खप्तड बाबा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

स्वामी सच्चिदानन्द सरस्वती
Khaptad Baba.jpg
खप्तड बाबा
उपनाम:खप्तड बाबा
जन्म: विक्रम संवत १९३७
कश्मीर
मृत्यु:वि.सं. २०५३ ज्येष्ठ
बुढानीलकण्ठ, काठमाडौं
कार्यक्षेत्र: संन्यास पूर्व शल्यचिकित्सा
भाषा:काश्मीरी, हिन्दी, उर्दु, संस्कृत, अंग्रजी, फारसी, नेपाली तथा अन्य भारतीय भाषाहरू
विधा:दर्शन, चिकित्सा
पहिलो कृति:विचार विज्ञान

डोटी जिल्लाको खप्तडमा ५० वर्ष बिताएका खप्तडबाबा आध्यात्मिक गुरु र विचारकका रूपमा चिनिन्छन् । सन् १८८० मा भारतको कश्मीरमा बस्ने नेहरू परिवारमा जन्मिएका खप्डतबाबा विक्रम संवत १९८६मा नेपाल आएका थिए । संन्यास लिनु पूर्व उनि प्रतिभावान् डाक्टर थिए । उनले कलकत्ता स्थित ट्रपिकल मेडिकल कलेजबाट एम. बी. बी.एस. र बेलायतबाट सर्जनको अध्ययन गरेका थिए भने काशीको दक्षिणामूर्ति मठमा रहेर पूर्वीय दर्शनको अध्ययन अध्यापन पश्चात् गहन साधनाका लागि नेपालको खप्तड लेक रोजेका थिए । उनको धर्म विज्ञान, विचार विज्ञान, म र मेरो कर्तव्य लगायतका झण्डै डेढ दर्जन भन्दा बढी पुस्तकहरू प्रकाशित छन भने प्रकाशित हुन नसकेका उनकै हस्तलिखित अरु थुपै कृतिहरू पनि खप्तडबाबाका विभिन्न ठाउँमा बनाइएका मन्दिरहरूमा रहेका छन्। खप्तडबाबाको विक्रम संवत् २०५३ साल जेष्ठ कृष्ण सप्तमीका दिन निधन भएको हो।

स्मरण योग्य कार्यहरू[सम्पादन गर्ने]

एकश्चन्द्र तमोहन्ति न च तारागणोऽपि च। एउटै चन्द्रमाले धरती, आकाश र अन्तरिक्षको अँध्यारो नाश गरिदिएर झलमल्ल उज्यालो ल्याइदिन्छ भने लाखौं तारागण भएर पनि के गर्नु र ? उज्यालो पार्न सक्तैनन्। त्यस्तै एकजना साधु, सन्त, ज्ञानीले समाज, राष्ट्र, विश्व र त्यस युगलाई नै समुन्नत, बनाउँछ। एउटा बत्तीले नजीकैका हजारौं बत्तीलाई बाले झैं एकजना ज्ञानवान्, जीवन्मुक्त महात्माले वर्तमानलाई मात्रै होइन भविष्यलाई समेत आलोकित बनाइदिन्छन्। यस धरतीमा त्यस्ता कालजयी महापुरूषहरू, यदाकदा जन्मन्छन् र आफ्नो ज्ञानले, गुणले, सेवाले, परोपकारको सम्पूर्ण समाज र देशलाई नै सुखी, शान्त र समुन्नत बनाएर एउटा युगान्तकारी कीर्तिमान कायम गरी सदा-सदाका लागि एउटा अविस्मरणीय दृष्टान्त छोडेर जान्छन्। यही अनुक्रममा हाम्री नेपाल जननीले एक महान् आत्मा भएका युगपुरुष पाइन् ती हुन् श्री १००८ स्वामी परमहंस परिव्राजकाचार्य योगीराज श्रोत्रिय ब्रहृमनिष्ठ पूर्वीय ज्ञान र पश्चिमी विज्ञानका निष्णात जीवन्मुक्त महात्मा सच्चिदानन्द सरस्वती। उहाँको जनता-जनार्दनले जानेको शुभनाम हो, श्री खप्तडबाबा। सुदूर पश्चिम डोटी, बैतडी, बझाङ, अछाम तिरका जनता डाक्टर स्वामी, स्वामीबाबा, खप्तडस्वामी भनेर प्रेमले, श्रद्धाले, भक्तिले, आत्मीयताले पुकार्दथे र आफ्नो हृदयदेखि नै श्रद्धासुमन चढाउँथे। त्यस्ता युगपुरूषले आफ्ना ज्ञान र गुणले, सेवा र परोपकारले, धर्म-विज्ञान र विचार-विज्ञान जस्ता कालजयी, अमर अमतमयी ग्रन्थहरू र अत्यन्त मीठा अमृतमयी उपदेशात्मक वाणीहरूले नेपालको आकाश र धरतीलाई नै अध्यात्मको, धर्मको, वेदान्तको, वैदिक सनातन परम्पराको, मर्यादाको, योगको, विचारको सुवासले आलोकित बनाएर नेपाल जननीलाई धन्य धन्य बनाएको छ। श्री खप्तडबाबा यस युगकै एक असाधारण तपस्वी, अद्वितीय योगी, अतुलनीय ज्ञानवान्, अविस्मरणीय समाजसेवी, परोपकारी, अपार शास्त्रज्ञ, अकाट्यतर्क प्रवीण एवं अत्यन्त मीठो मधुर वाणी र उज्यालो ओजस्वी मुहार भएका महान् व्यक्तित्व थिए । जस-जसले उनको दर्शन गर्ने, उनसँग सत्सङ्ग गर्ने, उनको सान्निध्य पाउने, उनलाई गुरु बनाउने र उनको उपदेश सुन्ने सौभाग्य पाए ती धन्य हुन्। त्यस्ता व्यक्ति अत्यन्त प्रभावित भएको र आफ्नो जीवनलाई नै अर्को मोडतिर लगेको थुप्रै घटना हामीले सुनेका छौं। त्यस्तै नै उनका विचार विज्ञान, स्वास्थ्यविज्ञान, धर्मविज्ञान खण्ड १,२,३,४ र धर्म विज्ञान सार-संक्षेप म र मेरो कर्तव्य, नारीधर्म र पुरूषधर्म, योगविज्ञान, आत्मज्ञान, आरोग्य विज्ञान, वेदान्त विज्ञान, र तीनओटा अङ्ग्रेजी पुस्तकसहित जम्मा १६ ओटा पुस्तक प्रकाशित भइसकेका छन्। यी ग्रन्थहरूले पनि बाबाका विचार, सिद्धान्त, दर्शन र अनुभवलाई उजागर गरेका छन्। वैदिक सिद्धान्त र दर्शन अनुरूपको कर्म, उपासना र ज्ञानलाई नै प्रतिपादन गर्ने यी ग्रन्थहरूमा प्रवेश गरेपछि बाबाको अध्ययन, अनुसन्धान र अनुभव कति महान् कति गम्भीर, कति स्वाभाविक, कति उपकारी अनि कति अनुकरणीय रहेछन् भन्ने स्पष्ट हुन्छ। विचार-विज्ञान त यति लोकप्रिय ग्रन्थ बनेको छ- सामान्य पढे लेखेका नर-नारीदेखि लिएर ठूलाठूला दार्शनिक, वेदान्ती पनि यो ग्रन्थ पढेपछि अत्यन्त प्रभावित भएका कुरा सुनेका छौं। खप्तडबाबाका विचारहरू अत्यन्त दार्शनिक अनि व्यावहारिक पनि, वैज्ञानिक अनि भावनात्मक पनि, सरल अनि अत्यन्त गम्भीर पनि सामान्य जस्तो देखिने अनि विचारोत्तेजक पनि छन्। धर्म-विज्ञान चारै खण्ड पढिसकेपछि त सारा वेद, वेदान्त, महाभारत, रामायण, गीता र अद्वैतवेदान्तका निगूढतम रहस्यमय तात्विक कुराहरूमा अवगाहन गर्न पाएको अनुभव हुन्छ। 'स्वास्थ्य-विज्ञान' र 'आरोग्य-विज्ञान' पढेपछि बाबाको शरीरसम्बन्धी र स्वास्थ्यसम्बन्धी ज्ञानको गहनतामा चुर्लुम्म डुब्न पाइन्छ र स्वास्थ्यको, निरोगिताको महिमा, महत्ता र उपयोगिताको राम्रो बोध हुन्छ। रोगको निदानदेखि लिएर तिनको उपचार पद्धति एवं आयुर्वेद शास्त्रले बताएका औषधिहरूको नाम तिनको प्रयोग विधि समेत स्पष्टसँग यी दुई ग्रन्थमा उल्लेख भएका छन्। बाबा देश अनि विश्वकै भूषण हुनुहुन्छ यसमा विकल्प छैन। त्यति हुँदाहुँदै पनि बाबा विशेषतः खप्तडका भूषण हुन्। कारण खप्तड लेकलाई त्यो भेगलाई, त्यस क्षेत्रलाई, ती जिल्लाहरू र अञ्चललाई, त्यहाँका जनता जनार्दनलाई मात्र होइन त्यहाँका जडीबुटीसमेतलाई बाबाले विश्वका माझमा पुर्‍याइदिए। परिणामतः बाबाको शुभनाम रह्यो खप्तडबाबा भनेर। यही नामबाट उनी श्री १००८ ब्रह्मविद् परमहंस योगी सच्चिदानन्द सरस्वतीबाट जनताका जिब्रामा, मन र मस्तिष्कमा खप्तडबाबा, खप्तडस्वामी भनेर परिचित भए । यसबाट सिद्ध हुन्छ- बाबा खप्तडका नाताले नेपालकै भूषण बने । अर्को पक्षबाट पनि सोचौं- खप्तडले बाबाले महान् तपस्वी, महान् ज्ञानी, महान् त्यागी, महान् योगी, महान् लेखक, महान् साधक बनेको हेर्ने मौका पनि त पायो नि। त्यसैले खप्तडमा बाबा भिजेका छन् । अनि बाबामा खप्तड भिजेको छ। खप्तड लेकमात्र थियो, पहाडमात्र थियो, जङ्गलमात्र थियो- आज सौभाग्यले खप्तड बाबा बनेको छ। खप्तडसँग बाबा गाँसिएका छन्, बाबासँग खप्तड गाँसिएको छ। खप्तडमा चेतना पलाएको छ। खप्तडले पवित्रताको, सत्यताको, ज्ञानको ज्योति पाएको छ बाबाका कारणले। अनि बाबाको ज्ञानज्योति, तपोधन, नाम ख्याति, ग्रन्थमूर्ति, योगधारा, त्यागकीर्ति चारैतिर फैलिएको छ खप्तडका कारणले। आज बाबाकै कारणले खप्तडको ख्याति, सम्मान, इज्जत र लोकपि्रयता बढेको छ। त्यसैले बाबा खप्तडका भूषण बने । खप्तडलाई हामीले चिनेको पनि बाबाकै कारणले हो। नत्र खप्तडको निगालोमात्र प्रसिद्ध थियो, नलीमात्र प्रसिद्ध थियो, हामीले नेपालको भूगोलमा यही पढेका थियौँ। आज खप्तड धार्मिक, भौगोलिक, प्राकृतिक दार्शनिक हर दृष्टिकोणले पर्यटकीय प्रसिद्ध स्थल बनेर विश्वलाई आकषिर्त गर्दछ। बाबाकै कारणले। खप्तडले बाबालाई केही दिएर धेरै पाएको छ। हामी यी दुवैलाई धन्य भन्दछौं - धन्य खप्तडबाबा। धन्य खप्तडलेक।

खप्तड बाबाका कृतिहरु[सम्पादन गर्ने]

  1. धर्मविज्ञान
  2. विचार विज्ञान
  3. म र मेरो कर्तव्य
  4. नारीधर्म र पुरुषधर्म
  5. आत्म ज्ञान
  6. योग विज्ञान
  7. वेदान्त विज्ञान
  8. आरोग्य विज्ञान
  9. स्वास्थ्य विज्ञान
  10. Essential of Vedanta
  11. Science Of Thought

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]