रौतहट जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रौतहट जिल्ला

रौतहट नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको दक्षिणपूर्वी तराई क्षेत्रमा अवस्थित जिल्ला हो । यस जिल्लाको पूर्वमा सर्लाही, पश्चिममा बारा, उत्तरमा मकवानपुर र दक्षिणमा भारतको बिहार राज्यको सितामढी जिल्लापूर्वी चम्पारण जिल्ला जिल्ला पर्दछ। समुद्र सतहबाट १२२ मिटर देखि २४४ मिटरसम्मको उचाईमा अवस्थित रौतहट जिल्लाको क्षेत्रफल १,१२६ वर्ग किलोमिटर (१०,३७०९ हेक्टर) छ।[१] रौतहट जिल्लाको सदरमुकाम गौर हो।

रौतहट नेपालको मध्य तराईमा पर्ने जिल्ला हो। विविध आर्थिक, सामाजिक तथा सांस्कृतिक विशेषता र सम्भाव्यता बोकेको यो जिल्ला उत्तर दक्षिण तर्फ २६ डिग्री १४" देखि २६ डिग्री १४" अक्षांश र ८५ डिग्री १४" देखि ८५ डिग्री ३०" सम्मको पूर्वी देशान्तरमा फैलिएको छ। उष्ण तथा समशितोष्ण हावापानी रहने यस क्षेत्रमा वषरा २१२५ मिलिमिटरसम्म हुन्छ यस जिल्लालाई पर्ूवमा सर्लाही सँग बागमती नदीले छुट्याएको छ। पश्चिममा बारा जिल्ला, उत्तरमा मकवानपुर जिल्लालाई रौतहट चुरे श्रृंखलाको उच्च भागले छुट्याएको छ भने दक्षिणमा छिमेकी देश भारतको उत्तर राज्य विहारको बैरगनियाँ क्षेत्र पर्दछ। जहाँबाट नेपाली क्रान्तिको प्रथमपटक शुरूवात भएको थियो।

२०५८को जनगणना अनुसार जनसङ्ख्याको दृष्टिले रौतहटमा नेपालको कुल जनसङ्ख्या २,३१,५१,४२३को २.३५ प्रतिशत, मध्यमाञ्चलको कुल जनसङ्ख्या (८०,३१,६२९)को ६.७८ प्रतिशत र नारायणी अञ्चलको कुल जनसङ्ख्या (२४,६६,१३८)को २२ प्रतिशत अर्थात् ५,४५,१३२ जना बसोबास गर्दछन्। यसमध्ये पुरूषको संख्या २,८२,२४६ (५२ प्रतिशत) तथा महिलाको संख्या २,६२,८८६ (४८प्रतिशत) रहेको छ। परिवारको दृष्टिले हेर्दा ८८,१६८ धुरी रहेको यस जिल्लाको परिवार संख्या समग्र नेपाल र तर्राईको औसत ५.४४ भन्दा बढी अर्थात् ६.१८ रहेको छ। यो अङ्क हिमाल, मधेश र पहाडको औसत भन्दा पनि बढी छ। अर्थात हिमाल र पहाडको क्रमशः ५.२८ र ५.१७ छ। प्रति वर्ग किलोमिटरको जनघनत्वको दृष्टिबाट पनि रौतहटको जनघनत्वले नेपालको जनघनत्व १५७ भन्दा निकै उच्च अर्थात् ४८४ रहेको छ। जबकि तराई-मधेशको औसत जनघनत्व प्रतिवर्ग किलोमिटर ३३० छ। क्षेत्रफलको दृष्टिले रौतहट नारायणी अञ्चलको सबभन्दा सानो जिल्ला हो। जनसङ्ख्या बृद्धिदर पनि नेपालको सरदरभन्दा बढी अर्थात् ३%को हाराहारीमा छ। यस तथ्यबाट के कुरा स्पष्ट हुन्छ भने रौतहटको जनसङ्ख्या बृद्धिदर पनि उच्च रहेको छ।

उत्तर चुरे पर्वत श्रृङ्खलाको दक्षिणी पाखा देखि दक्षिण भारत विहारको सीमावर्ती र पूर्वी चम्पारणसँग जोडिएको, पूर्वमा सर्लहीसँग बागमती नदीबाट छुट्याइएको र पश्चिम बारा जिल्लासित धनसर तथा अगुवा नदीले छुट्याएको रौतहट जिल्लामा ७०% जनता राष्ट्रिय मापदण्डको गरीबीको रेखामुनि रहेको अनुमान छ। यस जिल्लाको १०% क्षेत्रफल जङ्गलले ओगटेको छ।

जिल्लाको नामाकरण[सम्पादन गर्नुहोस्]

रौतहट जिल्लाको नामाकरणका आधारहरू:

  • १७६४ मा इस्ट इन्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा आक्रमण गर्दा पहाडमा हार खानुपरेपछि तीन वर्षसम्म अङ्ग्रेजहरू रौतहटका समथर मैदानमा बसेका थिए सायद, यही बसाईको क्रममा राउतहरूको घना छाप्रो/झुप्रो बस्तीलाई अङ्ग्रेजहरूले Raut-Hut अर्थात राउत हट भने। राउतको झुपडी अर्थ दिने यही शब्द अपभ्रंस भएर रौतहट नामाकरण भएको हो।
  • रौतहट जिल्लाको नाम राउत र हट भन्ने दुई शब्दहरू मिलेर बनेको हो। राउत भन्नाले खासगरी यादव (ग्वाला) जातीको थरलाई बुझाउँछ र हट शब्दको अर्थ बजार हुन्छ। हट शब्द हाटबाट अपभ्रंस भएर बनेको हो। यसप्रकार रौतहट शब्दको अर्थ यादवहरूको वस्ती भएको ठाउँ भन्ने बुझिन्छ।
  • अहिलेको यादव भनेर प्रचलित जातिलाई गोआर, ग्वार, अहिरको साथै राउत पनि भन्ने चलन छ। राउतहरूको बस्ती बढी भएकोले 'राउत' बस्ती हुँदै कालान्तरमा रौतहट हुन गयो भनि अनुमान लगाउन सकिन्छ। यद्यपि यसको ठोस ऐतिहासिक प्रमाण छैन।
  • स्थानीय जिल्लावासी श्री लक्ष्मीकान्त झाका अनुसार, "रौतहटमा राउत (यादव)हरूको संख्यामा बढी छ। त्यस्तै यहाँ हट बस्तीको संख्यामा पनि बाक्लै छ। यसकारण राउतहरूको बस्तीबाट रौतहट हुन गएको हो।"
  • त्यस्तै अहिलेको वर्तमान गौर बजारमा राउतहरूको वस्ती नजिकहाट बजार लाग्ने हुने हुनाले रौतहट नाम हुन गएको अनुमान स्थानीय बासिन्दा र इतिहासकारहरूको छ।
  • रौतहट जिल्लाको सदरमुकाम "गौर" नाम पनि "यादव"हरूसँगै सम्बन्धित छ, जस्तै यादव जातिलाई सम्मानपूर्वक "ग्वार" अथवा "गोआर" भनिन्छ, र त्यहि "ग्वार" नामक सम्मानार्थ शब्दबाट गौर नाम भएको हो भनि अनुमान लगाउन सकिन्छ। राउतहरूको बस्ती भएकोले यस जिल्लाको नाउँ रौतहट रहन गएको भन्ने तर्क आफैमा पूर्ण छैन। यद्यपि यो भन्दा बढी वैज्ञानिक आधार केही छैन।

रौतहट जिल्लाका विभिन्न गाउँहरूको नामाकरण ऐतिहासिक घटना, व्यक्ति विशेष र प्रसिद्धि कमाएको बस्तुको नाउँबाट प्रायः भएको पाइन्छ जस्तै:-

  1. तत्कालीन श्री ३ महाराज चन्द्र शमशेरको निगाहमा बसेको बस्ती चन्द्रनिगाहपुर
  2. नेपाल-अङ्ग्रेज युद्धमा अङ्ग्रेजहरूको व्यापक दमन(शमन) भएपछि लडाईमा नेपालीपक्ष विजयी भएको ठाउँ लडैया समनपुर
  3. आसपासमा प्रशस्त कटहरको वन भएको कारण कट्टखन (कखन्ना) र कटहरिया
  4. गरूडहरूको बथानलाई धपाएर बसेको बस्ती गरूडा
  5. गैडालाई धपाएर बसेको बस्ती गोडही गुठी
  6. ब्रम्हा स्वयम् आई बसाएको बस्ती ब्रम्हपुरी
  7. "बतासा" मिठाईबाट बसतपुर
  8. सिमरा को बह्रमबाबा ले सिमरा भवानीपुर

ऐतिहासिक पृष्ठभुमि[सम्पादन गर्नुहोस्]

गोरखाका राजा पृथ्वीनारायण शाहले मकवानपुर विजय गरिसकेपछि पनि मकवानपुर राज्य अन्तर्गतकै यस क्षेत्रलाई बृहत गोरखा राज्यमा मिलाउन सकेका थिएनन। तत्कालिन नेपाल उपत्यका (अहिलेको काठमाडौँ उपत्यका) विजय भइसकेपछि मात्र गोरखा राज्य विस्तारका अगुवा पृथ्वीनारायण शाहले रौतहटदेखि महोत्तरीसम्मको भूभागलाई नेपाल राज्यमा गाभेका थिए।

सन् १७६४ मा इष्ट इण्डिया कम्पनी कप्तानका किनलकको नेतृत्वमा आक्रमण गर्दा नेपालको पहाडमा अङ्ग्रेजहरूको हार भएपछि अङ्ग्रेजहरू तीन वर्षम्म बारा, पर्सा, रौतहटका समथर मैदानमा डेरा जमाई बसेका थिए। यी कुराहरूले के प्रमाणित गर्दछ भने कागजी रूपमा रौतहट जिल्ला गोरखा राज्यको मातहत गए पनि वास्तवमा रौतहटमा कुनै एक सरकारको पकड थिएन। सन् १७८३ मा मात्र कम्पनी सरकारले रौतहट जिल्ला गोर्खालीलाई फिर्ता गर्ने निर्णय गरेको थियो। त्यस पूर्व यस जिल्लामा अङ्ग्रेजहरूको आधिपत्य थियो।

गणराज्यहरूको सामन्ती र डोय राज्यमा समाहित हुँदा सम्म यस भूमिको नाउँ रौतहट भएको उल्लेख कतै पाइएको छैन। यद्यपि यो ठाउँको कतियौं भूभाग ठाँठार, प्रगन्ना स्वविराज आदि नामले पुकारिन्थ्यो। राजा पृथ्वीनारायण शाह, प्रतापसिंह शाह, राजमाता राजेन्द्रलक्ष्मी, राजकुमार बहादुर शाह र जनरल भीमसेन थापाका दूरदर्शी सैनिक अभियानले सानो गोर्खा राज्यको सीमालाई पूर्वमा सिक्किम, पश्चिममा सतलजको साँध, उत्तरमा हिमालय पर्वत र दक्षिणमा गोरखपुरसम्म विस्तार भई एकीकरणको जगलाई मजबुत र स्थायी बनाउने प्रयास भइरहेको बेलामा बुटवल, स्यूराज(शिवराज)हालको रौतहट जिल्लामा पर्ने २२ वटा गाउँहरू बरेली आदिको विषयलाई लिई सन् १८१४ अर्थात् वि.सं. १८७१ मा साम्राज्यवादी शक्ति इस्ट इन्डिया कम्पनीसँग युद्ध भएको थियो। यी ऐतिहासिक कालखण्डले रौतहट जिल्लाको गरिमालाई बोध गराउँछ।

वर्तमान नेपालको नक्सामा अङ्कित रौतहटको भूगोल पटक पटक परिवर्तन भएको छ। जस्तै बागमती नदी रौतहट र सर्लाही जिल्लाको सीमा छुट्याउने काम गर्छ तर नदी कटान र धार परिवर्तन भई रहने हुनाले रौतहटका कतिपय भूभाग सर्लाही जिल्लामा गाभिएका छन।

सामन्तवाद विरोधी आन्दोलनको अभियानमा रौतहटको भूमिका उल्लेखनीय रहेको पाइन्छ। २००७ सालको राणा विरोधी आन्दोलनको शुरूवात रौतहटको गौरबाट भएको थियो। आन्दोलनमा शिवकुमार सिंहले सहादत प्राप्त गर्नु भएको थियो। यसरी सञ्चालित सामन्ती विरोधी आन्दोलन २००९ सालदेखि २०१४ सालसम्म सञ्चालित भएको थियो। २००९ सालको रौतहट किसान आन्दोलन ऐतिहासिक महत्त्वको आन्दोलन थियो। आजभन्दा करिब ५५ वर्षपहिले रौतहटको गौरमा लगाइएका नारा, उठाइएका मागहरू अहिले पनि पूर्ण रूपमा पूरा भएको छैन। रौतहट जिल्ला किसान आन्दोलनको किल्ला हो। २०११ साल जेठ महिनाको टन्टलापुर घाममा सर्लाही, बारा र रौतहटका हजारौं हजार किसानहरूले विशाल जुलुस आयोजना गरेका थिए। त्यो जुलुसमा लागेका नाराहरू यस्ता थिए:-

  • जाली तमसुक रद्ध गर
  • पुरानो ऋण रद्द गर
  • हनौरी जनौरी रद्द गर
  • जाली फटाहालाई दण्ड दे
  • वारेन्ट किसानको वारेन्ट रद्द गर
  • गिरफ्तार साथी रिहा गर
  • मनको पसेरी ब्याज लागू गर
  • मोहियानी हक कायम गर
  • दैनिक ज्याला ४ सेर कायम गर
  • जमीन कसको - जोत्ने को

भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]

  • अक्षांश:- २६.०४४’ देखि २७.१४’ उत्तरसम्म
  • देशान्तर:- ८५.१४’ देखि ८५.३०’ पूर्वसम्म
  • सिमाना:,- पूर्वमा सर्लाही जिल्ला, पश्चिममा बारा जिल्ला, उत्तरमा मकवानपुर जिल्ला, दक्षिणमा भारतको विहार राज्यको सितामढी र पूर्वी चम्पारण जिल्ला
  • उचाई:- समुद्र सतहबाट १२२ मिटर देखि २४४ मिटर सम्म
  • क्षेत्रफल:- ११२६ वर्ग कि.मि. (१०३७०९ हेक्टर)
  • लम्बाई:- सरदर ५१.२ कि.मी.
  • हावापानी:- उष्ण

प्रशासनिक विभाजन[सम्पादन गर्नुहोस्]

स्थानीय प्रशासन सञ्चालन गर्नको लागि रौतहट जिल्लामा १ जिल्ला विकास समिति, २ गाउँपालिका र १६ नगरपालिका रहेका छन् ।

मुख्य नदिहरू[सम्पादन गर्नुहोस्]

बाग्मती, लालबकैया, अरुवा, झाँझ, पौराई, चाँदी।

खोलाहरू[सम्पादन गर्नुहोस्]

लामहा खोला, हर्दिया, धनसार खोला, गुजरा, खोडरी, भकुवा,खोटी,नाशि आदि

धार्मिक तथा पर्यटकीय स्थल[सम्पादन गर्नुहोस्]

शिवनगर, त्रिशक्ती नगर छेदी चौक , पौराइ ब्रह्मस्थल, राजदेवी, नुनथर, पुरेनवा दरबार

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "भौगोलिक अवस्थिति n in", जिविस रौतहट, अन्तिम पहुँच २०११-०७-२४ 

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

नेपालको क्षेत्रीय वर्गीकरण

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]