मोरङ जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
मोरङ जिल्ला
—  जिल्ला  —
biratnagar
बिराटनगर सदरमुकाम प्रवेशद्वार
चुनावी क्षेत्र सहित गाउँपालिका/न.पा. विभाजित नक्सा
देश  नेपाल
विकास क्षेत्र पुर्वाञ्चल
अञ्चल कोशी
भौगोलिक अवस्थिति तराई र केही पहाड अंश
गा.वि.स.संख्या
नगरपालिका संख्या ९ (१ महानगरपालिका सहित)
सदरमुकाम बिराटनगर
क्षेत्रफल
 - जम्मा ११,८५५ किमी (४,५७७.२ वर्ग मी)
जनसङ्ख्या (२०६८[१])
 - जम्मा ९,६५,३७०
 जनघनत्व ८१.४/किमी (२१०.९/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड ०२१
मुख्य भाषाहरू नेपाली, लिम्बु, थारू, मैथिली, सतार
प्रमुख जातिहरु बाहुन, क्षेत्री, लिम्बु, कोचे, मेचे, सतार, थारू, कायस्थ
वेबसाइट www.ddcmorang.gov.np

मोरङ जिल्ला (यसका बारेमा उच्चारण ; अङ्ग्रेजी Morang District) नेपालको पूर्वाञ्चल विकास क्षेत्र, कोशी अञ्चलमा पर्ने औद्योगिक जिल्ला हो। पूर्वाञ्चलकै ऐतिहासिक गौरव बोकेको मोरङ जिल्ला औद्योगिक एवं जनसंख्याको हिसाबले नेपाल कै दोस्रो ठूलो जिल्लाको रूपमा परिचित छ। नेपालको पूर्वी तराईमा पर्ने यो जिल्ला प्राचिनकालमा विराट राजाको राजधानीको र मध्यकालमा लिम्बुवानको सबभन्दा प्रचण्ड राज्यको रूपमा प्रख्यात थियो। मोरङका अन्तिम राजा बुद्धिकर्ण राय खेवाङ हुन्। वि.सं २०१८ सालको प्रशासनिक विभाजन भन्दा अगाडि ३५ जिल्ला हुँदा पनि यो एउटा जिल्लामा अवस्थित थियो जुन हाल मोरङ, सुनसरी तथा झापा जिल्लाहरूमा विभाजित भएको छ। मोरङ जिल्लाको क्षेत्रफल १,८५५ वर्ग किलोमिटर छ। वि.सं. २०६८ मा यस जिल्लाको जनसङ्ख्या ९,६५,३७० थियो। मोरङ जिल्लाको सदरमुकाम र प्रमुख औद्योगिक शहर बिराटनगर हो। [२]

जिल्लाको नामाकरण[सम्पादन गर्ने]

ईशापूर्वको प्रथम शताब्दीमै किराँतीराजाहरूले कोशी नदी पूर्वको भू-भागलाई आफ्नो कर्मक्षेत्र बनाएका थिए। राज्य सञ्चालनको क्रममा कालान्तरमा यहाँ "हाङ" नामक किराँती राजाले राज्य सञ्चालन गरेको पाइन्छ। सो अवधिको प्रशासनिक क्षेत्रलाई "मावराङ्ग" भनिन्थ्यो। पछि मावराङ्ग शब्द नै अपभ्रंश भई मोरङ भन्न थालिएको हो भन्ने किम्बदन्ती रहेको छ।[२]

जिल्लाको इतिहास[सम्पादन गर्ने]

पूर्वाञ्चल कै ऐतिहासिक गौरव बोकेको मोरङ जिल्ला नेपाल अधिराज्यकै औद्योगिक एवं जनसंख्याको हिसाबले दोस्रो ठूलो जिल्लाको रूपमा परिचित छ। प्राचिनकालमा यो जिल्ला बिराट राजाको राजधानीको रूपमा प्रख्यात थियो। मोरङ्ग जिल्लाको नामाकरणको सम्वन्धमा इतिहासलाई खोतल्दै जाँदा वि.स. ५२१ मा कुदिएको चाँगुनारायणको अभिलेखको अध्ययनबाट ईशा पूर्वका शताब्दीमा काठमाडौंमा किराँती राजाहरूले राज्य सञ्चालन गरेको पाइन्छ। पछि किराँती राजाहरू लिच्छवी राजाहरूवाट पराजित भई पूर्वतर्फ लागेका थिए। यस अर्थमा ईशापूर्वको प्रथम शताब्दीमै किराँती राजाहरूले कोशी नदी पूर्वको भू-भागलाई आफ्नो कर्मक्षेत्र बनाएका थिए। राज्य सञ्चालनको क्रममा कालान्तरमा यहाँ "हाङ" नामक किराँती राजाले राज्य सञ्चालन गरेको पाइन्छ। [२] यो क्षेत्रलाई पछि वि.स. १८३० सालमा पृथ्वीनारायण शाहले अभिमान सिंह बस्नेत, रामकृष्ण कुँँवर तथा अमरसिंह थापाको नेतृत्वमा फौजलाई पूर्वमा पर्ने माझ किराँत विजयको लागि पठाईयो सोही अनुरूप माझ किराँतमा पर्ने बिजयपुर सदरमुकाम रहेको मोरङ माथी कब्जा गरी तत्कालिन नेपाल अधिराज्य भित्र गाभेको थियो। धेरै समयसम्म यो जिल्लाको सदरमुकाम बिजयपुर नै रह्यो। पछि व्यापारको लागि भारत जान सजिलो तथा नजिक होस भन्ने हेतुले बिजयपुरबाट सदरमुकाम रंगेली सारियो र पुन सुविधाको हिसाबले रङ्गेलीबाट विक्रम सम्वत् १९७१ सालमा मोरङको सदरमुकाम गोग्राहामा सारियो र पछि यो गोग्राहाको बिराटनगर नामाकरण गरीयो ।[३] वि.स. २०१८ सालको प्रशासनिक विभाजन हुनुभन्दा अगाडी ३५ जिल्ला हुँदा पनि यो एउटा जिल्लामा अवस्थित थियो [४]। जुन हाल मोरङ, सुनसरी तथा झापा जिल्लाहरूमा विभाजन भएको छ। औद्योगिक हिसाबमा नेपालको प्रथम उद्योग वि.स. १९९३ सालमा बिराट जुटमिल र १९९४ को जुद्ध म्याच फ्याक्ट्री पनि यसै जिल्लामा खोलिएको थियो। [५]

जिल्लाको भौगोलिक अवस्था[सम्पादन गर्ने]

मोरङ जिल्ला
  • अक्षांस:- २६.२०" देखि २६.५३"
  • देशान्तर:- ८७.१६ देखि ८७.५१"
  • सिमाना:- पूर्व झापाइलाम जिल्ला (मावा खोला अनि रतुवा खोला), पश्चिम सुनसरी जिल्ला (बुढी खोलाकेसलिया खोला), उत्तर धनकुटापाँचथर जिल्ला र दक्षीण भारतको बिहार प्रान्त
  • क्षेत्रफल:- १८५५ वर्ग कि.मि.
  • औषत लम्वाई:- लगभग ४६ कि.मि. (पूर्व पश्चिम)
  • औषत चौडाई:- लगभग ५४ कि.मि. (उत्तर दक्षिण)
  • राजनैतिक विभाजनः- ६५ गाविस, १ उपमहानगरपालिका (२२ वटा वडा), १७ ईलाका, ७ निर्वाचन क्षेत्र
  • उचाई:- समुन्द्री सतहदेखि करिब ६० मिटरदेखि २,४१० मिटरसम्म यस जिल्लाको भौगालिक आकार चारपाटे आकारको छ। यस जिल्लामा केही भू-भाग महाभारत, चुरे पहाडका श्रृङ्खलाहरू र करिव ८० प्रतिशत भू-भाग तराई क्षेत्रमा पर्दछन्। समुन्द्री सतहदेखि ६० देखि २४१० मिटर सम्म उचाई भएको पाइन्छ। यो जिल्ला कृषि उत्पादनको दृष्टिकोणले ज्यादै उपयूक्त मानिन्छ। उत्तरी पहाडी क्षेत्रमा वलौटे दोमट तथा दोमट, मध्य क्षेत्र(भावर क्षेत्र) दोमट तथा हल्का चिम्टाइलो माटो र दक्षिणी क्षेत्र(तराई क्षेत्र) चिम्टाइलो बलौटे दोमट तथा दोमट प्रकारको माटो पाइन्छ।[२]

हावापानी[सम्पादन गर्ने]

यस जिल्लाको हावापानीमा खासै धेरै उतारचढाव रहेको पाईदैन। तर गर्मियाममा धेरै गर्मी र जाडो मौसममा शीतलहर चलेको अवस्थामा वाहेक केही मात्रामा चिसो हुन्छ। यस जिल्लाको औषत अधिकतम तापक्रम र न्यूनतमतापक्रममा धेरै अन्तर रहेको पाइदैन।[२]

शिक्षा[सम्पादन गर्ने]

यो जिल्लामा सरकारी तथा निजी विद्यालयहरू ६९५ वटा रहेकाछन भने ३० उच्च माध्यमिक विद्यालय, १३ क्याम्पस, १ विश्वविद्यालय र १० वटा प्राविधिक तथा व्यवसायिक शिक्षालयहरू रहेकाछन।[२]

प्रमुख नदी तथा खोलाहरू[सम्पादन गर्ने]

जलभण्डार तथा जलश्रोतको हिसाबले बक्राहा नदी, चिसाङ नदी, खदम नदी, मावा नदी, रतुवा नदी, डाँस नदी, सीता नदी, लोहन्द्रा नदी, केशलिया नदी, बुढी गङ्गा ,मिक्लु नदी, सिंगयाही नदी तथा गछीया आदि खोलाहरू मुख्य मानिन्छन्। प्राय यी सबै खोलाहरूको मुहान चुरे क्षेत्र नै हो। यसका साथै मोरङ जिल्लामा मोरङ्गी, बेतना, जुडी, साखरे, कचला आदी जस्ता साना खोलाहरू छन।[२]

प्रमुख ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्रहरू[सम्पादन गर्ने]

मोरङ जिल्ला धार्मिक ऐतिहासिक एवं पर्यटकीय दृष्टिले धनी जिल्ला हो ।

बिराट राजाको दरवारको भग्नावशेष

विराटराजाको दरवार भेडियारीमा वि.सं. २०२७ सालमा नेपाल पुरातत्व विभागले उत्खनन् गर्दा ४० वटा पंचमार्क नामक चाँदीका मुद्रा भेटिएको तथ्य सार्वजनिक भएको थियो । तसर्थ उक्त ढिस्कालाई इशापूर्व कालको अवशेष मानिएको छ । विराटराजको दरबार क्षेत्रको मन्दिरको उत्खनन् गरिएको भग्नावशेष क्षेत्र प्राचीनकालको महाभारत इतिहासमा उल्लेख बिराट राजाको दरवार भएको मानिन्छ ।

राजारानी भोगटेनी गाविस वडा नम्बर ८ मा अवस्थित यो पोखरी सदरमुकाम विराटनगरदेखि करिब ५० किमि उत्तरपूर्वमा रहेको छ। राजमार्ग देखि करिब १३ किमि उत्तरमा रहेको राजारानी क्षेत्रको क्षेत्रफल करिब २० हेक्टर रहेको छ। प्राकृतिक सौन्दर्य, ताल, विभिन्न किसिमका जल प्राणी तथा वनस्पति यस क्षेत्रका मुख्य आर्कषणहरू हुन। युवा धिमाल हरूबीच धिमालहरूको पहाड भनेर चिनिने राजारानी धिमाल पोखरीको आफ्नै धार्मिक तथा साँस्कृतिक महत्व रहेको छ। वरिपरि डाँडैडाँडाले छेकिएको उपत्यका झै देखिने राजारानी क्षेत्रमा तीन वटा पोखरी र धिमाल तथा मगर समुदायले पूजा गर्ने गरेका दुईवटा मन्दिरहरू छन्।

राजा धनपालथान सदरमुकाम विराटनगरदेखि करिब १५ कि.मि पूर्वमा रहेको यो क्षेत्र पर्यटकीय, धार्मिक, साँस्कृतिक तथा जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिन्छ। करिब ३ बिगाहा क्षेत्रफलमा फैलिएको यो क्षेत्र राजमार्गबाट करिब २ कि.मि दक्षिणमा अवस्थित छ। धनपालथानमा राजा धनपालका नाममा पूजा गरिने हुनाले यसलाई धनपालथान भनिएको हो।

सुनबर्षी पोखरी

धार्मिक महत्व बोकेको पर्यटकीय स्थल हो। यो पोखरी करीब ३.५ बिगाहा क्षेत्रफलमा फैलिएको छ यो पोखरी सदरमुकाम विराटनगर देखिको करिब ४० किलोमिटर पूर्वमा अवस्थित छ। प्राकृतिक रूपमा रहेको पोखरी, चराचुरुड्डी जंगल यस स्थानका मुख्य आर्कषणहरू हुन।

बागझोडापर्यटकीय, धार्मिक, साँस्कृतिक तथा जैविक विविधताको हिसाबले महत्वपूर्ण स्थान हो। इन्द्रपुर गाविसको वडा नम्बर ५ मा अवस्थित यो क्षेत्रको क्षेत्रफल करिब ५ बिगाहा रहेको छ। सदरमुकाम विराटनगर देखि करिब ३२ किलोमिटर उत्तरपूर्वमा रहेको यो स्थान प्राकृतिक दृष्यावलोकनका लागि प्रख्यात छ।

मोरङ जिल्लाको टाडी गाउँ विकास समिति वडा नं : ७ मा अवस्थित चुलिपोखरी ३ बिगाहा क्षेत्रफल मा फैलिएको पर्यटकीय स्थल हो ।

[६]

हसेनी सिमसार

पर्यटकीय, धार्मिक, साँस्कृतिक तथा जैविक विविधताको हिसाबले महत्वपूर्ण क्षेत्र हो। सदरमुकाम विराटनगर देखि ३३ किमि उत्तरपूर्वमा रहेको यो सिमसार क्षेत्र लगभग ३२ हेक्टर फैलिएको छ। झट्ट हेर्दा पहाडका ससाना थुम्काहरू रहेको ठाउँजस्तो देखिने हसिना सिमसार क्षेत्र पहाड नभएर एउटा झोडा क्षेत्र हो। यो क्षेत्रमा जंगलको जरुवा पानी उम्रिएर जमेको छ र बाह्रै महिना पलाउने पानीले यहाँका प्राकृतिक पोखरी सँधै भरिभराउ रहन्छ।

बेतना सिमसारक्षेत्र

बेतना सिमसार

सदरमुकाम विराटनगर देखि करिब ३४ किमि उत्तरपूर्वमा पर्ने यस सिमसारको क्षेत्रफल करिब ६५ बिगाहा रहेको छ। यस क्षेत्रमा दुई प्रजातिका बेत बनस्पतिको जंगल नै रहेकाले यसलाई बेतौना भनिएको हो। चारकोशे झाडी भित्र उम्रिएको पानीले वर्षै भरी त्यहाँका ठूलठूला पोखरी भरिभराउ हुने हुँदा यस क्षेत्रलाई संरक्षित सिमसार क्षेत्रका रूपमा राखिएको छ।

मण्ठ पोखरी

सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण मण्ठपोखरी विराटनगर उपमहानगरपालिका भित्र पर्ने सवैभन्दा पुरानो तथा ऐतिहासिक स्थल हो।

ध्वजे डाँडा मोरङ जिल्ला र धनकुटा जिल्लाको सिमानामा अवस्थित पर्यटकीय स्थल हो। मोरङ जिल्लाको पाटिगाँउ गाविस वडा नं १ र धनकुटा जिल्लाको डाँडाबजार गाविसमा पर्ने यो क्षेत्रले करिब २० हेक्टर क्षेत्रफल ओगटेको छ।

मण्ठपोखरी

बेतेनी ताल

ऐतिहासिक, धार्मिक तथा पर्यावरणीय महत्व बोकेको पर्यटकीय स्थल हो। मोरङको मधुमल्ला गाविस वडा नम्बर ५ मा रहेको यो तालको क्षेत्रफल २ बिगाहा छ। सदरमुकाम विराटनगर बाट उत्तरपूर्वमा करिब ५३ किलोमिटरको दुरीमा रहेको यस स्थानको मुख्य आर्कषण पोखरी, चराचुरुड्गी, जङ्गल आदि हुन।

आर्थिक व्यवसायहरू[सम्पादन गर्ने]

मोरङ जिल्लामा अर्थिक व्यवसायका रूपमा अनेकौ व्यवसायहरू रहेका छन् । यहाँको मुख्य व्यवसाय कृषि रहेको छ तथा यहाँ अनेकौ उद्योगहरू रहेकाले उद्योगीय कार्यमा धेरै व्यक्ति आत्मनिर्भर रहेको पाइन्छ । मोरङ जिल्ला नेपालकै दोस्रो धान उत्पादन गर्ने जिल्ला पनि हो [७] । यहाँका मानिसहरू व्यापार व्यवसायमा पनि उत्तिकै अगाडी रहेका छन् । यहाँ माछा पालन , कुखुरा पालन, बाख्रा पालन , गाई पालन, चिया खेति सामान्य व्यवसाय रहेका छन् । [८]

प्रमुख जातिहरू[सम्पादन गर्ने]

मोरङ जिल्ला बहुजाति बहुभाषी र विभिन्न संस्कृति तथा रितीरिवाज र परम्परा मान्ने मानिसहरुको बसोबास भएको जिल्ला हो । यहाँका प्रमुख जाति बाहुन,क्षेत्री, लिम्बु,राई, गुरुङ, मगर, तामाङ, कोचे, मेचे , सतार, धिमाल, थारू, ताजपुरिया, राजवंशी , कामी ,दमाईमुसलमान धाँगड जाति दनुवार जाति आदि अनेकौ जाति रहेका छन् ।

चित्रग्यालरी[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

विराट राजाको दरवार राजारानी पोखरी राजा धनपाल थान सुनबर्षी पोखरी बागझोडा हसेनी सिमसार बेतौना सिमसारक्षेत्र मण्ठपोखरी ध्वजे डाँडा बेतेनी ताल
दरवारको भग्नाबशेष
राजारानी पोखरी
राजा धनपाल थान
सुनबर्षी पोखरी
बागझोडा
हसेनी सिमसार
बेतौना सिमसारक्षेत्र
मण्ठपोखरी
ध्वजे डाँडा
बेतेनी ताल