रमेश विकल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रमेश विकल
जन्मवि.सं. १९८५ कार्तिक २९
आरुबारी, जोरपाटी, काठमाडौँ, नेपाल
मृत्युवि.सं. २०६५ पुस ०२
काठमाडौँ
पेशासाहित्यकार
राष्ट्रियतानेपाल नेपाली
उल्लेखनीय कार्यहरूनयाँ सडकको गीत
उल्लेखनीय सम्मानहरूमदन पुरस्कार
दम्पतिसुशीला

रमेश विकल (वि. सं. १९८५ – २०६५) नेपाली कथाकार र उपन्यासकार थिए ।[१] अविरल बग्दछ इन्द्रावतीका लेखक विकलले आख्यान, यात्रा साहित्य र बालसाहित्यमा प्रमुख रूपमा कलम चलाए । उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पनि थिए । नयाँसडकको गीत कथासङ्ग्रहका लागि उनले वि. सं. २०१८ को मदन पुरस्कार पाएका थिए, त्यतिबेला उनको उक्त कथासङ्ग्रह पाण्डुलिपिमै थियो।[२]

जन्म[सम्पादन गर्ने]

विकलको जन्म वि. सं. १९८५ कात्तिक २९[३] गते भाइटीकाका दिन काठमाडौँ जोरपाटीको आरुबारीमा भएको हो। चन्द्रशेखर र छायादेवी चालिसेको कोखबाट जन्मेका विकलको वास्तविक नाम रामेश्वरप्रसाद चालिसे हो।[२] प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्मासँगको सम्पर्कपछि विकल प्रगतिशील विचारतर्फ आकर्षित भएर साहित्य र राजनीतितिर लागेका थिए। पछि गोविन्दप्रसाद लोहनीबाट मार्क्सवादी शिक्षा पाएपछि विकल वामपन्थी विचारका पक्षपाती भएका थिए। उनले साहित्यकार आनन्ददेव भट्टबाट वि. सं. २०११ मा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए।

वि. सं. २००५/०६ तिर श्यामप्रसादको नेतृत्वमा प्रकाशित हस्तलिखित पत्रिका 'सन्देश'को पहिलो अङ्क -२००५)मा नै रमेश विकलको पहिलो कविता प्रकाशित भएको थियो। उनको सार्वजनिक साहित्यिक यात्रा भने वि. सं. २००६ 'शारदा' पत्रिकामा 'गरीब' कथा प्रकाशित भएपछि भएको थियो। यो कथा पनि श्यामप्रसादले नै गोविन्द गोठालेसँग चिनजान गराएपछि छापिएको थियो।

नेपाली साहित्यिक भण्डारमा कथा, उपन्यास, नाटक, यात्रा, आत्मसंस्मरण, व्यङ्ग्य र बालसाहित्यका ५५ वटा पुस्तक प्रकाशित गरेर रमेश विकलले महत्त्पूर्ण योगदान पुर्‍याएका छन्। उनका कथासङ्ग्रह-७, उपन्यास-४, नाटक एकाङ्की-४, यात्रासाहित्य-३, आत्मसंस्मरण-२, व्यङ्ग्य-१, बालसाहित्य-२७ र अनुवादका ७ कृतिहरू प्रकाशित छन्।

वरिष्ठ आख्यानकार रमेश विकलको न्वारनको नाम इन्दुशेखर हो। गाउँघरमा उनलाई रामबाबु भनेर बोलाउथे। प्रमाणपत्रको नाम भने रामेश्वर शर्मा चालिसे हो। चित्रकला बनाउँदा उनी रवि चालिसे लेख्थे भने इन्दुशेखरको नामबाट केही कविता लेखेका थिए। नेपाली साहित्यमा रमेश विकलका नामले सुप्रसिद्ध भए। उनी साहित्यका अतिरिक्त चित्रकला र सङ्गीतका पनि ज्ञाता थिए। विकलका बुबा चन्द्रशेखर उपाध्याय हार्मोनियम र तबला बजाएर भजन गाउथे। यही प्रभावबाट विकलले हार्मोनियम, तबला, भ्वाइलिन र बाँसुरी बजाउन सिके तर रेडियो नेपालको स्वर परीक्षामा असफल भएपछि यो क्षेत्रबाट टाढिए। चित्रकलाको आधारभूत शिक्षा भने चन्द्रमानसिंह मास्के र आनन्दमुनि शाक्यबाट लिएका थिए।

६ दशकको साहित्य साधनामा ५५ कृतिहरू मार्फत् नेपाली साहित्यको विकासमा उल्लेखनीय योगदान पुर्‍याए वापत रमेश विकल दुई दर्जन भन्दा बढी संस्थाहरूबाट अभिनन्दित र एक दर्जन पुरस्कारहरूबाट सम्मानित भएका छन्। उनको जीवनको पहिलो पुरस्कार मदन पुरस्कार नै थियो। उनको दोस्रो कथासङ्ग्रह 'नयाँ सडकको गीत' -२०१९)बाट वि. सं. २०१८ को मदन पुरस्कार पाएका थिए। उनले यो पुरस्कार पुस्तक प्रकाशन पूर्व पाण्डुलिपिबाट नै पाएका थिए।

रमेश विकलको विवाह १२ वर्षको उमेरमा सात वर्षकी सुशीलासँग भएको थियो। उनीहरूका दस सन्तान भएको भए पनि तीन छोरी र एक छोराको मृत्यु भएको थियो। हाल दुई जना छोरा र चार जना छोरीहरू रहेका छन्।

कृतिहरू[सम्पादन गर्ने]

विकलका कथा सङ्ग्रहहरूमा नयाँसडकको गीत (वि. सं. २०१९), बिरानो देशमा, एउटा बूढो भ्वाइलिन आशावरीको धूनमा (वि. सं. २०२५), आज फेरि तन्ना फेरिन्छ (वि. सं. २०२४), शव सालिक र सहस्र बुद्ध, उर्मिला भाउजू (वि. सं. २०३५), उपन्यासहरूमा सुनौली (वि. सं. २०३१), अविरल बग्दछ इन्द्रावती (वि. सं. २०३९), सागर उर्लन्छ सगरमाथा छुन (वि. सं. २०५२), यात्रा साहित्यमा सात सूर्य एक फन्को, निलगिरिको छायाँमा, नाटकहरूमा सरदार भक्ति थापा(वि. सं. २०३९), मिल्किएको मणि र बालसाहित्यमा अगेनाको डिलमा, विक्रम र नौलो ग्रह, सात थुँगालगायत पुस्तक प्रकाशित छन्।[३][४] उहाँले अग्रेजी लेखक ज्याक लण्डनको कृति द सी वुल्फ्को नेपालीमा अनुवाद पनि गरेका थिए । निधन हुनु अघि उनले अग्रेजी लेखक म्यारी शेलीद्वारा लेखिएको फ्रेन्केष्टेन उपन्यासको पनि नेपालीमा अनुवाद गरेका थिए तर त्यो कृति हालसम्म प्रकाशित गरिएको छैन ।

मृत्यु[सम्पादन गर्ने]

न्याय, समानता र प्रजातन्त्रका लागि साहित्यको माध्यमबाट जीवनको अन्तिम अवस्थासम्म सक्रिय रमेश विकल कहिले नहार्ने कलमका योद्धा हुन्। उनको मृत्यु वि. सं. २०६५ पुस २ गते ८१ वर्षको उमेरमा जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा श्वासप्रश्वास सम्बन्धि रोगको उपचारका क्रममा भएको हो।

कार्य[सम्पादन गर्ने]

रचना - वि. सं. २००६ मा शारदामा गरीब शीर्षकको कथा प्रकाशित मौलिक कृति :-

सम्पादित, अनूदित र फुटकर कृतिः - विभिन्न पत्र-पत्रिकाहरूमा कथा, कविता, यात्रा निबन्ध, लेख आदि प्रकाशित

पुरस्कार, मान-सम्मान, पदक: वि. सं. २०१८ को मदन पुरस्कार प्राप्त नयाँ सडकको गीतका लागि

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. अनिवार्य नेपाली (तेस्रो संस्करण २०६५), लेखक:डा. पारसमणि भण्डारी, प्रकाशक:सुकुन्दा पुस्तक भवन (भोटाहिटी)
  2. २.० २.१ थामियो इन्द्रावती(फूलमान वल), कान्तिपुर दैनिक, पुष ३, २०६५ http://www.ekantipur.com/kolnepalinews.php?&nid=170866
  3. ३.० ३.१ रमेश विकल रहेनन्, गोरखापत्र दैनिक, पुष ३, वि. सं. २०६५ http://gorkhapatra.org.np/gopa.detail.php?article_id=11698&cat_id=14
  4. रमेश बिकलको अविरल जीवन(अभि सुवेदी), दैनिकी http://www.dainikee.com/news/index.php?action=news_details&news_id=584

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]