मनोज गजुरेल
मनोज गजुरेल | |
---|---|
मनोज गजुरेल | |
जन्म | ताप्लेजुङ, नेपाल | १० जुलाई १९७४
वासस्थान | बालकोट, भक्तपुर |
राष्ट्रियता | नेपाली |
नागरिकता | नेपाली |
शिक्षा | स्नातक तह(पत्रकारिता) |
पेशा | हास्यव्यङ्ग्य कलाकार, लेखक, सामाजिक अभियन्ता, उत्प्रेरक |
चिनारीको कारण | हास्यव्यङ्ग्य कलाकार, लुखास्त, हनुम्यान, मगज र जोकशास्त्र हास्यव्यङ्ग्य निबन्ध |
गृहनगर | झापा |
सन्तान | मिरोज गजुरेल र मेमोरी गजुरेल |
मातापिता | स्व. भवानीप्रसाद गजुरेल र माता इन्द्रमाया गजुरेल |
वेबसाइट | gajureal |
मनोज गजुरेल नेपाली हास्यव्यङ्ग्य कलाकार, अभिनेता, मोडल, गायक तथा हास्यव्यङ्ग्य कार्यक्रमका निर्णायक हुन्।[१][२] उनले आफ्नो प्रस्तुतिमा पात्रको स्वर मात्र नक्कल नगरी पात्रको लगाइ, हिँडाइ, बोलाइ हाउभाउका साथै शारीरिक वनावटको समेत नक्कल गर्छन्।[३][४] पूर्वराजा ज्ञानेन्द्र शाह[५], पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल[६], भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विश्व स्वास्थ्य सङ्गठनको महा-निर्देशक टेड्रोस एड्हानोम गेहब्रेयसस, देखि[७] अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मको[८] नक्कल गर्दै उनले नेपालमा मात्र हैन अन्तर्राष्ट्रिय जगतमा समेत वाहावाही पाएका छन्।[९] अमेरिकी अनलाइन सिबिएस न्युजले[१०] उनलाई विश्वका १८ ट्रम्प प्रतिरूपणकर्ता हास्य कलाकारको सूचीमा राखेको छ।[११] यसै कारण उनलाई समग्रमा बौद्धिक हास्यकलाकारको रूपमा चिनिन्छ।[१२] उनको व्यङ्ग्यको तारो मुख्यतः सामाजिक तथा राजनैतिक बेथिति, कुरीति, कुसंस्कार, कुप्रथा आदि नै हुन्। उनी राजनीतिलाई विश्लेषणात्मक तरिकाले नकारात्मक पाटोलाई व्यङ्ग्य प्रहार गर्छन् भने सकारात्मक पाटोलाई उजागर गर्दै सही बाटोमा लाग्न उत्प्रेरित गर्छन्।[१३]
विद्यार्थी राजनीतिबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका[१४]मनोजले पत्रकारिता विषयमा स्नातक तह उत्तीर्ण गरेका छन्। उनी सिस्नुपानी नेपाल नामक संस्थाका उपाध्यक्ष[१५], गजुरियल गार्डेन प्रा.लि. का अध्यक्ष[१६], गजुरियल डटकमका सम्पादक तथा माइडियर इभेन्ट्स एन्ड क्रिएसनका निर्देशक हुन्। मूल्याङ्कन मासिकसँग आवद्ध पत्रकार गजुरेल वि.सं. २०५२ देखि इन्सेकसँग संबद्ध रहेर मानव अधिकारको क्षेत्रमा पनि संलग्न छन्।[१७] उनले नेपालमा पहिलोपटक भएको हास्य प्रतिभा कार्यक्रम कमेडी च्याम्पियनमा निर्णायकको भूमिका निर्वाह गरेका थिए।[१८]
बाल्यकाल
[सम्पादन गर्नुहोस्]मनोज गजुरेलको जन्म विक्रम सम्वत् २०३१ अषाढ २६ गते पिता भवानीप्रसाद गजुरेल र माता इन्द्रमाया गजुरेलको कोखबाट ताप्लेजुङ जिल्लाको मामाङ्खे गाउँमा कान्छो छोराको रूपमा भएको हो। उनको वास्तविक नाम मायानाथ गजुरेल हो।[१९]निम्नमध्यम परिवारमा जन्मिएका मनोज गजुरेल आमाबाबुको सातजना छोराछोरी मध्ये कान्छा हुन्। उनका ४ जना दिदीहरू र २ जना दाइहरू छन्। ६ महिनाको हुँदा आफ्नो बाबुलाई गुमाउन पुगेका उनलाई आमाले ७ महिनाको हुँदा मामाघर ताप्लेजुङको खेवाङ्मा लगिन्। उनी ७ वर्षको हुँदा उनको परिवारले झापाको दमकमा बसाइँसराइ गरेको थियो। पारिवारिक कारणले उनी कहिले आमासँग, कहिले काकासँग त कहिले आफन्तसँग थुप्रै ठाउँमा बसाइँसराइ गर्नुपरेको थियो। यसरी उनको बाल्यकाल ताप्लेजुङ, पाँचथर, मोरङ र काठमाडौँमा बितेको थियो। वि.सं. २०४७ देखि काठमाडौँमा बसोबास गरेका उनी हाल बालकोट, भक्तपुरमा बसोबास गर्छन्।
शिक्षादीक्षा
[सम्पादन गर्नुहोस्]गजुरेलको प्रारम्भिक शिक्षा मावली गाउँ खेवाङ्, ताप्लेजुङको श्री गणेश मा.वि. मा शिशु कक्षाबाट सुरु भएको थियो। उनी सात वर्षको हुँदा उनको परिवार झापाको दमकमा बसाइँ सराइ गरेपछि उनको पढाइ पनि त्यतै सरेको थियो। ताप्लेजुङ, पाँचथर, झापा, मोरङ र काठमाडौँका ११ वटा विद्यालयमन पठनपाठन पढेका उनले प्रवेशिका परीक्षा चाहिँ काठमाडौँको पद्मोदय माध्यमिक विद्यालयबाट द्वितीय श्रेणीमा उत्तीर्ण गरेका थिए। त्यसपछि आफ्नो अध्ययनलाई पत्रकारितातिर डोर्याएका उनले रत्न राज्यलक्ष्मी क्याम्पस, काठमाडौँबाट स्नातक तह उत्तीर्ण गरेका थिए।
पारिवारिक जीवन
[सम्पादन गर्नुहोस्]वि. सं. २०५२ सालमा वैवाहिक बन्धनमा बाँधिएका उनको वि. सं. २०५४ मा छोरा मिरोज गजुरेल र वि. सं. ०६२ मा मेमोरी गजुरेलको जन्म भएको थियो। गायिका मिना ढकाल र उनको २०७४ सालमा सम्बन्ध बिच्छेद भएको थियो।[२०][२१]
साहित्यिक यात्रा
[सम्पादन गर्नुहोस्]अहिले चर्चित हास्यव्यङ्ग्यकारका रूपमा चिरपरिचित मनोज गजुरेलको साहित्यिक यात्रा पनि लोभलाग्दो नै छ। नौ कक्षा पढ्दादेखि नै युगान्तर साप्ताहिकमा 'यथार्थको धरातल' स्तम्भलेखन थालेका उनी हास्यव्यङ्ग्य लेखन, प्रदर्शन, प्रवर्द्धनमा क्रियाशील छन्। लुखास्त, हनुम्यान, मगज र जोकशास्त्र हास्यव्यङ्ग्य निबन्ध प्रकाशित गरिसकेका उनी नेपाली हास्यव्यङ्ग्यको पहिलो हास्यव्यङ्ग्य अनलाइन 'डामाडोल डटकम'का सम्पादक हुन्। चट्कन, सिस्नुपानी, फित्क्यौलीलगायतका हास्यव्ङ्ग्य पत्रिकाकामा सम्पादन सहयोगीका रूपमा कार्य गरिसकेका गजुरेलले नवयुवा, मूल्याङ्कन मासिकलगायत अन्य पत्रपत्रिकामा नियमित स्तम्भलेखन गरिसकेका छन्। यस्तै रेडियो नेपालका बालकार्यक्रम, दिनप्रतिदिन जस्ता कार्यक्रममा उनका कविता, प्रहशन, नाटकहरू प्रसारण, प्रहसन भइसकेका छन्।
कला यात्रा
[सम्पादन गर्नुहोस्]सानैदेखि ठट्यौली स्वभावका गजुरेलको कलाकारितामा प्रवेश पनि सानै उमेरमा नै भएको थियो। वि. सं. २०४० सालमा झापाको सतासीधाममा दशैँको अवसरमा प्रदर्शित नाटक खेलेर कला क्षेत्रमा प्रवेश गरेका उनी वि. सं. २०४५ मा हिमालय माध्यमिक विद्यालय, दमक, झापाको अतिरिक्त कृयाकलापमा हास्यव्यङ्ग्य प्रस्तुति गरेर पुरस्कृत भएपछि कला क्षेत्रमा लाग्न हौसिएका थिए। त्यसपछि गाउँघरका पूजाआजा तथा अन्य साँस्कृतिक कार्यक्रमहरूमा उनको खोजी हुन थालेको थियोे। वि. सं. २०४५ को अन्ततिर काठमाडौँ आएपछि रेडियो नेपालको बालकार्यक्रममा नियमित कविता वाचनमा भाग लिन थालेमा थिए। उनी पढ्ने पद्मोदय मा. वि. को नजिकैका रत्न राज्यलक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, विश्वभाषा क्याम्पसलगायत अन्य क्याम्पसमा दाइहरूले उनलाई मञ्च दिन थालेमा थिए भने पछि उनी विद्यार्थी सङ्गठनहरूको कार्यक्रमहरूमा उनको माग हुन थालेको थियो। ती मञ्चबाट उनले आफ्नो कलाकारितालाई निखार्दै लगेको पाइन्छ। चालिसको दशकको अन्त्य, पचासको दशकको सुरूदेखि नै उनी स्थापित हास्यव्यङ्ग्य कलाकारको रूपमा चिनिन थालेका थिए। उनले पहिलो पारिश्रमिक वि. सं. २०५० सालमा दार्जिलिङका लागि काठमाडौँबाट निस्किएको अडियो क्यासेटमा स्वर दिएर प्राप्त गरेका थिए।
वि. सं. २०५२ सालमा रेडियो नेपालबाट प्रसारित हुने मानवअधिकार सम्बन्धी कार्यक्रममा 'कुरा गर्यो कुरैको दुःख'[२२] भन्ने प्रस्तुतिबाट लोकप्रियताको शिखर चढ्न सुरूका उनले त्यही वर्ष रेडियो नेपालको १०० मेघाहर्जबाट बेलुकी प्रसारित हुने 'गुडनाइट एफएम'मा पहिलो रेडियो प्रस्तोताको अनुभव लिएका थिए। वि. सं. २०५३ सालदेखि साङ्ग्रिला च्यानलबाट प्रसारण हुने 'रमाइलो साङ्ग्रिला' कार्यक्रम चलाएर उनी टेलिभिजन कार्यक्रममा देखिन थालेका थिए।
राजनैतिक जीवन
[सम्पादन गर्नुहोस्]आफ्नो कलाकारितालाई निखार्न उनले राजनैतिक मञ्चहरूलाई भरपूर उपयोग गरे। वि. सं. २०४५ सालमा हिमालय मा. वि. मा राजनीतिक व्यङ्ग्य प्रहशन गरेपश्चात् उनी तत्कालीन प्रशासनको तारो भए। सोही वर्ष काठमाडौँ आएका उनी पद्मोदय मा. वि. मा पढ्दा वि. सं. २०४६ को आन्दोलन उत्कर्षमा पुगेको थियो। त्यहाँ उनले नेकपा माले निकट अनेरास्ववियु पाँचौको सदस्यता लिए र सोही स्कुलको प्रारम्भिक कमिटीको अध्यक्ष भए। वि. सं. २०४६ को आन्दोलनमा विद्यालयस्तरीय आन्दोलन परिचालन समितिका सदस्य भएका उनलाई चैत्र २४ आन्दोलनमा तीघ्रामा गोली लाग्यो। उनलाई मानव अधिकार संस्थाले 'जिउँदो सहिद'को सम्मान पनि दियो।
प्रजातन्त्र पुनर्स्थापना भएपश्चात् वि. सं. २०४७ सालमा जनमोर्चा नेपाल निकट अखिलको सदस्य बनेका उनी रत्न राज्यलक्ष्मी क्याम्पसको अध्यक्ष भए। वि. सं. २०५१ सालमा सोही क्याम्पसबाट स्ववियू सभापतिका उम्मेदवार बनेका उनले अनेरास्ववियु पाँचौँका उम्मेदवार राजेन्द्र राईको समर्थनमा आफ्नो उम्मेदवारी फिर्ता लिए। सोही अवसरमा उनले गरेको भाषण नै उनको अन्तिम औपचारिक राजनीतिक भाषण थियो। त्यतिबेला उनले स्ववियू सभापतिको उम्मेदवारी फिर्तामात्र गरेनन् आफूलाई औपचारिक राजनीतिक जीवनबाट पनि फिर्ता गरे।
कलाकारिता
[सम्पादन गर्नुहोस्]नेपाली हास्यव्ङ्ग्य विधामा छुट्टै पहिचान र अस्तित्व बनाएका मनोज गजुरेल वौद्धिक कलाकारका रूपमा चिनिन्छन्। उनको प्रस्तुतिमा हास्यव्यङ्ग्य र मनोरञ्जका साथै सामाजिक न्याय, राजनैतिक स्वतन्त्रता र मानवीय मूल्य मान्यताको पक्षधरता पाइन्छ।[२३] उनी सामाजिक, राजनैतिक, नैतिक, मानवीय कुरीति, कुसंस्कार, विसङ्गति माथि प्रहारमात्र गर्दैनन् त्यसको समाधानका उपाय साथै सकारात्मक पक्षलाई प्रोत्साहन समेत गर्दछन्। अध्ययनशील कलाकार गजुरेल कलाकारितामा आध्यात्मिक चिन्तनलाई पनि घुसाउछन्। उनले नेपाली हास्यव्यङ्ग्य कलाकारितालाई देश तथा विदेशमा समेत चिनाउन तथा स्थापित गराउन महत्त्वपूर्ण योगदान दिएका छन्। तत्कालीन राजा ज्ञानेन्द्र शाहको नक्कल गरेर नेपाली हास्यव्यङ्ग्य कलाकारितालाई विश्वका सञ्चार माध्यमसम्म मात्र पुर्याएनन् गणतन्त्र नेपाललाई स्थापित गराउन टेवा समेत गरेका थिए। पछिल्लोपटक भारतले नेपालमाथि लगाएको नाकाबन्दीको बेला पशुपतिनाथमा नरेन्द्र मोदी बनेर गरेको 'क्षमापूजा' भारतीय सञ्चार माध्यमबाट प्रसारित भएको थियो।[२४] अमेरिकाको ह्वाइट हाउसअगाडि अन्तरराष्ट्रिय जनसमुदायका बीच उनले गरेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नकललाई अन्तररास्ट्रिय सञ्चार माध्यमले समेत प्रसारण गरेको थियो। यसले भारतलाई अझै प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमाथि लगाइएको नाकाबन्दी फिर्ता लिन दवाव सृजना गरेको थियो। पछिल्लोपटक अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको नक्कल गरिएको प्रस्तुति डेलीमेल, सिविएस लगायतका पत्रिकाले पनि प्रकाशित गरेको थियो।[१०][२५] यसै प्रस्तुतिलाई मध्यनजर गरेर अमेरिकी अनलाइन सीबिएस न्युजले समेत उनलाई विश्वका १८ हास्य कलाकारहरूको सूचीमा राखेको थियो।[२६] वि. सं. २०६५ सालमा प्रचण्डको नक्कल गरेर '२०७५ को नयाँ नेपाल' भन्ने कार्यक्रम निक्कै लोकप्रिय भएको थियो। यही कार्यक्रममा उनले नेपालमा रेल आएको र पानीजहाज चलेको प्रसङ्ग भित्र्याएका थिए। तीनदर्जन भन्दा देशमा आफ्नो प्रस्तुति दिइसकेका उनी हाल लोकप्रिय कार्यक्रम 'ढुक्क हुनुहोस्' कार्यक्रममा प्रचण्डको भूमिका गर्दैछन्। उनी नेपाली हास्यवङ्ग्यकलाकार तथा लेखकमा मात्र सीमित नभई उनी एक बहुआयामिक व्यक्तित्व हुन्। सामाजिक अभियन्ता उनी विभिन्न सामाजिक कार्यक्रमहरूमा पनि संलग्न छन्। अध्ययनशील मनोज गजुरेलको प्रस्तुतिमा अध्यात्मक चिन्तन पनि भेटिन्छ। उनी विभिन्न कार्यक्रमहरूमा उत्प्रेरक व्यक्तित्वका रूपमा पनि प्रस्तुत हुन्छन्। मनोजले पछिल्लो समय पहिलो पटक भ्रस्टाचार विरुद्द अभियानको रूपमा निर्माण भएको चलचित्र 'सयकडा दश' (निर्देशक: रामशरण पाठक) मा पनि चरित्र अभिनेताको रूपमा अभिनय गरेका थिए।[२७]
मनोज गजुरेलले नक्कल गरेका प्रमुख चरित्र
[सम्पादन गर्नुहोस्]- प्रधानमन्त्री खड्गप्रसाद ओली
- पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'
- पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल
- नेपाली काङ्ग्रेस सभापति शेर बहादुर देउवा
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी[२४]
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प[१०]
- चिनियाँ राष्ट्रपति सि चिनफिङ[२८]
- विश्व स्वास्थ्य सङ्गठनका प्रमुख[२९]
- लालबाबु पण्डित
- दक्षिण भारतीय
- अरबी शेख
- चिनियाँ
- पूर्व अख्तियार प्रमुख लोकमान सिंह कार्की
- भारतीय कलाकार अमिताभ बच्चन
- बाबा रामदेव
- मातृकाप्रसाद यादव
- सभामुख कृष्णबहादुर महरा
- महिन्दा राजपाक्षे
चित्र दिर्घा
[सम्पादन गर्नुहोस्]-
डोनाल ट्रम्पको भूमिकामा गजुरेल
-
ज्ञानेन्द्र शाहको भूमिकामा
-
अरवी सेखको भूमिकामा
-
एक कार्यक्रममा प्रस्तुति दिदै गजुरेल
-
पण्डितको भूमिकामा
-
प्रचण्डको भूमिकामा
-
अभिनय गर्दै गजुरेल
-
महिन्दा राजपाक्षेको भूमिकामा
चलचित्र यात्रा
[सम्पादन गर्नुहोस्]प्रयत्क्ष हास्यव्यङ्ग्यमा रमाइरहेका मनोज गजुरेल 'सयकडा दश' चलचित्र मार्फत् नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेका थिए।[३०] भ्रष्ट्राचारले प्रेम परिवार र समाजमा पारेको प्रभावका बारेमा बनेको चलचित्र सयकडा दश चलचित्रको उनी प्रमुख पात्र मध्ये एक हुन्। यस्तै उनी मह सञ्चारद्वारा निर्मित चलचित्र दालभात तरकारीमा पनि अतिथि भूमिका निर्वाह गरेका थिए।[३१]
संलग्नता
[सम्पादन गर्नुहोस्]- उपाध्यक्ष – सिस्नुपानी नेपाल[३२]
- सम्पादक – गजुरियल गार्डेन प्रा.लि.
- सम्पादक – गजुरियल डटकम
- इन्सेक
पुरस्कार तथा सम्मान
[सम्पादन गर्नुहोस्]- भैरव अर्याल स्मृति पुरस्कार - २०७२[३३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "अमेरिकाको टेक्सास हल्लाउँदै मनोज गजुरेल"। दैनिकनेपाल। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ "मनोज गजुरेलले सबै दर्शकलाई हँसाए, हेर्नुहोस् प्रस्तुती (भिडियो)"। डिसी नेपाल। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ "मनोज गजुरेल डोनाल्ड ट्रम्प भएर आउँदा सबै झुक्किए, सबै हासेको हासै भए, हेर्नुहोस यो बबाल कमेडी (भिडियो)"। इ ताजा खबर। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ "सक्कली मोदी ठानेर खुट्टा ढोग्न आए:मनोज गजुरेल"। लोकपथ। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ "ज्ञानेन्द्र, प्रचण्ड, मोदी, ट्रम्प र रामदेव अवतारपछि मनोज गजुरेलको नयाँ अवतार आउँदै"। देश प्रदेश। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ "प्रचण्ड रुपी मनोज गजुरेलसँगको कुराकानी"। बिबिसी नेपाली। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ "नक्कली मोदी बने मनोज गजुरेल, हेर्नुहोस् 'मोदीसँग मनका कुरा'(भिडियोसहित)"। अनलाइनखबर। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ "मनोज गजुरेललाई प्रश्न : कसरी जन्मियो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 'क्यारिकेचर'?"। रातोपाटी। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ "मनोज गजुरेल भारतमा पनि हिट (भिडियो सहित"। नेपाली हेडलाइन्स। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ १०.० १०.१ १०.२ "ट्रम्पको क्यारिकेचर गर्ने विश्वका १८ कलाकारको सूचीमा मनोज गजुरेल"। अन्नपूर्ण पोस्ट। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ "विश्वका उत्कृष्ट १८ कमेडियनको सुचीमा मनोज गजुरेल"। ओएसनेपाल। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ "यी हुन् नेपालका सबैभन्दा चर्चित हास्य कलाकार"। नेपाली हेडलाइन। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ "प्रचण्ड किशुनजी जस्तै, देउवा रुखो, भट्टराई न हास्य न व्यङ्ग्य!"। लोकान्तर। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ "राजनीति हुँदै स्टेजसम्म 'गजुरियल' गर्दै मनोज गजुरेल"। रेडियोसोलु। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ "ग्वाङ्जाओमा 'सिस्नुपानी'को व्यङ्ग्यात्मक नयाँ वर्ष"। सेतोपाटी। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ "गजुरियल डटकम"। गजुरियल डटकम। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ "मानव अधिकारलाई स्थापित गर्न कारागार भित्र हाँस्यकलाकार"। इन्सेकअनलाइन डटओराजी। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ "सुरु भयो 'कमेडी च्याम्पियन'"। बाह्रखरी। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ "यसरी मेरो दोस्रो न्वारान भयो"। हिमाल पोस्ट। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ "हाँस्यकलाकार मनोज गजुरेल दम्पितिको सम्बन्ध विच्छेद"। लोकपथ।
- ↑ "करोडको डिभोर्स"। नागरिक दैनिक। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ सिम्रन स्याङ्बो तामाङ। "ह्याप्पी बर्थ डे मनोज गजुरेल ! व्यक्ति एक, अवतार अनेक"। केन्द्रविन्दु। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ "विश्वका १८ कमेडियनमा मनोज गजुरेल"। हिमाल पोस्ट। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ २४.० २४.१ "मोदी बन्न भारतबाट दाह्रीजुँगा झिकाइयो : मनोज गजुरेल"। अनलाइन खबर। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ "ट्रम्पको 'नक्कली'गर्ने विश्व सूचीमा मनोज गजुरेल पनि"। जनबोली। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ "सीबीसी न्युजमा अमेरिकी राष्ट्रपति ट्रम्पको क्यारिकेचर गर्ने मनोजको चर्चा"। न्युज अफ नेपाल। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ "मनोज गजुरेल चलचित्र 'सय कडा दश' को हिरो"। रातोपाटी। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ चिरञ्जीवी पौडेल। "सी चिनफिङ अवतारमा मनोज गजुरेल कति सफल ?"। अनलाइन खबर। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ "मनोज गजुरेलको नयाँ अवतार : डब्ल्यूएचओका प्रमुख"। अनलाइन खबर। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ "मनोज गजुरेलको 'सयकडा दश' माघ १८ मा रिलिज हुने"। रातोपाटी। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ "फिल्म दाल भात तरकारीले ५१ दिन मनाउँदा भब्य पार्टी"। समाचार दैनिक। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ "सिस्नुपानी नेपालले यसरी सम्झियो 'बा' (भिडिओ)"। सेतोपाटी। सङ्ग्रह मिति ३१ जुलाई २०२०।
- ↑ भैरव स्मृति सम्मान मनोज गजुरेललाई - अनलाईन खवर