तनहुँ जिल्ला
तनहुँ | |
---|---|
![]() नेपालको नक्शामा तनहुँ जिल्ला (रातो) | |
देश | ![]() |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | तनहुँ जिल्ला |
सदरमुकाम | दमौली |
क्षेत्रफल | |
• जम्मा | १,५४६ किमी२ (५९७ वर्ग माइल) |
उच्चतम उचाई | २,१३४ मिटर (७००१ फिट) |
न्यूनतम उचाई | १८७ मिटर (६१४ फिट) |
जनसङ्ख्या | |
• जम्मा | ३२३,२८८ |
• घनत्व | २०९/किमी२ (५४०/वर्ग माइल) |
जातीयता | |
• मुख्य जातीयता | ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, नेवार |
भाषा | |
• मुख्य भाषाहरू | नेपाली, मगर, गुरुङ भाषा |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६५ |
गाविस संख्या | ३७ |
नगरपालिकाहरू | ३ |
वेबसाइट | www |
तनहुँ जिल्ला नेपालको गण्डकी प्रदेशमा पर्ने एउटा पहाडी जिल्ला हो । दमौली बजार यसको सदरमुकाम हो ।[३] नेपालको साबिकको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अञ्चलको दक्षिण पूर्वमा अवस्थित तनहुँ जिल्ला मुलत: महाभारत श्रृङखला र मध्य पहाडी भु-भागमा पर्ने विकासोन्मुख जिल्ला हो । यो काठमाडौंबाट १०० कि. मी. पश्चिम र पोखराबाट १९ कि. मी. पूर्वमा अवस्थित छ । मानचित्रमा यो जिल्ला ८३°७५ " देखि ८४°३४" पूर्वी देशान्तर, २७°३" देखि २८°०५" उत्तरी अक्षांश सम्म फैलिएको छ । यसको क्षेत्रफल १५४६ वर्ग कि.मी अथवा कुल नेपालको भूभागको १.०५% रहेको छ ।[३]
परिचय[सम्पादन गर्नुहोस्]
गण्डकी नदीको जलप्रवाह क्षेत्रसँग आवद्ध यस जिल्लामा सीमा नदीको रूपमा पूर्वी दिशामा मर्स्याङ्दी र त्रिशुली नदी तथा दक्षिणमा कालीगण्डकी वहन्छ भने जिल्लाको मध्य भागमा मादी र सेती नदी प्रवाहित हुन्छ । यस जिल्लाको अधिकतम उचाई भएका पहाडहरूमा छिम्केस्वरी २१३४ मि., सौगातकोट २२१५ मि., कोटाथाम १६३० मि., राईपुरकोट १५४१ मि., मिर्लुङ्गकोट [[१]]१६५० मि. र चोक १४२९ मिटर आदि हुन भने सबैभन्दा होचा वस्तीहरूमा देवघाट १८७ मि., कोता २१० मि., दमौली ३२० मि. आदि हुन । यसप्रकारको तनहूँको अधिकांश भूभाग ३०० मि. - १२०० मि. बीचको होचो पहाडी भूभागमा पर्दछ । यस जिल्लाको पूर्वमा चितवन र गोर्खा, पश्चिममा स्याङ्गजा, उत्तरमा कास्की र लमजुङ तथा दक्षिणमा पाल्पा, नवलपरासी र चितवन जिल्ला रहेका छन् ।[३]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
राष्ट्रिय जनगणना २०६८ अनुसार तनहुँ जिल्लाको कूल जनसङ्ख्या ३,२३,२८८ जना मध्ये पुरुष १,४३,४१० जना र महिला १,७९,८७८ रहेका छन् ।[१] जनघनत्व २०९ प्रति कि.मि छ भने ग्रामिण जनसङ्ख्या १,८७,८८२ रहेको छ।
शैक्षिक विवरण[सम्पादन गर्नुहोस्]
तनहुँ जिल्ला मा साक्षरता ७४.८% (२०६८ को जनगणना अनुसार) रहेको छ जस मध्ये महिला ६७.९% र पुरुष ८३.7% साक्षर छन् । बाल विकास केन्द्र ४९६, प्राथमिक विद्यालय ३७९, निम्न माध्यमिक विद्यालय १०३, माध्यमिक विद्यालय १०२, उच्च माध्यमिक विद्यालय ६२ र क्याम्पस १३ रहेका छन् |[३]
जिल्लाको नामाकरण[सम्पादन गर्नुहोस्]
तनहुँको नामाकरण विषयमा विभिन्न विद्वानहरूले फरक-फरक मत पेश गरेका छन्। यसको नामाकरण बारे सत्यतथ्य प्रमाण प्राप्त गर्न नसकिए पनि प्राप्त जानकारी अनुसार तनहुँको राजधानी तनहुँसुर वरपरका ३ वटा चुचुराहरू जहाबाट तनहुँ राज्यको सुरक्षा व्यवस्था हेरिन्थ्यो सोहि ३ चुचुरालाई आधार मानेर भएर कालान्तरमा तनङ्गु र पछि तनहु हनु गएको हो । "वासुदेव रसानन्द" संस्कृत ग्रन्थमा तनहुको तात्पर्य "त्रितङ्गु राजधन्यो" भनेर लखेको पनि पाइन्छ । यस भेगका प्रमुख स्थानको नाउँको पछाडि "हुँ" ("काहुँ, मान्हुँ आदि) भनिने गरेकोले "तनङ्ग"मा "हुँ" थपिएर "तर्नङ्गहु" हुदै तनहुँ भएको पनि उत्तिकै पत्यारिलो देखिन्छ । प्राचीन समयमा तनहुँको दुई ठाउँमा तमारे र तामिन भन्ने गाउँ थिए र ती गाउँको नाउँबाट अपभ्रंश भएर पछि तनहुँ रहनुका साथै तनहुँ राजधानी रहेको तनहुँसुरमा र दमौली माथिको मानङ्गु डाडँमा क्रमशः चिउडो सानो भएका (तनहुनु) र चिउँडो ठूलो भएका (महाहनु) श्रृषिले तपस्या गरको हुनाले आज यस रूपमा तनहुँ र मानहुँ नाम बन्न/रहन गएको भन्ने पनि किंबदन्ती छ ।[३] अरु पनि मान्यताहरु छन्। मगर भाषामा काहूँ (काट हूँक) एकबाँस, मान्हूँ (मानी न्हूँ) मानीढुंगा र तनहूँ (टान न्हूँ) तानढुङ्गाबाट नामाकरण भएको हो । किनभने त्यस वरपर सबै स्थानका नाम पद मगर भाषासंग नजिक छन् । कलेस्ती, रम्घा, चु्दी, ब्यासडी, बुलडी, माँडी, छाप्डी, गुणाडी, खुँदी, कुन्हूँ आदि ।
जिल्लाको इतिहास[सम्पादन गर्नुहोस्]
तनहँ जिल्लाको इतिहास हेर्दा यो जिल्ला केवल एउटा जिल्लाको नाम मात्र रहको पाइदैन। नेपाल एकीकरण हुनु पुर्व चौविसे राज्यहरु मध्ये जमिन, धन र जनशक्तिमा सम्पन्न तनहुँ राज्य वर्तमान तनहुँ र चितवन जिल्लाका अतिरिक्त भारतको विहार राज्यको पश्चिमी चम्पारन जिल्ला अन्तर्गत रामनगर तथा वेतियाको भू-भागसम्म फैलिएको थियो। वि.स १६१० देखि १८३९ सम्मको २३० वर्षे अवधिसम्म पृथक अस्तित्वमा रही पाल्पाली राजा मणिमुकुन्द सेनका वंशज ९ जना सेनवंशी राजाहरु द्वारा शासित तनहुँ राज्य श्री ५ रणबहादुर शाह र राजमाता राजेन्द्रलक्ष्मीको शासनकालको एकीकरण अभियानमा नेपाल अधिराज्यमा गाभिन गयो।[४]
प्रमुख धार्मिक स्थलहरु[सम्पादन गर्नुहोस्]
- व्यास गुफा, दमौली
- पराशर गुफा
- पञ्च मन्दिर, दमौली
- तनहुँ कालिका मन्दिर
- टिन खोला मन्दिर, खैरेनीटार
- सहिद तनहुँ जंगल पार्क
- ठुलो पहरो गुफा, म्याग्दे गाउँपालिका
- छाब्दि बाराही मन्दिर, छाब्दि
- देवघाट
- छिम्केश्वरी मन्दिर
- मादिसेती संगम स्थल
- सिद्ध गुफा, (दक्षिण एसियाको सर्बाधिक ठूलो गुफा)
- ढोरबराहि मन्दिर, शुक्लागण्डकि नगरपालिका
- अकला मन्दिर
प्रसिद्ध व्यक्तित्वहरू[सम्पादन गर्नुहोस्]
तनहुँले जन्माएका धेरै शिक्षा, साहित्य, कला, राजनीति, पत्रकारिता, उद्योग, वाणिज्य आदि क्षेत्रका विशिष्ट व्यक्तित्वहरूमध्ये केहीको सूची यसप्रकार छ ।[५]
- वेदव्यास
- रामोपाध्यायसूरी
- भानुभक्त आचार्य
- नरनाथ आचार्य
- यदुनाथ खनाल
- भेष बहादुर थापा
- शिवराज आचार्य कौण्डिन्न्यायन
- गोविन्दराज जोशी
- वासुदेव त्रिपाठी
- रामचन्द्र पौडेल
- जयराज आचार्य
- नरहरि आचार्य
- व्रतराज आचार्य
- प्रेमराजा महत
- नारायण वाग्ले
- नारायण पुरी
- सर्बेन्द्र खनाल
- किरण गुरुङ
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
- ↑ "नेपालका जिल्लाहरूको सम्पूर्ण विवरण (जनसङ्ख्या, क्षेत्रफल, सदरमुकाम )", http://www.statoids.com/ynp.html।
- ↑ ३.० ३.१ ३.२ ३.३ ३.४ "जिल्ला विकास समिति, तनहुँ (तनहुँ जिल्लाको पार्श्वचित्र)", जिल्ला विकास समिति, तनहुँ, नेपाल सरकार।
- ↑ जिल्ला विकास समितिको कार्यालय, तनहुँ आ.व २०७३/०७४ प्रकाशन
- ↑ मिश्र, डिल्लीराम, नेपाल अधिराज्यमा तनहुँ, २०४७
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
