सामग्रीमा जानुहोस्

सिद्धिचरण श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिद्धिचरण श्रेष्ठ
सिद्धिचरण श्रेष्ठ
सिद्धिचरण श्रेष्ठ
जन्म१९६८ जेठ ९
ओखलढुंगा
मृत्यु२०४९ जेठ २२
पेशासाहित्य
भाषानेपाली
राष्ट्रियतानेपाली
नागरिकतानेपाली

सिद्धिचरण श्रेष्ठ (वि.सं.१९६९ जेठ ९ – २०४९ जेठ २२) नेपालका नेपाल(नेवारी) र नेपाली भाषी कवि थिए । युगको आवाज वा युगको माग आफ्ना कृतिहरूमा ब्यक्त गरेको भन्दै उनलाई नेपाल सरकारले युगकविको पदवीबाट सम्मानित गरेको छ । पूर्वी नेपालको सगरमाथा अञ्चल अन्तर्गत ओखलढुंगा जिल्लाका तत्कालीन मालअड्डाका हाकिम (खरिदार) तथा सुमति उपन्यासका लेखक बुबा विष्णुचरण श्रेष्ठ र आमा नीरकुमारीका एक मात्र छोराका रूपमा उनको जन्म ओखलढुंगा बजारमा वि.सं १९६९ जेठ ९ गते भएको थियो ।


सुरुवाती जीवन

[सम्पादन गर्नुहोस्]

सिद्धिचरण जन्मेको ओखलढुंगा जिल्लामा त्यसबेला स्कुलको नामनिशान थिएन। ब्राह्मण बालकहरू मात्र गुरुका घरमा गएर रुद्री, चण्डीवेद पढ्ने गर्थे। सिद्धिचरणका पिता दिनभर अड्डा र डेरा फर्केपछि पनि रातको ११/१२ बजेसम्म चल्ने कचहरीमा व्यस्त रहनुहुन्थ्यो भने आमाचाहिँ पूजापाठमै प्रायः दिन बिताउने गर्नुहुन्थ्यो। यस्तो स्थितिमा बालक सिद्धिचरणले ओखलढुंगामा सात वर्षको उमेरसम्ममा केवल बाह्रखरीको मात्र अध्ययन गर्न पाए । पछि वि.स.१९७६ सालमा बाबुआमा ओखलढुंगाबाट आफ्नो घर काठमाडौँ फर्कनुभएपछि सिद्धिचरण पनि सँगसँगै काठमाडौँ आए । तर, काठमाडौँमा पनि त्यतिखेर स्कुलका नाममा दरबार स्कुलबाहेक थिएन र दरबार स्कुलमा सोर्सफोर्सले मात्र पढ्न पाउने र खर्च पनि निकै लाग्ने हुनाले जोकोही यहाँ भर्ना हुन सक्तैनथ्यो। जेहोस्, यहाँ भर्ना भई पढ्न थालेका सिद्धिचरणले १९८४ साल (१५ वर्षको उमेरमा) पाँचौँ कक्षामा पुग्दा सन्ध्या शीर्षक कविता लेखका थिए ।

साहित्यिक यात्रा

[सम्पादन गर्नुहोस्]

सन्ध्या कविता उनको २०२१ सालमा प्रकाशित कवितासङ्ग्रह कोपिलामा सङ्ग्रहित छ। यो कविता नै उहाँको अहिले सम्मको उपलब्ध पहिलो कविता हो। यस प्रकार पाँच कक्षामा पढ्दादेखि नै कविता लेख्न थालेका भए पनि सिद्धिचरणले स्कुलको औपचारिक शिक्षा भने पूरा गर्न सकेनन् । हिसाबमा कमजोर हुनाले कक्षा आठमा पुग्दा नपुग्दै उनले स्कुल छाडे; कक्षा आठसम्मको मात्र स्कुलको औपचारिक शिक्षा हासिल गरे ।

सिद्धिचरणलाई अंश सर्वस्वसहित १८ वर्षको कठोर काराबासको सजाय दिइयो । १८ वर्षको जेल सजाय भएको भए तापनि पछि श्री ३ जुद्धको महर्षी बन्ने अभिलाषाले गर्दा पाँच वर्षपछि अर्थात् २००२ सालमा उनी रिहा भए। कवि सिद्धिचरण यसरी जेलबाट रिहा हुनुभन्दा केही महिनाअघि उनका पिता विष्णुचरण श्रेष्ठको देहावसान भएको थियो तर सिद्धिचरणलाई आफ्ना पिताको दाहसंस्कारसमेत गर्न दिइएन।

उनको मृत्यु वि.स.२०४९ जेठ २२ गते भयो ।

साहित्यिक विश्लेषण

[सम्पादन गर्नुहोस्]
तिम्रै सुन्दर हरियालीमा
तिम्रै शीतल वक्षःस्थलमा
यो कविको शैशवकाल बित्यो,
हाँस्यो, खेल्यो, वन कुञ्ज घुम्यो
मेरो प्यारो ओखलढुंगा !

माथिका हरफहरू सिद्धिचरण श्रेष्ठको कविता ओखलढुंगाका हुन्। उनले १९९२ सालमा (२३ वर्षको उमेर)मा ओखलढुंगा रचेका थिए। यो कविता नेपाली साहित्यको एउटा प्रकृतिपरक कविता हो। यो ओखलढुंगालगायत १९९२ सालसम्ममा सिद्धिचरणका निर्झर, साँझमा हिमालयको दृश्य', 'प्रातकालीन किरण', 'जूनकीरी', 'सपनाझैँ देखेँ तिनलाई', 'वर्षा आयो', 'वसन्तजस्ता कविता शारदामा प्रकाशित भइसकेका थिए। खास गरेर १९९२ सालसम्मका सिद्धिचरणका कविता र लक्ष्मीप्रसाद देवकोटाका पनि शारदामै प्रकाशित यतिञ्जेलसम्मका कविता (मुनामदन खण्डकाव्यसमेत)तर्फ आकषिर्त हुँदै प्रसिद्ध समीक्षक सूर्यविक्रम ज्ञवालीले नेपाली साहित्याकाशका दुई नयाँ तारा शीर्षक समीक्षा प्रकाशित गरेका र त्यसमा उनले लक्ष्मीप्रसाद र सिद्धिचरणले नेपाली कविताका क्षेत्रमा लेखनाथ पौड्यालका समयका परम्परागरगत -परिष्कारवादी कविताधारबाट अलग्गिँदै नवीन -स्वच्छन्दतावादी कविता परम्पराको थालनी गरेको चर्चा गर्दै यी दुई कवि लक्ष्मीप्रसाद र सिद्धिचरणलाई 'नेपाली साहित्याकाशका दुई नयाँ तारा'का रूपमा उपस्थापित गरेपछि लक्ष्मीप्रसाद र सिद्धिचरणको ख्याति फैलिन थालेको थियो।

केवल कक्षा आठसम्मको मात्र स्कुलको औपचारिक शिक्षा हासिल गरेका सिद्धिचरणले १९९० सालमै बीए, बीएल गरिसकेका लक्ष्मीप्रसाद देवकोटासँग पूर्वोक्त प्रकार एकसाथ 'नेपाली साहित्याकाशका नयाँ तारा'को उपाधि पाउनु, त्यो पनि सूर्यविक्रम ज्ञवालीजस्ता दिग्गज समालोचकबाट―चानचुने कुरा होइन। त्यसबाट त्यतिञ्जेल अर्थात् १९९२-९३ सालसम्ममा सिद्धिचरणले औपचारिक नभए पनि अनौपचारिक शिक्षा अर्थात् स्व-अध्ययनबाट, आफूलाई कति माथि उठाइसकेका रहेछन् भन्ने तथ्य प्रमाणित हुन्छ, साथै त्यतिञ्जेलसम्मका सिर्जनाबाट उहाँ लक्ष्मीप्रसाद देवकोटाजस्तै दैवी वर प्राप्त, गडगिफ्टेड, जन्मजात कवि हुनुहुन्थ्यो भन्ने पनि प्रमाणित हुन्छ। यथार्थमा खासगरी यी दुई कवि -लक्ष्मीप्रसाद र सिद्धिचरणले नै सर्वप्रथम नेपाली साहित्यमा लेखनाथ, सम प्रवृतिको परिष्कारवादी काव्यधारा विपरीत स्वच्छन्दतावादी काव्यधाराको नयाँ युगको प्रवर्तन-प्रतिष्ठापन गरेका थिए। यसप्रकार नयाँ युगमा प्रवर्तक-प्रतिष्ठापक हुनाले लक्ष्मीप्रसाद र सिद्धिचरण; यी कविद्वय उसैबेला, अर्थात् १९९२-९३ सालको सेरोफेरोमै वस्तुतः 'युगकवि' बनिसकेका थिए। पछि २००२ सालपछि लक्ष्मीप्रसाद देवकोटा महाकविका रूपमा प्रख्यात भएकाले नेपाली साहित्य जगतमा 'युगकवि' उपाधि सिद्धिचरण श्रेष्ठमै सीमित र रुढ हुनपुग्यो। युगकवि सिद्धिचरण १९९५ सालदेखि एकतन्त्रीय जहानियाँ राणाशासनका विरुद्ध स्पष्टतः विद्रोही एवं क्रान्तिकारी कविका रूपमा लक्ष्मीप्रसाद देवकोटाभन्दा अग्रणी देखापरे। यो तथ्य तलका प्रसंगहरूबाट स्पष्ट हुन्छ ।

१९९५ सालमा फत्तेबहादुर सिंहको सम्पादनमा प्रकाशित नेपाली विहार नामक कवितासंग्रहमा सिद्धिचरणका तीनवटा नेवारी कविता राष्ट्रिय गान', 'वर्षा' र 'गंगुखुसी छापिए, जसमध्य वर्षा शीर्षक कवितामा क्रान्तिबिना थन दैमखु स्वच्छ शान्ति अर्थात् 'क्रान्तिबिना यहाँ हुँदैन स्वच्छ शान्ति' भन्ने पंक्ति परेको थियो। यस पंक्तिमा मुखरति कवि सिद्धिचरणको क्रान्तिचेतले १९९६-९७ सालसम्ममा उत्तरोत्तर प्रखरता पाउँदै गएको कुरा कविका परचिय (१९९५), चम्क युवक (१९९५)जस्ता कविता र विश्वव्यथा (१९९६-९७)जस्तो शोककविताबाट स्पष्ट हुन्छ। आफ्नो चारवर्षे छोरा विश्वचरण श्रेष्ठको मृत्युशोकमा लेखिएको तथा शारदाको १९९६ भदौको अंकमा केही अंश प्रकाशित भएको यो विश्वव्यथाका केही पंक्ति यस्ता छन् :

आज नखाऔँ, नसुतौँ आओ,
सब मिली हडताल मचाऔँ
कसरी चल्ला विधिको सृष्टि
लौ त्यसको पाइन हेरौँ !

त्यतिबेलाको स्वेच्छाचारी क्रूर जहानियाँ राणाशासनको समयमा कवि सिद्धिचरणका यस्ता खुलेआम विद्रोह निम्त्याउने खालका अभिव्यक्तिबाट तत्कालीन निरंकुश शासनसँग मात्र होइन, अपितु सृष्टिकर्ता स्वयं परमेश्वरसित पनि विद्रोह गर्न अति आतुर रहनुभएको खुलासा हुन्छ।

वास्तवमा कवि सिद्धिचरण आफ्ना उपर्युल्लिखित कविताहरूमा त्यसबेला जनमानसमा भित्रभित्रै गुम्सिरहेको र अरू कसैले मुखरति तुल्याउन नसकेको एकतन्त्रीय क्रूर जहानियाँ राणाशासनविरोधी युगीन विद्रोह र क्रान्तिको आवाजलाई नै वाणी दिन अग्रसर रहे। अर्को शब्दमा भन्ने हो भने उनमा अन्तरनिहित युगकवित्व प्रबल रूपमा प्रकटिएको थियो। यो कुरा तत्कालीन एकतन्त्रीय जहानियाँ शासनलाई सह्य भएन ।

कवि सिद्धिचरण जेलबाट रिहा हुनुभन्दा त्यसबेलाको एकतन्त्रीय जहानियाँ शासनको क्रूरताको र कविलाई दिइएको काराबास सजायको कठोरताको सहजै अनुमान लगाउन सकिन्छ। यस्तो परिस्थतिमा कवि सिद्धिचरणले जे गर्नुभयो, त्यो नितान्त युगकवि अनुसार थियो ।

सेवा, पेसा र संलग्नता

[सम्पादन गर्नुहोस्]
१. भूकम्प पीडितोद्वार समितिका कारिन्दा(१९९०)
२. शारदाका सम्पादक(१९९१)
३. दैनिक आवाज पत्रिकाका प्रधान सम्पादक(२००७)
४. कविता पत्रिकाका संस्थापक(२०१२)
५. नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका सदस्य(२०१४)
६. कविता प्रतिकाका प्रधान सम्पादक(२०१८)
७. शारदा पत्रिककाका सम्पादक(२०२२)
८. कविता महोत्सबका संस्थापक(२०२२)
९. राजसभा स्थायी समितिका सदस्य(२०२८)

कविता सङ्ग्रह

[सम्पादन गर्नुहोस्]
१. मेरो प्रतिबिम्ब (२०२१),
२. कोपिला (२०२१),
३. कुहिरो र घाम (२०४५),
४. सिद्धिचरणका प्रतिनिधि कविता (२०४५),
५. तिरमिर तारा (२०४६) र
६. बाँचिरहेको आवाज (२०४६)
१. उर्वशी (२०१७),
२. ज्यानमारा शैल (२०२३),
३. मंगलमान (२०४९) र
४. आँसु (२०६६)

सम्मान/पुरस्कार

[सम्पादन गर्नुहोस्]
  • भूकम्प तक्मा (१९९०),
  • त्रिभुवन पुरुस्कार (२०२७),
  • रत्नश्री सुवर्ण पदक (२०३१),
  • पृथी प्रज्ञा पुरुस्कार (२०४५),
  • बेधनिधि पुरुस्कार (२०४६),
  • गोरखा दक्षिण बाहु,
  • त्रिशक्तपट्ट र
  • श्रीरामपट्ट[]

यी पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. नेपाली कविता र आख्यान- मोहनराज शर्मा र खगेन्द्रप्रसाद लुइँटेल