रसुवा जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
रसुवा जिल्ला
Rasuwa district location.png
अञ्चल: बागमती अञ्चल
सदरमुकाम: धुन्चे
क्षेत्रफल: १,५४४ वर्ग कि.मि.
जनसंख्या: ४४७३१ (२००१)
गाउँपालिका(हरू):
नगरपालिका(हरू):
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: हिमाली
सबै भन्दा अग्लो स्थान: ७२४६ मि. ( लाम्टाङ् हिमाल ) मिटर
सबै भन्दा होचो स्थान : मिटर
प्रमुख जातिहरू: आदि
प्रमुख भाषाहरू: तामाङ् , नेपाली ,शेर्पा आदि
मानव विकास सूचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०१०
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट:
 हे  वा  सं 


रसुवा नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलको उत्तरी भेगमा अवस्थित एक विकट हिमाली जिल्ला हो। मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको यो जिल्ला नेपालको हिमाली प्रदेशका १६ वटा जिल्लाहरूमध्ये क्षेत्रफलको आधारमा सबैभन्दा सानो जिल्ला हो। पूर्वमा सिन्धुपाल्चोक दक्षिणमा नुवाकोट पश्चिममा धादिङ जिल्लासँग भौगोलिक सिमाना जोडिएको यस जिल्लाको उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिव्वत रहेको छ। आन्तरिक सिमाना छुट्याउने कार्यमा नदी खोलानाला पहाड र बाटोहरू तथा अन्तर्राष्ट्रिय सिमाना छुट्याउने कार्यमा हिमाली चुचुराहरूको उपस्थिति रहेको छ। मध्यमाञ्चल विकास क्षेत्रको सबैभन्दा कम जनसंख्या र जनघनत्व भएको यस जिल्लामा उच्च हिमाली चुचुराहरू पहाडीक्षेत्रको पठार तथा समथर बेसी र टारहरू लगायतका विविध भौगोलिक विशेषताहरू पाउन सकिन्छ। हिन्दुहरूको पवित्र तिर्थस्थल गोसाइँकुण्ड र यस कुण्डलाई उद्गमस्थल बनाई प्रवाहित त्रिशुली नदीले जिल्लाको वैभव कायम गर्नमा महत्वपूर्ण भूमिका निभाएका छन्। प्रशासनिक आधारमा एक संसदीय निर्वाचन क्षेत्र ९ वटा इलाका १८ वटा गाउँ विकास समितिहरू र १६२ वडाहरूमा विभाजन गरिएको यस जिल्लाको सदरमुकाम धुन्चे हो। यस जिल्लाको भौगोलिक वनावट, हावापानी, वनजङ्गलको विविधता, नदीनाला र कुण्ड विभिन्न जातिहरूको बसोबास, रहनसहन, भेषभुषा आदिको विविधता रहेकोले यस जिल्लाले आफ्नै ऐतिहासिक महत्व बोकेको छ।

जिल्लाको नामाकरण[सम्पादन गर्ने]

रसुवा जिल्ला छिमेकी मित्र राष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वतसँग मितेरी गाँसेर वसेको एक रमणीय जिल्ला हो। भौगोलिक तथा आर्थिक-सामाजिक विविधताको फलस्वरूप यस जिल्लामा विशिष्ट हिमाली जीवनशैलीका विच रहनसहन भेषभुषा र चालचलनमा तिव्वती संस्कृतिको प्रशस्त प्रभाव परेको देखिन्छ। यस जिल्लाको नामाङ्करण सम्वन्धमा तिब्बती भाषाको "र" "सोवा" शब्दलाई उदृत गरिएको पाइन्छ। "र"को अर्थ भेडा च्याङ्ग्रा र "सोवा"को अर्थ चराउने वा राख्ने ठाउँ भन्ने बुझिन्छ। अर्थात प्रशस्त भेडा च्याङ्ग्रा पाइने स्थान भएकोले "रसोवा" भन्ने गरेको र त्यसको अपभ्रंस भई वोलिचालीको भाषामा रसुवा भन्न थालिएको भनाई रहेको छ।

भौगोलिक अवस्थिति[सम्पादन गर्ने]

  • अक्षांश: २७ डिग्रि ५५ मिनेट देखि २८ डिग्रि २५ मिनेट उत्तर
  • देशान्तर: ८५ डिग्रि ०० मिनेट देखि ८५ डिग्रि ५० मिनेट पूर्व
  • सिमाना: पूर्व- सिन्धुपाल्चोक, पश्चिम-धादिङ, उत्तर-चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिण- नुवाकोट
  • क्षेत्रफल: १,५१२ वर्ग किलोमिटर
  • सबभन्दा होचोस्थान: ६१४ मिटर
  • सबभन्दा अग्लोस्थान: ७,२२७ मिटर

रसुवा जिल्लाको क्षेत्रफल १,५१२ वर्ग किलोमिटर छ जुन नेपालको कुल क्षेत्रफलको १.०३ प्रतिशत अंश हो। जिल्लाको समग्र भू -भागलाई धरातलीय हिसावमा मुख्यतः तीन भागमा विभाजन गर्न सकिन्छ।

हिमाली प्रदेश[सम्पादन गर्ने]

समुद सतहबाट ५,००० मिटरभन्दा माथिको हिमाच्छिदत खण्ड यस प्रदेशमा पर्दछ। हिमरेखा भन्दा माथिल्लो यस भागमा प्रायः वर्षैभरी तापक्रम ऋणात्मक हुने भएकोले हिउँ जम्ने गर्दछ। पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण गणेश हिमाल, लाङटाङ हिमाल, लिरुङ हिमाल, यालापिक, लाङसिसा, स्याङजेन खर्क आदि यस प्रदेशका प्रमुख चुचुराहरू हुन।

लेकाली प्रदेश[सम्पादन गर्ने]

समुद्र सतहबाट २,५०० मिटरदेखि ५,००० मिटरसम्मको पहाडीक्षेत्रलाई लेकाली प्रदेश अन्तर्गत समावेश गर्न सकिन्छ। हिउँद याममा बारम्बार हिमपात हुने र बाँकी समयमा प्रायः ठण्डा हावापानी पाइने यस प्रदेशमा गोसाइँकुण्ड, लाङटाङ क्यान्जिन, घोडातबेला, लौरीविनायक, चन्दनबारी, सोमदाङ, माङ्गचेत, तातोपानी, पार्वतीकुण्ड, सूर्यकुण्ड आदि पर्यटकीय स्थलहरू रहेका छन।

पहाडी तथा बेसी प्रदेश[सम्पादन गर्ने]

समुन्द्री सतहबाट ४५७ मिटरभन्दा माथि र २,५०० मिटरभन्दा तलको पहाडी भू-भागभित्र पहाडका कुना-कन्दराहरूमा छरिएर रहेका समथर मैदान बेसी र टारहरूलाई यस प्रदेशमा समावेश गर्न सकिन्छ। थोरै अंशमा फैलिएको भएतापनि जनघनत्व र उत्पादकत्वको हिसावले यो प्रदेशलाई अन्यको तुलनामा सम्पन्न मान्न सकिन्छ। फलाँखु खोलाको बेसी, स्याप्रुबेसी, बेत्रावती, पैरेबेसी आदि समथर बेसीहरू लगायत धुन्चे, गोल्जुङ, यार्सा, सरमथली, कालिकास्थान, लहरेपौवा, ठूलोगाउँ आदि स्थानहरू यसै प्रदेश अन्तर्गत पर्दछन।

हावापानी[सम्पादन गर्ने]

यस जिल्लाको भू-धरातलीय वनावटको परिणामस्वरूप हावापानीमा समेत निकै विविधता पाउन सकिन्छ। जिल्लाको हावापानीलाई मोटामोटीरूपमा टुण्ड्राप्रदेशीय शितप्रदेशीय र समशितोष्ण प्रदेशीय गरी तीन किसिमले विभाजन गर्न सकिन्छ। उच्च हिमाली भेगमा वर्षैभरी तापक्रम ऋणात्मक हुने कारणले हिउँ जमिरहने गर्दछ जसलाई टुण्ड्राप्रदेशीय हावापानीको रूपमा समेट्न सकिन्छ। मध्यपहाडी भेगमा प्रायः ठण्डाप्रकृतिको हावापानी पाइन्छ जहाँ हिउँदयाममा हिमपात समेत हुने र बर्षयाममा तापक्रम केही वृद्धी हुने गर्दछ। यस किसिमको हावापानीलाई शितप्रदेशीय हावापानीको रूपमा लिइन्छ। होचो पहाडीक्षेत्र बेसी तथा टारहरूमा न त जाडोमा धेरै ठण्डा न त वर्षामा धेरै गर्मि हुने विशेषताको समशितोष्ण हावापानी पाइन्छ। यहाँ गर्मियाममा औषत अधिकतम तापक्रम लगभग २४ डिग्र सेल्सियससम्म र हिउँदमा औषत न्यूनतम तापक्रम लगभग ४ डिग्रीसेल्सियससम्म पुग्ने गर्दछ। असार र साउन महिनामा तापक्रम अधिकतम विन्दुमा पुग्दछ भने मंसिरदेखि माघ महिनासम्म निकै तल झर्दछ। वर्षायाममा अधिकतम ६९१।७ मिलिमिटरसम्म वर्षा हुन्छ भने हिउँदका महिनाहरूमा यसको मात्रा नगन्य रहन्छ।

प्रमुख नदी तथा तालहरू[सम्पादन गर्ने]

विभिन्न स्थानहरूवाट वग्ने नदी तथा खोलाहरू र उच्च पहाडी तथा हिमाली क्षेत्रमा रहेका ताल तलैयाहरू नै जिल्लाका प्रमुख जलसम्पदाहरू हुन्। त्रिशुली चिलिमे मैलुङ भोटेकोशी लाङटाङ फलाँखु लगायतका नदी तथा खोलाहरू गोसाइँकुण्ड सूर्यकुण्ड पार्वतिकुण्ड भैरवकुण्ड सरस्वती कुण्ड गणेश कुण्ड दुध कुण्ड जोगेश्वर कुण्ड तातोपानी आदि ताल तलैयाहरूले जिल्लाको जलाधार क्षेत्रमा महत्वपूर्ण स्थान ओगटेका छन।

प्रमुख वेसी र फाँटहरू[सम्पादन गर्ने]

उत्पादनको दृष्टिकोणले केही उर्वर टार तथा वेसी र फाँटहरूले जिल्लाको खाद्यान्न आपूर्तिमा उल्लेखनिय योगदान पुर्याएका छन्। फलाँखु खोलाको वेसी स्याप्रुवेसी वेत्रावती पैरेवे सी आदि समथर वेसीहरू र पहाडको कुनाहरूमा छरिएर रहेका गोल्जुङ चिलिमे आदि साना ठूला टारहरू नै यस जिल्लाका प्रमुख वेसी र फाँटहरू हुन्।

धार्मिक तथा पर्यटकीय क्षेत्रहरू[सम्पादन गर्ने]

तामाङ जाति र वौद्ध धर्मको प्रधानता रहेको यस जिल्लामा धार्मिक स्थलको हकमा धेरैजसो स्थानहरूमा गुम्वाहरू निर्माण गरिएको पाइन्छ। गोसाँइकुण्ड कालिका माइको मन्दिर उत्तरगया आदि यहाँका प्रशिद्ध तिर्थस्थलहरू हुन। जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित हिमाली श्रृङ्खला आन्तरिक तथा वाह्य पर्यटनको दृष्टिकोणले निकै महत्वपूर्ण स्थान मानिन्छ। गोसाँइकुण्ड क्यान्जिन भ्याली सूर्य कुण्ड पार्वतिकुण्ड तातोपानी घोडातवेला लाङटाङ चन्दनवारी धुन्चे स्याप्रु आदि मुख्य पर्यटकीय क्षेत्रहरू हुन्। केही महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको परिचयत ल उल्लेख गरिएको छ।

प्रमुख सांस्कृतिक चाडपर्व एवं मेलाहरू[सम्पादन गर्ने]

जातिगत र साँस्कृतिक विविधता रहेको यस जिल्लाका वासिन्दाहरूले मनाउने प्रमुख चाडपर्व र मेलाहरूमा पनि पर्याप्त विविधता पाउँन सकिन्छ। ल्होछार विजयादशमी दिपावली रामनवमी माघेसक्रान्ती साउनेसक्रान्ती तिज जनैपूर्णिमा कृष्णजन्माष्टमी वुद्धपूर्णिमा आदि यहाँका प्रमुख चाडपर्वहरू हुन्। प्रत्येक वर्ष जनैपूर्णिमाको दिन तथा जेठ महिनाको दशहरामा लाग्ने गोसाँइकुण्ड मेला यस जिल्लाको प्रमुख साँस्कृतिक वैभव हो।

रहनसहन र भेषभुषा[सम्पादन गर्ने]

तामाङ वाहुल हिमाली जिल्ला भएकोले यहाँको रहनसहनमा प्रशस्त मात्रामा तिव्वती प्रभाव परेको पाइन्छ। प्रायः वस्तिहरू एकै स्थानमा झुपुक्क परेर रहेको देखिन्छ। अधिकांश घरहरू ढुङ्गा माटो र काठवाट निर्मित तथा काठ र खर प्रयोग गरी छाना छाइएको अवस्थामा पाइन्छन्। भेषभुषाको हकमा वख्खु दोचा कमिच सुरूवाल टोपी पाइन्ट पंगप फरिया पटुका चोलो आदि प्रमुख वस्त्रहरू हुन्।


व्यापारिक महत्वका स्थानहरू[सम्पादन गर्ने]

यस जिल्लाको व्यापार व्यावसायमा धुन्चे, रसुवागढी, स्याप्रुm, वेत्रावती,धारापानी कालिकास्थान जिवजिवे आदि बजारकेन्द्रहरूले महत्वपूर्ण स्थान ओगटेका छन्। उल्लेखित बजारकेन्द्रहरूमा दैनिक उपभोग्यवस्तुहरूको क्रय-विक्रयको मात्रा सवैभन्दा धेरै रहने गरेको छ। औद्योगिक उत्पादनसँग सम्वन्धित प्रतिष्ठानहरू पनि प्रायः यिनै वजारकेन्द्रहरूको आसपासमा केन्द्रीत छन्। रसुवागढी नेपालको चिनसँग हुने व्यापारको एक प्रमुख नाका पनि हो।यहाँ सुख्खा बन्दरगाह निमौणको चर्चा चलिरहेको छ। .


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]