ऋद्धिबहादुर मल्ल
ऋद्धिबहादुर मल्ल | |
---|---|
जन्म | वि. सं. १९५५ मंसिर २४ वनारस, वरुणापुल कोठी, भारत |
मृत्यु | २०५५ वैशाख ५ काठमाडौँ |
पेशा | लेखक, प्रकाशक, सम्पादक |
भाषा | नेपाली |
राष्ट्रियता | नेपाली |
नागरिकता | नेपाली |
विधा | उपन्यास, साहित्यिक पत्रिका |
उल्लेखनीय कार्यहरू | शारदा पत्रिका, जोर गणेश प्रेस |
जीवनसाथी | आनन्दकुमारी |
बच्चाहरू | छोरा गोविन्दबहादुर मल्ल, विजय मल्ल, फत्तेबहादुर मल्ल र हिक्मतबहादुर मल्ल, छोरी शान्ति |
अभिभावकहरू | बुवा वीरबहादुर मल्ल, आमा नीरकुमारी |
धर्म | हिन्दु |
ऋद्धिबहादुर मल्ल (वि. सं. १९५५-२०२५)नेपालको पहिलो साहित्यिक पत्रिका शारदा मासिकका संस्थापक सम्पादक थिए । शारदा पत्रिका १९९१ सालको माघे संक्रान्तिदेखि मल्लकै सम्पादन र प्रकाशनमा आएको हो । मल्लको सम्मानस्वरुप सरकारले २०५४ सालमा उनको मुहारचित्र अङ्कित हुलाक टिकट प्रकाशनमा ल्याएको थियो ।
जन्म
[सम्पादन गर्नुहोस्]मल्लको जन्म वि. सं. १९५५ मंसिर २४ गते वनारसको वरुणापुल कोठीमा भएको थियो । उनी सुब्बा वीरबहादुर मल्ल र नीरकुमारीका जेठा छोरा थिए । वीरबहादुर मल्ल जंगबहादुरकी कान्छी छोरी दीपकुमारीका सेवामा बाँधिएका थिए । वीरशमशेर प्रधानमन्त्री भएपछि उनले दीपकुमारीलाई देश निकाला गर्दा वीरबहादुर पनि सँगै वनारस पुगेका थिए । त्यही परिवेशमा ऋद्धिबहादुर मल्ल जन्मिएका थिए ।[१]
शिक्षा
[सम्पादन गर्नुहोस्]२२ वर्षको उमेरमा म्याट्रिक्स पास गर्दा राज्यले उनलाई दोसल्ला ओडाएर हात्तीमा काठमाडौं सहर घुमाएको थियो । त्यस प्रकारको सम्मान प्राप्त गर्ने उनी अन्तिम व्यक्ति पनि भए । १९७६ सालपछि राज्यबाट यसरी सम्मान गर्ने प्रथा बन्द गरिएको थियो ।[२]
जागिर
[सम्पादन गर्नुहोस्]मल्लले घरको आर्थिक अवस्थाका कारण कलेजस्तरको शिक्षा लिन सकेनन् । त्यसैले उनी जागिरमा लागे र सुब्बा भए । जुद्धशमशेरकी छोरीको निजी सचिव भएर उनले आफ्नो युवा अवस्था कटाए ।
विवाह र परिवार
[सम्पादन गर्नुहोस्]ऋद्धिबहादुर मल्लको विवाह १९७० सालमा साहु द्वारिकादास मूलकी छोरी आनन्दकुमारीसँग भएको थियो । यी दम्पतीबाट छोरा गोविन्दबहादुर, विजयबहादुर, फत्तेबहादुर र हिक्मतबहादुर र छोरी शान्तिको जन्म भएको थियो । गोविन्दबहादुर मल्ल गोठाले र विजय मल्ल पनि नेपाली भाषासाहित्यका प्रतिष्ठित प्रतिभा हुन् ।
प्रकाशित कृति
[सम्पादन गर्नुहोस्]मल्लले नेपाली भाषामा ६ वटा उपन्यास अनुवाद गरे र एउटा उनको मौलिक लेखनमा प्रकाशित भएको पाइन्छ । यद्यपि उनका कृतिको संख्या र प्रकृतिका सम्बन्धमा साहित्यकार तथा समालोचकहरुको एउटै मत छैन । उनले लेखेको 'शकुन्तला'नामक पुस्तक जुद्धशमशेरले छपाइदिन हुकुम गरेका थिए । पाण्डुलिपि शिक्षा डाइरेक्टर मृगेन्द्रशमशेरका हातमा पुग्यो । तर दुई वर्षसम्म पनि किताब प्रकाशित भएन । पछि मल्लको सोही किताब कर्णेल शिवप्रतापशमशेर थापालाई लेखक बनाएर प्रकाशनमा आयो ।
मौलिक कृति
- शर्मिष्ठा (वि. सं. १९८५), उपन्यास
सम्पादित, अनूदित र फुटकर कृति
- आँखाको कसिंगर (अनुवाद), उपन्यास
- डुंगा पल्टियो (अनुवाद, २०२२), उपन्यास
- शेष प्रश्न (अनुवाद, २०२२), उपन्यास
- चरित्रहीन (अनुवाद, २०२२), उपन्यास
- गोरा (अनुवाद, २०१८), उपन्यास
- न्याट्रिड्यामको कुम्भे (अनुवाद, २०२५), उपन्यास
- शारदा (सम्पादन), मासिक पत्रिका
शारदाको प्रकाशन
[सम्पादन गर्नुहोस्]नेपाली साहित्यमा युग निर्माण गरेको मानक साहित्यिक पत्रिका शारदालाई मानिन्छ । यो पत्रिका १९९१ सालको माघे संक्रान्तिदेखि मल्लकै सम्पादन र प्रकाशनमा आएको हो । यस पत्रिकालाई जसरी रुद्रराज पाण्डेले सहयोग पुर्याएका थिए, त्यसरी नै प्रेमराज शर्माले पनि मद्धत गरेका थिए । शारदा प्रकाशनका लागि मल्लसँग होस्टेमा हैंसे गर्नेहरुमध्ये बालकृष्ण सम, जितेन्द्रबहादुर शाह, बडाकाजी मरिचीमान सिंहको पनि भूमिका थियो । लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षु, सूर्यविक्रम ज्ञवाली, गोविन्दबहादुर मल्ल गोठाले आदि थुप्रै लेखकलाई यसै पत्रिकाले उभ्याएको हो । राणा प्रधानमन्त्री श्री ३ जुद्धशमशेरले पत्रिका निकाल्न मल्ललाई वार्षिक ५०० रुपैयाँ खड्ग निसाना गरेर दिएको ‘उन्नयन’ को ऋद्धिबहादुर मल्ल विशेषांक (पूर्णांक २५, २०५४) मा सुन्दरप्रसाद शाह ‘दुःखी’ ले उल्लेख गरेका छन् । त्रिचन्द्र कलेजका प्रिन्सिपल सरदार रुद्रराज पाण्डेलाई मल्लले कोलकाताको हेउर स्कुलको जस्तै शिक्षक–विद्यार्थीका रचना संकलन गरेर मासिक–पत्र निकाली आफ्नो जोरगणेश प्रेसमा छाप्न सुझाएका थिए । निकै पछि सरदार पाण्डेले मेजर जनरल मृगेन्द्रशमशेरसित ‘त्रैमासिक’ निकाल्न कुरा मिलाए र जुद्धशमशेरले ‘दैनिक पत्रिका निकाल्छ भने पनि निकाल्न दिनू’ भनी हुकुम गरेका थिए ।[३]
जुद्धशमशेरले पद्मशमशेरलाई राजकाज सुम्पेर गएपछि २००२ सालमा शारदा संकटमा पर्यो । कागज, मसी इत्यादि किन्ने पैसाको अभाव भयो । संक्रमणकालीन सत्ताले पनि शंकाको नजरले हेर्न थाल्यो । ऋद्धिबहादुरले पत्रिका चलाउन पैसाको मद्दत मागे । त्यसमा डाइरेक्टरले वर्षको १,२०० रुपैयाँ दिने भए । सम्पादकलाई ३६०, लेखकलाई महिनैपिछे ५० को दरले ६०० दिने तय भयो । सम्पादक पनि गोपालप्रसाद रिमाललाई खटाएर पठाइयो । त्यही बेला रिमाल राणाविरोधी आन्दोलनमा लागेको थाहा भएपछि अर्को आदेश आयो, ‘शारदाबाट रिमाललाई झिक, तिम्रो आफ्नो छोरालाई सम्पादक बनाऊ ।’ फलस्वरूप गोविन्दबहादुर मल्ल सम्पादक भए । सात सालको आन्दोलन र श्री ५ को दिल्ली सवारीका घटनापछि शारदा अनियमित भयो । २००७ सालको राजनीतिक परिवर्तनपछि जसोतसो १–२ अंक मात्र छापिए ।[४] राणाको स्तुति र चाकरी गरेर नै उनले शारदालाई पनि सञ्चालन गरिरहे । वि. सं. २००७ फागुन ७ गते प्रकाशित भएको दैनिक आवाज प्रकाशित गर्ने पनि मल्ल नै थिए । वास्तवमा उनी परिस्थिति अनुसार काम गर्थे ।
जोरगणेश प्रेस
[सम्पादन गर्नुहोस्]शारदाको नाउँमा गाँसिएको अर्को संस्था हो- जोरगणेश प्रेस । मल्लले खरदार तीर्थराज सुवालसँग साझेदारीमा प्रेस खोलेका थिए । केही समयपछि नै खरदार सुवालले प्रेसबाट हात झिके । त्यसपछि मल्ल एक्लैले जोरगणेश प्रेस सञ्चालन गरे । त्यसै प्रेसबाट शारदा पत्रिका प्रकाशित भइरह्यो ।[५]
मृत्यु
[सम्पादन गर्नुहोस्]मल्लको २०२५ वैशाख ५ गते काठमाडौंमा देहान्त भयो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ http://nai.com.np/contents.php?id=324 वेब्याक मेसिन अभिलेखिकरण २०२३-०७-१० मिति
- ↑ http://nai.com.np/contents.php?id=324 वेब्याक मेसिन अभिलेखिकरण २०२३-०७-१० मिति
- ↑ https://ekantipur.com/koseli/2022/08/13/16603561831725466.html
- ↑ https://ekantipur.com/koseli/2022/08/13/16603561831725466.html
- ↑ https://shikshakmasik.com/2636/esewa.com.np