बागझोडा
![](http://upload.wikimedia.org/wikipedia/ne/thumb/0/09/%E0%A4%AC%E0%A4%BE%E0%A4%97%E0%A4%9D%E0%A5%8B%E0%A4%A1%E0%A4%BE.jpg/200px-%E0%A4%AC%E0%A4%BE%E0%A4%97%E0%A4%9D%E0%A5%8B%E0%A4%A1%E0%A4%BE.jpg)
बागझोडा नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, मोरङ जिल्लामा अवस्थित पर्यटकीय, धार्मिक, साँस्कृतिक तथा जैविक विविधताको हिसाबले महत्त्वपूर्ण स्थान हो। इन्द्रपुर गाविसको वडा नम्बर ५ मा अवस्थित यो क्षेत्रको क्षेत्रफल करिब ५ बिगाहा रहेको छ। सदरमुकाम विराटनगर देखि करिब ३२ किलोमिटर उत्तरपूर्वमा रहेको यो स्थान प्राकृतिक दृष्यावलोकनका लागि प्रख्यात छ।
वि. सं २०३६ साल अघिसम्म यस क्षेत्रमा बाघ पाइने हुनाले यस क्षेत्रको नाम त्यसै आधारमा बाघझोडा रहन गएको कुरा स्थानीय मानिसहरू बताउँछन्। तर वन विनाश र बढ्दो मानव बस्ति सगै यहाँका जंगली जनावर नासिँदै गएका छन्। स्थानीय मानिसहरूको भनाई अनुसार यस ठाउँमा खेत खन्दा परापूर्व कालमा सीपाहीहरूले प्रयोग गर्ने कवच र तरवारहरू फेला परेका थिए र ती सामानहरू क्षेत्रीय संग्रालय धनकुटामा राखिएको छन्। बाघझोडा क्षेत्र जैविक विविधताका दृष्टिले ज्यादै सम्पन्न छ। झोडा र सिमसार क्षेत्रका रूपमा रहेको हुनाले यस भेगमा विभिन्न प्रजातिका वनस्पति र जिवजन्तुहरू पाइने गर्दछन्। तसर्थ यो स्थान जैविक विविधताको अध्ययन अनुसन्धान गर्न चाहनेहरूका लागि महत्पूर्ण छ। यसै गरी पर्यटनको विकासका लागि आवश्यक पूर्वाधारहरूको निर्माण गरिएको खण्डमा आन्तरिक पर्यटकहरू यस क्षेत्रमा केही समयसम्म रम्न सक्ने देखिन्छ।
बाघझोडा क्षेत्रमा प्रवेश गर्नासाथ किराँत साकेला थान प्रवेशद्वारका रूपमा रहेको छ। यहाँ दुइवटा विश्राम घर, एउटा चौतारो र एउटा फलैचा पनि निर्माण गरिएका छन्। यसको बाटो तिरको भागमा तारघेरा वारागरिएको देखिन्छ। यस स्थानमा हरेक वर्षको वैशाख १५ गते मेला लाग्ने गर्दछ। यस झोडाभित्र धिमालहरूले मान्ने जलेश्वरी देवीको मन्दिर छ। स्थानीय धिमालहरूको मेला यसै मन्दिर परिसरमा लाग्ने गर्दछ। त्यसबाहेक झोडा परिसरमा पर्ने एउटा शिवालय र प्रवेशद्वारसँगै किराँतहरूको साकेला थान पनि छ। बाघझोडामा एउटा शिवलिंग खुला चौरीमा नै राखिएको छ। त्यस स्थानमा वनभोज खान जानेहरूका लागि ससाना छाप्राहरू निर्माण गरिएका छन्। तसर्थ पनि यस छेउछाउका मानिसहरू प्रशस्तै मात्रामा यस भेगमा बनभोज खानका लागि जाने गरेका छन्।[१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "सप्तकन्या गुफा", birattourism.org.np।[स्थायी मृत कडी]