बालसाहित्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बालसाहित्य साहित्यको यस्तो विधा हो जसको प्राथमिक पाठक, दर्शक, श्रोता (अडियन्स) बालबालिका हुन् । तैपनि यो विधाका अधिकांश कृतिहरु प्रौढहरूले पनि आनन्द मानेर पढ्छन् । बालसाहित्यमा के हुन्छ के हुँदैन भन्ने विषयमा केही विवाद नभएको होइन । तैपनि सामान्यतया बालबालिका आफैले रोजेर पढ्ने साहित्यिक सामग्री र अभिभावक, शिक्षक तथा विशेषज्ञहरूले 'बालबालिकाका लागि उपयुक्त' भनेर छुट्याएका साहित्यिक सामग्रीलाई बालसाहित्य भन्न सकिन्छ । डिक्स्नरी अफ एजुकेसनमा बालसाहित्यलाई यसरी परिभाषित गरिएको छः १) बालबालिकाका लागि विशेषज्ञहरुद्वारा लेखिएको उच्च गुणस्तरको प्रकाशित पाठ्य सामग्री । २) उच्च गुणस्तरको र धेरै समयसम्म चल्ने बालबालिकाले मन पराउने प्रकाशित पाठ्य सामग्री । ३) बालबालिकाको उपयोगको लागि प्राप्य सबै मुद्रित सामग्री । नेपाली बाल-विश्वकोषमा बालसाहित्यको परिचय यसरी दिइएको छः "बालबालिकाको साहित्य नै बालसाहित्य हो । 'बालसाहित्य' शब्दको प्रयोग दुइ अर्थमा गरिन्छः पहिलो बालबालिकाले लेखेको साहित्य र दोस्रो बालबालिकाका निम्ति अरुले लेखेको साहित्य । ..... बालबालिकाका निम्ति प्रकाशित अरु सबै किसिमका रचनालाई 'बालसाहित्य' भन्ने चलन छ ।" [१] बालसाहित्य र अन्य साहित्यबीच एउटा मुख्य फरक चित्रमा देखिन्छ । बालसाहित्यका पुस्तकहरूमा चित्र हुन्छन् । जति सानो उमेर समूहको लागि हो त्यति ठूला र धेरै चित्र राखिएका हुन्छन् । कसैले बालबालिकाका लागि भनेर किटान गरेर सिर्जना गरेको साहित्यलाई नै बालसाहित्य भन्नुपर्छ भन्छन् । तैपनि, पहिलेपहिले मूल रूपमा प्रौढहरुका लागि भनेर छुट्याइएका कतिपय कृतिहरु अहिले बालबालिकाका लागि हुन् भनेर मानिएको छ । 'एलिस इन वण्डरलैण्ड', 'एडभेर्न्चर्स अफ हक्कलबेरीफिन', यस्तै कथा हुन् । यसको विपरीत पहिले बालबालिकाका लागि भनेर छुट्याइएका कतिपय कृतिहरु पछि प्रौढहरुका लागि भनेर सिफारिस गरिएका पनि छन् । कतिपय कृतिहरु विवादमा परेर कुनै पनि उमेर समूहका लागि भनेर छुट्याउन सकिएको छैन भने कतिपय कृतिहरु बालबालिका, किशोर र प्रौढ, तीनै वर्गका लागि भनेर बजारमा विक्री भइरहेका पनि छन् । 'गुलिभर्स ट्राभल्स' जस्ता प्रौढका लागि लेखिएका कतिपय कृतिहरु सम्पादन गरेर बालबालिकाका लागि तयार गरिएका छन् । समालोचक राजेन्द्र सुवेदीका अनुसार, "बालसाहित्यको सृजना बालकको उमेरको हद, ग्रहणशीलता, परखक्षमता, मनोवैज्ञानिक विकास आदिलाई दृष्टि दिएर गरिएको हुनुपर्छ । त्यस्तो साहित्यिक रचना नै बालसाहित्य हो । ..... विद्यालयस्तरका बालबालिकाको मानसिक अवस्था र बौद्धिक तहलाई दृष्टि दिएर स्रष्टाले सृजना गरेको कृति बालसाहित्य हो । बालकहरूले आत्मसात् गर्न सक्ने विषय, भाव, कला, शिल्प र प्रस्तुतीकरणका आधारमा रचित साहित्य बालसाहित्य हो । बालसाहित्यको विषय क्षेत्र व्यापक छ, बालसाहित्य शब्दको सीमा व्यापक छ । ..... समाज, जीवन र परिवेशलाई सुहाउने र यथार्थ ढङ्गले सोच्न सकिने रुप प्रदान गरेर लोकसाहित्य, पौराणिक र वैज्ञानिक एवं सामाजिक विषयस्रोतका वस्तुलाई बाल्य-उपभोक्ता बजारको उपयोगी, रोचक, आकर्ष र कौतुकतापूर्ण शिल्पमा शिक्षाप्रद बनाएर प्रस्तुत गरिने सामग्री नै बालसाहित्य हो ।" [२]

पुस्तक व्यवसायी तथा बाल विशेषज्ञहरूले बालसाहित्यलाई उमेरको आधारमा धेरै वर्गमा विभाजन गरेका छन् । संयुक्त राज्य अमेरिकाका पुस्तक प्रकाशकहरूले बालसाहित्यलाई 'प्रि-रिर्डस' (५ वर्षम्मका), 'अर्ली रिर्डस' (५-७ वर्षम्मका), 'च्याप्टर बुक्स' (७-११ वर्षम्मका), र 'यंग अडल्टस्' (किशोरहरु) भनेर चार उमेर समूहमा बाँडेका छन् । कहिलेकाहीँ ७ देखि ११ वर्षउमेर समूहलाई पनि ७ देखि ९ र ९ देखि ११ वर्षउमेर समूहमा उपविभाजन गरिन्छ । तैपनि कतिपय अवस्थामा उमेर समूह छुट्याउने तरिका त्यति स्पष्ट हुँदैन । तर सामान्यतया साना बालबालिकाका लागि छापिने किताबमा ठूलाठूला र धेरै चित्र हुन्छन् भने माथिल्लो उमेर समूह वा किशोरहरुका लागि चित्रमा त्यति जोड दिइँदैन । सामान्य नियमअनुसार कथाको मानव नायक वा मुख्य मानव पात्रको उमेरभन्दा पाठकको उमेर एकदेखि तीनवर्ष कम हुन्छ । तर सबैमा यो नियम लागू हुँदैन । बालसाहित्यमा चित्रको प्रचूरता हुने हुँदा बालसाहित्य सर्जकहरु कलाकारसँगै मिलेर साहित्य सिर्जना गर्ने प्रचलन बढिरहको छ । मुद्रित बालसाहित्य शब्द र चित्रको मेल हो । दुबैको समन्वय नभई प्रभावकारी बालसाहित्य प्रस्तुत गर्न गाह्रो हुन्छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. नेपाली बाल-विश्वकोश, प्रधान सम्पादकः चूडामणि बन्धु, सम्पादकः भिक्टर प्रधान, महादेव अवस्थी र विश्वम्भर चञ्चल, प्रकाशकः नेपाली बाल-साहित्य समाज, काठमाडौँ, २०६०, पृष्ठ ३३४ ।
  2. नेपाली बालसाहित्यको इतिहास, लेखकः प्रमोद प्रधान, प्रकाशकः विवेक सिर्जनशील प्रकाशन प्रालि, काठमाडौँ, दोस्रो संस्करण २०६१, पृष्ठ १९ ।