सिताराम कट्टेल
सिताराम कट्टेल | |
---|---|
जन्म | सिताराम कट्टेल वि.सं २०४० आश्विन ४ गते सोलुखुम्बु जिल्ला, नेचाबेतघारी |
राष्ट्रियता | नेपाली |
अन्य नाम | धुर्मुस |
जातीयता | बाहुन |
पेशा | कलाकार, निर्देशक, सामाजसेवी, सरसफाइ दुत |
कार्यकाल | २००२-अहिलेसम्म |
उल्लेखनीय कार्य | हाँस्य टेलिशृङ्खला मेरी बास्सै निर्माण तथा निर्देशन, काभ्रे डाँडा गाउँमा भूकम्प प्रभावितका लागि धुर्मुस सुन्तली एकिकृत नमुना बस्ती निर्माण |
गृहनगर | गौरादह, झापा |
उचाइ | ५.५" |
धर्म | हिन्दू धर्म |
जीवनसाथी | कुञ्जना घिमिरे |
वेबसाइट | धुर्मुस सुन्तली |
सिताराम कट्टेल (Sitaram Kattel) नेपालका हाँस्य कलाकार हुन्। कट्टेल सोलुखुम्बु जिल्लाको नेचाबेतघारी गाविसको वडा नं. ७ मा जन्मिएका हुन् । पछि बसाइँ सर्ने क्रममा झापा आई बसोबास गरेका सिताराम कट्टेललाई धुर्मुसको नामले चिनिन्छ। उनी मेरी बास्सै नामक टेलिशृंखलाबाट लोकप्रिय बनेका हुन्।
सुरुवाती जीवन
[सम्पादन गर्नुहोस्]सिताराम कट्टेल (धुर्मुस) सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लाको नेचा बेतघारी गा.वि.स.मा जन्मिएका हुन्। बुवा बोगराज कट्टेल र आमा कमला कट्टेलको जेठो छोरोका रूपमा वि. सं. २०४० साल आश्विन ४ गते उनको जन्म भएको हो ।[स्रोत नखुलेको] उनी ८ वर्षको छँदै उनको परिवार झापा झरेको थियो । माध्यमिक तहसम्मको अध्ययन सिताराम कट्टेलले झापाको गौरादहमा पुरा गरे । निम्न आयस्तर भएको परिवारमा जन्मिएका उनले आफ्नो बाल्यकालदेखि नै आर्थिक अभाव भोगे । कापी कलमको जोहो गर्नका लागि उनी कहिले हलो जोत्थे त कहिले अरुको स्केच चित्र बनाउथे । खेतबारीको काम, घाँस दाउरा र घरायसी काम गर्दै अध्ययनलाई अघि बढाएका उनी विद्यालयमा राम्रो विद्यार्थीमै गनिन्थे । अत्यन्तै सोझा तर तेजिला सितारामले एसएलसी प्रथम श्रेणीमा पास गरे । उच्च शिक्षाका लागि उनी बुवाले ऋण गरेर जुटाएको १७ सय रुपैँया गोजीमा राखेर काठमाण्डौँ छिरे । कोठा खोज्दा, सामान जुटाउँदा ३६ प्रतिशत ब्याजमा बुवाले ऋण खोजेर दिएको पैसा सकियो । त्यसपछि काठमाण्डौँमा आएर उनले चित्र बनाउनेदेखि भाँडा बेच्ने कामसम्म गरे । संघर्षले जम्मा गरेको पैसाले रत्न राज्यलक्ष्मी क्याम्पसमा भर्ना भए । साथीहरूलाई जोक र क्यारिकेचर गरेर हँसाएको भरमा थुप्रै छाक टारे । केही समयपछि उनलाई कलाकार बन्ने भूत चढ्यो । हाँस्यकलाकार खेम शर्मासँगै बस्न थाले । खेम शर्मासँगै हिँड्न थालेपछि चिनजान बढ्यो । तर, गतिलो अवसर पाएनन् । काठमाण्डौँदेखि हार मानेर झापा फर्किएका सिताराम फेरि संघर्षसँग जुध्नका लागि राजधानी आए ।
पेशागत जीवनी
[सम्पादन गर्नुहोस्]टेलिशृंखला 'हिजो आजका कुरा'मा छोटो संवाद बोल्ने मौका पाए। औपचारिक रूपमा भने हाँस्यकलाकार जितु नेपालले उनलाई कलाकारितामा प्रवेश गराए । गीताञ्जली टेलिफिल्ममा अभिनय गर्ने मौका जुरेसँगै उनले केदार घिमीरे (माग्ने बुढा) लाई भेटे । धुर्मुस र माग्ने बुढाको जोडी जम्यो । गीताञ्जलीमा अभिनय गदागर्दै उनले दीपक राज गिरीसँगको चिनजानका कारण तितो सत्यको १४ भागसम्म अभिनय गरे । पछि केदार घिमीरेसँग मिलेर मेरी बास्सै हाँस्य टेलिश्रृंखला बनाए । मेरी बास्सैमा सितारामले अभिनय गरेको धुर्मुस पात्रले चर्चा र लोकप्रीयता कमायो । सिताराम कट्टेल एउटै टेलिश्रंखलामा सबैभन्दा धेरै भूमिकामा देखिएका कलाकार हुन् । उनी खड्काजी, मुस्कान पासा, केपी ओलीको नक्कली रुप, खडानन्दलगायत दुई दर्जन भूमीकामा देखिएका छन् । मेरी बास्सै निर्माणकै क्रममा उनले धुर्मुसको जोडीको रूपमा देखिएकी कुञ्जना घिमिरे(सुन्तली)सँग विवाह गरे । अहिले उनीहरूको एक छोरी सुबिहानी छिन् । यस्तै, चलचित्र निर्माण र अभिनयमा पनि सिताराम कट्टेल सहभागी छन् । छ एकान छ, वडा नम्बर ६ लगायतमा हिट चलचित्रमा पनि सिताराम कट्टेलले अभिनय गर्नुका साथै लगानी पनि गरेका थिए । विक्रम सम्बत् २०७२ वैशाख १२ को गोरखा भूकम्प पश्चात् धुर्मुस सुन्तलीको जोडी सामाजिक काममा पनि सक्रिय छन् । भूकम्प पश्चात् यो जोडीको सक्रियतामा काभ्रेको डाँडा गाउँमा एकीकृत बस्ती बनाइएको छ । धुर्मु सुन्तली एकीकृत नमुना बस्ती नाम दिइएको उक्त बस्तीले धेरैबाट प्रशंसा पाएको छ । यस्तै, भूकम्प प्रभावितलाई न्यानो कपडा बाँड्नुका साथै महोत्तरीको बर्दिबासस्थित मुसहर बस्तीमा राहत बाँडे ।[१] यी सामाजिक कामलाई अझै सक्रिय रूपमा अगाडि बढाउन उनीहरूले वि.सं. २०७२ सालमा धुर्मुस सुन्तली फाउण्डेशन स्थापना गरेका छन् ।[२]
टेलिशृंखलाहरू
[सम्पादन गर्नुहोस्]- गीतान्जली
- जिरे खुर्सानी
- मेरी बास्सै
- तितो सत्य
चलचित्रहरू
[सम्पादन गर्नुहोस्]- छ एकान छ (सन् २०१३)
- नाइँ न भन्नु ल २ (सन् २०१४)
- वडा नं ६ (सन् २०१५)
- छक्का पञ्जा
अवार्ड
[सम्पादन गर्नुहोस्]- ‘धुर्मुस–सुन्तली फाउन्डेसन’लाई मदन भण्डारी राष्ट्रिय पुरस्कार - वि. सं. २०७६[३]
- भैरव स्मृति पुरस्कार - वि. सं. २०७६[४]
- सरसफाई दूत
- भुकम्प पुनर्निर्माणको सद्भावना दूत
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "यस्तो बन्यो धुर्मुस-सुन्तलीको मुसहर बस्ती", दैनिक नेपाल, २०७३ चैत २३, अन्तिम पहुँच २०७३ चैत २३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-११ मिति
- ↑ "सिताराम कटटेल र कुञ्जना घिमिरेलाई उत्कृष्ट नागरिक सम्मान", हिमशिखर टेलिभिजन, बैशाख ३, २०७४, अन्तिम पहुँच बैशाख ३, २०७४। वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-१८ मिति
- ↑ ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ लाई मदन भण्डारी राष्ट्रिय पुरस्कार-सेतोपाटी डटकम वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-२१ मिति
- ↑ धुर्मुस–सुन्तलीलाई भैरव स्मृति पुरस्कार-राजधानीडेली डटकम वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-२१ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- ‘धुर्मुस’को समाजसेवा, चौतर्फी प्रशंसा-अनलाइन खबरडटकम
- धुर्मुस–सुन्तली निर्देशित छोटो फिल्म ‘हरियो बिल्ला’ को ट्रेलर सार्वजनिक (भिडियो)-सेतोपाटी डटकम