बेतना सिमसारक्षेत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेतौना सिमसारक्षेत्र

बेतौना सिमसारक्षेत्र मोरङ जिल्लाको बेलवारी गाविस वडा नं ९ मा अवस्थित छ। सदरमुकाम विराटनगर देखि करिब ३४ किमि उत्तरपूर्वमा पर्ने यस सिमसारको क्षेत्रफल करिब ६५ बिगाहा रहेको छ।

यस क्षेत्रमा दुई प्रजातिका बेत बनस्पतिको जंगल नै रहेकाले यसलाई बेतौना भनिएको हो। चारकोशे झाडी भित्र उम्रिएको पानीले वर्षै भरी त्यहाँका ठूलठूला पोखरी भरिभराउ हुने हुँदा यस क्षेत्रलाई संरक्षित सिमसार क्षेत्रका रूपमा राखिएको छ। हिउँदका समयमा यस क्षेत्रमा रुसको साइबेरिया देखिका चराहरू आउने गर्दछन्। तिनीहरू चिसो यामभरी त्यसै सिमसार क्षेत्रमा बस्ने, त्यसको छेउछाउका रुखहरूमा फुलबच्चा गरेर हुर्काउने तथा यहाँ गर्मीयाम सुरु हुनासाथ पुन हुर्काइएका बच्चाहरू लिएर साईबेरिया तिर नै फिर्ने गर्दछन्। प्रत्येक साल मंसिरदेखि बैशाख, जेठ महिनासम्म यस भेगमा त्यस्ता सुन्दर चराचुरुङ्गीहरू देख्न पाइन्छन्। करिव पच्चिस प्रजातिका दुर्लभ चराहरू, विश्वकै दुर्लभ प्रजातिको कछुवा, विभिन्न जातका माछा, जीवजन्तु र वनस्पतिहरू यस भेगमा पाइने गर्दछन्। जंगलको बीचमा रहेको सिमसारको पोखरीले यस स्थानलाई मनमोहक बनाएको छ। वातावरण, पर्यावरण र जैविक विविधताको अध्ययन अनुसन्धान गर्न चाहने मानिसहरूका लागि समेत यो स्थान निकै महत्त्वपूर्ण रहेको छ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "बेतौना सिमसारक्षेत्र", birattourism.org.np [dead link]