सामग्रीमा जानुहोस्

उदयपुर जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उदयपुर जिल्ला
बोक्से बजार
जिल्लाको सदरमुकाम गाईघाट
कोशी प्रदेशमा उदयपुर जिल्लाको अवस्थिति
कोशी प्रदेशमा उदयपुर जिल्ला
जिल्लाको विभाजन
निर्देशाङ्क: २६°५५′उ ८६°४०′पू / 26.917°N 86.667°E / 26.917; 86.667
देश नेपाल
प्रदेशकोशी प्रदेश
स्थापनावि.सं २०१८
सदरमुकामगाईघाट
स्थानीय तहहरू
सरकार
  प्रकारजिल्ला समन्वय समिति
  अङ्गजिसस, उदयपुर
  संसदीय निर्वाचन क्षेत्रहरू२ (उदयपुर १उदयपुर २)
  प्रादेशिक निर्वाचन क्षेत्रहरू
क्षेत्रफल
  जम्मा२,०६३ किमी (७९७ वर्ग माइल)
उच्चतम उचाई
२,३१० मिटर (७५८० फिट)
न्यूनतम उचाई
३६० मिटर (११८० फिट)
जनसङ्ख्या
  जम्मा३४२,७७३
  घनत्व१७०/किमी (४३०/वर्ग माइल)
  घरघुरी
७५९३७
मानव विकास सूचकाङ्क
  प्रतिव्यक्ति आय९२० अमेरिकी डलर
  गरिबी दर२९.७४
  साक्षरता६९%
  जीवन प्रत्याशा६९.२९
समय क्षेत्रयुटिसी+०५:४५ (नेपाली समय)
टेलिफोन कोड०३५
मुख्य भाषा(हरू)नेपाली, मगर, थारु,
मुख्य राजमार्गहरूसगरमाथा
वेबसाइटddcudayapur.gov.np

उदयपुर जिल्ला नेपालको कोशी प्रदेश को पश्चिम-दक्षिण हिस्सामा अवस्थित छ। यस जिल्लाले महाभारत पर्वत शृङ्खलादेखि चुरे पर्वतमालासम्मको भू-भाग समेटेको छ। यसको कुल क्षेत्रफल २०६३ वर्ग किलोमिटर रहेको छ। क्षेत्रफलको हिसाबले यो जिल्ला नेपालको २७औं पूर्वाञ्चल विकास क्षेत्रको चौथो र सगरमाथा अञ्चलको दोस्रो स्थानमा पर्दछ। देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योग "उदयपुर सिमेन्ट उद्योग" यस जिल्लामा रहेकोले यस जिल्लालाई परिचय गराउन थप मद्दत पुगेको छ। यो जिल्ला महाभारत शृङ्खला र चुरे पर्वत शृङ्खलाबीच रहेकाले महाभारत शृङ्खला अन्तर्गत धारिला, बिकट, डाँडाहरू, छरिएका र पातलिएका बस्तीहरू छन्। भने महाभारत फेदिदेखि चुरे शृङ्खलाको बीचमा दुईवटा ठूला-ठूला लाम्चो आकारको समथर फाँट भएको हुँदा यस जिल्लालाई भित्री मधेसको रूपमा गणना गरिन्छ। यस जिल्लाको पश्चिममा रहेको फाँटमा कटारी नगरपालिका को केहि भाग (पुरानो विभाजन अनुसार त्रिवेणी गाविस, रिश्कु गाविसकटारी गाविस) रहेको छ भने पूर्वी भागको ठूलो फाँटमा बेलका नगरपालिका (पुरानो विभाजन अनुसार तपेश्वरी गाविसरामपुर ठोक्सिला गाविस), चौदण्डीगढी नगरपालिका (पुरानो विभाजन अनुसार बेल्टार गाविस, बसाहा गाविस, सुन्दरपुर गाविसहडिया गाविस) तथा त्रियुगा नगरपालिका को केहि भाग (पुरानो विभाजन अनुसार त्रियुगा नगरपालिकाजोगीदह गाविस) रहेको छ। नगरपालिकाहरूको बाँकी क्षेत्र तथा सबै गाउँपालिकाहरु सामान्य पहाडदेखि विकट पहाडमा पर्दछन्। 2078 सालको जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या 342773 जना रहेको छ ।[]

जिल्लाको इतिहास

[सम्पादन गर्नुहोस्]

पहिला उदय नाम गरेको राजाले यस जिल्लामा शासन गरेको हुँदा यस जिल्लाको नाम उदयपुर रहन गएको भन्ने किम्बदन्ती पनि सुनिन्छ। वि.स. २०२८ सालभन्दा अगाडि यस जिल्लाको सदरमुकाम हालको पञ्चावती गाविसमा पर्ने उदयपुरगढी भन्ने ठाउँमा थियो। वि.सं. २०२८, जेठ ९ गनेदेखि महेन्द्र राजमार्गको कदमाहादेखि २७ कि.मि उत्तर गाईघाट भन्ने स्थानमा सदरमुकाम रहेको छ।

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

यो जिल्ला महाभारत शृङ्खला र चुरे पर्वत शृङ्खलाबीच रहेकाले महाभारत शृङ्खला अन्तर्गत धारिला, बिकट, डाँडाहरू, छरिएका र पातलिएका बस्तीहरू छन्। महाभारत फेदिदेखि चुरे शृङ्खलाको बीचमा दुईवटा ठूला-ठूला लाम्चो आकारको समथर फाँट भएको हुँदा यस जिल्लालाई भित्री मधेसको रूपमा पनि गणना गरिन्छ। यस जिल्लाको उत्तरमा महाभारत पर्वत शृङ्खलामा पर्ने सबै भन्दा अग्लो चुचुरो चित्रेथाम हो। जसको उचाई करीब ७७७० फिट रहेको छ।

  • अक्षांश:- २६ डिग्रि २६' ३९" देखि २७ डिग्रि १' १०" उत्तर
  • देशान्तर:- ८६ डिग्रि ०' ९" देखि ८७ डिग्रि १' ०" पूर्व
  • क्षेत्रफल:- २०६३ वर्ग किलोमिटर
  • औसत लम्बाइ:- .... उत्तर– दक्षिण
  • औसत चौडाइ:- ..... पूर्व– पश्चिम
  • सबभन्दा अग्लो स्थान:-
  • सबभन्दा होचो स्थान:-
  • सदरमुकाम:- गाईघाट
  • भौगोलिक अवस्था:- पहाड, भित्री मधेश
  • सिमाना:- पूर्व-सुनसरीधनकुटा,पश्चिम-धनुषासिन्धुली,उत्तर-भोजपुर,खोटाङओखलढुङ्गा, दक्षिण-सिरहासप्तरी

प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]

जिल्लामा ४ नगरपालिका, ४ गाउँपालिका गरि ८ वटा स्थानीय तहहरू रहेका छन्।[]

उदयपुर जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तहहरू समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग
किमी)
जनघनत्व (वर्ग
किमी)
कटारी नगरपालिका कटारी, त्रिवेणी, रिश्कु, लेखानी, मयङ्खु, हर्देनी, लिम्पाटार, सोरुङ छबिसेसिरिसे १४ कटारी बजार ५९,५०७ ४२४.८९ १४०
चौदण्डीगढी नगरपालिका बेल्टार, बसाहा, चौदण्डी, सिद्धिपुर, हडियासुन्दरपुर १० बेल्टार ५३,६३१ २८३.७८ १९०
त्रियुगा नगरपालिका जोगीदह, साउने, खाँबुजल्पाचिलाउने १६ गाईघाट १,०२,७२५ ५४७.४३ १९०
बेलका नगरपालिका मैनामैनी, तपेश्वरी, रामपुर ठोक्सिलाकटुन्जे ववला रामपुर ठोक्सिला ५१,०४३ ३४४.७३ १५०
उदयपुरगढी गाउँपालिका भलाय डाँडा, तावाश्री, डुम्रे, बर्रेपञ्चावती पञ्चावती २८,९२६ २६९.५१ ११०
ताप्ली गाउँपालिका इनामे, रुपाटार, लेखगाउँ, ओख्लेठानागाउँ रुपाटार १३,३४४ ११९.११ ११०
रौतामाई गाउँपालिका रौता, रौता, आँपटार, भुट्टार, लाफागाउँनामेटार भुट्टार २०,३२४ २०४.०८ १००
लिम्चुङबुङ गाउँपालिका बासबोटे, ताम्लीछा, बाराहा, बलम्ताजाँते बाराहा ९,६८९ १०६.०८ ९१
उदयपुर जिल्लाका पूर्व गाविसहरूको नक्सा

प्राकृतिक श्रोत र सम्पदा

[सम्पादन गर्नुहोस्]

कुनै पनि गाँउ, जिल्ला वा राष्टको उन्न्ती गर्न प्राकृतिक श्रोत र सम्पादाको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। उदयपुरको प्राकृतिक श्रोतको कुरा गर्दा जमिन, खनिज पदार्थ, बन जङ्गल तथा जलश्रोत नै प्रमुख हुन आउछन।

यो जिल्लाको कुल भूभाग मध्य भित्री मधेस करीब ५२% मध्य पहाडी क्षेत्र ४२% र तराइ तथा भाबर क्षेत्र ६% भू-भाग रहेको पाइन्छ। यहाँको पहाडी चुरे क्षेत्र पशुपालन तथा कृषि व्याबसाय र भित्री मधेशको उब्जाउ भूमि कृषि उत्पादनका लागि अब्बल मानिन्छ।

बनजङ्गल एवंम जडिबुटिको क्षेत्रमा यो जिल्ला अत्यन्त धनी छ। यस जिल्लाको अधिकांस क्षेत्र अर्थात करिब ५३.७३% भू-भाग बनजङ्गलले ढाकिएको छ। साल, सिसौ, सिमल, बर,पिपल, खयर, हर्रो, बर्रो, गुरास, तेजपात, रिठ्ठा, पिपला, अमला, बेल, लालगेडी, बोझो, गुर्जो, घोडताप्रे आदी यस जिल्लाको बन जङ्गलमा पर्याप्त मात्रामा पाउन सकिन्छ। त्यसै गरी यहाँको बनजङ्गलमा अनेक प्रकारका बन्यजन्तुहरू र पंछीहरू पाइन्छ।

जलश्रोतको दृष्टिकोणले यो जिल्ला धनी छ। यस जिल्लाको कुल भूमि मध्ये नदिनाला तथा खहरेले ढाकेको क्षेत्र २३.१३% रहेको छ। यस जिल्लामा बग्ने मुख्य नदिनालाहरूमा सप्तकोशी, रसुवा, त्रियुगा, बरुवा, ककरु, तावा, कमला आदी प्रमुख रूपले लिन सकिन्छ।

करीब ५९०० फिट (१७७० मि.) को उचाईमा रहेको रौताको पोखरीलाई जिल्लाको प्रमुख तालका रूपमा लिन सकिन्छ। जसको पानी कहिले पनि सुक्दैन। धर्मिक रूपले ठूलो श्रद्धा रविश्वास रहेको यो पोखरिमा मनोकामना पुरा गर्न भक्तजनहरूको भिड लाग्ने, उदयपुर जिल्लाको आन्तरिक पर्यटनलाई बढावा दिने ठूलो सम्भावनाको रूपमा रहेको छ। त्यसै गरी अन्य ताल-पोखरीमा इनामे गाबिसको ताप्लिपोखरी, झिल्केपोखरी, आँपटार गाबिसको सुकेपोखरी, थानापोखरी जोगिदहको पोखरी आदिलाई प्रमुख रूपमा लिन सकिन्छ।

जिल्लामा प्रसस्त मात्रामा रहेको चुनढुङ्गा खानीले देशकै ठूलो सिमेन्ट उद्योग सञ्चालन भैरहेको छ। यस बाहेक फलाम तथा अन्य खानिज पदार्थको उपलब्धताको प्रचुर सम्भावना रहेको छ। तर चुनढुङ्गा बाहेक अन्य खनिजको उत्खनन गरिएको छैन।

मौसम उदयपुर

[सम्पादन गर्नुहोस्]

यो जिल्लामा उष्ण शितोष्ण र समशितोष्ण हावापानी पाईन्छ। क्षेत्रफलको हिसाबले ०.६% भू-भागमा उपोष्ण, १८.८% भू-भागमा न्यानो समशीतोष्ण, र ०.६% भू-भागमा ठण्डा समशीतोष्ण जलवायु रहेको पाइन्छ।

यो जिल्लाको सरदर अधिकतम तापक्रम ३८ डिग्री सेल्सीयस र न्युनतम तापक्रम १६ डिग्री सेल्सीयस छ।

मनसुन ऋतुमा बङ्गालको खाडीबाट आउने जलसंतृप्त बादल चिसिन गएर धेरै वृष्टि हुन्छ । शीतकालमा अरबी सागरबाट आउने बादलले गर्दा केही मात्रामा वृष्टि हुन्छ । वर्षा सरदर २१५२ मिलिलिटर रहेको देखिन्छ।

२०५८ सालको जनगणना अनुसार यस जिल्लामा पुरुष १४३,७५६ र महिला १४३,९३३ गरी जम्मा २८७,६८९ रहेको छ। यस जनगणना अनुसार जनसङ्ख्या वृद्धिदर २.६४ प्रतिशत रहेको पाइन्छ।

२०६८ सालको जनगणना अनुसार यस जिल्लामा:

  • जम्मा घरधुरी:- ६६,५५७ (छैसठ्ठी हजार पाच सय सन्ताउन्न)
  • जम्मा जनसङ्ख्या:- ३१७,५३२ (तीन लाख सत्र हजार पाच सय बत्तीस)
  • पुरुष संख्या:- १४९,७१२ (एक लाख उनन्पचास हजार सात सय बाह्र)
  • महिला संख्या:- १६७,८२० (एक लाख सड्सठी हजार आठ सय बीस)

यस तथ्यबाट २०५८ सालको जनसङ्ख्या भन्दा २९,८४३ ले २०६८ सालको जनसङ्ख्या बढी रहेको छ।

उदयपुर जिल्ला मुख्यत: ग्रामिण क्षेत्रले ढाकेको छ। विगत दश वर्षमा यस जिल्लाको जनघनत्व २९.९१ प्रतिशतले वृद्धि भएको देखिन्छ।

यस उदयपुर जिल्लामा हिन्दुहरूको जनसङ्ख्या अत्याधिक ७५.४३ प्रतिशत रहेको छ भने वौद्ध १२.२३ प्रतिशत, किरात धर्म १०.५ प्रतिशत रहेका छन्। यस बाहेक केही संख्यामा अन्य धर्म अपनाउनेहरू पनि छन्।

यस जिल्लामा क्षत्री, राई, मगर, थारु, ब्राम्हण, तामाङ्ग, कामी, नेवार, दनुवार, दमाई, सार्की, माझि, मुसहर, सुनुवार, थकुरी, सन्यासि आदी जनजातीहरूको बसोबास छ। जस मध्ये क्षेत्री २१%, राई १७.९%, मगर १४.४०%, वाहुन ७.३१% र तामाङ्ग ६.६४% रहेका छन।

यस जिल्लामा सबभन्दा बढी नेपाली भाषा बोल्नेको संख्या ५६.६७% रहेको छ भने दोस्रो स्थानमा राई १२.७६% त्यसपछि मगर भाषा बोल्नेको संख्या ११.६१प्रतिशतले तेस्रो स्थानमा रहेको छ। यी बाहेक अन्य भाषा बोल्नेको संख्या भने नगन्य मात्रामा रहेको पाइन्छ।

यस जिल्लामा स्वास्थ्यको क्षेत्रमा राम्रो व्यवस्था देखिदैन। रहेका स्वास्थ्य केन्द्रहरूमा चिकित्सक, स्वास्थ्य कार्यकर्ता, स्वास्थ्य उपकरणहरूको अभाब रहेको देखिन्छ।

भौगोलिक दृष्टिकोणबाट पहाडी र तराई क्षेत्रलाई समेटेको यस जिल्लालाई भौतिक पूर्वाधार र विकासमा पछाडि पारिएको छ। भौगोलिक विकटता, यातायातको असुविधा, शिक्षण संस्थाहरूमा पुस्तकालय प्रयोगशाला जस्ता भौतिक सुविधाको अभाव, योग्य विषयगत शिक्षकको अभाव, राम्रो विषय चयन गर्ने अवसरको अभावको कारणले गर्दा यस जिल्लाका विधार्थीहरू राम्रो विषय अध्ययन गर्नका लागि विराटनगर, धरान, राजविराज, जनकपुर लगायतका अन्य क्षेत्रमा जानु पर्ने बाध्यता रहेको छ । शिक्षित वर्गहरू चाहिँ शहर मुखी हुने प्रवृतिले शिक्षाको विकाश र गुणस्तर कायम हुन सकेको छैन।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनसङ्ख्या तथा आवास जनगणना २०७८ (राष्ट्रिय प्रतिवेदन)", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  2. "Nepal Human Development Report 2014" अभिलेखिकरण २०२१-०३-०१ वेब्याक मेसिन
  3. Household and population by districts, Central Bureau of Statistics (CBS) Nepal अभिलेखिकरण २०१५-०२-१३ वेब्याक मेसिन
  4. "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२

बाहिरी कडीहरू

[सम्पादन गर्नुहोस्]

उदयपुर संसार अभिलेखिकरण २०१३-१२-२९ वेब्याक मेसिन

ढाँचा:उदयपुर जिल्लाका नगरपालिका तथा गाउँपालिकाहरु