हसिना सिमसार
हसिना सिमसार | |
---|---|
नेपालको नक्शामा हसिना सिमसार | |
रहेको स्थान | मोरङ जिल्ला, सुन्दरपुर गाविस वडा नं ६ |
नजिकको सहर | विराटनगर |
क्षेत्रफल | ३२ हेक्टर |
हसिना सिमसार मोरङ जिल्लाको सुन्दरपुर गाविस वडा नं ६ मा रहेको पर्यटकीय, धार्मिक, साँस्कृतिक तथा जैविक विविधताको हिसाबले महत्त्वपूर्ण क्षेत्र हो। सदरमुकाम विराटनगर देखि ३३ किमि उत्तरपूर्वमा रहेको यो सिमसार क्षेत्र लगभग ३२ हेक्टर फैलिएको छ। झट्ट हेर्दा पहाडका ससाना थुम्काहरू रहेको ठाउँजस्तो देखिने हसिना सिमसार क्षेत्र पहाड नभएर एउटा झोडा क्षेत्र हो। यो क्षेत्रमा जंगलको जरुवा पानी उम्रिएर जमेको छ र बाह्रै महिना पलाउने पानीले यहाँका प्राकृतिक पोखरी सँधै भरिभराउ रहन्छ। यस भेगमा विभिन्न प्रकारका वनस्पति र जंगली जीवजन्तुहरू पाइने हुनाले जैविक विविधताको अध्ययन गर्न चाहनेहरूका लागि यो स्थल एउटा पुस्तकालयका रूपमा रहेको देखिन्छ। चारकोशे झाडीसँगै जोडिएको नमूना सामुदायिक वन भित्रका पर्ने हसिना सिमसार क्षेत्र पर्यटकीय दृष्टिले पनि निकै महत्त्वपूर्ण रहेको छ। किनकि विराटनगर, धरान, इनरुवा र इटहरी जस्ता पूर्वाञ्चलका मुख्य शहरी क्षेत्रका सवैभन्दा नजीकमा पर्ने सिमसार क्षेत्र यही नै हो। यस क्षेत्रमा बँदेल, मृग, दुम्सी, खरायो, वनकुखुरा, सिमकुखुरा र बाँदर लगायत विभिन्न जातका बन्यजन्तु तथा पशुपन्क्षीहरू पाइन्छन्। यहाँको पोखरीहरूमा विभिन्न जातका माछाहरू पनि छन। हसिना सिमसारक्षेत्रको ऐतिहासिकता तथा प्राचीनता भने त्यति पुरानो छैन। सर्वप्रथम वि. सं २०११ सालमा महेश्वर सुब्बाले उक्त झोडा खेलेका थिए। कोशीको बाढीबाट विस्थापित मानिसहरूलाई राख्न उक्त झोडा खोलेको बताइन्छ। यहाँका मठमन्दिरहरू पनि त्यति पुराना छैनन्। वि. सं. २०५८ सालमा त्यहाँ एउटा शिवालय र एउटा बूढासुब्बाको मन्दिर स्थापना भएका छन्।[१]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ "हसेनी सिमसार", birattourism.org.np।