भवानी भिक्षु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भवानी भिक्षु
जन्मवि.संं. १९६६ जेष्ठ २१
तौलिहवा, कपिलवस्तु
मृत्युवि.संं.२०३८ बैशाख ४
काठमाडौं नेपाल
पेशालेखक
भाषानेपाली
राष्ट्रियतानेपाली नेपाल
विधाकविता, कथा, उपन्यास
उल्लेखनीय कार्यहरूआगत (उपन्यास)
उल्लेखनीय सम्मानहरूमदन पुरस्कार, साझा पुरस्कार

भवानी भिक्षु (वि.सं.१९६६ जेठ २१ – २०३८ बैशाख ४ गते)[१] नेपाली कथाकार र उपन्यासकार थिए । उनी आधुनिक नेपाली कथाको फाँटमा मैनालीकोइरालापछिका तेस्रा हस्ताक्षर हुन् । गुनकेसरी (२०१७), मैयाँसाहेब (२०१७), आवर्त (२०१४), अवान्तर (२०१४) उनका केही कथासङग्रहहरु हुन् ।

बाल्यकाल[सम्पादन गर्ने]

भिक्षुको खास नाम नोहरराम गुप्ता हो, उनी सानामा रोगी थिए। घरको कहालीलाग्दो आर्थिक अवस्थाका कारण उनी वाल्यकालमा झोक्राएर नै बामे सरे। त्यसैताका उनलाई शितला माई (बिफर)ले आक्रान्त बनायो। त्यसै बिमारले उनी थला परे। त्यसपछि उनकी आमा उनकै गाउँ तौलिहवाको कालीमन्दिरमा पुगेर आर्तपुकारा गर्न थालिन्, ’हे साक्षात् देवी ! मेरो छोरोलाई केही नहोस्, चिरञ्जीवी होस्।’ अनेक बिलौना गरेर भिक्षुकी आमा घर फर्किन्। उनी देवीथानबाट घर पुग्दा उनको छोरा टुकुटुकु हिंडेर उनको स्वागतमा उभिएका थिए। आफ्नो थलापरेको छोरोको सप्रँदो अवस्था देखेर उनकी आमाका आँखामा हर्षका आँसु छछल्किन थाले। उनले अङ्गालोमा छोरो च्यापेर भनिन् ’मेरो बाबु ! तिमी देवीका कृपाले निको भयौ।’ तर भिक्षुको मुखैभरि विफरका दागले ढाकिदियो। यसरी उनी बिफर रोगले आक्रान्त भई मरणासन्न अवस्थामा पुगेका र आमा यशोदादेवीले भवानीसँग भिक्षा मागेर बचाएकी हुनाले उनको नाम भवानी भिक्षु रहन गएको हो भन्ने भनाई पनि छ। माता यशोदादेवी कलवार गुप्ता र पिता इन्द्रप्रसाद गुप्ताका माइलो सुपुत्रका रूपमा लुम्बिनी अञ्चल, कपिलवस्तु जिल्लाको तौलिहवामा जन्मिएका जन्मँदै भवानी भिक्षु तीक्ष्ण बुद्धिका थिए। तर उनको बौद्धिकताको सदुपयोग आफ्नै घरमा चाहिं हुन सकेन। त्यसैले मावलीले यिनलाई काखी चेपे। यिनको मामा घर कपिलबस्तुपारि भारतमा थियो। आफ्नो गाउँको भाषा पाठशालामा चार पास गरेपछि भवानी भिक्षु मामाघर पुगे। मामाघरमा केही वर्ष बस्न नपाँउदै फेरि उनका बुबाले उनलाई नेपाल नै फर्काए। तर भवानी भिक्षुको एकोहोरो जिद्धिका कारण उनी पुनः मामा घरै फर्के। त्यसपछि भने यिनको नियमित पढाइ लेखाइ भारतमै हुन थाल्यो। यिनले बाह्र वर्षै उमेरमा हिन्दी माध्यममा कुलभूषण परीक्षा दिए र त्यस परीक्षामा दोस्रो स्थान प्राप्त गरे।

व्यवसाय[सम्पादन गर्ने]

भिक्षुले स्वाध्ययनबाट नै हिन्दी, अङ्ग्रेजी, बङ्गाली र उर्दू भाषामा राम्रो दक्षता प्राप्त गरेको पाइन्छ। घरको गरीबीले भिक्षुलाई थेचार्न थेचारेको थियो, निमोठ्नु निमोठेको थियो र निचोर्नु निचोरेको थियो। त्यसैले नेपाल फर्केपछि यिनले हरेक जुक्तिले घरको आर्थिक अवस्था उकास्ने काम गर्न थाले। यसै सन्दर्भमा यी अड्डाको लेखनदास बन्न पुगे। विक्रममणि त्रिपाठीका अनुसार यिनका लेखन गुरु अम्बिकाप्रसाद श्रेष्ठ थिए। घटराज भट्टराईका अनुसार अड्डाअदालतमा लेखापढी गर्दागर्दै उनमा नेपाली अक्षर लेख्ने मन बस्न थालेको थियो। त्यही लेखनदासी लेखनी नै उनको नेपाली भाषाको जग बन्न थाल्यो। त्यस बेला श्रेष्ठले उनलाई बस्नका लागि आफ्नै घरको एउटा कोठा पनि दिए। श्रेष्ठका घरमा डेरा सरेपछि भिक्षु बिहान, बेलुका र दिउँसो लेख्ने काममा मात्रै लागिरहे। त्यसैताका मथुराप्रसाद गुप्ताद्वारा तौलिहवामा श्रीराम पुस्तकालयको स्थापना भएको थियो। त्यसपछि भिक्षु नेपाली साहित्यका कृति पढ्नमा पनि अग्रसर भए। भवानी भिक्षुको तौलिहवामा लेखनदासमा राम्रो नाउँ चलिसकेको थियो। त्यही सिलसिलामा स्थानीय पशुपतिप्रताप पुरीको घरजग्गा उकास्न यी काठमाडौं आए। वास्तवमा पुरी भूमिपति थिए। तर प्राकृतिक प्रकोपका कारण उनको जग्गा लिलाम हुने परिस्थिति आएको थियो। त्यस बेला पुरीलाई उनको जग्गा उकास्नका लागि मद्दत गर्न एउटा भरपर्दो व्यक्तिको खोजी थियो। त्यस्तो योग्यता भएका व्यक्तिका रूपमा पुरीले भवानी भिक्षुलाई नै छाने। त्यसैले पुरीको कागजात बोकेर भिक्षु काठमाडौं आएका थिए।

साहित्य सेवा[सम्पादन गर्ने]

काठमाडौं आएर भवानी भिक्षुले सर्वप्रथम पुरीप्रतिको आफ्नो दायित्व पुरा गर्न प्रयास गरे। त्यसपछि उनी गोरखापत्र पुगे। त्यहाँ उनले सम्पादक प्रेमराज शर्मालाई भेटे। साथै सिद्धिचरण श्रेष्ठसँग पनि उनको भेट भयो। त्यस बखतका साहित्यका शिखरपुरुष सिद्धिचरणलाई विमात्रृभाषी भिक्षुको नेपाली भाषाप्रतिको अनन्यप्रेम, आस्था र लगनशीलताले प्रभावित बनायो। अन्ततः श्रेष्ठले भिक्षुको उत्साहले भरिएको नेपाली भाषासाहित्यप्रतिको समर्पणको नाडी छामे र भिक्षुलाई जोरगणेश प्रेसमा पु-याई दिए। त्यहाँ पुगेर भिक्षुले आफ्नो रचना ’शारदा’मा दिए। १९९३ सालमा उनको पहिलो समालोचना नेपाली भाषामा छापिएको थियो। अनि भिक्षु शारदामा नै टाँस्सिन थाले। परिणामस्वरूप उनी शारदा कै सम्पादकमा पनि नियुक्त भए। भवानी भिक्षुले भारतमा नै बिहे गरे। तर उनको घरजम भएन। अनि फेरि उनले दोस्रो बिहे गरे तर केही वर्षपछि भिक्षु पत्नीवियोगमा परे। धेरै वर्षपछि अर्थात् काठमाडौंमा बसोवास गर्न थालेपछि उनले अर्की एउटीसँग बसउठ गरे। तर उनले बिहे गरेको सकारेनन्। त्यसैताका उनको कवयित्री प्रेमराजेश्वरी थापासँग घनिष्ठता थियो। साथै उनले कथाकार देवकुमारी थापासँग पनि बिहे गर्न अनेक प्रपञ्च गरे तर असफल भए। त्यसैले उनले औपचारिक रूपमा एकल जीवन नै भुक्तान गर्दै आफ्नो यात्रा डो-याइरहे। भवानी भिक्षुले सरकारी जागीरका रूपमा राजनीतिक नियुक्ति पनि पाए। राजा महेन्द्रको निगाहले उनी प्रचार विभागका निर्दशक समेत भए।

भवानी भिक्षुले शारदा र धरतीको सम्पादन गरे। साथै कथा, उपन्यास, कविता गरेर यिनका नौवटा कृति प्रकाशित भए। उनले ’आगत’ उपन्यासमा साझा पुरस्कारमदन पुरस्कारपनि प्राप्त गरे। साथै उनी त्रिभुवन प्रज्ञा पुरस्कारबाट पनि सम्मानित भए। उनी स्थापना कालदेखि नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य भए। त्यहाँ बाह्र वर्षसम्म सदस्य भएपछि सोही पदको भत्ता पाउने गरी उनी आजीवन सदस्य भए। राजधानी बाहिरका भिक्षुले सुरुसुरुमा आर्थिक रूपमा कठोर सङ्र्घर्ष गरेर आफूलाई काठमाडौंमा नै अड्याई छाडे। उनले हरेक बाधाको सामना गरेर नेपाली भाषासाहित्यका लागि आफ्नो जीवन समर्पण गरे। बाल्यकालमा अवधी र हिन्दी साहित्यको पाठ कण्ठ गरे तापनि किशोरावस्था सकिंदा नसकिंदैदेखि बाँचुञ्जेलसम्म उनले नेपाली हुनुको धर्म निर्वाह गरे। उनले हरेक क्षण नेपाली भाषा र नेपाली साहित्यकै जप गरे। उनले आफ्नो जीवनकालभरि नै नेपाली भाषासाहित्यमैं तप गरे। फलस्वरूप भिक्षु नेपाली आख्यान साहित्यका अविस्मरणीय प्रणेता मानिए। भिक्षु नेपाली साहित्यका अजरअमर साधकका रूपमा सँधैभरि पुजिए। मातृभाषा अवधि भएका भिक्षु नेपाली साहित्यका आगन्तुक प्रतिभा हुन्। भवानी भिक्षुको प्रारम्भिक साहित्यिक लेखन हिन्दी भाषाबाट सुरु भएको पाइन्छ। उनले हिन्दी साहित्यको पनि प्रशस्त अध्ययन गरेका थिए। यसबाहेक बङ्गाली साहित्यका अमर साहित्यकारहरू रविन्द्र ठाकुर तथा शरद्चन्द्र चट्टोपाध्यायका पनि उनी प्रशंसक थिए र उनीहरूको लेखनबाट प्रभावित र प्रेरित पनि। उनी हिन्दी भाषामा लेख्दथे भन्ने कुरो निम्नङ्कित आत्मस्वीकृतिबाट प्रमाणित हुन्छ – ’सुब्बा ऋद्धिबहादुर मल्लज्यूले नै हिन्दीमा लेखिएको भिक्षुको लेखलाई ’आलोचना र आलोचक’ नाउँले अनुवाद गरी १९९३ साल कार्तिक अङ्कको ’शारदा’मा प्रकाशित गर्नु भो र यसरी ... नेपाली साहित्यलाई चिनारी गराइयो –’मधेसे नेपाली लेखक। (भिक्षुका आत्मस्वीकृतिबाट)

कथाकार भवानी भिक्षुको साहित्यिक कॄतिहरू[सम्पादन गर्ने]

उनको पहिलो रचना ऋद्धिबहादुर मल्लको सम्पादकत्वमा ’शारदा’ पत्रिकामा प्रकाशित ’वियोगरात्री’ गद्यकविता हो भने शारदामैं प्रकाशित ’आलोक र आलोचना’ पहिलो निबन्ध र ’मानव’ पहिलो कथा हो। साहित्यका कविता, कथा, उपन्यास निबन्ध र एकाङ्की जस्ता विभिन्न विधामा कलम चलाएका भिक्षुको महत्त्वपूर्ण क्षेत्र कथा र उपन्यास हो भने त्यसपछिको क्षेत्र कविता हो। शारदादेखि मधुपर्कसम्मका पत्रपत्रिकामा भिक्षुका लेखनिबन्ध छरिएर रहेका पाइन्छन्। उनका निबन्धहरू संग्रहका रूपमा प्रकाशित हुन सकेका छैनन्, अप्रकाशित अवस्थामैं यत्रतत्र छरिएर रहेका छन् भने अन्य प्रकाशित कृतिहरू निम्न छन्:
(क) कवितासङ्रग्रह- छाँया(२०१७), प्रकाश(२०१७), परिष्कार(२०१७)
(ख) कथासङ्रग्रह - गुनकेशरी(२०१७), मैंयासाहेब(२०१७), आवर्त (२०२४), अवान्तर(२०३४)
(ग) उपन्यास- सुभद्रा बज्यै(२०१९), आगत(२०३३), पाइप नं. दुई(२०३४), सुन्तली(२०४०)
(घ) एकाङ्की- पर्दापछाडि(२०३०)[१]

पुरस्कार[सम्पादन गर्ने]

साहित्यका विविध विधाहरूमा मात्र नभएर पत्रपत्रिकामा पनि भिक्षुको अतुलनीय योगदान रहेको चर्चा भइसकेको छ। उनले वि.सं. १९९९ देखि २००३ सम्म शारदा पत्रिकाको सम्पादक, २००८ देखि २०१३ सम्म प्रचार विभागका अतिरिक्त निर्दशक, २०१३ तिर धरती पत्रिकाका सम्पादक, २०१४मा ने.रा.प्र.प्र.का सदस्य रहेर काम गरेको पाइन्छ। उनी प्रज्ञा प्रतिष्ठानबाट त्रिभुवन पुरस्कारबाट सम्मानित पनि भएका थिए। उनी अनेपाली भाषाभाषी थिए तर अनेपाली होइन। अनेपाली भाषाभाषी भन्नाले उनको मातृभाषा नेपाली थिएन तर उनी नेपाली नागरिक थिए। कविवर केदारमान व्यथित र युगकवि सिद्धिचरण श्रेष्ठ नेपाली हुन् तर तिनीहरूको मातृभाषा नेवारी थियो। यहाँ एउटा प्रसङ्ग उल्लेखनीय हुन सक्तछ। खर्साङगको एउटा अभिनन्दन समारोहमा उनको परिचय यसरी प्रस्तुत गरिएको थियो – ’यहाँ जन्मले एक बिहारी हुनुभए पनि नेपाली साहित्यमा यहाँको स्थान उच्च छ। नेपाली साहित्यलाई यहाँको देन बडो सराहनीय छ। अनेपाली भएर पनि नेपाली भाषा र साहित्यको विकासमा यहाँको देन साँच्चै ठूलो छ’। सम्मान गर्न बोलाईएको समारोहमै आफूलाई ’अनेपाली भए पनि नेपाली भाषा साहित्यमा कलम चलाएका बिहारी लेखक’ भनिँदा उनको मन कति दुख्यो होला ! तर त्यही निहुँमा उनले नेपाली साहित्यमा कलम चलाउन भने कहिल्यै छोडेनन्। यसरी उनको परिचय दिएपछि उनको सहज र स्वाभाविक प्रतिक्रिया थियो – ’मेरो परिचय दिंदा यहाँले मलाई अनेपाली भन्नुभो। म कसरी अनेपाली ? म खास नेपाली हुँ, नेपालको छोरो कसरी अनेपाली हुन सक्तछ र ?’ (शिवकुमार राई, श्री भवानी भिक्षुः एक संस्मरणः उन्नयन पृ.१३९) नेपालको तराइका बासिन्दा भएकाले भवानी भिक्षु त्यहाँको रहनसहन, रीति–रिवाज, खानपिन, पहिरन र जीवनशैलीसित पूर्ण परिचित थिए। अतः उनको कथा ’हारजीत’ शीर्षकमा त्यहाँको ग्रामीण जीवनको यथार्थ चित्रण गरिएको छ। भवानी भिक्षुले ’हारजीत’ शीर्षक कथाबाट नेपाली साहित्यको आञ्चलिक परिवेशलाई इङ्गित गरेर एउटा प्रशंसनीय काम गरेका छन्। भिक्षु स्वयं तराईबासी भएकाले आफ्नो आगत’ उपन्यासमा आञ्चलिक परिवेशको जीवन्त निरूपण गर्न निपुण साहित्यकारको रूपमा देखापर्नु कुनै आश्चर्यको कुरो होइन। नेपालको तराइको आञ्चलिक परिवेशमा लिखित यो नेपाली साहित्यको पहिलो उपन्यास नै हुन सक्तछ। यस आञ्चलिकताको बीजारोपण उनको कथा ’हारजीत’मा भइसकेको थियो तर भवानी भिक्षुले ’आगतमा नै आञ्चलिकताको बटबृक्षको स्थापना गरेका हुन् जस्तो लाग्दछ। उनको यस वर्णनमा मौलिकताको पुट पाइन्छ। सम्पूर्ण तराइ आफ्नो सामाजिक संरचनासहित त्यहाँ प्रस्तुत छ। तराइको प्राकृतिक सौन्दर्यका साथै भौतिक वातावरण पनि त्यहाँ सजीवतासँग उद्घाटित छ। त्यहाँको ग्रामीण जीवनको सम्पन्नताको झलक भेटिने उक्त उपन्यासमा तराइको ज्वलन्त समस्यालाई पनि उपन्यासकारले दर्शाउने प्रयास गरेका छन्। भवानी भिक्षुको ’आगत’ उपन्यास वास्तवमा तराइको जीवनको ऐना हुन पुगेको छ। हिन्दीका प्रसिद्ध उपन्यासकार फणेश्वरनाथ ’रेणु’को ’मैला आञ्चल’ जस्तै स्तरीय, पठनीय तथा संग्रहणीय उपन्यास भएको छ भवानी भिक्षुको ’आगत’ उपन्यास पनि। मदन पुरस्कार गुठीले यस उपन्यासलाई मदन पुरस्कारबाट पुरस्कृत गरेर प्रशंसनीय काम नै गरेको प्रमाणित भएको छ। नेपाली साहित्यका अमर साहित्यकार भवानी भिक्षुले बडो इमान्दारीपूर्वक आफू प्रभावित र प्रेरित हुने साहित्यकारहरूप्रति आभार प्रकट गर्दै भनेका छन् –’ममाथि पहिलो प्रभाव शरच्चन्द्रको परेको थियो, म उनलाई गुरु मान्छु। कथाको अभिव्यक्तिमा जैनेन्द्रकुमार, बाल्जाक, मोपाँसा, दन्तावस्की, एमिल जोला सबै मेरा प्रेरक हुन्। उत्प्रेक्षा र भनाइमा विदग्धताका लागि ममाथि बनार्ड शाको छाप परेको छ। वाणी विच्छेद र शिल्पका लागि देवकोटा र सुकोमल भावको अभिव्यक्तिको निम्ति सिद्धिचरण मलाई मन पर्छ।(प्रेरणा र प्रभाव बारेमा भिक्षुको स्वीकारोक्ति) नेपाली सहित्यको सेवामा आफ्नो जीवन समर्पण गरेका भिक्षु २०३०को दशकपछि रोगग्रस्त भए, उनी फोक्सोको क्यान्सरबाट थला परे। उक्त कारणले २०३२ सालको मदनपुरस्कार प्राप्त गर्दा भिक्षुले त्यसको प्रत्युत्तर भाषण पनि गर्नसकेन। २०३८ साल बैशाख ४ गते नेपाली साहित्यका चम्किला तारा भिक्षु रोगका कारण यस संसारबाट विदा हुन पुगे।[२]

कथाकार भिक्षुको कथागत प्रवृत्ति[सम्पादन गर्ने]

शारदा पत्रिकामा प्रकाशित ’मानव’(१९९५) कथाबाट आधुनिक नेपाली कथामा देखापरेका कथाकार भवानी भिक्षु २०३८ सालसम्म साधनारत रहे। आफ्नो कथालेखनको करिब ३३ वर्षे यात्रामा कथाकार भिक्षुले करिब ४ दर्जन जति कथा लेखेका छन्। यिनका १९९५ देखि २००६ साल पूर्वका कथाहरू गुनकेशरी कथासङ्ग्रहमा, २००७ सालदेखि २०१६ सालसम्मका कथाहरू मैयाँसाहेबमा, २०१७ सालदेखि २०२३ सालसम्मका कथाहरू आवर्तमा र २०२४ सालदेखि २०३३ सालसम्मका कथाहरू अवान्तरमा प्रकाशित छन्। यसपछिका यिनका केही कथा सङ्कलित रूपमा प्रकाशनमा आएका छैनन्।

भवानी भिक्षु विश्वेश्वरप्रसाद कोइरालाबाट प्रारम्भ भएको मनोवैज्ञानिक यथार्थवादी कथाधाराका अग्रणी प्रतिभामध्ये एक हुन्। भिक्षुका कथायात्रालाई निम्नलिखित तीन चरणमा विभाजन गरी हेर्नसकिन्छ।
१– प्रथम चरण (१९९५–२००५)
२– द्वितीय चरण (२००६–२०१६)
३– तृतीय चरण (२०१७–२०३४)
यी चरणहरूका कथामा भिक्षुको भिन्नभिन्न प्रवृत्ति पाउन सकिन्छ। उनको पहिलो चरणको कथामा देखा परेको क्षीण कथावस्तु दोस्रो चरणमा आइपुग्दा सघन बन्न पुगेको देखिन्छ। यी भिन्नभिन्न चरणका कथालाई राजनीतिक परिवर्तन, अवस्था र परिदृश्यले प्रत्यक्ष प्रभाव पारेको पाइन्छ। यिनको कथाको प्रथम चरणको पृष्ठभूमिमा नेपालको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक परिवर्तनको युग भएकाले त्यसको प्रभाव यस चरणका कथाहरूमा प्राप्त हुन्छ। दोस्रो चरणमा राणाकालको अन्त्य भई प्रजातन्त्रको उदय भएकाले त्यसताकाका कथाहरू पनि त्यसबाट प्रभावित भएका छन्। २०१७ सालको राजनीतिक परिवर्तनले साहित्यका कुनै पनि विधा अस्पृश्य नरहेकाले तेस्रो चरणका भवानी भिक्षुका कथामा पनि यसको प्रभावजन्य भिन्नता प्राप्त हुन्छ। समग्रमा भवानी भिक्षुका कथामा विशेष गरी चेतन र अचेतन मनका अनेक मनोग्रन्थीको विश्लेषण गरिएको हुन्छ। राजनीतिक, सामाजिक परिवेशअन्तर्गतका कथाहरू पनि सिर्जना गर्ने भिक्षु फ्रायडीय यौन मनोविज्ञानलाई कथाको मुख्य विषयवस्तु बनाएर कथा सिर्जनामा रूचि राख्छन् र शिष्ट यौनलाई मात्र स्थान दिन्छन्। यस अतिरिक्त बाल मनोविज्ञानलाई पनि उनले स्थान दिएका छन्।
के हो त फ्रायडीय मनोविज्ञान ?
तात्कालिक चेकोस्लोभाकिया गणतन्त्रको फिवर्ग मोराबियामा एउटा यहुदी परिवारमा जन्मिएका सिग्मन्ड फ्रायड (ई.सं. १८५६–१९३९) पेसागत रूपमा अष्ट्रियाको राजधानी भियनामा कार्यरत मनोचिकित्सक हुन्। उनी नै मनोविज्ञानअन्तर्गतको एउटा विशेष पद्धति मनोविश्लेषणका प्रवर्तक हुन्। यस पद्धतिको स्थापनापछि यस मनोवैज्ञानिक चिन्तन परम्परामा फ्रायडका शिष्य तथा व्यक्तिमनोविज्ञानका प्रणेता अल्फ्रेड एड्लर (ई १८७०–१९३७) र विश्लेषणात्मक मनोविज्ञानका प्रवर्तक कार्ल गुस्ताब जुङ (ई १८७५–१९१६) का मनोग्रन्थी, सामुहिक अचेतन तथा व्यक्तित्व विकासको सिद्धान्तले आवश्यक योगदान पु¥याएका छन्। यी तीन जना मनोवैज्ञानिकहरूको मनोविज्ञान वा मनोविश्लेषण सम्बन्धी सैद्धान्तिक स्थापनालाई नै फ्रायडवादी मनोविज्ञान भनिन्छ। अचेतन र चेतन संवेगात्मक प्रतिक्रियाका बीचको सम्बन्धग्रन्थीलाई पत्तो लगाएर त्यसको आनुक्रमिक विश्लेषण गर्न र व्यक्तिभित्रको मानसिक व्याधि निदान गर्नका लागि त्यसलाई फुकाउने प्रयत्न गर्नु फ्रायडवादी मनोविज्ञानको मुख्य उद्देश्य हो। यसै सिद्धान्तबाट प्रत्यक्षपरोक्ष प्रभावित कथाकार भिक्षु मानिसका अवचेतन मनका अन्तद्र्वन्द्वको सजीव चित्रण गर्दछन्। यिनी प्रतिकूल बाह्य परिस्थितिले सिर्जना गरेका अवचेतन मनका दमित भावहरूको अन्तर्विश्लेषण गर्दछन्। यिनका टाइपिष्ट, माधुरी, नारी, त्यो फेरि फर्कला, मैयासाहेब आदि कथाहरूमा यो प्रवृत्ति प्राप्त हुन्छ। यिनी यौनजन्य अनुरागको विश्लेषण गर्दै यसको निकासको रूपमा देखापरेका बाहिरी कार्यव्यापारहरूलाई मार्मिक रूपमा प्रस्तुत गर्दछन्। गुनकेशरी, स्वार्र्थी, रमा, प्रेमको कथा, मीना, एउटा छर्लङ्ग प्रेमकथा आदि यस प्रवृत्तिका कथा हुन्। कथाकार भिक्षुले नारीका मनका कुण्ठा, भावावेग र रतिचेष्टालाई आफ्ना कथामा प्रस्तुत गरेका छन्। गङ्गा र वन्दना यस प्रवृत्तिका कथा हुन्। कथाकार भिक्षुले आफ्ना कथामा अवचेतन मनमा दमित भावना र मानसिक असन्तुष्टिको पराकाष्ठाबाट उत्पन्न असामान्य मनस्थितिको विश्लेषण गरेका छन्। दमनबाट उत्पन्न कुण्ठाले गर्दा यिनका कथाका पात्रहरूमा निराशाजन्य मनस्थिति, हीनता, पलायनको प्रवृत्ति, एकान्तपन, निस्सारताबोध, मुमूर्षु भावना आदि पाइन्छ। रक्सीबाज, सैनिक, कुवा, मीना आदि यस प्रकारका उल्लेखनीय कथा हुन्। कथाकार भिक्षुले आफ्ना कथामा गिर्दो आर्थिकअवस्थाबाट सृजित उच्चवर्गका मानसिक आघातहरूको वर्णन गरेका छन्। यिनले सामाजिक र राजनीतिक परिवर्तननले सृजना गरेको अभावलाई स्वीकार्न नसक्ने मानसिकता र स्वीकार्नु पर्ने बाध्यताका बीचको द्वन्द्वलाई उतारेका छन्। कुलीन परम्परा, आभिजात्य अहं र वर्गीय प्रतिष्ठामा आँच आउँदाको छटपटी, विषाक्त मनस्थिति आदिको प्रभावकारी वर्णन यिनको कथागत वैशिष्ट्य हो। माउजङ्ग बाबुसाहेबको कोट यस किसिमको प्रतिनिधि कथा हो। यिनका कथामा आर्थिक समस्याबाट पीडित पात्रहरूको जटिल मानसिकता, आत्मसङ्घर्ष र अन्तद्र्वन्द्व पाइन्छ। भौतिक परिस्थितिले मानिसको व्यक्तित्वमाथि पारेको मनोवैज्ञानिक प्रभावको वर्णन यस प्रकृतिका कथाको वैशिष्ट्य हो। साहुको सम्पत्ति, शैतानको शैतानी, एक पैसा आदि यस किसिमका कथा हुन्। आर्थिक समस्या र सामाजिक असमानताका कारणबाट समाजमा यौन दुराचार फैलिन गएको र समाजका कुत्सा, निन्दा र विकृति प्रवाहित हुने पाइपका रूपमा अभावग्रस्त नारीका रूपमा जीवन अल्झिएको मार्मिक अवस्थालाई यिनको पाइप कथाले वर्णन गरेको छ।

यसरी कथाकार भिक्षु आर्थिक दुरवस्थाको चित्रण र पात्रको मानसिक अवस्थाको विश्लेषणमा मात्र केन्द्रित नभएर विशिष्ट भौतिक परिस्थितिलाई कारण र त्यसको कार्य वा परिणामका रूपमा मानसिक स्थिति वा मनोदशाको चित्रण गर्दछन्। भौतिक यथार्थ र मनोयथार्थ, समष्टि जीवन र व्यष्टि जीवन, सामजिक मूल्य र वैयक्तिक मूल्य, परम्परा र नवीनता आदिका बीचको समन्वित वर्णन कथाकार भिक्षुका कथाको वैशिष्ट्य हो। कथाकार भिक्षुका कथामा प्रतिकूल बाहिरी परिस्थितिबाट अवचेतन मनका दमित इच्छाहरू भिन्न भिन्नरूपमा प्रकट भएका पाइन्छन्। मनका भित्री तहमा लुकेर रहेका यस्ता प्रणय र वासनाका विविध अभिव्यक्तिहरूको विश्लेषण यिनका कथामा पाइन्छ। त्यो फेरि फर्केला, मानव, त्यही सात दिन यस प्रवृत्तिका कथा हुन्। यिनका कथामा आत्मप्रतिष्ठामाथि आघात पुग्दा उत्पन्न हुने मानसिक उद्वेलन तथा आहत मनस्थितिको विश्लेषण पाइन्छ। दुई अनुभूत सत्य, उधारो सम्मान आदि यस प्रवृत्तिका कथा हुन्। आर्थिक कारणबाट उत्पन्न मानसिक अस्थिरता, व्यक्तित्वमाथिको चोट, पीडा, तनाव र अन्तद्र्वन्द्वको वर्णन यिनका रानी साहेब, भ्रष्ट यज्ञ आदि कथामा पाइन्छ। कुनै पनि कुण्ठा र तनावविना मनको निर्मल र सहज अनुरागको वर्णन, भावुक मनोदशा, वस्तुप्रतिको लगावले हुने मानसिक परिवर्तनन आदिको अभिव्यक्ति पनि यिनका कथामा प्राप्त हुन्छ। साबित्रीको बाख्रो, मेरो सानु साथी आदि यस प्रवृत्तिका कथा हुन्। कथाकर भिक्षुले सामाजिक तथा आर्थिक परिवर्तननले व्यक्तिको मानसिकतामा पारेको प्रभावको मनोवैज्ञानिक ढङ्गले विश्लेषण गरेका छन्। परिवर्तनको सङ्घारमा उभिएको विशिष्ट परिस्थितिप्रतिको दृष्टिकोण र परिवर्तनपछि आएको सामाजिक हलचल, उथलपुथल र उतारचढावले सृजना गरेको मानसिक अन्तद्र्वन्द्व यिनका कथामा पाइन्छ। नयाँ इतिहासको प्रारम्भ यस प्रवृत्तिको उत्कृष्ट कथा हो। भिक्षुका कथाको आदि, मध्य र अन्त्यलाई निम्नानुसार व्यक्त गर्न सकिन्छ।
आदि – प्रमुख पात्र र समस्याको थालनी, अन्तद्र्वन्द्वको थालनी,
मध्य – समस्याको गहिराइ, अन्तद्र्वन्द्वको विकास, उत्कर्ष विन्दूतर्फ उन्मुख र
अन्त्य – समस्याको चरम रूप, पश्चाताप, दुःख, वेदना, आत्मग्लानि।

स्रोत[सम्पादन गर्ने]

  1. १.० १.१ भवानी भिक्षुः शतवाषिर्की विशेष 'नेपालको छोरा, म कसरी अनेपाली, डा. रामदयाल राकेश
  2. कृष्णप्रसाद कोइराला, उपप्राध्यापक, पिण्डेश्वर क्याम्पस, धरान, सुनसरी, नेपाल

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]