कृष्णभूषण बल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कृष्णभूषण बल
कवि बल २०६६ सालमा कोशी काव्ययात्राको समापन कार्यक्रममा
जन्मवि.सं २००४ चैत १ गते
माल्टेनी, रवि, इलाम
मृत्युवि.सं २०६९ असार ११ गते
विराटनगर
राष्ट्रियतानेपाल नेपाली
शिक्षास्नातक
पेशालेखन
चिनारीको कारणकविता
प्रसिद्ध कार्यभोलि बास्ने बिहान
गृहनगरविराटनगर
जीवनसाथीशोभा लामा
सन्तानसाईभूषण बल, कविता बल श्रेष्ठ
मातापिताहेमबल तामाङ, शारदा घिसिङ तामाङ

कृष्णभूषण बल (अङ्ग्रेजी: Krishna Bhusan Bal जन्म २००४ चैत्र १ - मृत्यु २०६९ असार ११ गते) एक सशक्त तथा कालजेयी नेपाली कवि हुन् । नबुझिने र नअर्थिने प्रयोगवादी धाराबाट नेपाली कविताको अस्तित्व माथि नै आशङ्का उठिरहेको सन्दर्भमा नेपाली कवितालाई सम्प्रेष्य विम्ब र भाषाशैलीका माध्यमबाट पाठकसँग पुनः तादात्म्य सम्बन्ध जोड्नमा कवि कृष्णभूषण बलको योगदानको उच्च मूल्याङ्कन गरिन्छ । खास गरेर गम्भीर व्यञ्जनात्मक अर्थ दिने विम्बहरूको समायोजन कृष्णभूषण बलको मौलिक विशेषता हो ।[१] नेपाली कविताको शक्तिमा भावनाको कला टिपेर यिनले बनाएको विम्बको शिखर धेरै अग्लो छ ।[२] नश्लीय रोग र धर्मको धङधङीबाट टाढै रहेका तथा राजनीतिको भाङ नलागेका कविताजस्तो शालीन व्यक्तित्वका धनी बल एउटा सिंगो कविता हुन् ।[३]

जीवनी[सम्पादन गर्ने]

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

वि.स.२००४ साल चैत्रमा बुबा हेमबल तामाङ र आमा शारदा घिसिङ तामाङको पुत्रको रूपमा मावलीघरमा कृष्णभूषणको जन्म भएको थियो । उहाँपछि दुई जना बहिनीहरू जन्मिए । उनको आमाको निधन भएपछि बुबाले कान्छी आमा ल्याउनुभयो । बहिनीहरू घरमै बसे पनि कृष्णभूषणको बसाइ मावलमा नै भयो । कृष्णभूषणको नाम रवि हुन्जेल अर्थात् निमावि पढुन्जेल ‘टीकाराम तामाङ’ थियो ।
टीकारामलार्ई मावलमा हुर्काइयो, सावाँ अक्षर चिनाइयो । अहिलेको रवि क्याम्पस र दुर्गा उच्च मावि त्यो बेला निमावि थियो टीकाराम पढाउने गुरु लग्नप्रसादका अनुसार उनी पढाइमा मध्यम स्तरका विद्यार्थी भए पनि साहित्य र अतिरिक्त क्रियाकलापमा खुब चाख राख्थे । माल्टेनी छाडेपछि टीकारामलाई बौद्धधामका नरबहादुर लामाले करफोक विद्यामन्दिरमा कक्षा ९ मा पढाए । पछि इलाम नाम्सािलिङका देवी नेपालको संरक्षणमा इलाम बजार बसेका टीकारामले जिविसमा मुखियाको जागिर पाए । भुइँकुहिरोमा घरिघरि हराइरहने, भेटिरहने बिरानो मान्छे टीकारामलाई त्यही इलामेली बसाइले कृष्णभूषण बनायो । अर्थात्, उनी कवि भए ।[४]

शिक्षा एवम् कार्यजीवन[सम्पादन गर्ने]

इलाम रवि बजारमा सात–आठ कक्षासम्म पढेपछि तामाङ विराटनगर लागे र उनले साहित्य क्षेत्रमा आफ्नो नाम कृष्णभूषण बल प्रख्यात बनाएका हुन् ।[५] कृष्णभूषण बन्ने प्रक्रियाबाट गुज्रँदै टीकारामले एसएलसी भने काठमाडौंबाटै उत्तीर्ण गरे । त्यसपछि पुलिस हुने धुनमा काठमाडौं आए । देवीको परिवारले ‘यतिको चलाख केटो कहाँ पुलिस हुन, अभैm पढ्नुपर्छ, लोकसेवा आयोगको जाँच दिनुपर्छ’ भन्दै करायो । असईमा नाम निकालिसकेको उनीमाथि नयाँ अभिभावकले अधिकार गरे । उनको बाटो त्यहीँ एउटा मायालु हप्कीले मोडियो । उनले लोकसेवा भिडे, नाम निकाले । नेपाल राष्ट्र बैंकको जागिर खाँदै कृष्णभूषणले बीएसम्म पढें, अधिकृत भए । साहित्य लेखन झाँगिदै गयो ।[४]

साहित्यिक यात्रा[सम्पादन गर्ने]

कृष्णभूषण बलको सर्वाधिक चर्चित कविता

"काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन"
 
काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सकदैन
काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन ।

नाघ्नुपर्छ पैतालाहरुले अब भन्ज्याङहरु
टेक्नुपर्छ आँखाहरुले अब सारा पहाडहरु
उड्नुपर्छ निश्चित लक्ष्यहरुमा अब यो छिमलका चराहरु
ज्वालामुखीभैंm फुट्नुपर्छ अब यो पिढीका स्वरहरु
छाम्दै हातिहरुले काँडाहरु अब टेक्न सक्नुपर्छ ।
काठमाण्डू त अब डाँडाहरुमा बिछिन सक्नुपर्छ ।

एउटै ढुङ्गाले कुनै घर बनिन सक्दैन, ढुङ्गाको तहतह हुनुपर्छ
एउटै पोखरीको कुनै ताल हुँदैन, थुप्रै दहदह जम्नुपर्छ
हुटिट्याउँले सागर थाम्न खोजेर–थामिन सक्दैन सागर
बर्खे भेलको सानो चपेटले–मेट्न खोजेर मेटिन्न बगर
पहाड मधेस थुम्काथुम्को र उकाली ओरालीको देश
कसेको पेवा होइन, कसैले ठेक्का लिएर पनि हुने हैन,
मुहान जो बग्नुपर्छ, जम्नु यसको कुनै अर्थ हुँदैन ।

काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सकदैन
काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन ।

खोरमा थुनिएर पनि बिहानीको सङ्केत दिन्छ कुखुराको भाले
निरर्थक प्रयासमा युग हाँस्छ बलिसकेको दिनलाई हुस्सुले ढाक्न खोजे
टुँडिखेलका प्रत्येक सुरुहरुमा घोडा छादेर त्यतिकै डटेकै छ इतिहास
टाप बजारेर कुदिरहेको घोडालाई त्यतिकै चाबुक लगाइरहेछ एउटा उपहास ।
अनिष्ठ भन्छन् सपनामा देखनेहरु पनि यस्तो कालो घोडा र कालो मान्छे
तर काठमाण्डू छातिमाथि बोकिरहेकै छ यस्ता कतिकति इतिहासका मान्छे
किन थाहा भएन तिमीलाई एउटा रौंलाई मात्र भनिन्न केश
किन थाहा भएन तिमीलाई एउटा इतिहासको मात्र हुँदैन देश
काठमाण्डू वास्तवमा भित्रभित्रै छटपटिएको छ
काठमाण्डू अर्को तरवारको विकास खोजिरहेको छ ऊ
युगका गह्रौं पाइलाहरु अब धेरै बोक्न सक्दैन
यसैले बग्ने निकास खोजिरहेको छ ऊ ।

काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सकदैन
काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन ।
 

भोलि बास्ने बिहान - २०४१

पछि उनी इलाम गए र उनको नाम ‘कृष्णभूषण बल’ भयो । इलाम रहँदा उनले तत्कालिन जिल्ला पञ्चायतको मुखिया भएर काम गरे । त्यसै बखतदेखि उनले कविता लेखेर अरूलाई पहिले सुनाउने गर्थे । इलाम रहँदैका समयमा उनको पहिलो कविता ‘म युवक हुँ’ इलामबाट प्रकाशित हुने ‘सौगात’ पत्रिकामा छापिएको हो । [६]

इलामको सुन्दर गाउँ रविको माल्टेनीमा (रवि गाउँ हाल पाँचथर जिल्लामा गाभिएको छ) जन्मिएर पाँच वर्षकै उमेरमा ममतामयी माताको निधन पश्चात् जीवन संघर्षमा उत्रिएका कवि कृष्णभूषण बलले सौतेनी बाबु र आमाको ताडना व्यहोर्दै “मोरङको मधुमल्लादेखि इलामको रवि बजारसम्म नुन बोकेको, शोषण र उत्पीडनले पिल्सेर तराई झरेको, कोदो रोप्ने, खेतवारी खन्ने जस्ता काम गरेको र वर्षभरि खेती गरेर मङ्सिरमा साहू महाजनलाई कूत बुझाएको” [७] जस्ता घटनाक्रमका साथ बाल्यकाल विताउँदै १७ वर्षको उमेरदेखि इलाम छाडेर तीनवर्ष काठमाडौं बसी तत्पश्चात् विराटनगरको न्यानो काखमा बस्न आइपुगेका थिए ।[८]

कवि बलले २०३६ सालको ‘सडक कविता क्रान्ति’ पछि ‘भोलि बास्ने विहान’ (२०४१) नामक कविता–सङ्ग्रहका माध्यमद्वारा आफूलाई संस्थापित गरिसकेका छन् । थोरै लेखेर चाँडै सफलताको शिखरमा उक्लने गद्य कविहरूमा गोपालप्रसाद रिमाल, बैरागी काइँला पछि यी कविको नाऊँ आउँछ । प्रसिद्ध समालोचक कृष्णचन्द्रसिंह प्रधानको मूल्याङ्कन अनुसार उनी मर्द कवि हुन् ।[८]

"काठमाडौं एक्लैले अब काठमाडौं बोक्न सक्दैन, काठमाडौं एक्लैले अब सिंगो नेपाल थाम्न सक्दैन" जस्ता सशक्त काविताका सर्जक, भाषा र शिल्पको धनी, भविष्यद्रष्टा, कालजयी कवि बल विराटनगरबाट प्रकाशित देशान्तर साप्ताहिकको "सुनाखरी लामा"को नामले स्तम्भकार समेत रहे ।[९]

नागरिक पूर्वेलीका नियमित स्तम्भकार वरिष्ठ साहित्यकार कृष्णभूषण बलले असार ९ शनिबारको अंकमा ‘बिसौँ भनौँ सक्दिनँ’ मा कसरी कवि भएँ शीर्षकमा लेखेका थिए । सम्भवतः उनका प्रकाशित अन्तिम पंक्तिहरु यिनै थिए ।[१०]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

नेपाल राष्ट्र बैंकको जागिर खाँदै, विराटनगरका कलेजहरू पढ्दै र शोभा लामासँग मीठो दाम्पत्यजीवन यापन गर्दै साहित्य लेखनतर्फ अग्रसर कवि बलका एक छोरा र एक छोरी छन् ।

मृत्यु[सम्पादन गर्ने]

शुक्रबार बिहान मर्निङवाकबाट फर्किएर घरमा नुहाउँदै गर्दा वेहोस भएका वरिष्ठ कवि प्राज्ञ कृष्णभूषण बललाई चार दिनअघि ब्रेन ह्यामेरज भई विराटनगरसिथत न्यूरो अस्पतालमा भर्ना गरिएको थियो र चिकित्सकले २०६९ असार ११ गते साँझ सोमबार साँझ ७.२५ बजे मृतः घोषणा गरेका हुन् । [११] ब्रेन ह्यामरेज’ भएर अचेत अवस्थामा पुग्नुभएका बल उपचारार्थ अस्पताल भर्ना भएको समाचार प्रवाहसँगै कैयौँ साहित्यप्रेमीको मन दुःखी तुल्याउदै रोगले एकैपटक गाँजेर ६५ वर्षको उमेर पनि पूरा गर्न नपाउँदै कृष्णभूषण बल जानुभयो, सबैलाई छाडेर ।[१२] प्रसिद्ध कवि कृष्णभूषण बल नेपाली साहित्य क्षेत्रका एक मूर्धन्य व्यक्तित्व हुन् । उनको मृत्युले यस क्षेत्रमा क्षति पुगेको छ । कवि रिमालको बहुचर्चित गीतझैँ एक युगमा एक चोटी जन्मिने कवि हुन् कृष्णभूषण बल ।[५]

लेखनशैली[सम्पादन गर्ने]

कृष्णभूषण बलका कविता कसिला, खाँदिला र सुन्दर छन्। उनको अभिव्यक्तिमा व्याख्यात्मकता, प्रतिकात्मकता, बिम्बात्मकता पाइन्छ। यथार्थता, समकालीनता, छन्दमुक्तता, सरलता आदि उनका अभिव्यक्तिगत पहिचान र विशेषता हुन्। [१३]

तीसको दशकमा उदाएका कृष्णभूषण बलले साढे तीन दशक लामो कविता यात्रा पूरा गरेका छन्। उनका 'दाज्यु तिम्रो चाहिन्छ' खण्डकाव्य र 'भोलि बास्ने बिहान' शीर्षक कविता सङ्ग्रह प्रकाशित छन्। भोलि बास्ने बिहान प्रकाशित भएको पच्चीस वर्ष पुग्यो तर यसभित्रका भारी बिसाउनुपर्दा, काठमाण्डू एक्लैले अब काठमाण्डौं बोक्न सक्तैन, चैतको हावा कवितामा भएको क्रान्तिचेत र परिवर्तनकारी शक्ति बेजोड छ। तिनै शक्तिले समयलाई हल्लाएको थियो। सधंत हल्लाईरहने छ। उनका कवितामा समकालिकता र सर्वकालिकता दुवै शक्ति जोडिएका छन्। नेपाली कवितामा एउटा मौलिक शैली र विचारका संयोजक भविष्यवादी दर्शन र राष्ट्रिय चिन्तनको प्रतिनिधि नै कृष्णभूषण बल हुन्। उनका थोरै तर शक्तिशाली कविताले बोकेको चेतना र शिल्प र्नै उनका परिचय हुन्। तीन दशकका शक्तिशाली कविहरूमा कृष्णभूषणलाई नराख्ता ठूलो रिक्त स्थान देखिने छ। उनलाई कुनै परिचयको आवश्यकता छैन किनभने आफ्नो राष्ट्रलाई परेको हरेक संकटमा उनका कविताले ठूलो बल पुर्याआएका छन्। भोलि बास्ने बिहानमा अड्तीस वटा कविता छन् भने उनका बाँकि कविता उनको मृत्युपश्चात प्रकाशित 'कृष्णभूषणका बाँकि कविता' शीर्षकको सङ्ग्रहमा प्रकाशित छन्।

उनका कवितामा राष्ट्रको गति र ढुकढुकी छ, तिनीहरूमा पहाडी जीवनका विम्वहरू अत्यधिक घनिभूत छन्, उनको बाल्यकालले टिपेको सौन्दर्यचेत त्यहाँ तीव्र छ। उनले मधेशलाई पनि त्यसैगरी समेटेका छन्। उनको मनमा सधैं सिङ्गो, विविधतापूर्ण र स्वतन्त्र राष्ट्रको चित्र कोरिएको छ। कृष्णभूषण सधैं अन्धकारको विरुद्धमा रहे ।

कृष्णभूषण अत्यन्तै तीब्र सम्वेदनाका धनी। उनको सम्वेदनशीलता मनको घाउ, बाल्यकाल, हजुरआमाको पनि त्यसदिन चोला छुट्यो, घर सम्झेपछि, आँसु सकिएपछि झझल्को मेरी आमाको, इलाम तिम्रो काख छाडी म चिसो बनें जस्ता कवितामा पाइन्छ।

बलका समकालिन कवि विष्णुविभु घिमिरेले "कृष्णभूषण बलका कवितामा जुन सौन्दर्य चेतनाको इन्द्रेणी छ, त्यो अनुभूति गर्दा लाग्छ- उनी यस धर्तीमा सुन्दर कविता लेख्नकै लागि जन्मिएका हुन्। उनी जब लेख्छन्। उनले लेखेपछि त्यो सुन्दर कविता बन्छ।" भनेका छन् भने बलको लामो सङ्गतमा रहेका वर्तमान पुस्ताका सशक्त कवि सुमन पोखरेलले उनको व्यक्तित्व तथा सिर्जनात्मकता तथा प्रस्तुतिका बारेमा "कृष्णभूषण बल झट्ट हेर्दा ल्याङ्स्टन ह्यूज र मार्टिन लुथर किङका साझा भतिजा लाग्दछन्, तर यिनी हाम्रै इलामबाट अमिलो, धमिलो बग्दै आएर विराटनगरमा थिग्रिई जगतभर चम्किएका मोती हुन् । यिनले अँजुलीमा पोखरीबाट धमिलो पानी उबाएर कागजमा पोख्दा जगतै जगमगाउने गरिको उज्यालो भएर निस्कन्छ। यिनले पोडियममा यसो कुहिनाको आड लिएर बोल्न थाल्दा सभाभवनका भित्री भित्ताहरू पग्लिँदै भूईँतिर बग्न थालेझैँ लाग्दछ । यिनले वाचन गर्दा चैतको हुरी पनि यिनको कविता सुनेर मात्र दौडिने निधो गरी मन्दमन्द बहन थालेझैँ अनुभूत हुन्छ, मलाई ।" भनेर लेखेका छन् । [१४]

प्रकाशन / मुख्य कृतिहरू[सम्पादन गर्ने]

कविता संग्रहः[सम्पादन गर्ने]

  • भोलि बास्ने बिहान, २०४१ [१२]
  • द फुल मुन एट द रिभर ब्याक: अङ्ग्रेजीमा अनूदित कविताहरुको सङ्ग्रह[१२]
  • कृष्णभूषण बलका बाँकि रचना (कविता तथा निबन्धात्मक लेख) - २०७०[१५]

खण्डकाव्य[सम्पादन गर्ने]

  • दाज्यू तिम्रो हात चाहिन्छ, २०३३[१२]

लेख[सम्पादन गर्ने]

साहित्यकार परिचय र अभिव्यक्ति, २०४५, नेराप्रप्र [१२]

पुरस्कार तथा सम्मान[सम्पादन गर्ने]

साहित्यकार माधव भँडारीको सम्पादनमा इलामबाट निस्कने ‘सौगात’ पत्रिकामा पहिलो कविता छपाएर अघि बढ्नुभएका बलले जीवनको अन्तिम समयसम्म लेखिरहे । लेखनबाट उनी चिनिएका र धेरैका प्रिय भए: चर्चित भएका उहाँले कविता लेखेरै धेरै पुरस्कार पाए ।[१२][१६]

  • राष्ट्रिय कविता महोत्सव, २०४०
  • प्रतिभा पुरस्कार, विराटनगर, २०४०
  • राष्ट्रिय कविता महोत्सव, २०४१
  • सम्मानपत्र नवरंग साहित्य प्रतिष्ठान धरमपुर, झापा, २०५२
  • राष्ट्रिय प्रतिभा पुरस्कार, २०५७
  • डा. स्वामी प्रपन्नचार्य चतुर्भुज पुरस्कार, २०५७
  • अभिनन्दनपत्र नेपाल तामाड० घेदुड०, पूर्वान्चल क्षेत्रीय समन्वय समिति, धरान, २०६०
  • कदरपत्र साहित्य कला संगम, दमक २०६०
  • सम्मानपत्र शिरोमणि पुस्तकालय परिवार, विराटनगर, २०६०
  • सम्पानपत्र शिरोमणि पुस्तकालय परिवार, विराटनगर, २०६०
  • सम्मानपत्र रविबासीका तर्फबाट, २०६०
  • यूरोशिया रेयूकाई, सम्मानपत्र, २०६२
  • मधुरिमा नेपाल सम्मानपत्र, २०६२
  • चेतना प्रतिभा एन्यन तथा संरक्षण प्रतिष्ठान नेपाल सम्मान, २०६३
  • बसुन्धरा मानश्री पुरस्कार सहित सम्मान, २०६३
  • किरांत विद्यार्थी संघ, नेपाल आदिवासी जनजाति महासंघ र लिम्बु विद्यार्थी मंच, झापा अभिनन्दन, २०६५
  • बाशु शशि स्मृति सम्मान, २०६५
  • अभिनन्दन, विराट बौद्ध समाज, २०६६
  • सम्मान, त्रिपला राष्ट्रिय पुस्तकालय, २०६६
  • सरस्वती सम्मान, लुनकरण गंगादेवी साहित्य कला मन्दिर, २०६६
  • अभिनन्दन नेपाल तामाड० घेदुंग, उर्लाबारी, २०६६
  • अभिनन्दन देवकोटा पुस्तकालय, विराटनगर, २०६६

आबद्ध संघसंस्थाहरु[सम्पादन गर्ने]

सदस्यः नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद् [१७]
अध्यक्षः वाणी प्रकाशन, विराटनगर[१७]
अध्यक्षः लोकतान्त्रिक स्रष्टा मञ्च[१७]
आजीवन सदस्यः जीवन स्मृति प्रतिष्ठान[१७]
आजीवन सदस्यः नवरंग साहितय प्रतिष्ठान[१७]
आजीवन सदस्यः वनिता प्रकाशन[१७]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. टङ्कप्रसाद न्यौपाने, स्वप्नद्रष्टा कवि कृष्णभूषण
  2. ज्योति जङ्गल, अभिभावक कवि कृष्णभूषण
  3. सीमा आभास, नेपाल समाचारपत्र, २१ असार ०६९
  4. ४.० ४.१ बसन्त बस्नेत, बैसाखीविना उभिएका कवि , नागरिक.
  5. ५.० ५.१ बुलु मुकारुङ, भूषण दाइको भोज, राजधानी.
  6. टीका आत्रेय पौडेल, इलामबाट बगेर बलदाइ...
  7. हेमराज भट्टराई–स्नातकोत्तर शोधपत्र, विराटनगर–२०६७
  8. ८.० ८.१ दधिराज सुवेदी, कवि कृष्णभूषण बलको काव्यकला.
  9. किशोर नेपाल,
  10. अजित तिवारी, कृष्णभूषण बलका अन्तिम पंक्ति , २०६९ असार १२ गते
  11. बन्धु पोखरेल, वरिष्ठ कवि बलको निधन
  12. १२.० १२.१ १२.२ १२.३ १२.४ १२.५ जयदेव भटृराई, सशक्त कविको अवशान,२०६९ असार २४ गते.
  13. कुमारप्रसाद कोइराला, कवि कृष्णभूषण बल
  14. सुमन पोखरेल, मेरा अनुभवका केही कृष्णभूषण बल
  15. शोभा लामा (संयोजक), काठमाडौं: अोरिएन्टल प्रकाशन गृह, 2013
  16. Krishna Bhushan Bal, Tamang Samaj.Com
  17. १७.० १७.१ १७.२ १७.३ १७.४ १७.५ यज्ञप्रसाद शर्मा, कवि बललाई सम्झिँदै परिवार र आफन्तहरु, सुक्ष्म सरोकार.

वाह्य लिङ्कहरू[सम्पादन गर्ने]