प्रेमा शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रेमा शाह
जन्मगिरिराजलक्ष्मी शाह
(१९४५-०७-०९)जुलाई ९, १९४५
श्रीपुर, वीरगञ्ज
मृत्यु२० डिसेम्बर २०१७(2017-12-20) (उमेर ७२)
साल्टलेक, अमेरिका
राष्ट्रियतानेपालनेपाली
नागरिकतानेपाली
शिक्षाएम.ए.
पेशाशिक्षण, लेखन
चिनारीको कारणउपन्यास, कथा, बालसाहित्य
उल्लेखनीय कार्य
पहेँलो गुलाफ, विषयान्तर, आकाश विभाजित छ (संयुक्त लेखन), मम्मी, जिन्की र जोकर, मन्टुकी बज्यैको कथाको पेटारो, इन्द्रधनुष, रङ्गीचङ्गी कथाहरू
गृहनगरवीरगञ्ज
सन्तानजल शाह
मातापितापूर्णेन्द्रविक्रम शाह, अरुणा शाह

प्रेमा शाह वा वास्तविक नाम गिरिराज लक्ष्मी शाह (जन्म: २००२ असार १६, निधन: ६ पुस २०७४) एक नेपाली साहित्यकार थिइन्।[१] उनी प्रेम र यौनलाई अङ्गिकार गरी विसको दशकमा नेपाली साहित्यमा एउटा नयाँ युगको सुरुवात गर्ने प्रख्यात साहित्यकार मानिन्छिन्।[२]

जीवनी[सम्पादन गर्नुहोस्]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

कथाकार प्रेमा शाहको जन्म संवत् २००२ असार १६ गते शुक्रबार वीरगञ्जको श्रीपुरमा भएको थियो। उनको चिनाको नाम गिरिराजलक्ष्मी शाह हो। जन्मेको चौध दिनमा उनका बुबा पूर्णेन्द्रविक्रम शाह तथा आमा अरुणा शाहबाट अलग्याएर उनलाई वीरगन्जबाट काठमाडौंस्थित उनको मावलीघर ल्याइएको थियो। बाल्यकालदेखि नै उनको रूचि गीतसङ्गीत र नृत्यमा रहेको थियो। उनी धाईआमाको लालनपालन र स्याहारसुसारमा हुर्किएकी थिइन्।[१]

शिक्षा[सम्पादन गर्नुहोस्]

प्रेमा शाहले मावलीघरमा पढ्ने, जान्ने र हुर्कने अनुकूलता प्राप्त गरेकी थिइन्। उनले पढाइको सुरुवात आफ्नो मामाघरबाट भएको थियो। घरमा नै राम्ररी पढ्नलेख्न जानेपछि यिनलाई पाटन हाईस्कुलको बिहानको कक्षामा एकैचोटि छैटौँ कक्षामा भर्ना गरिएको थियो प्रेमाले एक वर्ष पाटन हाईस्कुलमा पढेपछि त्यस स्कुलको बिहानका सम्पूर्ण कक्षा मदन मेमोरियल स्कुलमा सरेको थियो। त्यसपछि उनी पनि मदन मेमोरियल स्कुल जान थालेकी थिइन् भने पछि उनी पाटनको त्रिपद्म स्कुलमा भर्ना भएकी थिइन्। त्यसपछि उनलाई पाटन, मङ्गलबजार स्थित आदर्शकन्या निकेतनमा पुर्‍याइएको थियो। यसरी स्कुले शिक्षा लिने क्रममा विभिन्न ठाउँमा चाहारेर उनले वि.सं २०१६ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी थिइन्। उनले पाटन कलेजबाट प्रवीणता प्रमाणपत्र तह र स्नातक गरेकी थिइन् भने त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर हासिल गरेकी थिइन्।[१]

कार्य जीवन[सम्पादन गर्नुहोस्]

जीवन धान्ने क्रममा उनले विभिन्न विद्यालयमा मुख्यतया अङ्ग्रेजीनेपाली र कहिलेकाहीँ इतिहासको शिक्षिकाको रूपमा कार्यरत रहेकी थिइन्। यस क्रममा उनी सर्लाही, वीरगञ्जनेपालगञ्जमा समेत बसेकी थिइन्। यसै क्रममा उनले सुरुमा वीरगन्जको ठाकुरराम क्याम्पस र पछि नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा पनि पढाएकी थिइन्। पेसामा आबद्ध भएको अन्तिम पहरमा उनी वीरगञ्जमा नै रहेकी थिइन्। त्यहाँ उनले साहित्यिक र सांस्कृतिक सङ्गठन पनि गरेकी थिइन्। उनैले त्यहाँ ‘नारायणी वाङ्मय प्रतिष्ठान’ नामक संस्था स्थापना गर्दै त्यस संस्थाको आफै अध्यक्ष पनि भएकी थिइन्। अन्त्यमा छोरीलाई लेखाउँदै पढाउँदै प्रेमा शाह पुनः काठमाडौँमा आएकी थिइन्।[१]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

प्रेमा शाहको यौवनावस्था र गार्हस्थ्य जीवन भने त्यति राम्रो भने भएन। साहित्यिक व्यक्तित्व झैँ नै उनको शारीरिक बनोट र रूप पनि वर्णनीय थियो। भारतका जमिन्दार जे.पी. शाहीसँग २०२८ साल असार १८ गते उनको विवाह सम्पन्न भएको थियो।[३] बिहेपछि प्रेमा शाह बनारस पढ्न गएकी थिइन्। त्यसै समयमा उनले बनारस हिन्दू विश्वविद्यालयबाट बाटिक पेन्टिङ्गमा डिप्लोमा गरेकी थिइन्। साथै त्यहाँ उनले सेरामिक्सको पनि अध्ययन गरेकी थिइन्। तर शाही दम्पती नेपाल फर्केपछि लगत्तै उनीहरूको पारपाचुके भएको थियो।

श्रीमान्सँग सम्बन्धविच्छेद भएपछि कलासम्बन्धी अध्ययन गर्न उनी जापानतिर लागेकी थिइन्। त्यहाँबाट फर्केपछि प्रेमा शाहले काम खोजिन् र बानेश्वरको एभरेस्ट सेराटन होटलमा जागिर खान थालिन्। त्यसै बीचमा उनको परिचय आर.एम. कर्माचार्यसँग भएको थियो। २०३८ मा उनले कर्माचार्यसँग दोस्रो विवाह गरेकी थिइन्। बिहे गरेको एक वर्षपछि जल शाह छोरीका रूपमा जन्मिएकी थिइन् जो नेपाली चलचित्र अभिनेत्री पनि हुन्।[१]

लेखनमा जस्तै जीवनमा पनि उनी विद्रोही रहिन्, पुरुष अत्याचार सहेर बसिनन्। त्यसपछि उनी आफ्नी छोरी जल शाहको व्यक्तित्व बनाउनतिर लागिन् । जल शाह राष्ट्रियस्तरकी अभिनेत्री भइन् र चर्चित पनि भइन्।[४]

साहित्यिक यात्रा[सम्पादन गर्नुहोस्]

प्रेमा शाहले पढ्दै साहित्य सृजना गर्दै गरिन् । नेपाली भाषासाहित्यमा प्रेमा शाह कलिलै उमेरदेखि नै चर्चित भइन्। यी मदन मेमोरियल स्कुलमा पढ्दै गर्दा ‘शारदा’ पत्रिकाका लागि रत्नध्वज जोशीले उनको एउटा रचना लिएर गएका थिए। वि.सं. २०१६ मा ”शारदा” मा ‘प्रतिक्रिया’ शीर्षकको कथा प्रकाशित गरी नेपाली साहित्याकाशमा उनी सर्वप्रथम झुल्केकी थिइन्। त्यसपछि विभिन्न पत्रपत्रिकामा उनका लेखरचना, कथा, कविता प्रकाशनमा आइरहे।[१]

लेखनको शुरुवात कालमा कथा र कविता दुवै विधामा कलम चलाउने प्रेमाले कथामा वढी झुकाव राखिन् र पहेँलो गुलाफ कथाको प्रकाशन पश्चात् नेपाली साहित्यमा त्यसले खल्वली नै मच्चाएको थियो र वि.सं.२०२३ सालमा पहेँलो गुलाफ शीर्षकमै ८ कथाको सङ्ग्रह रत्न पुस्तक भण्डारबाट प्रकाशन भयो र २०२८ सालमा अरु १० कथाहरूको सङ्ग्रह विषयान्तर पनि रत्न पुस्तकबाटै प्रकाशन भयो।[२]

उनले पुस्तकाकार रूपमा ‘पहेँलो गुलाफ’ (कथासङ्ग्रह : २०२३) निकालेर नेपाली कथासाहित्यमा यौन आकर्षण प्रस्तुत गरेकी थिइन्र। ‘पहेँलो गुलाफ’को प्रकाशन नेपाली भाषासाहित्यमा यौनमनोवैज्ञानिक कथाको एउटा सशक्त उपलब्धि थियो। ‘विषयान्तर (कथासङ्ग्रह : २०२८) पनि उनको दोस्रो यौन सम्बन्धित कथासङ्ग्रह थियो। प्रेमा शाहले ‘ममी’ नामक उपन्यास पनि लेखेकी थिइन् जुन यौन आकाशमै नाचेको पाइन्छ। यसका साथै ‘आकाश विभाजित छ’ नामक उपन्यास चाहिँ उनले अरू चारजना स्रष्टाको सहभागितामा लेखेकी थिइन्। प्रेमा शाहले साहित्यको सृजना गर्दै जाँदा केही बालउपन्यास र बालकथासङ्ग्रहहरु पनि लेखेकी थिइन्। उनले उमेर छिप्पिन थालेपछि बालकथा र उपन्यास लेख्न थालेको देखिन्छ। उनका ६ वटा बालकथासङ्ग्रह र ३ वटा बालउपन्यास प्रकाशित छन् ।[५]

प्रेमा शाह आफ्नो कविता ‘सूर्यसँग संभोग’ र ‘पहेँलो गुलाफ’, ‘लोग्ने’ आदि कैयौँ कथामार्फत एउटा ‘बोल्ड’ लेखिकाको रूपमा पनि अत्यन्त चर्चित थिइन्। प्रेमाका समकालिन लेखक डा.ध्रुवचन्द्र गौतम उनलाई विद्रोही साहित्यकारका रूपमा सम्झन्छन् र नेपाली साहित्यमा पारिजातपछि सबैभन्दा अब्बल कथा लेखकका रूपमा लिएको बताउछन् ।[४][६]

मृत्यु[सम्पादन गर्नुहोस्]

नेपाली साहित्यमा यौन मनोविज्ञान र विशेषत फ्राइडियन शिल्पी भित्र्याउने प्रखर कथाकार प्रेमा शाहको ७३ वर्षको उमेरमा अमेरिकाको युटाह राज्यको साल्टलेकस्थित इन्टर माउन्टेन हस्पिटलमा बुधबार निधन भएको थियो।[२][६][७][८]

लेखनशैली[सम्पादन गर्नुहोस्]

कथाकार प्रेमा शाहले मानवजीवनका विभिन्न पक्ष खास गरी मनोजगतका विविध पक्ष र स्थितिका बारेमा पनि सुन्दर कथाहरू लेखेकी छिन्। विश्वेश्वरप्रसाद कोइराला तथा भवानी भिक्षुले स्थापित गरेको मनोवैज्ञानिक धारा त्यसमा पनि फ्रायडवादी धारालाई अझ विस्तारित गर्ने कार्यमा कथाकार प्रेमा शाहको भूमिका उल्लेखनीय रूपमा रहेको छ। नेपाली नारीका मानसिक आरोह–अवरोहलाई प्रभावकारी शैलीद्वारा विचारोत्तेजक रूपमा व्यक्त गर्न उनी सिपालु मानिन्छिन्। शैलीगत विविधता तथा जटिल मनोदशाका साथै अतृप्त कामवासनाको चित्रण प्रेमा शाहका कथाका विशेषता हुन्। यौनलाई स्पष्ट रूपमा अभिव्यक्ति गर्न रुचाउने उनका अधिकतम कथाहरू अतियथार्थवादी बन्न पुगेका देखिन्छन्।

उनी लघु र मध्यम संरचनामा आबद्ध उनका उपन्यासमा प्रेम, दया, सहानुभूति, वात्सल्य, सद्भाव, रिस, डाहा, षड्यन्त्र, ईष्र्याजस्ता मानवीय प्रवृत्तिलाई विषयवस्तुको रूपमा समेटेर नाटकीय रूपमा प्रस्तुत गरिएको गर्छिन्। तस्करी, देहव्यापार, धोका, षड्यन्त्र आदि आदिलाई समाजबाट हटाई स्वस्थ समाजको निर्माणको चाहना राखिएका उनका उपन्यासमा रहस्यको पनि प्रस्तुतिका साथै विधवाले पुनर्विवाह गर्न पाउने वातावरणको सिर्जना हुनुपर्ने भाव अभिव्यञ्जित यिनका उपन्यासमा सत् पक्षको विजय र असत् पक्षको पराजयलाई देखाउँदै स्वच्छ, पवित्र र हार्दिक प्रेमको स्वरूपलाई देखाइएको पनि पाइन्छ।[३]

लेखन एवम मुख्य कृतिहरू[सम्पादन गर्नुहोस्]

कथासङ्ग्रह[सम्पादन गर्नुहोस्]

  • पहेँलो गुलाफ (२०२३)
  • विषयान्तर (२०२८)

उपन्यास[सम्पादन गर्नुहोस्]

  • आकाश विभाजित छ (संयुक्त लेखन : वि.सं. २०३२)
  • मम्मी (२०४०)

बाल-साहित्य[सम्पादन गर्नुहोस्]

बाल-कथासङ्ग्रह[सम्पादन गर्नुहोस्]

  • जिन्की र जोकर (२०४०)
  • मन्टुकी बज्यैको कथाको पेटारो (२०४०)
  • इन्द्रधनुष (२०४२)
  • रङ्गीचङ्गी कथाहरू (२०४५)
  • राम्रो काम (२०५१)
  • रेका केही कथा (२०५१)

बाल-उपन्यास[सम्पादन गर्नुहोस्]

  • रामेको कथा (२०४२)
  • आनन्दको आविष्कार (२०४३)
  • मनु र भँगेरा (२०४३

सम्पादित, अनूदित र फुटकर कृति[सम्पादन गर्नुहोस्]

  • उज्यालो (बाल पत्रिका : सम्पादन)
  • विभिन्न पत्र–पत्रिकाहरूमा कथा, कविता, निबन्ध, लेख आदि प्रकाशित

पुरस्कार/मान-सम्मान/पदक[सम्पादन गर्नुहोस्]

  • मैनाली कथा पुरस्कार
  • मैना पुरस्कार

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ १.५ कोइराला, कृष्णप्रसाद (४/२७/२०१२), "नारीमनकी कथाकार प्रेमा शाह र उनको ‘पहेँलो गुलाफ’ कथाको विश्लेषण", sahityaghar.blogspot.in, निहारिका, अन्तिम पहुँच २०१८-०४-१९ 
  2. २.० २.१ २.२ "प्रेमा शाह युगको अन्त्य", vpkonlinenews.com, विश्वपरिक्रमा, डिसेम्बर २१, २०१७, अन्तिम पहुँच २०१८-०४-१९  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०२-२६ मिति
  3. ३.० ३.१ लुइटेल, लीला (डिसेम्बर ३०, २०१७), "साहित्यकार प्रेमा शाहबारे केही तथ्य", janatatimes.com, Janata Times, अन्तिम पहुँच २०१८-०४-१९ [dead link]
  4. ४.० ४.१ गौतम, ध्रुवचन्द्र, "प्रेमा शाह, वीरगंज र म", prateekdaily.com, प्रतीक दैनिक, अन्तिम पहुँच २०१८-०४-१९ 
  5. LAMICHHANE, RABINS (MARCH २८, २०१०), "नारीचुली – देवी शर्मा – प्रेमा शाह – वानीरा गिरी – मीरा प्रधान रेम – भुवन ढुङ्गाना – माया ठकुरी – कुन्ता शर्मा – शान्ति छेत्री – बेन्जु शर्मा – तोया गुरङ – पद्मावती सिंह – उषा ठाकुर–", rabinsxp.com, अन्तिम पहुँच २०१८-०४-१९ 
  6. ६.० ६.१ "कथाकार प्रेमा शाह रहिनन्", kantipurdaily.com, कान्तिपुर, पुस ६, २०७४, अन्तिम पहुँच २०१८-०४-१९ 
  7. "साहित्यकार प्रेमा शाह रहिनन्", सेतोपाटीः नेपालको डिजिटल पत्रिका, बिहिबार, बैशाख ६, २०७५, अन्तिम पहुँच २०१८-०४-१९ [dead link]
  8. "Literature Prema Shah no more", myRepublica, डिसेम्बर २१, २०१७, अन्तिम पहुँच २०१८-०४-१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]