दार्चुला जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दार्चुला जिल्ला
Darchula district location.png
अञ्चल: महाकाली अञ्चल
प्रदेश: सुदूरपश्चिम
सदरमुकाम: खलङ्गा
क्षेत्रफल: २,३२२ वर्ग कि.मि.
जनसङ्ख्या: १३३,४६४(२०६८)
गाउँपालिका(हरू):
नगरपालिका(हरू):
प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: हिमाल
सबै भन्दा अग्लो स्थान: अपि हिमाल ७१३२ मि. मिटर
सबै भन्दा होचो स्थान : ५१८ मिटर
प्रमुख जातिहरू: आदि
प्रमुख भाषाहरू: कुमाउनी उपबोली, नेपाली, डोटेली आदि
मानव विकास सूचकाङ्क: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: +९७७-०९३
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट: ddcdarchula.gov.np
 हे  वा  सं 


दार्चुला नेपालको सुदूरपश्चिम प्रदेशमा पर्ने एक जिल्ला हो। यो जिल्ला महाकाली अञ्चलको एक हिमाली जिल्ला हो । यो जिल्ला नेपालको पश्चिम तिरको अन्तिम जिल्ला हो ।


जिल्लाको नामाङ्कन[सम्पादन गर्ने]

नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत पर्ने महाकाली अञ्चलका ४ जिल्ला मध्य छुट्टै महत्व रहेको दार्चुला जिल्ला एशियाका दुई शक्तिशाली राष्ट्रहरू भारतचिनको सिमानासँग जोडिएक छ । यस जिल्लाको नाम दार्चुला कसरी रहन गयो भन्ने सम्बन्धमा कुनै लिखित प्रमाण न भेटिएता पनि विभिन्न किंवदन्तीहरू सुन्न पाइन्छन् । [१]

  • दार्चुला शब्दको उच्चारण गर्दा दारचुला भए पनि यहाँको स्थिनिय भाषाका दुईवटा शब्दहरू धार र चुला बाट विकसित भएको हो । स्थानिय भाषामा पहाडको अग्लो चुचुरोलाई धार भनिन्छ र चुल्होलाई चुला भनिन्छ । यो क्षेत्रमा खाना पकाउन एकनासका तिनवटा ढुङ्गाहरूमा माटो पोतेर चुचुरो आकारका चुल्हाहरू निर्माण गरिएका हुन्छन् । यसरी तिनै पहाडको चुचुरो (धार) जस्तो चुल्हो बनाई खाना पकाएर खाने ठाउँ भएकाले यस ठाउँको नाम धारचुला रहन गएको र पछि अपभ्रंस भई दारचुला र त्यसपछि दार्चुला बन्न गएको भन्ने एक थरिको भनाई रहेको छ । दार्चुला जिल्लाको ठिक पारिपट्टी पर्ने उत्तराखण्डको "धार्चुला" नामक स्थान पनि पर्दछ ।
  • अर्को किंवदन्ति अनुशार यहाँ तिनवटा पहाडका चुचुराहरू रहेका छन् । वर्तमानमा एच चुचुरो भारतमा पर्दछ भने दुईवटा चुचुराहरू नेपालमा नै अवस्थित छन् । फेदोबाट हेर्दा यि पहाडका चुचुरा (धार) चुल्हो आकारका देखिन्छन् । पौराणिक कालमा व्यास हिमालबाट तपस्या गरेर फर्कदा व्यास ऋषिले यिनै धारहरूको चुल्हो बनाई भात पकाएर खाएको हुनाले यस ठाउँको नाम धारचुला रहन गएको र पछि अपभ्रंस भई दार्चुला रहन गएको हो भन्ने अर्को थरीको भनाई रहेको छ ।
  • दार्चुला जिल्लाको सिमाना चिनको स्वशाषित प्रदेश तिब्बतसँग जोडिएको छ । तिब्बतसँग व्यापार गर्ने यहाँको प्रमुख नाकाको रुपमा व्याँस क्षेत्र रहेको छ । व्यासबाट तिब्बत क्षेत्रमा आवात जावत गर्दा एउटा भञ्ज्याङ पार गर्नु पर्दछ । त्यो भञ्ज्याङलाई तिब्बती भाषामा "ला" भनिन्छ । यो क्षेत्र तिब्बतसँग व्यापार गर्ने द्वार (बाटो) भएकोले द्वार र ला दुईवटा शब्दहरू मिलेर दार्चुला नाम रहन गएको हो भन्ने एक अर्को थरिको पनि भनाई रहेको छ ।

भूगोल[सम्पादन गर्ने]

दार्चुला जिल्लाको सिमाना पूर्वमा बझाङ जिल्ला, पश्चिममा भारतको उत्तराखण्ड राज्यको पिथौरागढ, उतरमा चिनको स्वशाषित प्रदेश तिब्बत र दक्षिणमा बैतडी जिल्ला सँग जोडिएको छ । विश्व मान चित्रमा यो जिल्ला २९ डिग्री ३६ मिनेट उत्तर देखि ३० डिग्री १५ मिनेट उत्तरी अक्षांश र ८० डिग्री २२ मिनेट पूर्व देखि ८१ डिग्री ०९ मेनेट पूर्वी देशेन्तरसम्म फैलिएको छ । यस जिल्लाको कुल क्षेत्रफल २३२२ वर्ग किलोमिटर छ । समुद्री सतहबाट यो जिल्ला ५१८ मिटर देखि ७१३२ मिटर सम्मको उचाईमा रहेको छ । अतिसित, सितोष्ण, समसिष्ण, अर्ध सितोष्ण, लेकाली हावापानी भएको यस जिल्लाको भू उपयोगको अवस्था विश्लेषण गर्दा कुल क्षेत्रफल २३२९५९.५ हेक्टर मध्य खेतियोग्य जमीन ६१२१५ हेक्टर, वन क्षेत्र ७२९८२.३ हेक्टर, चरन क्षेत्र २४.९६४ हेक्टर, झाडी बुट्यान क्षेत्र ६५५५.२ हेक्टर र अन्य क्षेत्र ६७२४३ हेक्टर रहेको छ । [१] भू-विभाजन अनुशार दार्चुला जिल्लाको भूगोललाई समथर प्रदेश, पहाडी प्रदेश, लेकाली प्रदेश र हिमाली प्रदेश गरी चार भागमा विभाजन गरेर हेर्न सकिन्छ ।[१]

समथर प्रदेश

समथर प्रदेश अन्तरगत महाकाली, चौलानी र अन्य त्यस्तै खोलानालाहरूको किनारामा अवस्थित भित्री मधेशसँग तुलना गर्न सकिने समथर उब्जाउ फाँटहरू समथर प्रदेश अन्तरगत पर्दछन् । जिल्लाको प्रमुख अन्न भण्डारको रुपमा चर्चा पाएको यो समथर प्रदेशमा जनघनत्व पनि धेरै रहेको छ । साविकका उकु, लाली, दत्तु, गोकुलेश्वर, शिखर, देथला आदी गाविसहरू यस प्रदेशका प्रमुख उदाहरण हुन् ।

पहाडी प्रदेश

पहाडी प्रदेश अन्तरगत यस जिल्लाको मध्य भागमा रहेको उच्च समस्थली भूभागहरू पर्दछन् । यो क्षेत्रमा समथर भूभागको तुलनामा केही कम उत्पादन हुने भएता पनि अपेक्षाकृत उब्जाउ क्षेत्र नै मानिन्छ । साविकका शंकरपुर, भगवती, सर्मोली, रानिशिखर, रिठाचौपाता, ग्वानी, डाँडाकोट, हिकिला आदी गाविसहरू यस प्रदेशका प्रमुख उदाहरणहरू हुन् ।

लेकाली प्रदेश

लेकाली प्रदेश अन्तरगत प्राकृतिक सौन्दर्यताले सिंगारिएको तर उब्जाउको दृष्टिकोणले कम उर्बरक क्षेत्रहरू पर्दछन् । प्रायः हेमन्त ऋतुमा हिमपात हुनु यस प्रदेशको विशेषता हो । लेकाली प्रदेश अन्तरगत साविकका सुन्सेरा, राप्ला, खण्डेश्वरी, घुसा, इयरकोट आदी गाविसहरू पर्दछन् ।

हिमाली प्रदेश

हिमाली प्रदेश अन्तरगत जिल्लाको उत्तर पट्टीको चिनको तिब्बतसँग सिमा जोडिएको सामान्यतया बाह्रै महिना हिउँले ढाचिएको क्षेत्र पर्दछ । यस प्रदेशमा उत्पादन मात्र होइन मानिसहरूको बसोवास समेत नगण्य छ । हिउँदमा तल बेसी खलंगा तिर झर्ने र गृष्ममा फर्किने यहाँ बसोवास गर्ने (सौका) समुदायको प्रमुख विशेषता बोकेको ब्यास गाउँपालिकाको वडा नंवर १ यस प्रदेशको ज्वलन्त उदाहरण हो ।

जलवायु[सम्पादन गर्ने]

हिमाली जिल्ला भएकोले दार्चुला जिल्लाको मौसम जाडोमा धेरै चिसो हुन्छ । यहाँको वार्षिक औषत बर्षा २१२९ मिलि मिटर रहेको छ । यहाँको वार्षिक औषत तापक्रममा न्यूनतम तापक्रम ५.७० डिग्री सेलसियस र अधिकतम तापक्रम २८.६० सेलसियस रहेको पाइन्छ । [१]दार्चुला जिल्लाको भौगोलिक बनोटमा देखिएको विविधता झैं हावापानी तथा वातावरणमा पनि विषता देखिन्छ । तसर्थ यस जिल्लाको हावापानी तथा वातारणलाई सितोष्ण, समसितोष्ण र अतिसितोष्ण गरेर विविध तिन भागमा विभाजन गर्न सकिन्छ । [१]जिल्लाको पश्चिम दक्षिणमा नदीका समथर बेसीहरूमा उष्ण हावापानी पाईन्छ । ग्रिष्ममा अत्यधिक गर्मी र हिउँदमा आंसिक रुपमा चिसो हुनु यस हावापानीको मुख्य बिशेषता हो । खास गरि साविकका गोकुश्वर, लाली, उकु, दत्तु, आदी गाविसहरू जुन समुद्र सतह देखि करिब ५१८ मीटर को उचाईमा रहेका छन् त्यहाँ यस किसिमको हावापानी पाइन्छ । समसितोष्ण हावापानी जिल्लाको मध्य भागमा रहेको भूभागमा पाईन्छ । गर्मी याममा त्यती गर्मी नहुनु र जाडो याममा पनि त्यती चिसो नहुनु यो हावापानीको मुख्य विशेषता हो । साविकका रिठाचौपाता, शंकरपुर र छापरी गाविसहरूमा समसितोष्ण हावापानी पाइन्छ ।

पर्यटन[सम्पादन गर्ने]

अपि हिमाल

दार्चुला जिल्ला एक हिमाली जिल्ला हो। यहाँको सबै भन्दा बढी उचाईँ भएको ठाउँ अपी हिमाल (उचाईँ-७१३२ मि.), नाम्पा हिमालय (उचाईँ-६७५५ मि.) र त्रिशुल हिमाल (उचाईँ-) चुचुरा हुन् भने सबै भन्दा होचो स्थान जौलजीवी हो। दार्चुला जिल्लामा पवित्र तिर्थ स्थल ‌‍ओम पर्वत पनि पर्दछ । त्यसै गरि कालापानि र लिम्पिया धुरा पनि नेपाल कै भुमि अन्तर्गत पर्दछन् । यस्तै चिनको तिब्बतमा अवस्थित हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण तिर्थ स्थल तथा पर्यटकिय महत्व समेत बोकेको मानसरोवर जाने प्रमुख मार्गको रुपमा समेत यो जिल्लामा रहेको छ । यस जिल्लाको सदरमुकाम खलंगा भारतको धारचुलासँग जोडिएको छ । खलंगा बजार महाकाली नदीको किनारामा अवस्थित एक सुन्दर सहर हो । [१]यो जिल्ला पर्यटकिय तथा धार्मिक स्थलहरूको क्षेत्रमा निकै धनि रहेको छ । यस जिल्लाका पर्यटकिय तथा धार्मिक स्थलहरूमा घुषा गाविसको अपि हिमाल समुद्र सतह देखि ७१३२ मीटर उचाईंमा अवस्थित छ । व्यास गाविसमा पर्ने व्यास हिमाल समुद्र सतह देखि ६७७० मिटर उचाईमा अवस्थित छ र नाम्पा हिमाल समुद्र सतह देखि ६७५४ मिटरको उचाईमा अवस्थि छ । उकु गाविसको महलको भग्नावशेष पनि एक पर्यटकिय विन्दु हो । खण्डेश्वरीको सुर्मासरोवर एक धार्मिक तथा पर्यटकिय स्थल हो भने समुद्र सतह देखी ५००० मिटरको उचाईमा रहेको लिपु लेक पनि पर्यटकहरूका लागी निकै मनमोक स्थल हो । खण्डेश्वरीको धर्मी गुफा पनि एक अर्को महत्वपूर्ण स्थल हो । मालिकार्जुन गाविसको शिखरडाँडा र मालिकार्जुन मन्दिर पनि महत्वपूर्ण स्थलहरू हुन् ।हुनैनाथ गाविसमा रहेको हुनैनाथ मन्दिर रिठा चौपाताको जयपुर मन्दिर, बोहरीगाउँको बन्तोली मन्दिर, देवल गाविसको महलको भग्नावशेष, गोकुलेश्वर गाविसको गोकुलेश्वर शिव मन्दिर, लटीनाथ गाविसको लटीनाथ मन्दिर पनि यहाँका महत्वपूर्ण धार्मिक तथा पर्यटकिय स्थलहरू हुन् । [१] यसका साथै यस जिल्लामा रहेको अपि नाम्पा संरक्षण क्षेत्र पनि यस जिल्लाको एक पर्यटकिय केन्द्र विन्दू हो ।

प्रशाशनिक विभाजन[सम्पादन गर्ने]

स्थानिय तह पुनर्संरचना अनुशार दार्चुला जिल्ला एक संसदिय विकास क्षेत्र २ नगरपालिकाका १८ वटा वडा र ७ गाउँपालिकाका ४३ वटा वडा गरी जम्मा ६१ वटा वडाहरूमा विभाजित छ । व्यास गाउँपालिका भारत र चिनसँग सिमाना जोडिएको छ भने दुहुँ गाउँपालिका, महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिकालेकम गाउँपालिका भारतसँग सिमाना जोडिएको छ ।[१]

जनसङ्ख्या[सम्पादन गर्ने]

२०६८ सालको राष्ट्रिय जनगणना अनुशार दार्चुला जिल्लाको कुल जनसङ्ख्या १,३३,२७४ रहेको छ । जस मध्य पुरुषको सङ्ख्या ६३६०५ रहेको छ भने महिलाको सङ्ख्या ६९६६९ रहेको छ । दार्चुला जिल्लामा कुल घरधुरी सङ्ख्य २४६१८ रहेको छ । यस जिल्लाको औषत घरधुरी आकार ५.४१ र जनघनत्व ५७ प्रति वर्ग किलोमिटर रहेको छ । यस जिल्लाको वार्षिक जनसङ्ख्या वृद्धि दर ०.८८% रहेकोमा लैंगिक अनुपात ९१.३ रहेको छ । यस जिल्लामा २६.९४% घरधुरीमा विद्युत सेवा पुगेको छ, भने ३३.०५% घरधुरीमा सोलार सुविधा उपलब्ध छ । दार्चुला जिल्लाको कुल साक्षरता दर ६५.३६% रहेक छ, जसमा महिला साक्षरता दर ५२.६३% र पुरुष साक्षरता दर ७९.३७% रहेको छ । जिल्ला शिक्षा कार्यलय दार्चुलाको २०७२ विवरण अनुशार पुरुष ९४.६% र महिला ९६.४% गरी जम्मा कुल ९५.४% साक्षरता दर रहेको छ ।[१]

स्वास्थ्य तथा शिक्षा[सम्पादन गर्ने]

२०६८ सालको राष्ट्रिय जनगणना अनुशार दार्चुला जिल्लामा ८२.५६% खानेपानीको सुविधा पुगेको देखिन्छ । सरसफाईमा ४६.७७% मात्र यहाँका वासिन्दाले चर्पीको सुविधा प्राप्त गरेका छन् । यसरी हेर्दा यो जिल्ला राष्ट्रिय सरसफाई तथ्याङ्क भन्दा १५% पछाडी रहेको देखिएता पनि दार्चुला जिल्लालाई खुल्ला दिसा मुक्त क्षेत्र तथा सरसफाई क्रियाकलाप कार्यान्वयन गर्न विभिन्न कार्यालय संघ संस्थाको सक्रिय भूमिका रहँदै आएकोमे आर्थिक बर्ष २०७४/७५ मा ७७ जिल्ला मध्य दार्चुला जिल्ला २०७५ साल बैशाख २५ गतेका दिनमा नेपालको ५२ औं खुल्ला दिसा मुक्त जिल्ला घोषणा भई पूर्ण सरसफाई तर्फ उन्मुख भएको छ । दार्चुला जिल्लाको स्वास्थ्य सम्बन्धी सुविधा अन्तरगत जिल्ला अस्पतालको सङ्ख्या १, प्राथमिक स्वास्थ्य उपचार केन्द्रको सङ्ख्या १, स्वास्थ्य चौकीहरूको सङ्ख्या ११, महिला स्वयम् सेविकाहरूको सङ्या ३६९, उप स्वास्थ्य चौकीहरूको सङ्ख्या २९, मातृ शिशु कार्यकर्ताहरूको सङ्ख्या ३६, आयुर्वेद औषधालयहरूको सङ्ख्या ३, तालिम प्राप्त सुडेनीहरूको सङ्ख्या ९०, डट्स उपचार केन्द्रहरूको सङ्ख्या १३, उपचार उपकेन्द्रहरूको सङ्ख्या २९, खोप क्लिनिकहरूको सङ्ख्या १४७, गाउँ घर क्लिनिकहरूको सङ्ख्या १४१ र बर्थिङ सेन्टरहरूको सङ्ख्या ४ रहेको छ ।[१]

अर्थतन्त्र[सम्पादन गर्ने]

विकासका सूचकाङ्कहरूलाई हेर्दा कुल दार्चुला जिल्लामा शाक्षरता दर, प्रति व्यक्ति आय, औसत आयु, बाल मृत्यु दर, मृत्यु दर, जन्म दर, आदी धेरै जसो नकारात्मक रहेका छन् । यस जिल्लाको ९०% भन्दा बढी जशसङ्ख्या कृषिमा आधारित छन् । कृषि क्षेत्रमा नयाँ प्रविधिको विकास हुन नसकेकाले कृषि उत्पादन क्षेत्रमा राम्रो उत्पादन हुन सकेको छैन, जसले गर्दा खाद्य सन्तुलन नकारात्मक रहेको छ । भौगोलिक विकटता र विविधता रहेको यस जिल्लाको आर्थिक क्रियाकलाप समेत न्यून रहेको छ । जसले गर्दा खाद्य सन्तुलन नकारात्मक रहेको छ ।[१]

वन पैदावार[सम्पादन गर्ने]

दार्चुला जिल्लामा सितोष्ण, समसितोष्ण र अतिसित हावापानी जिल्लामा सितोष्ण, सम सितोष्ण, अतिशीत हावापानी पाईने भएकाले यहाँ ५ प्रकारका वनहरू पाईन्छन् । जस अनुशार कोणधारी वन, हार्डउड वन, मिश्रित वन, झाडी बुट्यान वन र अन्य वनहरू रहेका छन् । यस जिल्लाको वनको कुल क्षेत्रफल ७२९८२.३ हेक्टर रहेको छ । जस मध्य सामुदायिक वन क्षेत्रले ओगटेको क्षेत्रफल ३७२१.७१ हेक्टर उपभोक्ता समितिहरूलाई हस्तान्तरण गरी सकिएको छ । ICIMOD १९९७ अनुशार वन जंगलमा आस्रीत घरहरूको सङ्ख्या २७.५ % रहेको छ । यस जिल्ला भित्र पाइने वनस्पतिहरू मध्य देवदार, बाँज, सल्लो, साल, टुणी, उत्तिस, सिमल, चिउरी, लाली गुराँस, बाँस, कोइरालो, साज, सानन, धुईयो, मौनेठी, पैंयो, जामुन, जस्ता वनस्पतिहरूका साथै यार्सा गुम्बा, पाँचऔंले, झ्याउ, भुतकेश, भोजपत्र, भ्याकुर, दालचिनी, टिमुर, पदमचाल, पाषाणभेद, दारुहल्दी, तितेपाती, लौठसल्लो, गुच्ची च्याउ, कुमकुम, सिकाकाई, सतुवा, सेतक चिनी, कुटकी, काफल बोक्रा, ओखर बोक्रा, धुपी पात, तेजपात र रिठ्ठो आदी डडिबुटीहरू समेत रहेका छन् । [१]

इतिहास[सम्पादन गर्ने]

दार्चुला जिल्लाका गाविसहरूको नक्शा

दार्चुला जिल्लाका साविकका गा.वि.स.हरू ४१ र हालका ७ ओटा गाउपालिका र २ओटा नगरपालिका रहेका छन् ।

संस्कृति[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]