सामग्रीमा जानुहोस्

रसुवा जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रसुवा जिल्ला
माथिबाट घडीको दिशामा: क्यानजिङ गोम्पा गाउँ, लोकप्रिय पदयात्रा मार्गमा रहेको लाङटाङ गाउँ नजिकैको स्तूप, गोसाइकुण्ड तालको परिदृश्य, धुन्चे— रसुवा जिल्लाको सदरमुकाम
देश नेपाल
प्रदेशबागमती
स्थापनावि.सं २०१८
सदरमुकामधुन्चे
सरकार
 • प्रकारसमन्वय समिति
 • अङ्गजिसस, रसुवा
क्षेत्रफल
 • जम्मा१,५४४ किमी (५९६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४६,६८९
 • घनत्व३०/किमी (७८/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपाली समय)
टेलिफोन कोड०१०
मुख्य भाषा(हरू)तामाङ
नेपाली
वेबसाइटdccrasuwa.gov.np

रसुवा नेपालको बागमती प्रदेशको उत्तरी भेगमा अवस्थित एक विकट हिमाली जिल्ला हो। मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको यो जिल्ला नेपालको हिमाली प्रदेशका १६ वटा जिल्लाहरूमध्ये क्षेत्रफलको आधारमा सबैभन्दा सानो जिल्ला हो। पूर्वमा सिन्धुपाल्चोक दक्षिणमा नुवाकोट पश्चिममा धादिङ जिल्लासँग भौगोलिक सिमाना जोडिएको यस जिल्लाको उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत रहेको छ। आन्तरिक सिमाना छुट्याउने कार्यमा नदी खोलानाला पहाड र बाटोहरू तथा अन्तर्राष्ट्रिय सिमाना छुट्याउने कार्यमा हिमाली चुचुराहरूको उपस्थिति रहेको छ। मध्यमाञ्चल विकास क्षेत्रको सबैभन्दा कम जनसङ्ख्या र जनघनत्व भएको यस जिल्लामा उच्च हिमाली चुचुराहरू पहाडी क्षेत्रको पठार तथा समथर वेशी र टारहरूलगायतका विविध भौगोलिक विशेषताहरू पाउन सकिन्छ। हिन्दुहरूको पवित्र तीर्थस्थल गोसाइँकुण्ड र यस कुण्डलाई उद्गमस्थल बनाई प्रवाहित त्रिशूली नदीले जिल्लाको वैभव कायम गर्नमा महत्त्वपूर्ण भूमिका निभाएका छन्। प्रशासनिक आधारमा एक संसदीय निर्वाचन क्षेत्र ९ वटा इलाका १८ वटा गाउँ विकास समितिहरू र १६२ वडाहरूमा विभाजन गरिएको यस जिल्लाको सदरमुकाम धुन्चे हो जुन गोसाइँकुण्ड गाउँपालिका अन्तर्गत पर्दछ। यस जिल्लाको भौगोलिक वनावट, हावापानी, वनजङ्गलको विविधता, नदीनाला र कुण्ड विभिन्न जातिहरूको बसोबास, रहनसहन, भेषभुषा आदिको विविधता रहेकोले यस जिल्लाले आफ्नै ऐतिहासिक महत्त्व बोकेको छ।

राज्य पुनर्संरचना पछि रसुवालाई ५ वटा गाउँपालिका र २७ वडामा विभाजन गरिएको छ । जसमा आमाछोदिङ्मो गाउँपालिका, गोसाइँकुण्ड गाउँपालिका, कालिका गाउँपालिका, नौकुण्ड गाउँपालिकाउत्तरगया गाउँपालिका रहेका छन् । नौकुण्ड गाउँपालिकागोसाइँकुण्ड गाउँपालिका ६/६ वडामा र अरु गाउँपालिका ५/५ वडामा विभाजन भएको छ ।

जिल्लाको नामाकरण

[सम्पादन गर्नुहोस्]

रसुवा जिल्ला छिमेकी मित्र राष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वतसँग मितेरी गाँसेर वसेको एक रमणीय जिल्ला हो। भौगोलिक तथा आर्थिक-सामाजिक विविधताको फलस्वरूप यस जिल्लामा विशिष्ट हिमाली जीवनशैलीका विच रहनसहन भेषभुषा र चालचलनमा तिव्वती संस्कृतिको प्रशस्त प्रभाव परेको देखिन्छ। यस जिल्लाको नामाङ्करण सम्वन्धमा तिब्बती भाषाको "र" "सोवा" शब्दलाई उदृत गरिएको पाइन्छ। "र"को अर्थ भेडा च्याङ्ग्रा र "सोवा"को अर्थ चराउने वा राख्ने ठाउँ भन्ने बुझिन्छ। अर्थात प्रशस्त भेडा च्याङ्ग्रा पाइने स्थान भएकोले "रसोवा" भन्ने गरेको र त्यसको अपभ्रंस भई वोलिचालीको भाषामा रसुवा भन्न थालिएको भनाई रहेको छ।

जिल्लाको नामाकरणका विषयमा थप जान्नका लागि 'यही हो हाम्रो रसुवा'को यो साइटमा जानुहोस् ।

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]
  • अक्षांश: २७ डिग्रि ५५ मिनेट देखि २८ डिग्रि २५ मिनेट उत्तर
  • देशान्तर: ८५ डिग्रि ०० मिनेट देखि ८५ डिग्रि ५० मिनेट पूर्व
  • सिमाना: पूर्व- सिन्धुपाल्चोक, पश्चिम-धादिङ, उत्तर-चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिण- नुवाकोट
  • क्षेत्रफल: १,५१२ वर्ग किलोमिटर
  • सबभन्दा होचोस्थान: ६१४ मिटर
  • सबभन्दा अग्लोस्थान: ७,२२७ मिटर

रसुवा जिल्लाको क्षेत्रफल १,५१२ वर्ग किलोमिटर छ जुन नेपालको कुल क्षेत्रफलको १.०३ प्रतिशत अंश हो। जिल्लाको समग्र भू -भागलाई धरातलीय हिसावमा मुख्यतः तीन भागमा विभाजन गर्न सकिन्छ।

हिमाली प्रदेश

[सम्पादन गर्नुहोस्]

समुद सतहबाट ५,००० मिटरभन्दा माथिको हिमाच्छिदत खण्ड यस प्रदेशमा पर्दछ। हिमरेखा भन्दा माथिल्लो यस भागमा प्रायः वर्षैभरी तापक्रम ऋणात्मक हुने भएकोले हिउँ जम्ने गर्दछ। पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण गणेश हिमाल, लाङटाङ हिमाल, लिरुङ हिमाल, यालापिक, लाङसिसा, स्याङजेन खर्क आदि यस प्रदेशका प्रमुख चुचुराहरू हुन।

लेकाली प्रदेश

[सम्पादन गर्नुहोस्]

समुद्र सतहबाट २,५०० मिटरदेखि ५,००० मिटरसम्मको पहाडीक्षेत्रलाई लेकाली प्रदेश अन्तर्गत समावेश गर्न सकिन्छ। हिउँद याममा बारम्बार हिमपात हुने र बाँकी समयमा प्रायः ठण्डा हावापानी पाइने यस प्रदेशमा गोसाइँकुण्ड, लाङटाङ क्यान्जिन, घोडातबेला, लौरीविनायक, चन्दनबारी, सोमदाङ, माङ्गचेत, तातोपानी, पार्वतीकुण्ड, सूर्यकुण्ड आदि पर्यटकीय स्थलहरू रहेका छन।

पहाडी तथा बेसी प्रदेश

[सम्पादन गर्नुहोस्]

समुन्द्री सतहबाट ४५७ मिटरभन्दा माथि र २,५०० मिटरभन्दा तलको पहाडी भू-भागभित्र पहाडका कुना-कन्दराहरूमा छरिएर रहेका समथर मैदान बेसी र टारहरूलाई यस प्रदेशमा समावेश गर्न सकिन्छ। थोरै अंशमा फैलिएको भएतापनि जनघनत्व र उत्पादकत्वको हिसावले यो प्रदेशलाई अन्यको तुलनामा सम्पन्न मान्न सकिन्छ। फलाँखु खोलाको बेसी, स्याप्रुबेसी, बेत्रावती, पैरेबेसी आदि समथर बेसीहरू लगायत धुन्चे, गोल्जुङ, यार्सा, सरमथली, कालिकास्थान, लहरेपौवा, ठूलोगाउँ आदि स्थानहरू यसै प्रदेश अन्तर्गत पर्दछन।

प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]

जिल्लामा ५ गाउँपालिकाहरू रहेका छन्।[]

रसुवा जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तहहरू समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग

किमी)

जनघनत्व (वर्ग

किमी)

उत्तरगया गाउँपालिका हाकु (८,९), लहरेपौवा (१-७ र ९), ठूलोगाउँडाँडागाउँ लहरेपौवा ८,५५५ १०४.५१ ८२
कालिका गाउँपालिका धैबुङ, लहरेपौवा (८), राम्चेभोर्ले (१,६,८-९) धैबुङ १०,११५ १९२.५४ ५३
गोसाइँकुण्ड गाउँपालिका धुन्चे, स्याफ्रु, बृद्‌धिम, टिमुरे, थुमनलाङटाङ स्याफ्रु ७,७८८ ९८७.७७ ७.९
नौकुण्ड गाउँपालिका सरमथली, यार्सा, भोर्ले (२-५ र ७) सरमथली १२,३४४ १२६.९९ ९७
आमाछोदिङ्मो गाउँपालिका गत्लाङ, गोल्जुङ, चिलिमेहाकु (१-७) गोल्जुङ वेशी ६,६७३ ६८२.२३ ९.८
रसुवा जिल्लाका पूर्व गाविसहरूको नक्सा

यस जिल्लाको भू-धरातलीय वनावटको परिणामस्वरूप हावापानीमा समेत निकै विविधता पाउन सकिन्छ। जिल्लाको हावापानीलाई मोटामोटीरूपमा टुण्ड्राप्रदेशीय शितप्रदेशीय र समशितोष्ण प्रदेशीय गरी तीन किसिमले विभाजन गर्न सकिन्छ। उच्च हिमाली भेगमा वर्षैभरी तापक्रम ऋणात्मक हुने कारणले हिउँ जमिरहने गर्दछ जसलाई टुण्ड्रा प्रदेशीय हावापानीको रूपमा समेट्न सकिन्छ। मध्यपहाडी भेगमा प्रायः ठण्डाप्रकृतिको हावापानी पाइन्छ जहाँ हिउँदयाममा हिमपात समेत हुने र वर्षयाममा तापक्रम केही वृद्धी हुने गर्दछ। यस किसिमको हावापानीलाई शितप्रदेशीय हावापानीको रूपमा लिइन्छ। होचो पहाडीक्षेत्र बेसी तथा टारहरूमा न त जाडोमा धेरै ठण्डा न त वर्षामा धेरै गर्मि हुने विशेषताको समशितोष्ण हावापानी पाइन्छ। यहाँ गर्मियाममा औषत अधिकतम तापक्रम लगभग २४ डिग्र सेल्सियससम्म र हिउँदमा औषत न्यूनतम तापक्रम लगभग ४ डिग्रीसेल्सियससम्म पुग्ने गर्दछ। असार र साउन महिनामा तापक्रम अधिकतम विन्दुमा पुग्दछ भने मंसिरदेखि माघ महिनासम्म निकै तल झर्दछ। वर्षायाममा अधिकतम ६९१।७ मिलिमिटरसम्म वर्षा हुन्छ भने हिउँदका महिनाहरूमा यसको मात्रा नगन्य रहन्छ।

प्रमुख नदी तथा तालहरू

[सम्पादन गर्नुहोस्]

विभिन्न स्थानहरूवाट वग्ने नदी तथा खोलाहरू र उच्च पहाडी तथा हिमाली क्षेत्रमा रहेका ताल तलैयाहरू नै जिल्लाका प्रमुख जलसम्पदाहरू हुन्। भाेटेकाेशी, त्रिशूली, चिलिमे, मैलुङ, लाङटाङ, फलाँखुलगायतका नदी तथा खोलाहरू गोसाइँकुण्ड सूर्यकुण्ड पार्वतिकुण्ड भैरवकुण्ड सरस्वती कुण्ड गणेश कुण्ड दुध कुण्ड जोगेश्वर कुण्ड, रक्तकुण्ड, तातोपानी आदि ताल तलैयाहरूले जिल्लाको जलाधार क्षेत्रमा महत्त्वपूर्ण स्थान ओगटेका छन।

प्रमुख वेसी र फाँटहरू

[सम्पादन गर्नुहोस्]

कृषि उत्पादनको दृष्टिकोणले केही उर्वर टार तथा वेसी र फाँटहरूले जिल्लाको खाद्यान्न आपूर्तिमा उल्लेखनिय योगदान पुर्याएका छन्। फलाँखु खोला निजकै कुडुल्ले, ढाँडे, भाेर्ले, सानाेभाेर्ले, डि खेत, बेत्रावती, पैरेवेशी, नाैबिसे, आदि त्रिशूली र फलाँखु नदि वरपर समथर वेसीहरू र पहाडको कुनाहरूमा छरिएर रहेका स्याफ्रुबेशी, गोल्जुङबेशी, थुमन, चिलिमे आदि साना ठूला टारहरू नै यस जिल्लाका प्रमुख वेसी र फाँटहरू हुन्।

धार्मिक तथा पर्यटकीय क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

तामाङ जाति र वौद्ध धर्मको प्रधानता रहेको यस जिल्लामा धार्मिक स्थलको हकमा धेरैजसो स्थानहरूमा गुम्वाहरू निर्माण गरिएको पाइन्छ। गोसाँइकुण्ड, कालिका माइ मन्दिर, उत्तरगयाधाम, जिवजिवे नीलकण्ठ महाादेव, आदि यहाँका प्रशिद्ध तिर्थस्थलहरू हुन। जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित हिमाली शृङ्खला आन्तरिक तथा वाह्य पर्यटनको दृष्टिकोणले निकै महत्त्वपूर्ण स्थान मानिन्छ। गोसाँइकुण्ड, क्यान्जिन भ्याली, सूर्यकुण्ड पार्वतिकुण्ड, तातोपानी, लामा हाेटल, घोडातवेला, लाङटाङ, चन्दनवारी, धुन्चे, स्याप्रु, ठूलाे स्यफ्रु आदि मूख्य पर्यटकीय क्षेत्रहरू हुन्। केही महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको परिचय तल पनि उल्लेख गरिएको छ।

प्रमुख सांस्कृतिक चाडपर्व एवं मेलाहरू

[सम्पादन गर्नुहोस्]

जातिगत र साँस्कृतिक विविधता रहेको यस जिल्लाका वासिन्दाहरूले मनाउने प्रमुख चाडपर्व र मेलाहरूमा पनि पर्याप्त विविधता पाउँन सकिन्छ। ल्होछार विजया दशमी दिपावली रामनवमी माघे सक्रान्ती ,साउने सक्रान्ती तिज जनैपूर्णिमा कृष्णजन्माष्टमी वुद्धपूर्णिमा आदि यहाँका प्रमुख चाडपर्वहरू हुन् । प्रत्येक वर्ष जनैपूर्णिमाको दिन तथा जेठ महिनाको दशहरामा लाग्ने गोसाँइकुण्ड मेला यस जिल्लाको प्रमुख साँस्कृतिक वैभव हो। ठूलाे एकादशी, गाइजात्रा, रामनवमी, पाैषे औंशी, बाला चतुर्दशी, माघे सक्रान्तीमा रसुवाकाे उत्तरगयाधाम बेत्रावतीमा मेला लाग्दछ । गुरूङहरूकाे बस्ती रहेकाे ठूलाेगाउँ र डाडागाउँमा घाटु नाच, मारूनी नाच जस्ता साँस्कृतिक पर्वहरू पनि मनउने गरिन्छ ।

रहनसहन र भेषभुषा

[सम्पादन गर्नुहोस्]

तामाङ वाहुल हिमाली जिल्ला भएकोले यहाँको रहनसहनमा प्रशस्त मात्रामा तिव्वती प्रभाव परेको पाइन्छ। प्रायः वस्तिहरू एकै स्थानमा झुपुक्क परेर रहेको देखिन्छ। अधिकांश घरहरू ढुङ्गा माटो र काठवाट निर्मित तथा काठ र खर प्रयोग गरी छाना छाइएको अवस्थामा पाइन्छन्। भेषभुषाको हकमा वख्खु दोचा कमिच सुरूवाल टोपी पाइन्ट पंगप फरिया पटुका चोलो आदि प्रमुख वस्त्रहरू हुन्।


व्यापारिक महत्त्वका स्थानहरू

[सम्पादन गर्नुहोस्]

यस जिल्लाको व्यापार व्यावसायमा धुन्चे, रसुवागढी, स्याफ्रुबेशी, वेत्रावती,मैलुङ, धारापानी, कालिकास्थान, जिवजिवे, आदि बजार केन्द्रहरूले महत्त्वपूर्ण स्थान ओगटेका छन्। उल्लेखित बजार केन्द्रहरूमा दैनिक उपभोग्यवस्तुहरूको क्रय-विक्रयको मात्रा सवैभन्दा धेरै रहने गरेको छ। औद्योगिक उत्पादनसँग सम्वन्धित प्रतिष्ठानहरू पनि प्रायः यिनै वजारकेन्द्रहरूको आसपासमा केन्द्रीत छन्। रसुवागढी नेपालको चिनसँग हुने व्यापारको एक प्रमुख नाका पनि हो। यहाँ सुख्खा बन्दरगाह निर्माण थालनी भइरहेको छ। .

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बैङ्क तथा बित्तिय संस्थाहरूको उपस्थीती र जनताको बित्तिय स्थीतीको पहुंच।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

*वेब्याक मेसिन [https://web.archive.org/web/20240419160352/https://www.rasuwanepal.com.np/ अभिलेखिकरण २०२४-०४-१९ मिति

  1. "राष्ट्रिय जनसङ्ख्या तथा आवास जनगणना २०७८ (राष्ट्रिय प्रतिवेदन)", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  2. "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२