रानी ऐश्वर्य राज्यलक्ष्मी शाह
| ऐश्वर्य राज्यलक्ष्मी देवी शाह | |
|---|---|
वि.सं २०२९ मा महारानी ऐश्वर्य | |
| नेपालकी महारानी | |
| पदावधि | २०२८ माघ १७ – १९ जेठ २०५८ |
| राज्याभिषेक | २०३१ फागुन १२ |
| जन्म | २००६ असोज २१ लाजिम्पाट दरबार, काठमाडौँ, नेपाल अधिराज्य |
| मृत्यु | १९ जेठ २०५८ (उमेर ५१) नारायणहिटी राजदरबार, काठमाडौँ, नेपाल अधिराज्य |
| जीवनसाथी | राजा वीरेन्द्र (विवाह: २०२६ फागुन १६) |
| सन्तान | दीपेन्द्र शाह अधिराजकुमारी श्रुति राजकुमार निराजन |
| घराना | राणा वंश; (जन्मको आधारमा) शाह वंश; (विवाहको आधारमा) |
| बाबु | केन्द्र शम्शेर जबरा |
| आमा | श्री राज्यलक्ष्मी देवी शाह |
| धर्म | हिन्दु |
ऐश्वर्य राज्यलक्ष्मी देवी शाह (२००६ असोज २१ – २०५८ जेठ १९) वि.सं २०२८ देखि २०५८ मा भएको हत्या नभएसम्म नेपालकी महारानी थिइन्। उनले राजा वीरेन्द्रको महारानीका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै र जीवनभर राजपरिवारमा एक प्रमुख व्यक्तित्वका रूपमा रहेकी थिइन्।
रानी ऐश्वर्यलाई धेरै नेपालीहरूले आफ्नो दृढ उपस्थितिका लागि परिचित एक प्रभावशाली व्यक्तित्वका रूपमा लिन्छन्। वि.सं २०४६ पूर्वको राजतन्त्रको युगमा, उनलाई प्रायः दरबार पछाडिको मुख्य प्रभावशाली शक्तिका रूपमा हेरिन्थ्यो। उनको पहिरन र शैलीको प्रभाव धेरैका लागि सांस्कृतिक आदर्श बनेको थियो।[१]
शासनव्यवस्थामा राजा वीरेन्द्रमाथि निकै हस्तक्षेप र दबाब दिनेमा रानी ऐश्वर्यको आलोचना हुने गरेको छ। राज महेन्द्र हुँदा रानी रत्नले राजपरिवारको घरायसी मामिला सम्हाल्ने र राजकाजको काम राजाले सम्हाल्ने अभ्यास भएपनि रानी ऐश्वर्यले वीरेन्द्रको शासनकालमा शक्ति सञ्चालनको प्रयस गरिन्। रानी भएपछि उनको स्वभावमा एकाएक परिवर्तन आयो।[२] सचिव, सरकारी संस्थानका प्रमुख नियुक्तिमा उनको प्रतक्ष्य हस्तक्षेप हुन्थ्यो। अधिराजकुमार धीरेन्द्रलाई राजपरिवारबाट निष्कासन गर्ने, युवराज दीपेन्द्रको विवाह कुरालाई अन्य राजपरिवार सदस्य भन्दा उनको फरक मत थियो। रानी ऐश्वर्य राजा वीरेन्द्रभन्दा बढी कडा स्वभावकी र पर्दा पछाडिबाट शासन चलाउने शक्तिशाली पात्र र पञ्चायतकालीन शक्ति केन्द्रका रूपमा हेरिन्थ्यो। दरबार र पञ्चायती व्यवस्थाभित्र हुने थुप्रै राजनीतिक तथा आर्थिक निर्णयहरूमा उनको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव रहने गरेको चर्चा हुन्थ्यो। जनमानसमा र राजनीतिक विश्लेषणहरूमा रानी ऐश्वर्य शाहलाई लक्षित गरेर 'पम्फादेवी' शब्द प्रयोग गरिएको थियो।
शिक्षा
[सम्पादन गर्नुहोस्]उनले भारतको खरसाङ स्थित सेन्ट हेलेन्स कन्भेन्ट र नेपालको जावलाखेल स्थित सेन्ट म्यारी स्कुलबाट विद्यालय स्तरीय शिक्षा प्राप्त गरेकी थिइन्। उनले सन् १९६३ मा कान्ति ईश्वरी राज्यलक्ष्मी हाईस्कुलबाट एस.एल.सी. उत्तीर्ण गरेकी थिइन्। त्यसपछि उनी त्रिभुवन विश्वविद्यालय सम्बद्ध पद्मकन्या बहुमुखी क्याम्पसमा भर्ना भई सन् १९६७ मा मानविकी सङ्कायमा स्नातक गरेकी थिइन्।
हत्या
[सम्पादन गर्नुहोस्]२०५८ जेठ १९ मा दरबार हत्याकाण्डमा रानी ऐश्वर्य, उनका पति राजा वीरेन्द्र; उनका छोरा राजकुमार निराजन; उनकी छोरी अधिराजकुमारी श्रुति; र सात अन्य राजपरिवारका सदस्यहरूको गोली हानी हत्या गरिएको थियो।[३]
साहित्य
[सम्पादन गर्नुहोस्]उनी आफ्ना साहित्यिक कृतिहरू र सङ्गीतमा सहभागिताका लागि पनि परिचित छिन्। उनको साहित्यिक नाम चाँदनी शाह हो र सोही नामबाट उनले थुप्रै गीतहरू लेखेकी थिइन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Gregson, Jonathan (2002). *Blood Against the Snows: The Tragic Story of Nepal's Royal Dynasty*. London: Fourth Estate. आइएसबिएन ९८७-१८४११५७८५६ ISBN त्रुटी अमान्य / 1841157856
- ↑ अविरल; कृष्ण (१९९८), "१३. श्री ५ वीरेन्द्र : कठपुतली राजा", शाहवंशको शल्यक्रिया, Manjari Prakashan, आइएसबिएन 9789937893800।
- ↑ "दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’" (नेपालीमा), नेपाल लाइभ, ५ साउन २०८३।