सामग्रीमा जानुहोस्

महेशचन्द्र रेग्मी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महेशचन्द्र रेग्मी (डिसेम्बर १९२९-१० जुलाई २००३) नेपाल इतिहासकार र अभिलेखक थिए। उनी रामोन म्याग्सेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली हुन् ।[][]

रेग्मीले आर्थिक इतिहासका विभिन्न पक्षको खोज गरेर नेपालको इतिहासलेखन परम्परालाई फरक मोड दिए। रेग्मीका ‘अ स्टडी इन नेपाली इकोनमिक हिस्ट्र’ शीर्षकका दुई किताबले पृथ्वीनारायणकालको गोर्खादेखि राणाशासनको लगभग अन्त्यसम्मको नेपालको आर्थिक इतिहास बताउँछ । रेग्मीले "गोर्खालीले भौगोलिक ‘एकीकरण’ त गरे तर आर्थिक ‘एकीकरण’ को प्रयास भएन।" भन्ने कुरा पटक पटक उल्लेख गरेका छन्। ‘किङ्स एन्ड पोलिटिकल लिडर्स अफ दी गोर्खा एम्पायर’ वा ‘इम्पेरियल गोर्खा, एन एकाउन्ट अफ गोर्खाली रुल इन कुमाउँ’, गोर्खाली कसरी साम्राज्यवादी चरित्रका थिए भन्ने व्याख्या पाइन्छ। "विजित क्षेत्रका जनताबाट उठाउने जति कुत सबै उठाइयो, झारा (ज्यालाबिनाको मजदुरी) तिराइयो, तर व्यवस्थित आर्थिक प्रणालीमा राज्यका सबै जनतालाई बाँध्ने काम भएन।" भनेर तत्कालीन शासकको आर्थिक नीतिको आलोचना गरेका छन् । []

सन् १९२९ डिसेम्बरमा काठमाडौंमा संगीतकार (सितार बजाउने) परिवारमा जन्मेका थिए। रेग्मीले विद्यालय तहको शिक्षा घरमै लिएका थिए, काठमाडौंको त्रिचन्द्र कलेजमा चार वर्षसम्म बीएको शिक्षा पूरा गरे र पटना विश्वविद्यालयबाट आबद्ध थिए।

कलकत्तामा किताब र कपडाको व्यापारमा हात परेपछि रेग्मी सन् १९५१ फेब्रुअरीमा राणा शासनको अन्त्य हुनुअघि नै नेपाल फर्किए । उनले राणा शासनको अन्त्यपछि नेपाल सरकारमा आफ्नो व्यावसायिक जीवन सुरु गरे। उनले धेरै वर्ष उद्योग विभागमा काम गरे। १९५५ को अन्ततिर कारण नखुलाई उनलाई बर्खास्त गरियो।

उनले नेपालको कृषि प्रणालीको अनुसन्धान गरिरहेका अमेरिकी शिक्षाविद्लाई भेटे जो केही कागजातहरू अंग्रेजीमा अनुवाद गर्न खोजिरहेका थिए। यी मुख्यतया सन् १९५२–५३ को भूमिसुधार आयोगका रिपोर्टहरू थिए। रेग्मीले ति रिपोर्टहरूलाई अनुवाद गर्ने प्रयास गरे र उनलाई यो कुरामा चासो जाग्यो, र सन् १९५७ मा उनले यो "रेग्मी रिसर्च सेन्टर" सुरु गरे। सन् १९७७ मा उनले रामोन म्याग्सेसे पुरस्कार प्राप्त गरे।

महेशचन्द्र रेग्मीको १० जुलाई २००३ को बिहान मृत्यु भयो []

  • ‘ल्यान्ड टेन्योर एन्ड ट्याक्सेसन इन नेपाल’
  • ‘अ स्टडी इन नेपाली इकोनोमिक हिस्ट्री : १७६८–१८४७’
  • ‘एन इकोनोमिक हिस्ट्री अफ नेपाल : १८४६–१९०१’
  • ‘ल्यान्ड ओनरसिप इन नेपाल’
  • थ्याच्ड हट्स एन्ड स्टुको प्यालेसेज’
  • ‘इम्पेरियल गोर्खा’

रेग्मीले कुमाउँमा गोर्खाली शासनको २५ वर्षलाई मूल्यांकन गरेका छन् । गोर्खाली राज्यविस्तारको मूल चरित्र उपनिवेशवादी थियो । गोर्खाली प्रशासकले कुमाउँमा गरेको अत्याचारको कथा त्यहाँको लोकगीतमा अझै सुरक्षित छ ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

Regmi Research Series