मोहन कोइराला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मोहन कोइराला (बिसं १९८३-२०६३) नेपाली साहित्यको काव्य विधामा प्रयोगवादी धाराका प्रवर्तकका रूपमा परिचित कवि हुन्। उनको पहिलो प्रकाशित कविता 'बुझिसके' शिर्षकको फुटकर कविता हो। उक्त कविता बिसं २००७ सालमा शारदा पत्रिकामा प्रकाशन गरिएको थियो। स्वअध्ययनबाट नै कविता लेख्न सुरूगरेका कोइरालाले बिसं २०३८ सालको मदन पुरस्कार पनि जित्न सफल भएका थिए। कोइराला बिसं २०५६ सालमा तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको उपकुलपति समेत भएका थिए।[१]

जीवनी[सम्पादन गर्ने]

मोहन कोइरालाको जन्म वि. सं. १९८३ साल मंसिर ११ गते[१] सोमबारका दिन बाबु ईश्वरीप्रसाद कोइराला र आमा प्रियादेवीका माहिला सुपुत्रका रूपमा डिल्लीबजार, काठमाडौंमा भएको हो। उनका जेठा दाजु मणिरामको कलिलै उमेरमा निधन भयो भने कान्छा भाई शङ्कर कोईराला प्रख्यात आख्यानकारका रुपमा परिचित भए । एस.एल.सी.सम्मको शिक्षा लिएका उनी वि.सं. २०३० र २०४७ मा प्रज्ञा परिषद्को सदस्य हुँदै नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति (२०५६-६१) भए।

कृति[सम्पादन गर्ने]

मोहन कोइरालाले शारदा, इन्द्रेणी, प्रगती जस्ता पत्रपत्रिकाहरूमा कविता प्रकाशन गरेर कविता यात्रा सुरूगरेका हुन्। बिसं २००७ सालमा 'बुझिसके' कवितापछि, 'प्रसूता' (२०११), 'सिहिनी: लालसाको अग्निकुण्ड' (२०१२) प्रकाशित भएको पाइन्छ। [१]

उनका प्रकाशित कृतिहरूः
१. सारङ्गी बोकेको समुद्र (वि.सं. २०३२)
२. नीलो मह (खण्डकाव्य, वि. सं. भ२०४१)
३. हिमचुली रक्तिम छ (वि. सं. २०३५)
४. ऋतु निमन्त्रण (वि.सं. २०४०)
५. मोहन कोइरालाका कविता (कवितासंग्रह, वि.सं. २०३०)
६. नदी किनारका माझी (वि.सं. २०३८)
७. एउटा पपलरको पात (कवितासंग्रह, वि. सं. २०४७)
८. कविताबारे केही चर्चा (वि. सं. २०३५)
९. लेक (काव्य, वि.सं. २०२५)
१०. गजपथ (कविता, वि.सं. २०५९)
११. आज कसैलाई बिदा गर्नु छ (कविता, वि.सं. २०६०)
१२. सिमसारका राजदूत (कविता, वि.सं. २०६५)

पुरस्कार[सम्पादन गर्ने]

उनलाई नदी किनाराका माझी नामक ग्रन्थका लागि मदन पुरस्कार २०३८ प्रदान गरिएको हो। वि.सं. २०३०मा मोहन कोइरालाका कविता का लागि र वि.सं. २०४०मा ऋतु निमन्त्रण का लागि साझा पुरस्कार प्रदान गरियो। उनले रत्नश्री स्वर्ण पदक पनि पाएका थिए।

निधन[सम्पादन गर्ने]

मोहन कोइरालाको मृत्यु बिसं २०६३ फागुन १० गते काठमाडौंमा भयो।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ १.३ नरेन्द्रप्रसाद कोइराला, राजन भट्टराई (२०६७). आधुनिक नेपाली कविता-काव्य (गीत र गजल). काठमाडौं: नालन्दा पब्लिकेसन. pp. 228-229. . 

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]