कुखुरा पालन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
कुखरा पालन (ब्रोइलर) पूर्ण रोजगारीका साथ मनग्य आम्दानी गर्न सकिने भरपर्दो पेशा हो। यो रोजगारी भएका तर समय बचत गर्न सक्ने व्यक्तिका लागि पनि उपयुक्त हुन्छ। न्यून आय भएका अर्धबेरोजगार व्यक्तिका लागि थप आयआर्जन गर्न यो पेशा सहायक सिद्ध हुन सक्छ। यो पेशा थोरै जग्गा तथा कम लगानीमै सञ्चालन गर्न सकिन्छ। यसको उत्पादन ५–६ हप्तामै भित्र्याउन सकिन्छ र वर्षमा ६–७ पटकसम्म कुखुरा बेच्न सकिन्छ। यो व्यवसाय गर्न धेरै ठूलो तालिमको आवश्यकता समेत पर्दैन।
नेपालमा यो व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री सहज उपलब्ध छन्। साथै, सहज बजार पहुँचले उत्पादनपछिको विक्रीवितरणमा समेत समस्या छैन। यो व्यवसाय सञ्चालन गर्दा प्रारम्भमा सानो आकार अर्थात् १ सयदेखि २ सयबाट शुरू गर्नु उपयुक्त हुन्छ। र, बिस्तारै कुखुरा पालनको अनुभव बटुली व्यावसायिक रूपमा यो पेशा सञ्चालन गर्न सजिलो हुन्छ।
खोरको व्यवस्थापन
[सम्पादन गर्नुहोस्]ब्रोइलर कुखुरा पालनका लागि पानीको सहज निकास हुने बलौटे–दोमट माटो भएको ठाउँमा अग्लो घर (खोर) भए राम्रो हुन्छ। साना चल्ला हुर्काउने खोर ठूला र फुल पार्ने अवस्थाका कुखुराको खोरभन्दा ३ सय फीट टाढा हुनुपर्छ। यस्तो खोरको मोहडा पूर्व अथवा पश्चिम फर्केको हुनु उचित मानिन्छ। यस्तो खोरमा घाम, पानी, हुरी, बतासको समस्या कम हुन्छ। खोरहरूको बीचमा कम्तीमा ३० फीट खाली भाग हुनुपर्छ। यसो गर्दा खोरहरूमा हावा राम्ररी खेल्न सक्छ। हावाको दोहोरो निकासका लागि खोरको चौडाइ ३२ फीट राख्नु राम्रो हुन्छ। उचाइ भने खोरको मध्यभाग १२–१४ फीट हुनुपर्छ। खोरको पर्खाल चिसो ठाउँमा ६–८ फीट तथा गर्मी ठाउँमा ८–१० फीट राख्नुपर्छ। यो पर्खालको तलको एक फीट भाग इँटाको पक्की तथा माथिको भागमा जाली लगाउनु उचित हुन्छ। खोरको छानामा स्थानीय रूपमा उपलब्ध हुने खर, पराल, छ्वाली वा जस्तापाता जे प्रयोग गरे पनि हुन्छ। खोर वरिपरि रुख बिरुवा रोप्दा राम्रो हुन्छ। रुख बिरुवाले हावा, हुरी तथा अन्य प्रकोप रोक्न मद्दत गर्छ।
एक चरणको कुखुरा उत्पादनपछि खोरलाई राम्रोसित सफा गर्नुपर्छ। पहिले प्रयोग गरिएका दाना–पानीका भाँडा, बिजुलीका सामान सबै धोइपखाली निर्मलीकरण तथा आवश्यक मर्मतसम्भार गर्नु बुद्धिमानी हुन्छ। खोर कतै बिग्रेको भत्केको भए मर्मत गर्नुपर्छ। त्यसैगरी खोरको तारजाली तथा झ्यालढोकामा आगोको झिल्कोले सेक्ने, पोल्ने र निर्मलीकरण गर्न बिर्सनु हुँदैन। एक चरण कुखुरा उत्पादन भइसकेपछि चूनपानीले खोरको पर्खाल पोत्नु उपयुक्त हुन्छ। ब्रोइलर कुखुराका लागि प्रयोग हुने भाँडाकुँडा तथा अन्य उपकरण खोरभित्र राखी राम्ररी झ्यालढोका बन्द गरी पोटासियम परम्याग्नेण्ट ६० ग्राम र फर्मालिन १० एमएल (प्रति १ सय क्युबिक फिटमा)बाट उत्पादित धूवाँबाट निर्मलीकरण गर्नुपर्छ। यसरी निर्मलीकरण गरिएको खोरमा एक–दुई हप्तापछि मात्र मात्र नयाँ चल्ला भित्र्याउँदा राम्रो उत्पादन लिन सकिन्छ।
चल्ला हुर्काउने बेलाको व्यवस्थापन
[सम्पादन गर्नुहोस्]ब्रोइलर कुखुराका लागि खोरको ओस सोस्ने र कुखुरालाई आराम दिने खालको सोत्तर प्रयोग गर्नुपर्छ। सोत्तरका रूपमा काठको धूलो, धानको भूस, बदामको बोक्रा, छिमलेको घाँसका टुक्रा आदि प्रयोग गर्न सकिन्छ। खोरको भुइँमा कम्तीमा २ इञ्च बाक्लो सोत्तर राख्नुपर्छ र त्यसलाई पाँच पत्र न्यूज प्रिण्ट पेपरले छोप्नु उचित हुन्छ।
ब्रुडरलाई खोरको मध्यभागमा राखी यसलाई १ फीट अग्लो चल्ला रक्षा घेराले बार्नुपर्छ। ब्रुडर र चल्ला रक्षा घेराबीचको दूरी २ फीट हुनुपर्छ। ब्रुडरमा आवश्यकताअनुसार ४० देखि सय वाटसम्मका बिजुलीका बल्ब चल्ला ब्रुडरमा राम्ररी विचरण गर्न सक्ने गरी राख्नु उपयुक्त हुन्छ। खोरमा चल्ला भित्र्याउनुभन्दा २४ घण्टाअगाडि ब्रुडरको बत्ती बाली खोरको तापक्रम ९०—९५ डिग्री फरेनहाइट राख्नुपर्छ। हावाहुरीको समस्या भए झ्यालढोकामा जुटको बोरा वा पोलिथिनको पर्दा प्रयोग गर्नुपर्छ। तर, खोरको माथिल्लो तहको हावा निकास हुने ठाउँ भने खुला राख्न जरुरी छ। यसो गर्दा खोरमा जम्मा भएको अमोनिया, कार्बनडाइअक्साइडजस्तो हानिकारक ग्यास बाहिर जान्छ र सोत्तर पनि सुक्खा रहन मद्दत पुग्छ।
ब्रुडरको चारैतिर प्रति २ सय ५० चल्लाका लागि ६ ओटा पानीको भाँडा चाहिन्छ। त्यो पानीमा भिटामिन ए, सी, इलेक्ट्रोलाईट र सहजैविक तत्वको मिश्रण आवश्यक हुन्छ। शुरूका दुई दिन १ सय चल्लाका लागि ५ सय ग्राम मकैको च्याँख्ला दिनुपर्छ। तीन हप्तापछि ब्रुडर घरमा चल्ला रक्षक बार हटाए हुन्छ।
चल्ला खरीद गर्दा जाडो सयममा दिउँसो र गर्मी समयमा बिहान अथवा बेलुका गर्नु राम्रो हुन्छ। तपाईँकहाँ चल्ला आइपुगेपछि चल्लालाई एकएक गरी ब्रुडरमा राख्नुपर्छ। यसो गर्दा लुलालङ्गडा, ख्याउटे, झोक्राएका चल्ला भेटिए छुट्टयाएर आपूर्तिकर्तालाई नै फिर्ता गर्नुपर्छ। चल्ला खरीद गर्दा सधैं भरपर्दो अनि तपाईँको गुनासो सुन्न सक्ने ह्याचरी तथा आपूर्तिकर्तासँग लिनु बुद्धिमानी हुन्छ।
खोरमा तापक्रम तथा प्रकाश व्यवस्थापन
[सम्पादन गर्नुहोस्]खोरमा पहिलो तीन दिन चौबीसै घण्टा बत्तीको प्रकाश हुनु जरुरी हुन्छ। त्यसपछि दैनिक एक घण्टाका दरले विक्री गर्ने उमेर नपुगिन्जेल समय घटाउँदै जानुपर्छ। कुखुराको खोरमा पहिलो चार हप्ता प्रति २ सय वर्गफीटका लागि ४० वाटको बल्ब प्रयोग गर्नुपर्छ। त्यसपछि २५ वाटको बल्ब प्रयोग गरे हुन्छ। ब्रुडिङ तापक्रम पहिलो हप्ता ८०–९० डिग्री फरेनहाइट राख्ने र त्यसपछि ५० डिग्री फरेनहाइट घटाउनुपर्छ। चार हप्ता पार गरेका कुखुरालाई कुनै थप तापक्रम आवश्यक पर्दैन।
दानापानीको व्यवस्थापन
[सम्पादन गर्नुहोस्]कुखुरालाई दानापानी खुवाउन धातु वा प्लाष्टिकाका भाँडा प्रयोग गर्न सकिन्छ। यस्ता भाँडा कुखुरा हुर्कंदै जाँदा भाँडाको सतह माथि उठाउन सकिने हुनुपर्छ। यसबाट दानाको कम क्षति हुन्छ। ब्रोइलर कुखुरालाई पहिलो दुई हप्ता स्ट्राटर Bo दाना दिनुपर्छ। त्यसपछि दुई हप्ता B1 र पछि विक्री गर्ने बेलासम्म B2 फिनिसर दाना दिनुपर्छ। ब्रोइलर कुखुरालाई नियमित अवधि, उमेर र स्वास्थ्य स्थितिअनुसार नियमित दाना दिनु उचित हुन्छ।
बजारबाट दाना खरीद गर्दा भरपर्दो, विश्वासनीय तथा प्राविधिक सल्लाह र क्षतिपूर्तिसमेत दिने दाना उद्योग वा आपूर्तिकर्तासँग लिनु बुद्धिमानी हुन्छ। दाना उधारोमा पाए जुनसुकै उपयोग गर्न हुदैन, डिलिर ले जे दियो त्यो दाना चलाउनु भन्दा गुणस्तरिय दाना उपयोग गर्नु पर्छ। नेपालमा ब्रोइलर दाना उत्पादन गर्ने उद्योग धेरै छन (दाउन्ने , पोसक ,शक्ति , अन्नपूर्ण , बिजय इत्यादि ) , किसान ले राम्रो दाना रोज्नु पर्छ। आफै दाना बनाउने भए र आवश्यक सामग्री गुणस्तरीय एवम् सहज उपलब्ध हुन्छ भने यहाँ तालिकामा दिइएअनुसार सम्मिश्रणबाट बनाउन सकिन्छ।
स्वास्थ्य व्यवस्थापन
[सम्पादन गर्नुहोस्]आफूले कुखुरा पाल्ने क्षेत्रमा खोप लगाउनुपर्ने खालका रोगको सम्भाव्यता अध्ययन गरी खोपको व्यवस्था गर्नुपर्छ। कुखुराको उमेरअनुसार मिल्ने गरी सो खोप लगाउनुपर्छ। यसो हुन नसके कुखुरालाई रानीखेत, गम्बोरो, लिचीजस्ता रोग लाग्न सक्छ। यस्तो रोग लागेपछि कुखुराको उपचार सम्भव छैन।
कुखुराको खोरमा दैनिक शून्य दशमलव ५ देखि १ प्रतिशत मात्र कुखुरा बिरामी परे वा मरे भने पनि तुरुन्त विज्ञसँग सल्लाह गरी रोगको उचित उपचार गर्नुपर्छ। यस्तो रोगको उपचारमा दाना डिलर, नजिकको एग्रोभेट वा घुमन्ते चिकित्सकको भर पर्नु हुँदैन।
यस्तो कुरामा विशेष ध्यान पुर्याउन आवश्यक छ। व्यावसायिक कुखुरा पालनका लागि उल्लिखित कुरामा ध्यान पुर्याउन सके अहिले देखिएका समस्याबाट मुक्त हुन सकिन्छ। र, आफ्नो लगानी तथा श्रमअनुरूपको प्रतिफल पाउन सम्भव हुन्छ।
खोर वरिपरि न्यूनतम जैविक सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने हुन्छ। खोर वरिपरिको सफाइ गर्दा नियमित चूनपानी छर्नुपर्छ। आफ्नो खोरमा जथाभावी भुस्याहा जनावर, काठेहाँस, कुखुरा तथा अन्य चराचुरुङ्गी आउन दिनु हुँदैन। खोरमा मरेका कुखुरालाई सुरक्षित रूपमा गाडेर तह लगाउनुपर्छ। एक चरणका कुखुरा एकैपटक विक्री गर्दा राम्रो हुन्छ। यसो गर्दा कुखुराबाट राम्रो उत्पादन लिन सकिन्छ र यो पेशालाई भयरहित व्यवसाय बनाउन सकिन्छ।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- Poultry farmingसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।