्ट लामो समयसम्म भन्सारमा जागिरे भएका हुँदा उनलाई आर्थिक सङ्कटमा झेल्नु परेको थिएन। विष्टको पहिलो विवाह १९ वर्षको उमेरमा भएको थियो। विष्टको मृत्यु पक्षघातका कारण वि.सं २०५९ साल पुस १३ गते भएको थियो।[२]
शिक्षा र पेशागत जीवन
[सम्पादन गर्नुहोस्]दौलत विक्रम विष्टले पाँच वर्ष उमेरमा अक्षरारम्भ गरेका थिए तर विष्टका पिताको जागिर सरुवा भएका कारण एकै स्थानमा स्थिर भएर पढ्ने अवसर उनलाई उपलब्ध थिएन।[३] विष्टले प्राथमिक शिक्षा काठमाडौँ, झापा र सल्यानका केही विद्यालयबाट हासिल गरेका थिए। दरबार हाइस्कुलमा पढ्न लागेपछि विष्टको शिक्षा नियमित हुन थालेको थियो विष्टले वि.स २००४ सालमा निजामती मध्यमा (प्रवेशिका सरह प्रथम श्रेणीमा) र वि.सं २०१२ सालमा आदर्श विद्यापीठ हाइस्कुल काठमाडौँबाट तृतीय श्रेणीमा प्रवेशिका उत्तीर्ण गरेका थिए। यसपछि उनले त्रिभुवन विश्वविद्यालयमा कला र शिक्षा सङ्कायमा अध्ययन गरेका थिए भने त्यसपछि विष्टले भारतको अलिगढ विश्वविद्यालयबाट भने साहित्यरत्न तहको अध्ययन प्रथम श्रेणीमा पुरा गरेका थिए। विष्टको नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा राम्रै पहुँच थियो भने उनले मैथिली, राजवंशी, ताजपुरी र भोजपुरी भाषाको पनि सामान्य प्रयोग गर्न सक्षम थिए।[३]
विष्टले वि.स २००८ सालबाट जागिरे जीवन सुरु गरेका थिए। सुरुमा उनले वन उपमन्त्रीका निजी सचिव भएर ८ महिना काम गरेका थिए भने उनले पछि भन्सार तथा अन्तशुल्क विभागमा वरिष्ठ अधिकृतको पदमा रहेर वि.सं २०१८ सालसम्म सेवा गरेका थिए। उनले वि.सं २०२२ सालमा पञ्चायती व्यवस्थाको गृह मन्त्रालयको मुस्ताङ उत्तरी प्रशासन हेर्ने सहयोगी बनेर काम गरेका थिए। त्यसपछि वि.सं २०२३ सालमा पोखरा नगर पञ्चायतमा प्रधान अधिकृत भएर दुई महिना, २०२३ साल फागुनदेखि २०३६ साल फागुनसम्म रेडियो नेपालमा (२०३५–०३६ मा राजपत्राङ्कित द्वितीय श्रेणी, उपनिर्देशक), २०३६ चैतदेखि केही समय जलविद्युत् तथा सिञ्चाइ मन्त्रालय अन्तर्गत साना जलविद्युत् विकास समितिको प्रशासकीय अधिकृतमा र पछि शिक्षा मन्त्रालय अन्तर्गत रहेर जिल्ला शिक्षा अधिकारीका रूपमा स्याङ्जा र नेपालगञ्जमा काम गरेका थिए।[३]
साहित्य यात्रा
[सम्पादन गर्नुहोस्]विष्टको साहित्यिक यात्राको औपचारिक थालनी कविता विधाबाट भएको थियो। विष्टले मात्र दश वर्षको उमेरमा झापाको गौरीगञ्जमा स्थानीय भाषामा गीत लेखेर सुनाएका थिए। "आँँखा" नामक पत्रिकामा साहित्यकार कृष्णचन्द्रसिंह प्रधान प्रमुख सम्पादकको रूपमा रहेको बेलामा उनले आँखा नाम राखेर वि.सं २००४ मा, कविता प्रकाशित गराएका थिए जसलाई उनको प्रथम पटक प्रकाशित साहित्यिक कृतिको रूपमा लिन सकिन्छ। वि.सं १९९८ मा हिन्दी भाषामा राधेश्याम बरेलीद्वारा लिखित ‘वाल्मीकि नाटक’को अनुवाद र "लैला मजनु" गीति नाटकका आधारमा "चाँद चकोरी" नाटक लेखी इन्द्रजात्रा र गाईजात्रामा मञ्चन पनि गरेका थिए। यस्तै रुसी साहित्यकार चेखभको ‘नर्तकी’ कथालाई एकाङ्कीका रूपमा परिवर्तन गरी गोरखापत्रमा छपाएका थिए। दरबार हाई स्कुलमा पढ्दा समको "मुकुन्द इन्दिरा" नाटकमा अभिनय गरेका हुँदा नाटक सिर्जनाबाट उनी प्रेरित बनेका थिए। कवितापछि विष्टको औपचारिक लेखन कथाबाट भएको थियो। सुरुवातमा पस्वच्छन्दतावादी कथा लेखेता पनि उक्त लेखनहरू प्रकाशन गर्न योग्य नभएकोले उनले समसामयिक वास्तविकतामा आधारित कथा लेखन थालेको थिए। [४] कथा र उपन्यास विधा बाहेक विष्टले वि.सं २००७ सालमा शारदा मासिक पत्रिकामा नेपाली नारीहरूको वैवाहिक स्थिति, सुकुम्बासीहरूको समस्या र विदेश सेनामा नेपाली लगायतका लेखहरू प्रकाशित गराएका थिए। रेडियो नेपालले सञ्चालन गरेको झङ्कार नामक पत्रिकामा उनले नेपाली साहित्यमा कथाको विकास क्रम (वि.सं २०१७), आत्म निर्भरता (वि.सं २०२८) लगायतका प्रवन्धहरू पनि प्रकाशित गरेका थिए।[३] उनको पहिलो नाट्य कृति क्रान्तिलाई मानिन्छ।[५] सात सालको क्रान्तिलाई विषयवस्तु बनाई उक्त नाटक रचना गरिएको थियो। नेपाली नाटक र एकाङ्कीको क्षेत्रमा उनले ३० वटा पूर्णाङ्की र त्यही ३०-४० वटा एकाङ्की नाटक लेखन गरेका थिए। पछि उनका केही नाटक र एकाङ्की मञ्चन गरिएको थियो भने केहीलाई रेडियोबाट प्रसारण गरिएको थियो।[६]
वि.सं २००५ सालमा शारदा मासिक पत्रिकामा प्रकाशित 'ऊ गयो' कथा विष्टको पहिलो प्रकाशित कथा हो। कथा लेखन आरम्भ गरेपछि सिद्धिचरण श्रेष्ठ, गोविन्दबहादुर मल्ल गोठाले लगायताका साहित्यकारहरूले उनको कथाको प्रशंसा गरेका थिए।[७] उनका कविता, निबन्ध, कथा, नाटक, संस्मरण एवम् उपन्यास रचनाका क्षेत्र हुन्। विभिन्न विधामा कलम चलाएपनि उनको सफलता भने कथा र उपन्यास लेखनमै रहेको थियो। मञ्जरी (१०१६), एक पालुवा अनेकौँ याम (२०२६), चपाइएका अनुहार (२०३०), विग्रिएको बाटो (२०३३), थाकेको आकाश (२०३४), भोक र भित्ताहरू (२०३८), ज्योति ज्योति महाज्योति (२०४५), हिमाल र मान्छे (२०४५), फाँसीको फन्दामा (२०५३) जस्ता उपन्यासहरू प्रकाशित छन्।[८] उनका प्रदर्शनी (२०३३), गालाको लाली (२०२५), छायाँ (२०३१), घाउका सत्र चक्का (२०३५), नौलो कथा (२०४९) र आँसु त्यसै त्यसै छचल्किन्छ जस्ता कथा सङ्ग्रहहरू पनि प्रकाशित छन्।[९] उनका सात कथा सङ्ग्रहहरू प्रकाशित छन्। नेपाली साहित्य समाज र संस्कृतिलाई टेवा पुर्याए बापत उनलाई विभिन्न पुरस्कारद्वारा सम्मानित गरिएको थियो। दुर्गम सेवा पदक (२०१८), महेन्द्र प्रज्ञा पुरस्कार (२०३२), मदन पुरस्कार (२०४५), साझा पुरस्कार (२०४९), गङ्की वसुन्धरा पुरस्कार (२०५३), भूपालमान सिंह पुरस्कार (२०५५), वसुन्धरा श्री पुरस्कार (२०५८) जस्ता थुप्रै पुरस्कार र सम्मानहरू प्राप्त गरेका थिए। [१०]
साहित्यिक विशेषता
[सम्पादन गर्नुहोस्]विष्ट कथा र उपन्यासको क्षेत्रमा कमल चलाउने बहुमुखी व्यक्तित्व हुन्। कथा र उपन्यास बाहेक उनले आख्यान, निबन्ध, नाटक र कवितामा पनि चलम चलाएका थिए जसमध्ये कविताको क्षेत्रमा उनको उपस्थिति नगण्य छ। समाजप्रतिको चासो र समसामयिक विषयमा उनले रचना गरेको पाइन्छ। वि.सं २००५ देखि कथाको क्षेत्रमा उनी लागिपरेका थिए। सामान्यतया उनको कथा र उपन्यासमा उनले समस्य र गरिबीबाट पीडित तात्कालिक नेपाली समाज वास्तविक चित्रण उनले गरेका छन्।[११] उनका कतिपय कथाहरू यथार्थवादी दृष्टिकोणबाट ओतप्रोत छन्। उनका रचनामा अवचेतन प्रवाह, वैचारिकता, अस्पष्टता, अमूर्तता, प्रतीकात्मकता, यौन मनोविश्लेषणात्मकता, कथाहीनता वा अकथा जस्ता प्रयोगशीलता प्रयोग भएको देखिन्छ।[८] उपन्यास लेखनमा उनले आदर्शवाद, सामाजिक यथार्थवाद, मनोवैज्ञानिक र अस्तित्व तथा विसङ्गतिवादसँग आधारित रहेर रचना गरेका छन्। पाठ्यक्रममा समेत समावेश भएको उनको भोक र भित्ताहरू (२०३८) उपन्यास सामाजिक यथार्थवादी धारमा लेखिएको छ। त्यस्तै चपाइका अनुहार र थाकेको आकाश जस्ता साना आकारका उपन्यासमा उनले मनोविज्ञान, मावतावाद, अस्तित्व तथा विसङ्गतिवाद, राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेश जस्ता विधाहरूको प्रयोग गरेका छन्। मदन पुरस्कारबाट सम्मानित उनको ज्योति ज्योति महाज्योति उपन्यासमा दार्शनिकता र सघन सांस्कृतिकता र आदर्शको स्वर पाइन्छ।[८]
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]दौलतविक्रम विष्टको पहिलो विवाह उनी १९ वर्षको उमेर छँदा भएको थियो भने उनले दोस्रो विवाह नुतनकुमारी बस्नेतसँग भएको थियो जसबाट उनका श्रीविक्रम, ओमविक्रम, कैलाशविक्रम र अनन्तविक्रम गरि चार छोरा र इन्दिरा र निरू गरि २ छोरी जन्मिएका थिए। उनकी दोस्रो श्रीमतीको निधन वि.सं २०५४ सालमा भएको थियो भने उनको निधन जेठा छोरा श्रीविक्रमको घरमा २०५८ साल पुस १३ गते भएको थियो।[३]
कृतिहरू
[सम्पादन गर्नुहोस्]प्रकाशन मिति | शीर्षक | विधा |
---|---|---|
२०१४ | गालाको लाली | कथा |
२०१६ | मञ्जरी | उपन्यास |
दशवर्ष पछि | नाटक | |
२०२३ | प्रदर्शनी | कथा |
२०२६ | एक पालुवा अनेकौँ याम | उपन्यास |
२०३० | चपाइएका अनुहार | उपन्यास |
२०३१ | छाया | कथा |
२०३४ | थाकेको आकाश | उपन्यास |
२०३५ | घाउका सत्र चक्का | कथा |
२०३८ | भोक र भित्ताहरू | उपन्यास |
२०४० | आलो कथा | कथा |
२०४५ | हिमाल र मान्छे | उपन्यास |
२०४५ | ज्योति ज्योति महाज्योति[१२] | उपन्यास |
२०४८ | आँसु त्यसै त्यसै छचल्किन्छ[१३] | कथा |
२०५३ | फाँसीको फन्दामा | उपन्यास |
२०५७ | एक एकाङ्की दश कथा | कथा |
पुरस्कार तथा सम्मानहरू
[सम्पादन गर्नुहोस्]- २००८ सालमा नेपाली भाषा प्रकाशिनी समितिले उपन्यास लेखन प्रतियोगिता गराई ‘मञ्जरी’ उपन्यासलाई प्रथम घोषित (तर त्यसका लागि दिने भनेको रु.९००।– नदिएको),
- नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट कथा र उपन्यासमा नयाँ मोड ल्याएको मानेर महेन्द्र प्रज्ञा पुरस्कार (२०३२)
- मदन पुरस्कार गुठीबाट ‘ज्योति ज्योति महाज्योति’ उपन्यासका लागि मदन पुरस्कार (२०४५),
- साझा प्रकाशनबाट ‘आँसु त्यसै त्यसै छचल्किन्छ’ कथा सङ्ग्रहका लागि साझा पुरस्कार (२०४८),
- भूपालमान स्मृति प्रतिष्ठानले भूपालमान स्मृति पुरस्कार (२०५५),
- प्रबल गोरखा दक्षिण बाहु चौथा (२०३०),
- दुर्गम सेवा पदक र
- जनसेवा पदक (२५ वर्ष नोकरी पुगे बापत)
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "मदन पुरस्कारकाे ६२ वर्षे इतिहास, हालसम्म क-कसले पाए पुरस्कार ?"। जनता भ्वाइस। २० अगस्ट २०१७।
- ↑ "दौलत विक्रम विष्ट र उनको साहित्यकारिताको आकलन"। समकालीन साहित्य (नेपाली) भाषा)। सङ्ग्रह मिति २१ अगस्ट २०२१।
- ↑ ३.० ३.१ ३.२ ३.३ ३.४ "दौलत विक्रम विष्ट र उनको साहित्यकारिताको आकलन" (नेपाली) भाषा)। समकालीन साहित्य। सङ्ग्रह मिति २५ अगस्ट २०२१।
- ↑ शाखा अधिकृत प्रारम्भिक परिक्षा बृहत् कोष
- ↑ (शर्मा, २०३८: २७)
- ↑ (विष्ट, २०५२ख: १४–१५)
- ↑ पौडेल, विष्णु प्रसाद (२०५६), “चरित्रविधानका कोणबाट दौलत विक्रम विष्टका उपन्यासहरूको अध्ययन”, काठमाडौँ: त्रि. वि., मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालय, लघु अनुसन्धान–पत्र।
- ↑ ८.० ८.१ ८.२ नेपाली कथा र उपन्यास: सिद्धान्त र समीक्षा
- ↑ जैन, रवीन्द्र कुमार (सन् १९९०), साहित्यालोचन के सिद्धान्त, दिल्ली: नेसनल पब्लिसिंग हाउस।
- ↑ शाखा अधिकृत प्रारम्भिक परिक्षा बृहत् कोष
- ↑ गौतम, कृष्ण (२०५०), आधुनिक आलोचना: अनेकरूप, अनेक पठन. ललितपुर: साझा प्रकाशन।
- ↑ "मदन पुरस्कार समर्पण समारोह (वि.सं. २०४६)"। मदन पुरस्कार गुठी (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ अगस्ट २०२१।
- ↑ Shrestha, N.R. (२०१७), Historical Dictionary of Nepal, Historical Dictionaries of Asia, Oceania, and the Middle East, Rowman & Littlefield Publishers, आइएसबिएन 978-1-4422-7770-0।